नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलबारे बिफ्रिङ भएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी दल रास्वपा, राप्रपा, नेमकिपा लगायतबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबारको केन्द्रीय समिति बैठकमा बिफ्रिङ गरेका हुन्।
कांग्रेसका सांसदले संसदमा खेलेका भूमिकाबारे जानकारी दिन लेखकलाई सभापति शेरबहादुर देउवाले समय दिएका थिए।
लेखकले सुरूमा प्रतिपक्षी दलहरूले खेलेका भूमिकाबारे टिप्पणी गरेका थिए।
‘प्रमुख प्रतिपक्षी आक्रमक छ, गठबन्धन परिवर्तन भएर पनि होला। परिपक्व भए पनि कहिलेकाहीँ अधैर्य देखिन्छ,’ उनले भने।
उनले अरू प्रतिपक्षी दलहरू आक्रमक, अधैर्य र संसदीय अभ्यासमा अपरिपक्व रहेको टिप्पणी गरेका थिए। ‘संसदीय अभ्यासमा नयाँनयाँ भएर होला यदाकदा प्रतिपक्षीहरू अपरिपक्व पनि देखिइरहेका छन्,’ उनले भने।
कांग्रेस संसदको ठूलो दल भएकोले सत्तापक्ष र प्रतिपक्षसँग समन्वयकारी भूमिकामा रहनुपर्ने उनको भनाइ थियो।
‘कांग्रेस सबैभन्दा ठूलो दल भएको हुनाले सदन अवरूद्ध भयो भने किन अवरोध भयो भन्ने कांग्रेसलाई नै उठाइन्छ। सदन राम्रोसँग सञ्चालन भएन भने पनि कांग्रेसलाई प्रश्न उठ्छ,’ उनले भने, ‘सदनको प्रभावकारिता र सञ्चालन पनि हाम्रो महत्वपूर्ण जिम्मेवारीमा पर्छ। सत्ता र प्रतिपक्षसँग समन्वयकारी भूमिका निर्वाह गरेर सदन सञ्चालन गर्ने जिम्मेवारी कांग्रेसलाई छ।’
उनले असल कानून निर्माण गर्न अगुवाइ कांग्रेसले गर्नुपर्ने पनि बताए। ‘सरकारलाई जनताप्रति उत्तरदायी बनाउन दिशानिर्देश गर्ने जिम्मेवारी पनि कांग्रेसकै हो,’ उनले भने।
यसपछि उनले कांग्रेस सांसदहरूकै टिप्पणी गरेका थिए। बैठकमा नियमित उपस्थित नहुने र उपस्थित भएकाहरू पनि बैठक सञ्चालन हुन्जेल नबस्ने गरेको पाइएको लेखकको भनाइ थियो।
‘सदनमा उपस्थिति कम हुने गरेको छ। सांसदहरू दिनभर बस्नुहुन्न, कोरम पुर्याउन समस्या हुन्छ। ह्विप जारी हुँदा पनि संख्या औंलामा गन्नुगर्ने अवस्था हुन्छ,’ कांग्रेसकै सांसदप्रति लक्षित गर्दै उनले भने, ‘सांसदको पहिलो काम सदनमा उपस्थित हुनुपर्यो। दिनभर बस्नुपर्यो।’
यो पनि: कांग्रेसमा गगनको प्रस्ताव- कन्क्लेभ, कन्सर्ट र लिटरेचर फेस्टिवल गरौं