नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गरेको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मालाई मन्त्रीको नाम पठाएको हो।
संसदीय दलले दैलेखका सांसद कृष्णकुमार बिसी, सुर्खेतका सांसद खड्क पोखरेल र जाजरकोटका सांसद बेदराज सिंहको नाम मन्त्रीका लागि सिफारिस गरेको हो।
बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरेललाई सामाजिक विकास मन्त्रालय र सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने गरी मुख्यमन्त्रीलाई सिफारिस गरिएको हो।
आज सिफारिस भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ भोलि गराइने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।
यसअघि यी मन्त्रालयमा नेकपा एमालेबाट मन्त्री थिए।
सत्ता समीकरण फेरिएपछि २०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएका थिए।
एमालेले छोडेका मन्त्रालय नै कांग्रेसलाई दिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने साझेदार दलहरूबीच सहमति भएको थियो।
दलहरूबीच प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, मन्त्रालयको संख्या आठ वटा बनाउने सहमति पनि भएको छ।