मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर चीनतिर लागेका छन्।
उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
माओवादीबाट निर्वाचित अध्यक्ष माझीले माओवादीबाटै वडामा जितेका भगतलाई यस्तो जिम्मेवारी दिएका हुन्।
‘अध्यक्ष र उपाध्यक्षबीच विवादले राम्रो छैन,’ वडाध्यक्ष भगतले भने, ‘त्यसैले अध्यक्षले मंगलबारदेखि लागु हुने गरी मलाई कार्यवाहकको जिम्मा दिनुभएको हो।’
उपाध्यक्ष थारूले भने अध्यक्ष कहाँ गएको भन्ने आफूलाई कुनै जानकारी नभएको बताएकी छन्।
‘आज दिनभरि म अफिसमै थिएँ, उहाँको कोठामा कर्मचारीहरू बोलाएर बिदाइ खाएको थाहा पाएँ,’ उनले भनिन्, ‘वडाध्यक्षलाई कार्यवाहक दिएको भन्ने मैले सुनेँ।’
नौ दिनका लागि चीन भ्रमणमा निस्केका अध्यक्ष माझीले भने उपाध्यक्षसँग भेटै नभएका कारण वडाध्यक्षलाई कार्यवाहक दिएको दाबी गरेका छन्।
गएको मंसिरमा उपनिर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आउने बित्तिकैदेखि विवादमा पर्दै आएका अध्यक्ष माझीले यसअघि उपाध्यक्षले चढ्दै आएको गाडीसमेत खोसेका थिए।
अध्यक्षले वडाध्यक्षलाई कार्यवाहक दिएको कार्यविरूद्ध आफू अदालत जाने उपाध्यक्ष थारूले बताएकी छन्।
त्यसो त यसअघि नै कोशी प्रदेशकै कमल गाउँपालिका र धरान उपमहानगरमा वडाध्यक्षलाई कार्यवाहक दिने प्रमुखहरूको कदमलाई अदालतले गैरकानुनी ठहर गरिसकेको छ। उपाध्यक्ष वा उपमेयर पालिकामा हुँदाहुँदै अन्यलाई कार्यवाहक दिन नमिल्ने अदालतले ठहर गरिसकेको छ।
सोही नजिरका आधारमा पनि आफू अदालत जाने ग्रामथानकी उपाध्यक्ष थारूले जानकारी दिइन्।