सन्तोष भण्डारी सन् २००३ मा बेलायत गएका हुन्। उनी अहिले त्यहाँ कोलोरेक्टल (ठूलो आन्द्रा) को शल्यक्रिया गर्ने डाक्टरका रूपमा काम गरिरहेका छन्।
उनले एमबिबिएस धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरेका हुन्। हाल बेलायतको पिटरबरा सिटी हस्पिटलमा कन्सल्ट्यान्ट सर्जन (शल्यचिकित्सक) छन्।
'विकसित देशमा स्वास्थ्यबारे जानकारी पाइन्छ, उपचार विधि र नयाँ प्रविधि पनि सिकिन्छ भनेर बेलायत गएँ,' नेपाल आएको बेला सेतोपाटीसँगको भिडिओ कुराकानीमा उनले भने, 'सिक्दै जाँदा विशेषज्ञ बन्न १४/१५ वर्ष लाग्यो। त्यसपछि घर–परिवार अनि करिअर गर्दै जाँदा उतै समय जाने रहेछ।'
सन्तोष ६ वर्षअघि मात्र कन्सल्ट्यान्ट सर्जन बनेका हुन्।
सन् २००३ मा बेलायत गएपछि त्यहाँको मापदण्ड अनुसार परीक्षा पास गरेर राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम पाउन उनलाई चार महिना लाग्यो।
बेलायतको तालिम प्रणाली अनुसार शल्यक्रियामा विशेषज्ञता हासिल गर्न तोकिएको मापदण्ड पूरा गर्नुपर्छ। त्यसपछि मात्र जागिरका लागि आवेदन दिएर तालिम कार्यक्रममा जान पाइन्छ। यस्तो तालिम सामान्यतया ६ वर्षको हुन्छ। त्यहीबीच 'फेलो अफ रोयल कलेज अफ सर्जन' भनेर अर्को परीक्षा पनि दिनुपर्छ।
त्यस्तै त्यही अवधिमा दुई वर्ष रिसर्च (अनुसन्धान) को काममा पनि लाग्नुपर्छ। चिकित्साशास्त्रमा स्नातकोत्तर डिग्री लिएपछि सन्तोषले तालिम गरेका हुन्।
'सबैलाई यति धेरै वर्ष लाग्छ भन्ने हुँदैन। तर सर्जरी विधामा प्रतिस्पर्धा धेरै छ अनि अवसर कम। त्यसैले आफूलाई योग्य बनाउन मेहनत गर्नुपर्छ। त्यति गर्दा कहिलेकाहीँ समय लाग्छ,' सन्तोषले भने।
लामो संघर्ष र मेहनतकै कारण आफू ठूला आन्द्राको क्यान्सर अपरेसन गर्ने स्थापित शल्यचिकित्सक बन्न सफल भएको उनी बताउँछन्। क्यान्सर पत्ता लागिसकेपछि एउटा बिरामीले उनीसँग अपरेसन गराउन ४ देखि ६ साता पर्खिनुपर्ने उनले बताए।
'यहाँ उपचार निःशुल्क हुन्छ। तर सबैले सहजै उपचार पाउँछन् भन्ने होइन,' उनले भने, 'जोखिम भए चाहिँ तत्काल उपचार हुन्छ। ब्रेनस्ट्रोक, हृदयाघात तथा क्यान्सरलाई प्राथमिकता दिइन्छ।'
डा. सन्तोषका अनुसार बेलायतमा क्यान्सरमध्ये ठूला आन्द्राको क्यान्सर चौथो नम्बरमा पर्छ। वार्षिक करिब ४४–४५ हजारलाई हुन्छ भने यसकै कारण झन्डै १७–१८ हजारको मृत्यु हुन्छ। सुरूमै पत्ता लागे निको पार्न सजिलो हुने भएकाले राष्ट्रिय रूपमै स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिन्छ।
स्रोत र साधन धेरै भए पनि सरकारी अस्पतालमा पालो पाउने सवालमा बेलायतमा नेपालभन्दा बढी समय कुर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।
'बीमा सहज भएकाले धेरैको उपचार सरकारीमै हुन्छ,' उनले भने, 'तर सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्छ। निजीको कुरा छुट्टै हो।'
सन्तोषलाई जहाँ बसे पनि डाक्टरको कर्तव्य बिरामीको हितमा काम गर्नु हो भन्ने अनुभूति हुन्छ।
बेलायतको सुविधा सम्पन्न अस्पतालमा काम गरे पनि नेपालका बिरामीको पनि उपचार गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ।
त्यस्तै, बेलायतमा सिकेको सीप र ज्ञान नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे निरन्तर छलफलमा छन् उनी। नेपालका कुनै इन्स्टिच्युटसँग मिलेर काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा पनि उनको छ।
अहिलेसम्म व्यक्तिगत रूपमा काम गर्दै आएका उनी अब संस्थागत रूपमा केही योगदान गर्न चाहन्छन्।
'मैले जानेको सीप र ज्ञान नेपालमा कुनै न कुनै ढंगले उपयोग गर्न सके हुन्थ्यो भन्ने मनमा सधैं लागिरहन्छ,' सन्तोषले भने।