सात वर्ष पहिले हत्या गरिएका देवीप्रसाद धिताल (हेमराज) की छोरी मनिषा धितालले दाङको तुलसीपुर घर हो भन्दा आफ्ना साथीहरु तर्सिने गरेको बताएकी छन्।
काठमाडौंमा अध्यनरत कलेजका साथीसमेत दाङमा हुँदै आएका निरन्तर हत्या काण्डले दाङको नाम सुनेर तर्सिने गरेको उनले बताइन्।
शनिबार धिताल स्मृति प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको सातौं स्मृति दिवसमा उनले आफ्नो बाबाका हत्याराको पहिचान गरि सार्वजनिक गर्न प्रशासनलाई आग्रहसमेत गरिन्। बाबाका हत्यारा पत्ता नलाग्दा आफूहरु त्रासमा बाँचेको उनले बताइन्।
उनले फितलो कानुनले गर्दा अपराध बढेको तर्क प्रस्तुत गरेकी थिइन्। त्यही व्यक्ति एउटालाई हत्या गरेर केही समय जेल परेर फेरि निस्किएर अर्कोलाई हत्या गरेको देखिन आएको हुँदा त्यस्ता हत्यारालाई फाँसीको व्यवस्था हुनुपर्ने मनिसा धितालको माग थियो।
उनले प्रहरी र सरकारलाई मात्रै दोष दिनुभन्दा नागरिक अपराधका विरुद्धमा एक जुट भएर आवाज बुलन्द गर्नुपर्ने उनको धारणा थियो। कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफूलाई सूचना दिएर हत्यारा पत्ता लगाउन सहयोग मागेका थिए। ‘तपाईँले दिएको सानो भन्दा सानो सूचनाले हत्यारा पक्राउ पर्न सक्छ,’ श्रेष्ठले भने, ‘प्रहरीलाई भन्न अप्ठेरो हुन्छ भने मलाई भन्नु होला, म मध्यस्ताको भूमिका निर्वाह गर्नेछु।’
दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको बताए। उनले वर्षौपछि रणबहादुर बमका हत्यारा पत्ता लागेको उदाहरण दिँदै एक दिन धितालका हत्यारा पनि पक्राउ पर्ने बताए।
रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको कांग्रेसको चुनावी प्रचारबाट फर्किने क्रममा २०६७ साल साउन ६ गते राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा अज्ञात समूहले गोलि हानी हत्या गरेको थियो।