वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालको संविधान छापिएको सानो बुकलेट हेर्दै थिए। उनकी नातिनी निविदिता नजिकै आइन् र भनिन्, 'बुबा, यो 'बुक' कहाँ पाइन्छ, मलाई पनि दिइस्यो न।'
निविदिता आफैं पनि अधिवक्ता हुन्। उमेरले ९३ वर्ष पुगिसकेका वरिष्ठ अधिवक्ता भण्डारी र २५ वर्षीया नातिनीको कुराकानी चल्दै गर्दा छोरी सविता आइपुगिन्, जो आफैं वरिष्ठ अधिवक्ता हुन्।
एउटै परिवारका यी तीनपुस्ते वकिलहरूको भेटपछि कुराकानीको प्रसंग मोडियो। उनीहरू आफ्ना अनुभव सुनाउन थाले।
वरिष्ठ अधिवक्ता भण्डारीले कानुनी क्षेत्रमा काम गर्न थालेको २०११ सालदेखि हो। सुरूमा उनी वकिलकहाँ मुद्दा लैजाने काम गर्थे। २०१४ सालमा अधिवक्ताको लाइसेन्स लिए। उनको लाइसेन्स नम्बर ९ हो। त्यसपछि २०२४ सालमा वरिष्ठ अधिवक्ताको लाइसेन्स पाए।
त्यसयता निरन्तर कानुनी पेसामा सक्रिय भण्डारी नेपाल बार एसोसिएसनमा दुईपटकसम्म अध्यक्ष भए।
उनी आफू मात्र कानुनी पेसामा लागेका होइनन्। आफ्नो विरासत धान्ने पुस्ता पनि तयार गरेका छन्। उनकी छोरी र नातिनी (छोरातर्फकी) दुवै अधिवक्ता छन्।
हजुरबुबा कृष्णप्रसाद भण्डारी, छोरी सविता भण्डारी (बायाँ) र नातिनी निविदिता भण्डारी (दायाँ)। तस्बिर: सन्जिब बगाले/सेतोपाटी'छोरीलाई वकिल नै बनाउँछु भन्ने मेरो इच्छा थियो। त्यति बेला छोरीलाई सम्पत्ति दिने चलन थिएन। मलाई लाग्यो, पढाएर वकिल बनाएपछि सम्पत्ति चाहिँदैन,' भण्डारीले भने, 'छोरीलाई वकालत सिकाइदियो भने उसका लागि सबैभन्दा ठूलो सम्पत्ति त्यही हुन्छ।'
आफ्ना बाबुको इच्छा बुझेकी छोरी सविताले पनि अरू विषयमा सोच्दै सोचिनन्। बाबुको पेसाले उनलाई डोर्यायो।
'वकिल बन्छु कि बन्दिनँ भनेर मैले सोच्नै पाइनँ। बच्चैदेखि मेरो दिमागमा वकिल बन्नुपर्छ भन्ने नै परेको थियो,' सविताले भनिन्, 'आमा, मामा र काकाहरूले समेत मलाई बुबाले वकिल बनाउन खोज्नुभएको सुनाउनुहुन्थ्यो। म जन्मिनासाथ बुबाले 'यो वकिल बन्छे' भनेर भन्नुभएको थियो रे।'
२०१७ सालमा जन्मिएकी सविताले २०३३ सालमा एसएलसी पास गरिन्। एसएलसीमा राम्रै नम्बर आएको थियो। मामाहरूले विज्ञान पढ्न सुझाएका थिए, तर उनले कानुन रोजिन्। २०४१ सालमा अधिवक्ताको लाइसेन्स लिइन्।
लाइसेन्स लिएर पनि घरपरिवार र अन्य कारणले उनले कानुन व्यवसायलाई केही समय स्थगित राखिन्। २०५८ सालमा सक्रिय रूपले यो पेसामा फर्केकी उनले त्यसयता यात्रा रोकेकी छैनन्।
बहसको नसा उनलाई पहिलेदेखि थियो। उनी आफ्ना बाबुले गरेको वकालतसमेत हेर्न गइरहन्थिन्।
२०३३-०३४ सालतिरको कुरा हो। बिपी कोइराला र गणेशमान सिंहविरुद्ध विशेष अदालतमा राजकाज मुद्दा थियो।
त्यो बेला बुबाको बहस सुन्न अदालत गएको उनी सम्झन्छिन्। 'डा. केआई सिंहविरुद्धका मुद्दामा भएका बहस पनि मैले सुनेको थिएँ,' उनले भनिन्।
अहिले पनि सविता आफ्ना बाबुसँग नजानेका विषय सोध्ने गर्छिन्। बाबुछोरीको 'ल फर्म' एउटै हो। तर, हरेक विषयमा बाबुकै भर पर्दिनन्।


'कुनै क्लाइन्ट आयो भने 'यो मुद्दा म लड्छु मलाई दिनुस्' भन्ने मेरो बानी छैन। मैले मागेर लिएको छु जस्तो मलाई अनुभूति नै हुँदैन,' सविताले भनिन्, 'एउटै अफिस भएकाले फाइल बोकेर यताउता गर्दा पनि भण्डारीकी छोरी भनेर चिन्न थाले। अरूलाई भन्दा मलाई फरक तरिकाले हेर्न थाले। त्यसले पनि मलाई सजिलो भयो।'
वरिष्ठ अधिवक्ता कृष्णप्रसादकी नातिनी निविदिता यो क्षेत्रमा लागेको एक वर्ष भयो। उनी आफ्नी फुपू सवितालाई देखेर वकिल बनेको बताउँछिन्।
२०६० सालतिरको कुरा हो। उनी कक्षा ४ मा पढ्दै थिइन्। त्यति बेला नेपाल बन्द भइरहन्थ्यो। त्यही क्रममा एक दिन पुतलीसडकबाट फुपूसँगै हिँडेर आउँदै थिइन्, बाटोमा धेरैले सवितालाई नमस्कार गरे। त्यो देखेर वकिल बन्नु भनेको सम्मानित पेसा रहेछ भन्ने लागेको उनी बताउँछिन्।
'त्यो दिनदेखि मेरो ध्यान कतै गएन,' उनले भनिन्।
भारतबाट कानुनमा स्नातक निविदिता पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै छिन्। परिवारमा उनको पुस्ताका कसैले कानुन नपढेकाले पनि उनलाई यो इच्छा लागेको हो। हजुरबुबाको पेसालाई निरन्तरता दिने उनको सोच छ।
'मैले वकालतबाहेक अरू सोचेकै छैन। सरकारी सेवामा पनि जादिनँ,' उनले भनिन्, 'अहिले एउटा कर्पोरेट फर्ममा काम गर्दै छु। त्यही भएर बुबा र फुपूसँग काम गर्न पाएको छैन। अझै समय बाँकी छ, हेरौं विस्तारै हुन्छ होला।'
छ दशकभन्दा अघिदेखि न्याय क्षेत्रमा लागिरहेका कृष्णप्रसादको तेस्रो पुस्ता यही क्षेत्रमा आइपुग्दा उनलाई कस्तो लागिरहेको होला?
उनलाई विगतमा जस्तो न्याय क्षेत्र निष्पक्ष र स्वतन्त्र भएको लाग्दैन।
'न्याय क्षेत्रमा हाम्रो समय र अहिले फरक छ। त्यति बेला न्याय परोस् भन्ने थियो। मुद्दाको प्रक्रियामा कसैले पनि आफ्ना कुरा राख्ने चलन थिएन। किताब र मिसिल पढेर बहस गर्ने भन्ने थियो,' उनले भने, 'न्यायाधीशहरू पनि बढो ध्यानपूर्वक हाम्रा कुरा सुन्थे।'
सर्वोच्च अदालतमा दरबारको केही प्रभाव भए पनि मन्त्रीहरूले छुनसम्म नसकेको उनले बताए।
'न्यायाधीशको मन न्याय नै गरूँ भन्ने हुन्थ्यो। न्यायाधीश र हाम्रोबीच चर्को बहस हुन्थ्यो, तर रिसराग हुन्थेन,' उनले भने, 'न्यायाधीशहरू न्याय गर्छौं भन्ने अठोटमा थिए। हामी पनि न्याय लिन्छौं भन्ने अठोटमा थियौं।'
यति लामो समय सक्रिय हुन सक्नुको राज के होला भन्ने प्रश्नमा कृष्णप्रसाद भन्छन्, 'निरन्तर काम गरिरह्यो भने दुःख पाइँदैन। अहिले पनि म पढ्छु, लेख्छु। साधारण खाना खान्छु। मानसिक चिन्ता लिन्नँ।'
'नेपाल ल फर्म मेरो परिवारको इज्जत हो। यसलाई जीवित राख्न छोरी र नातिनी यो पेसामा आएका छन्, त्यसैले म साह्रै खुसी छु,' उनले भने।
उनकी छोरी सविता आफूलाई बाबुसँग तुलना गर्छिन् कि गर्दिनन् त?
'मैले आफूलाई बुबासँग कहिल्यै तुलना गरेको छैन। त्यसो गर्न मिल्दा पनि मिल्दैन। बुबा अहिले ९३ वर्ष लागिसक्नुभयो। यो उमेरमा पनि उहाँले जसरी बहस गर्नुहुन्छ, त्यो सुन्दा मैले यस्ता कुरा जानेकै रहेनछु जस्तो लाग्छ,' उनले भनिन्, 'मलाई लाग्छ, मैले जति गर्नुपर्ने हो, त्यति गर्न सकिरहेको छैन।'


आफ्ना बाबुको यति लामो विरासत हुँदाहुँदै सविताले बेलाबखत अपमान सहनुपरेको छ, त्यो पनि महिला भएका कारण।
'कहिलेकाहीँ मैले साथीभाइसँग आक्रोश पनि पोख्ने गरेको छु। मलाई महिला भएकोमा कहिल्यै ग्लानि भएन, तर यो पेसामा आएपछि मलाई पटकपटक ग्लानि भएको छ,' उनले भनिन्, 'त्यो ग्लानि साथीभाइहरूबाट आएको हुन सक्छ। न्यायाधीशहरूबाट आएको हुन सक्छ वा पक्षहरूबाट पनि आएको हुन सक्छ।'
एउटा पुरुष र महिला वकिलबीच वकालतका आधारमा भन्दा लैंगिक आधारमा मूल्यांकन गरिने उनको अनुभव छ। धेरै सेवाग्राहीहरू महिला अधिवक्तामाथि विश्वास कम गर्ने उनले सुनाइन्।
'महिलाले न्याय दिलाउन सक्छ भनेर विश्वास नै गर्दैनन्। अलिकति काम गरेपछि बल्ल पत्याउँछन्,' उनले भनिन्, 'कसैले पनि नपत्याएको भए यो पेसामा वरिष्ठ अधिवक्ता भएर यसरी टिक्न सक्ने त थिइनँ नि!'
उनी दैनिकजसो दुई-चारवटा मुद्दा हेर्ने गर्छिन्। अहिले पनि महिला अधिवक्ताहरू आफ्नो पहिचान निम्ति संघर्षरत् रहेको उनको अनुभव छ।
उनले हिम्मत भने हारेकी छैनन्। यो क्षेत्रमा लागेर बाबुको इच्छा पूरा गर्न सकेकोमा उनी खुसी छिन्।
कृष्णप्रसादका बाबुछोरीको ल फर्म बानेश्वरमा छ। यसलाई पुतलीसडकमा सार्ने सविताको योजना छ। त्यहाँ सरेपछि यी तीनपुस्ते वकिलहरूले एउटै फर्ममा रहेर वकालत गर्ने छन्।
निविदिता भने फुपूले जस्तो लैंगिक विभेद आफूले भोग्न नपर्नेमा आशावादी छिन्।
'आजसम्म त मैले त्यस्तो कुनै अनुभव गरेको छैन। अब समय र पुस्ता पनि परिवर्तन भएको छ। पुरानो समयजस्तो नहोस्,' निविदिताले भनिन्, 'फुपूले जस्तो भोग्नुभयो, मलाई त्यस्तो नपरोस् भन्ने छ।'