नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका नेता शेखर कोइरालालाई धन्यवाद दिएका छन्।
बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै खतिवडाले नेता कोइरालालाई धन्यवाद दिएका हुन्। चुनावपछि कोइरालाले संयम राजनीति गरेको भन्दै खतिवडाले धन्यवाद दिएका हुन्।
‘म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु। चुनावपछि उहाँले संयम राजनीति गरेर पार्टीलाई एकढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ,’ उनले भने, ‘गुटका कुरा होइन, पार्टी एकढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु।’
२०७८ मा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग शेखर कोइराला पराजित भएका थिए। केन्द्रीय समिति बैठकअघि प्राय: संस्थापनइतर समूहले गुट भेला गर्ने परम्परा थियो। तर यसपालि केन्द्रीय समिति बैठकअघि शेखरले गुट भेला गरेका थिएनन्।
शेखरले गुट भेला नगरेर पार्टीलाई एकताबद्ध बनाउन खोजेको भन्दै सभापति देउवानिकट खतिवडाले कोइरालालाई धन्यवाद दिएका हुन्।
कहिलेकाहीँ गुटका कारण क्षमता र योग्यता पछि पर्ने गरेको उनले बताए।
गत वैशाखमा तनहुँ १ मा उपनिर्वाचन हारेपछि पार्टीभित्र एकले अर्कालाई गाली गर्ने अवस्था देखिएको उनले बताए। ‘गाली गर्ने प्रवृत्तिले कांग्रेस बलियो हुँदैन,’ उनले भने।