नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशीला थिङले पार्टीका महत्वपूर्ण निर्णय केन्द्रीय समितिभन्दा बाहिरबाट हुने गरेको बताएकी छन्।
केन्द्रीय कार्यसम्पादन र अझै महत्वपूर्ण विषय छन् भने पदाधिकारी बैठकबाट निर्णय हुने गरेको उनले बताइन्।
बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भनिन्, ‘म केन्द्रीय सदस्य हुँ। मलाई सि क्लासको केन्द्रीय सदस्य हुँ कि जस्तो लाग्छ। किनकी महत्वपूर्ण निर्णय कार्यसम्पादन र पदाधिकारी बैठकबाट गरिन्छ।’
विधानअनुसार पदाधिकारी बैठकले कुनै निर्णय गर्न पाउँदैन। तर केन्द्रीय समिति तत्काल बस्न नपाउने स्थितिमा कार्यसम्पादनले निर्णय लिन सक्छ। विगत एक वर्षमा केन्द्रीय समिति बैठक नबस्दा कार्यसम्पादनले महत्वपूर्ण निर्णय गरेको थियो।
केन्द्रीय समितिबाट निर्णय नभएकोमा थिङले प्रश्न उठाएकी हुन्। उनले पार्टी सभापतिलाई गाली गर्दैमा कांग्रेसको संगठन बलियो नहुने पनि बताइन्।
संसदीय दलको नेता फेर्ने हल्ला भइरहेको भन्दै उनले अलोकतान्त्रिक विषय उठिरहेको बताइन्।
उनले कार्यसम्पादन र पदाधिकारी बैठक पनि लाइभ हुन्छ कि हुन्न भन्ने प्रश्नसमेत उठाएकी छन्।