राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ।
पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।
पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर सभा र तयारीका काम गरिने उनले बताए।
राप्रपाले फागुनमा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।
‘आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनु भएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आह्वान गर्दछ,’ उनले भने, ‘नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।’
राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन्।
साथै संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको उनले बताए।
कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको छ भने प्रवक्ता मोहनकुमार श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ।
राप्रपाले भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्दै कार्यक्रमलाई चैतसम्म निरन्तरता दिने निर्णय गरेको छ।
यस्तो छ निर्णय:

