राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाइएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार लामिछानेलाई सोमबार थुनामा पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
कार्यालय समय सुरू भएपछि प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। त्यसपछि अदालतको पत्र लिएर उनलाई कारागार कार्यालय पठाइएको एसपी राठौरले बताए।
जिल्ला कारागार कार्यालय रूपन्देहीका प्रमुख जगतबहादुर बस्नेतले लामिछानेलाई थुनामा राखिएको जानकारी दिए।
उनका अनुसार लामिछानेलाई ४ नम्बरको ब्लकमा राखिएको छ। उनलाई राखिएको कोठमा अरू थुनुवा राखिएको छैन।
'उहाँलाई अलग्गै कोठामा राखिएको छ,' कारागार प्रमुख बस्नेतले भने।
कारागार कार्यालयमा चार वटा भवन छन्।
यसअघि जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएका पूर्वडिआइजी छबिलाल जोशीलाई भने समूहमा राखिएको छ। जोशीको हकमा उच्च अदालतले जिल्लाकै फैसला सदर गरिसकेको छ।