प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन्।
भेटवार्तापछि बाहिरिने क्रममा राससलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ। अहिलेलाई यति।’
थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।
भेटवार्तापछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ’ भन्ने उल्लेख गरेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।
यसअघि उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो।
यो पनि:
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच एक्लाएक्लै भेटवार्ता
प्रधानमन्त्री ओलीसँग भेटवार्तापछि के भने भारतीय प्रधानमन्त्री मोदीले?