थाइल्याण्डको बैंककमा शुक्रबारदेखि बिमस्टेक सम्मेलन सुरू भएको छ।
बिमस्टेकका सदस्य राष्ट्र प्रमुखहरू बिहीबार नै थाइल्याण्ड पुगिसकेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नै थाइल्याण्ड पुगेका थिए।
भारतीका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार थाइल्याण्ड पुगेका थिए। प्रधानमन्त्री ओली र मोदीबीच बिमस्टेक सम्मेलनका दौरान भेटवार्ता हुने भएको छ। उनीहरुबीच शुक्रबार अपराह्न भेट हुने तय भएको छ।
बिहीबार बिमस्टेकको अफिसियल डिनरमा भने प्रधानमन्त्री ओली र मोदी सँगसँगै देखिएका थिए। मोदीको छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि सँगैसँगै देखिएका थिए।
सम्मेलनमा सहभागी हुन गएका तीन देशका राष्ट्र प्रमुखहरू सँगसँगै बस्नु सामान्य रहे पनि पछिल्लो परिस्थितीका कारण त्यो दृश्यले ध्यान तानेको हो।
प्रधानमन्त्री ओलीको कार्यकाल ९ महिना बितिसक्दा पनि भारत भ्रमणको निम्तो पाएका छैनन्। उनले चीन भ्रमणलगत्तै भारत भ्रमण गर्ने भने पनि त्यसको टुंगो लागेको छैन।
साइडलाइनमा भने मोदीसँग प्रधानमन्त्री ओलीको भेट दोस्रोपटक हो। यसअघि संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओली र मोदीबीच ३० मिनेट वार्ता भएको थियो।
औपचारिक रूपमा भने प्रधानमन्त्री ओलीले भारत भ्रमण नभएको परिस्थितिमा दुई जना सँगसँगै देखिनुले ध्यान तानेको हो।
मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस सँगसँगै देखिएको भिडिओ भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल तातेको छ।
गत अगस्टमा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन चर्किएपछि त्यहाँकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी थिइन्। अहिले उनी भारतमा छिन्।
हसिना देश छाडेर भागेपछि युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार छ।
युनुस नेतृत्वको सरकारले हसिनाविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ भने उनीविरूद्ध गम्भीर मानवअधिकारको उल्लंघनमा अदालतमा दर्जनौं मुद्दा दायर भएको छ।
हसिनालाई भारतले बंगलादेशको जिम्मा लगाउनुपर्ने आवाजहरू उठिरहेका छन्। यही विषयमा बंगलादेश र भारतको सम्बन्धमा केही चिसोपन देखिएको छ।
त्यस्तो परिस्थितिकाबीच दुवै जना सँगसँगै बसेको दृश्यहरूबारे भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।