केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारमा मलाई केही भूमिका लिनुपर्छ भन्दै गर्दा मैले म सरकारमा बसेर भूमिका त लिन्न तर यो सरकार सफल बनाउने र परिणाम दिने सन्दर्भमा काम गर्न तयार छु भनेको थिएँ।
सरकार सफल बनाउन र परिणाममुखी बनाउनका लागि जोखिम उठाउन, घाउ खान र गाली खान पनि तयार छु भनेको हुँ किनभने काम गर्नुपर्छ, जिम्मा लिनुपर्छ भनेर।
काम गर्ने हो भने पहिले 'इकोनोमिक फ्रन्ट' को काम गरौं भनेको हो। सुरूको चरणमा जोतिएर काम गरेको पनि हो। एकदम उत्साहका साथमा धेरै कुरा बदल्न लागेको हो तर विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई 'कंकर्ड' (सुपर सोनिक जेट स्पीड) को गति चाहिएको छ। आज एउटा, भोलि एउटा, पर्सी एउटा काम गर्दै माहौल बनाउनुपर्ने छ। यहाँ राम्रो भएको छ, त्यहाँ राम्रो भएको छ भन्ने खालको बनाउनुपर्नेमा सरकार ट्याक्टरको स्पीडमा छ।
परिवर्तन चाहने मानिसको अपेक्षाको गति जुन तवरमा छ त्यो गति सरकारले पकड्नै सकेन।
हामीले विभिन्न कानुन खारेज गर्दै कानुन बनाउन अध्यादेश पनि ल्यायौं। अध्यादेश ल्याउने बेला संसदबाट विधेयकबाट पनि ल्याउन सकिन्थ्यो किन अध्यादेशको बाटो रोजियो भन्दा सयौं कानुन खारेज गरी कानुन बनाउन समयको सुविधा नभएर हो। आजै, भोलि नै काम गर्नुपर्छ भनेको हो, युद्धको बेलाजस्तो।
छिटोछिटो काम गरौं भनेर हामी जोतिन खोज्दै गर्दा कताकता त्यो खालको जोस, उत्साह, समर्पण जुन स्तरको नेतृत्वबाट हुनुपर्ने हो त्यो खालको नभएको कुराले हामी आफैभित्र पनि यसलाई कसरी चिर्ने भन्ने कुराको अलमल सिर्जना भएको छ। यसको अर्थ कुनै राजनीतिक विकल्प खोजौं भन्ने होइन।
अहिले बनेको सरकार छ, यो सरकारको ठाउँमा अर्को बने पनि यसरी नै बन्ने हो किनभने कसैको बहुमत छैन। यहीँभित्र नै हामीले काम गर्नुपर्छ। तर डेलिभरी गर्नुपर्यो भन्ने सन्दर्भमा हामी लागिरहेका छौं। हामी आफ्नो सम्पूर्ण कुरा लगाएर परिणाम दिन लागेका छौं तर त्यसअनुसार भइरहेको छैन।
अहिले काठमाडौंमा हेर्यो भने शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, उहाँहरूले अल्टिमेटम दिएर आन्दोलन गरेको महिनौं भइसक्यो। त्यो स्पीडमा काम गरेको भए आज शिक्षकहरू आन्दोलनमा आउने स्थिति नै बन्दैनथ्यो।
यतिमात्र होइन, सहकारी पीडितहरूको ५ लाखभन्दा कम बचत भएकाहरूको बचत फिर्ता गर्नेबारे संसदीय समितिले निर्णय गरेर सुझाव दिएको महिनौं भइसक्यो। रामेश्वर खनालले प्रतिवेदन दिनुभन्दा पहिले नै सूर्य थापा नेतृत्वको समितिले प्रतिवेदन बुझाएको महिनौं भइसक्यो। त्यसअनुसार काम गरेको भए अहिले कोही मानिस सडकमा आउने अवस्था बन्दैनथ्यो।
सरकारले चलाउनै नपर्ने कर्मचारी कतिपय ठाउँमा गएर अनावश्यक रूपमा चलायो र मानिसलाई सडकमा आउनुपर्ने अवस्था बनाइदिएको छ। यस कुराले कस्तो भइरहेको छ भने हामीलाई राम राम भन्ने हो, गर्ने के हो त भन्ने खालको स्थिति बनाएको छ। तर यसको अर्थ के होइन भने हामी यसलाई बदल्न चाहन्छौं।
हामीले कांग्रेस सम्मिलित सरकारको क्षमता बढाउन चाहन्छौं, खबरदारी गर्न चाहन्छौं।
हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौं। कहिलेकाहीँ बाहिरबाट हेर्दा पोखरी सफा गर्न गएकोले हामीलाई पनि फोहोर नै देखिन्छ। तर हामी त्यहाँ मिसिन गएको होइन। हामी मिसिन्नौं, मिसिन्नौं, हामी यसको अंग बन्दैनौं। हामीलाई थाहा छ, मानिसहरूले हामीलाई गालीसँगै प्रश्न पनि गरिरहेका छन्। हामी फोहोरी राजनीतिको अंग बन्न क्रियाशील भएको होइन। तपाईंहरू (बौद्धिक पेशाकर्मी) हरूको शुभेच्छा र साथबाट राजनीतिको फोहोर सफा गर्न चाहन्छौं।
हामीले बुझेको कुरा के हो भने अहिले हामीले नै ल्याएको व्यवस्था छ। यो व्यवस्थाभित्र नागरिकहरूको अहिलेको अवस्था बदल्ने हो। अवस्था के कारणले गर्दा बदलिएको छैन भने नेता र नेतृत्वको शैलीको कारण बदलिएको छैन। अवस्था बदल्ने अवरोध नेतृत्व हो। अमुक नेतालाई भनेको होइन मैले शैलीको कुरा गरेको हुँ, नेतृत्वको शैली बदल्ने हो। सम्झाएर बुझाएर शैली बदल्ने हो, बदलिएन भने नेता बदल्ने हो। समस्या नेतामा छ, नेता बदल्दा समाधान आउँछ भने नेता बदल्न छाडेर अर्को कुरा बदल्न पर्छ कि भन्ने हो भने त्यसको निकास आउँदैन।
अहिलेको देशले नेतृत्वसँग योग्यता र शुद्धता खोजिरहेको छ। शुद्ध र योग्य समीश्रण भएको नेतृत्व चाहिएको छ।
अहिले देशमा देखिएका समस्या सम्बोधन गर्न सकिने खालका छन्। नेतृत्वलाई प्रश्न र आलोचना गरौं। नेपालमा सबै विकल्प परीक्षण भइसक्यो। हाम्रो पार्टीमा कमजोरी छन् भने बदल्ने हो तर यही बाटो र विचारबाट।
(काठमाडौंमा मंगलबार बौद्धिक पेशाकर्मी अभियानले गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राखेको धारणाको सम्पादित अंश)