नयाँ नेतृत्व चयनसँग जोडिएको नेकपा एमालेको ११औं महाधिवेशन यही शनिबार उद्घाटन हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा निरन्तरता दिन चाहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उनलाई चुनौती दिने तयारीमा छन्। यसले नेता–कार्यकर्ताबीच ध्रुवीकरण देखिएको छ।
कोशी प्रदेश इन्चार्ज शेरधन राई ओली नै अध्यक्ष बन्नुपर्ने धारणा राख्छन्।
सचिवमा उम्मेदवारी घोषणा गरेका राईसँग गरिएको भिडिओ संवादको सम्पादित अंश —
यो महाधिवेशनले एमालेको आगामी दिशा कसरी तय गर्ला?
भदौ २३ र २४ को घटनाले देश घाइते अवस्थामा छ। देशको अस्मिता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, अखण्डता, सहिष्णुता र सद्भावमाथि नै गम्भीर प्रहार भएको अवस्था छ। नेपाली जनताले सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिलाई हामीले २०७० सालको संविधानसभाबाट लिपिबद्ध गरेका थियौं र नेपालको संविधानका रूपमा जारी गरेका थियौं,त्यही संविधानमाथि नै हमला भएको अवस्था छ।
संविधान कोमामा रहेको यो अवस्थामा नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन गरिरहेको छ। अहिले कुनै पनि राजनीतिक दलहरू उठ्न सकेका छैनन्,बोल्न सकेका छैनन्। धेरै दल विघटनको अवस्थामा छन्। एमालेले भने देशव्यापी रूपमा आफ्ना गतिविधि सञ्चालन गरेर राष्ट्रिय महाधिवेशन आयोजना गर्न लाग्दा सबैको ध्यान तानिनु स्वाभाविक पनि हो।
अहिले अँध्यारो सुरूङतर्फ बढिरहेको देश र देशको राजनीतिलाई त्यहाँबाट बाहिर निकाल्न जरूरी छ। यसका लागि सबल नेतृत्व निर्माण गर्ने नवीन संकल्पका साथ हामी राष्ट्रिय महाधिवेशनमा केन्द्रित छौं।
भदौ २३ र २४ को परिघटना पछाडि दलहरूको औचित्य र सान्दर्भिकतामाथि गम्भीर प्रश्नचिह्न खडा भयो। तपाईंले नै भन्नुभयो– कतिपय दलहरू विघटन भए, कतिपय दल नयाँ ढंगले पुनर्गठनको अभियानमा छन्। चासो चाहिँ के छ भने, नेकपा एमालेले यो महाधिवेशनमार्फत् नीतिमा के फेरबदल ल्याउँछ, नेतृत्व कसरी पुनर्गठन गर्छ?
हामीले नीति र विधिको बहस र छलफल निम्ति अलग्गै महाधिवेशनको प्रबन्ध गरेका छौं। दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते गोदावरीमा सम्पन्न गरिसकेका छौं। त्यति बेला हामीले लामो बहस गरेर सर्वसम्मत ढंगबाट नीति र विधिका कुरा टुंग्याइसकेका छौं। एक प्रकारले भन्ने हो भने राष्ट्रिय महाधिवेशनबाट प्रमुख नेता को हुने भन्नेसम्मको टुंगो हामीले लगाएका छौं।
भदौ २३ र २४ को घटनापछि जे मनोविज्ञान पैदा भएको छ;हाम्रो व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि जसरी हमला भयो; लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेका दलहरूमाथि जुन प्रकारले आक्रमण भयो; दलहरूको औचित्यबारे, नेतृत्व परिवर्तन, हस्तान्तरण र पुस्तान्तरणबारे जुन खाले बहस र छलफल चलिरहेका छन्, नेकपा एमालेले ती सबैको राम्रो हेक्का राखेको छ। यसबारे नेकपा एमाले विगतदेखि नै सचेत पनि छ।
हामीले त हाम्रो संगठनका हरेक संरचनामा प्रतिशत तोकेरै युवा पुस्ताको सहभागिता सुनिश्चित गरेका छौं। हरेक वडामा २५ जना युवालाई नयाँ सदस्यता दिएर ग्रुम गरिरहेका छौं। यो राष्ट्रिय महाधिवेशनबाट हामी यो भावनालाई अझ व्यापकता दिनेछौं, संयोजन गर्नेछौं।
विधान महाधिवेशनबाट अध्यक्ष ओलीलाई नै पुनः अध्यक्षको जिम्मा दिने गरी विधि तय गर्नुभयो, तर त्यो निष्कर्ष त दुर्घटित भयो नि होइन?
भदौ २३ र २४ को घटना नेकपा एमालेका कारण भएको होइन। एमालेको नीति, दृष्टिकोण, मान्यता वा अडानका कारण भएको होइन।
जहिले पनि अराजकता र अस्थिरताको पक्षमा बोल्ने, लेख्ने र नकारात्मकताको खेती गर्नेहरू यसमा दोषी छन्। समाजमा निराशा बाँड्ने, संघीयता मन नपराउने, हाम्रो राष्ट्रियता बलियो भएको मन नपराउने, हाम्रो स्वाधीनता र स्वाभिमानको झन्डा माथि उठेको हेर्न मन नपराउने, हाम्रो लोकतन्त्र, हाम्रो संविधान फस्टाएको र संस्थागत भएको मन नपराउनेहरूले लामो समयदेखि षड्यन्त्र बुन्दै गएका थिए।
उनीहरूले जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनको ढाडमा टेकेर त्यही षड्यन्त्र कार्यान्वयन गरेका हुन्। त्यसैले हामी पुरानै निष्कर्षका आधारमा यो महाधिवेशनबाट नेतृत्व निर्माण गर्न गइरहेका छौं।
भदौ २३ र २४ को घटनाका अनेक पाटा छन्। त्यसका भित्री तथा बाहिरी सत्यतथ्यहरू खुलिरहेका छन्। हामी अलग्गै ढंगले त्यसको छानबिन गर्ने, अध्ययन गर्ने र एउटा निष्कर्ष निकाल्ने हिसाबले गइरहेका छौं।
तपाईंहरूको निष्कर्ष सही थियो, मुलुकको राजनीति ठीकठाकै थियो भने एक्कासि विस्फोट भयो कसरी? यसबारे पनि समीक्षा गर्नुपर्ला नि?
त्यो स्तरबाट मुलुकमाथि हमला होला भन्ने अनुमान गर्न नसक्नु एउटा कमजोरीको पाटो होला। तर नेकपा एमाले र तत्कालीन सरकारका प्रधानमन्त्रीकै कारण सारा देश खरानी भएको निष्कर्ष निकालियो भने त्यो गलत हुन्छ। सच्चाइ त्यस्तो हुँदा पनि होइन।
त्यसैले सम्पूर्ण दोष केपी ओलीमाथि थोपरेर उनलाई देशबाट निकाला गर्नुपर्छ, पार्टीबाट गलहत्याउनुपर्छ भन्ने कुरा गरिन्छ भने त्यो प्रतिगमनकारी षड्यन्त्रलाई साथ दिनु हो। देशलाई कमजोर बनाउनु हो र नेकपा एमालेलाई ध्वस्त बनाउनु हो।
फेरि केपी ओलीकै वरिपरि राष्ट्रिय राजनीति घुम्नुपर्ने, सबै लोकतान्त्रिक शक्तिहरू गोलबद्ध हुनुपर्ने परिस्थिति देखापरेको अवस्थामा पार्टीमा उहाँको विकल्प खोज्ने कुरा जसरी प्रकट भइरहेको छ, त्यसले लामो समयदेखि एमालेमाथि हुँदै आएको घेराबन्दी जारी छ भन्ने देखाउँछ। यसमा नेकपा एमालेको पंक्ति पूरै सचेत छ। साढे ६ लाखभन्दा बढी पार्टी सदस्यहरूका बीचबाट २१५४ जना प्रतिनिधि चुनिएर आइसक्नुभएको छ। उहाँहरूले विवेकपूर्ण ढंगबाट फैसला गर्नुहुन्छ।
आन्दोलनपछाडि पार्टीहरूको नेतृत्वको प्रश्न पनि सँगसँगै उठेर आयो। अरू पार्टीहरूमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणका विविध पाटाबारे छलफल भइराखेकै छ। यो परिस्थितिमा केपी ओलीको औचित्य, आवश्यकता वा सान्दर्भिकता कसरी पुष्टि हुन्छ?
अहिले केपी ओलीलाई बिदा गर्ने वा विकल्प खोज्ने कुरा देशले सोच्न सक्दैन। राष्ट्र संकटमा छ, लोकतन्त्र धरापमा परेको छ। संविधान कोमामा पुगेको छ। राजनीतिक संस्था र राजनीतिक दलहरूमाथि हमला भएर थिलथिलो भएका छन्। नेपाली कांग्रेस आजको मितिसम्म उठ्न सकेको छैन। केही दलहरू विघटन भइसकेको अवस्था छ।
यस्तो बेला देश, लोकतन्त्र, संविधानको रक्षा, राष्ट्र–राष्ट्रियता, स्वाधीनता र स्वाभिमानबारे बोल्ने नेता कोही छ भने केपी ओली मात्र हो। त्यस कारण नेकपा एमाले विधान महाधिवेशनको म्यान्डेटलाई समेत ध्यानमा राखेर निष्कर्षमा पुग्छ।
अर्को म के भन्न चाहन्छु भने, नेतृत्व भनेको उमेरको नम्बरले होइन, राजनीतिक दृष्टिकोण, अडान, क्षमता, क्रियाशीलता र प्रभावकारिताले निर्धारण गर्छ। सबैलाई नेतृत्व गर्न सक्छ भन्ने अनुभूतिले नेतृत्व बन्ने कुरा हो।
जेनजी आन्दोलनपछाडि पुस्तान्तरण, हस्तान्तरणको कुरा उठेको छ। उमेरको नम्बरका आधारले राजनीति चल्छ र? उमेरको नम्बरले देश हाँकिन्छ र?
एमालेमा वैकल्पिक नेतृत्व तयार भइकेको अवस्था छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले म प्रतिस्पर्धा गर्छु, त्यसका लागि म योग्य छु भनिराख्नुभएको छ। पार्टी पुनर्गठनको आवाज पनि घनिभूत ढंगले उठिरहेको छ नि?
हाम्रा वरिष्ठ उपाध्यक्षले निकै ढिला गर्नुभयो। उहाँले महासचिवमा दुई कार्यकाल बसिसक्दा पनि म यो पार्टीको प्रमुख नेता हुन्छु, बन्दै छु वा बन्छु भनेर कहिल्यै उभिन सक्नुभएन। वरिष्ठ उपाध्यक्षको यो कार्यकाल पूरा हुँदै गर्दा पनि उहाँले त्यो कहिल्यै भन्नुभएन। हामीले भदौमा विधान महाधिवेशन सम्पन्न गर्दै गर्दा पनि भन्नुभएन। अनि भदौ २३ र २४ गते सारा देश यस्तो अवस्थामा पुगेको भोलिपल्ट पनि उहाँले भन्नुभएन, पर्सिपल्ट पनि भन्नुभएन, निकोर्सिपल्ट पनि भन्नुभएन। अझ निकै पछि पनि भन्नुभएन।
भदौ २५ गते नै अब केपी ओलीबाट चल्दैन, म तयार छु भनेर उहाँ उभिएको भए, अगाडि बढ्नुभएको भए धेरै मान्छेले पत्याउँथे होलान्। कार्यकर्ता पंक्तिले पत्याउँथे होलान्। त्योभन्दा अगाडि महासचिव दुई पटक चलाइसकेर त्यसपछि म हुन्छु भन्नुभएको भए पत्याउँथे होलान्। तर निकै ढिला, भर्खरै मात्र जब केपी ओलीलाई नै अबको नेता बनाउनुपर्छ भन्ने भयो, उहाँ अगाडि आउनुभयो।
भदौ २३ र २४ को घटनापछाडि केपी ओली मैदानमा नआइकन कोही नेता देखिनुभएन। केपी ओली मैदानमा आएर उहाँले नै नेतृत्व गरेपछि मात्र नेकपा एमाले चल्यो, अगाडि बढ्यो। अब फेरि पनि ओलीकै नेतृत्वमा मात्र पार्टी अगाडि बढ्न सक्छ भन्ने परिस्थिति देशैभरि निर्माण भइसकेपछि उहाँ अध्यक्ष बन्छु भनेर निस्कनुभयो। यस्तोमा कसरी उहाँलाई अध्यक्ष बनाउँछन् कार्यकर्ताहरूले? प्रतिनिधिहरूले कसरी पत्याउँछन्?
तर शेरधनजी, जति बेला अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर बालुवाटारबाट बहिर्गमित हुनुभयो, सेनाको शरणमा पर्नुभयो, ईश्वर पोखरेलले कार्यवाहक अध्यक्ष दिनुस् म चलाउँछु, पार्टीका बैठकहरू राख्छु, पार्टीलाई गति दिन्छु भन्नुभएको हो नि? त्यो त उहाँको हक थियो नि? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई विश्वास गरेर कार्यवाहक दिन हुने, अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरललाई कार्यवाहक दिन नहुने? यो कुरा त यहाँले उठाउनु भएन?
होइन। खास बेला, खास परिस्थितिमा नेताले एक लाइनको कार्यवाहकको चिठी माग्ने होइन। उभिने हो मैदानमा। सेकेन्ड-म्यान उहाँ होइन? मैदानमा निस्केर सारा कार्यकर्तालाई आह्वान गर्दै विचलित नहुनूस् भन्ने उहाँको दायित्व होइन? उहाँले सबैलाई समन्वय गर्ने, लिड गर्ने उहाँको हक, अधिकार होइन? त्यसको निम्ति केपी ओलीको एक लाइनको कार्यवाहक उहाँलाई आवश्यक पर्छ र?
नेता भनेको संकटमा उभिनुपर्यो। संकटमा थिग्रिनुपर्यो। यो परिस्थिति सामना गर्नुपर्यो, सम्हाल्नुपर्यो, अगाडि बढ्नुपर्यो। अनि पो तपाईंको नेतृत्व स्थापित हुन्छ। हामी त त्यही सिलसिलाबाट आएका छौं।
मेरै कुरा गर्नुहुन्छ भने, म कहिले मूल बाटो नबिराएको मान्छे हुँ। म कहिले अल्मलिएर, ढुलमुलिएर, खुम्चिएर अनि डराएर एक सेकेन्ड पनि कमजोरी गरेको छैन। मेरै राजनीतिक जीवनमा पनि हरेक खण्ड भोग्दै, खेप्दै, थेग्दै, टिक्दै आज म यो ठाउँमा आइपुगेको छु। त्यसैले अब केपी ओलीले कार्यवाहकको चिठी पठाइदिनुपर्थ्यो, तोक्दिनुपर्थ्यो, भन्दिनुपर्थ्यो भन्ने एउटा प्राविधिक र कागजी कुरा हो यो।
देश जलिरहेको बेला प्रमुख नेता सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न? कहाँ के होला? त्यस्तो बेला आफ्नो नेता कहीँ तलमाथि होला खबरदार भन्नुपर्दैनथ्यो? परिस्थिति सामना गर्न गलत कुराहरूको विरोध र भण्डाफोर गर्दै पार्टी सम्हाल्न निस्किनुपर्ने हो नि त! त्यसमा पनि उहाँ चुक्नुभयो। मैले उहाँ निकै ढिला अगाडि आउनुभयो भन्ने कारण यो पनि हो।
यो कुरा मैले मात्र होइन, नेकपा एमालेको पंक्तिले मात्र होइन, यो त सबै सचेत आमनागरिकले महसुस गरेको कुरा हो।
आफ्नो प्रशंसा त गर्नुभयो तर तपाईंले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धोका दिनुभयो भन्ने छ नि?
म नेकपा एमाले मूलद्वार, मूलबाटो, हाइवेमा हिँडिरहेको एउटा इमानदार कार्यकर्ता हुँ। अहिले पनि म त्यही बाटोमा छु। त्यही हाइवेमा छु।
भनेको विद्या भण्डारीलाई धोका दिनुभएको होइन?
व्यक्तिगत सम्बन्धका आधारमा मैले व्यक्तिकै पछाडि त कुद्नुभएन नि! म त पार्टी सदस्य हुँ। पार्टीको नीति, सिद्धान्त र विचारका आधारमा सदस्य भएको हुँ। पार्टीको जे गन्तव्य हो, जे उद्देश्य हो; त्यो गन्तव्य र उद्देश्यमा पुग्न जुन बाटो हो, त्यो बाटो हिँड्नुपर्यो नि। मेरो त्यही पहिचान हो।
म कहिले पनि दायाँबायाँ हल्लिएको, दायाँबायाँ अल्मलिएको मान्छेभित्र पर्दिनँ। मेरो त्यो असली र सत्य परिचय हो। म एक सेकेन्ड कहीँ, कतै अल्मलिएको कार्यकर्तामा पर्दिनँ। मूल बाटोमै छु, सही बाटोमा छु। आफ्नो गन्तव्यमा हिँडिरहेको छु।
उहाँको सदस्यता रोकियो, पार्टीमा फर्कन गजबार हालियो, तर तपाईंले बोल्नुभएन, किन?
नेकपा एमालेले गरेको निर्णय भनेको राजनीतिक निर्णय हो। लोकतान्त्रिक गणतन्त्र नेपालको सर्वोच्च पद राष्ट्राध्यक्ष भइकेको मान्छे फेरि एउटा कार्यकर्ता, सदस्य, नेता भएर...! यो राजनीति त अनेक झमेलाको बाटो हो नि। खेल हो नि त यो।
त्यस्तोमा फेरि फर्किँदा राष्ट्राध्यक्ष भन्ने पदको गरिमा, इज्जत, प्रतिष्ठा, मर्यादा कायम हुन्छ कि हुँदैन? कस्तो स्थिति बसाउने होला? यो त नेपालमा पहिलो पटक हामी अभ्यास गरिरहेका छौं। जनताका छोराछोरी नै राष्ट्राध्यक्ष हुने प्रबन्ध त हामी आफैले स्थापित गरेका हौं, बनाएका हौं।
त्यो ओहोदालाई कसरी सुरक्षित गर्ने होला, कसरी सम्मानित र मर्यादित गर्ने होला भन्ने सन्दर्भमा नेकपा एमालेले गरेको राजनीतिक निर्णय हो त्यो। तथापि यसबारे भोलि पनि छलफल होला। त्यसमाथि छलफल गरेर निर्णयहरू लिनुपर्ला, त्यो बेग्लै विषय हो।
अहिले म यति मात्र भन्छु, सर्वोच्च पद राष्ट्राध्यक्षमा पुगेको व्यक्ति फेरि पार्टीको कार्यकर्ता बनेर, तल विभिन्न कुरामा सामेल हुनुले भोलि त्यो पदको गरिमा घट्छ। भोलि त्यो पदबाट खेल्नुपर्ने भूमिकाप्रति विश्वास र भरोसा कसरी होला? यो निकै संवेदनशील कुरा हो। त्यस सन्दर्भमा नेकपा एमालेले लिएको दृष्टिकोण हो त्यो। त्यो दृष्टिकोण बनाउने कुरामा मेरो विमति रहेन, केन्द्रीय कमिटीको सदस्यका हिसाबले।
अझै प्रस्ट भन्दिनुस् न, विद्या भण्डारी पार्टीमा फर्कनु गलत, पार्टीको निर्णय सही हो?
पार्टीको जुन राजनीतिक निर्णय भएको छ, त्यो सही निर्णय हो।
त्यो त विद्या भण्डारीज्यूको हकमा गरेको निर्णय होइन नि। त्यो त एउटा संस्था, ओहोदाको सन्दर्भमा गरिएको निर्णय पो हो। भोलि शेरधन राई राष्ट्रपति बन्यो भने पनि उसको हकमा पनि लागू हुने कुरा हो। वा, जोकोही त्यस पदमा पुग्ने व्यक्तिका लागि, त्यो संस्थाका लागि र त्यो सिस्टमका लागि गरिएको निर्णय हो। व्यक्तिलक्षित होइन त्यो। त्यसरी हामीले बुझ्नु हुँदैन।
शेरधन राईसँगको पूर्ण अन्तर्वार्ता, हेर्नुहोस् भिडिओमा —