प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन्।
शुक्रबार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरू भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन्।
आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उनको भनाइ छ।
उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताए।
उनले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरूले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताए।
उनले भने, ‘शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ। मैले अस्ति पनि भनेको थिएँ। प्रदर्शनमा गइरहनुपर्ने थिएन। ऐन पहिलेदेखि रोकिएर बसेको छ। त्यसलाई हामी तुरून्तै ल्याउँछौं भनेर भनिराखेका छौं। उपयुक्त ढंगले ऐन ल्याउँछौं। आफ्ना मात्रै हितहरूलाई हेरेर हुँदैन, राष्ट्रहित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरूको समाधान खोज्नुपर्छ। शिक्षक साथीहरूलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन। सरकार हरेक समस्याको समाधान गर्न चाहन्छ, तपाईंका समस्या पनि समाधान गर्न चाहन्छ। तपाईंहरूले पनि बुझ्नुपर्यो नि।’
मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ।
उनले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरूले रूवाबासी गरेको टिप्पणी गरे। —न्युज एजेन्सी नेपाल