स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आजको नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले गरेको दाबी गर्दै अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे।
उनले कांग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको पनि बताए।
'आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन। कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन्,' उनले भने।
उदारीकरणले नै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको उनले बताए।
'समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो?,' उनले भने।
अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको मन्त्री पौडेलले बताए। यद्यपि पूर्ण र सन्तुष्ट हुनसक्ने स्थिति नरहेको बताए।
मन्त्री पौडेलले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए।
२७५ को संसद संख्या घटाएर २०१ मा झार्नुपर्ने, प्रदेश सभाको सांसद संख्या आधा घटाउने र पालिकाको संख्या घटाएर वडाको बढाउनुपर्ने बताए।
त्यस्तै संघीय मन्त्रिपरिषद् २५ जनाबाट १५ जनमा झार्नुपर्ने उनको सुझाव छ। प्रदेशको मन्त्रिपरिषद् तीन सदस्यीय बनाउनुपर्ने उनले बताए।
राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने उनको धारणा थियो। - न्युज एजेन्सी नेपाल