नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरी नाबालिग बलात्कार आरोपमा पक्राउ परेका छन्।
नाबालिगका आफन्तले बलात्कारको जाहेरी दिएपछि गिरीलाई आइतबार पक्राउ गरी कास्की ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले जानकारी दिए।
गिरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालतबाट सोमबार ६ दिन म्याद लिएको शर्माले बताए।
‘नाबालिग बलात्कार आरोप लागेपछि स्याङ्जा प्रहरीको सहयोगमा विष्णु गिरीलाई पक्राउ गरिएको हो,’ शर्माले भने, ‘अदालतबाट ६ दिन म्याद थपेर अनुसन्धान गरिरहेका छौं।’
गिरी नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष समेत हुन्।
अधिकारकर्मीहरूका अनुसार ती नाबालिगलाई पोखरामा गिरीकै आफन्तको घरमा घरेलु श्रमिकका रूपमा राखिएको थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले पोखरामा पढाउने र घरेलु श्रम लगाउने गरी राखिएको पाइएको एक अधिकारकर्मीले बताएका छन्।
१४ वर्षीय नाबालिगलाई गत वर्ष असोजमा गिरीले नाबालिग बसेकै घरमा बलात्कार गरेको अभियोगमा उल्लेख छ। त्यसपछि पनि पटकपटक बलात्कार प्रयास गर्ने र धम्क्याउने गरेको प्रहरीमा बुझाएको अभियोग पत्रमा उल्लेख छ।
नाबालिग अध्ययन गर्ने विद्यालयमा घरेलु हिंसा लगायतका विषयमा छलफलका क्रममा उनले आफूमाथि भएको बलात्कार घटना बताएकी थिइन्। त्यसपछि उक्त गिरीका विरूद्ध प्रहरीमा जाहेरी ती अधिकारकर्मीले बताएका छन्।