आफूले काम गर्ने कार्यालय पुग्न हामीमध्ये कोही सार्वजनिक सवारी प्रयोग गर्छौं, कोही निजी सवारी चलाउँछौ भने कोही हिँडेर जान्छौं तर अमेरिकाका कर्ट भोन बाडिनस्की भने अफिस जान हरेक दिन जहाज चढ्छन् र अफिस आउन जानकै लागि दैनिक छ घन्टा यात्रा गर्छन्। मेकानिकल इन्जिनियर बाडिनस्की सानफ्रान्सिस्कोस्थित एक प्रविधि कम्पनीका सहसंस्थापक हुन्।
लसएन्जलसमा बस्ने उनी हरेक दिन बिहान पाँच बजे उठ्छन् र १५ मिनेट गाडी चलाएर बब होप बर्ब्यांक विमानस्थल पुग्छन्।
त्यहाँबाट ५६८ किलोमिटरको दुरीमा रहेको ओकल्याण्डमा पुग्न उनलाई जहाजमा ९० मिनेट लाग्छ। महिनाको दुई लाख तीस हजार (२,३००डलर) भाडा तिरेपछि एउटा सिंगल इन्जिन जहाजमा असीमित उडान गर्न पाइन्छ। उनले त्यही सेवाको प्रयोग गरिरहेका छन्।
विमानस्थलमा उनले नियमित चेकजाँच गर्नु पर्दैन्। जहाजमा यात्राको क्रममा उनी आफ्ना केही महत्वपूर्ण काम गर्छन्।
लसएन्जलसमा चर्को घाम लागेको दिन सानफ्रान्सिस्कोमा कुहिरो लागेर चिसो हुन्छ।
ओकल्याण्ड विमानस्थलमा उनले बिजुलीबाट चल्ने कार राखेका हुन्छन्। जहाजबाट झरेर उनी कार हाँक्दै अफिस जान्छन्।
उनी साढे आठ बजे कार्यालयमा हाजिर भइसक्छन्। अफिसमा उनी साँझ ५ बजेसम्म काम गर्छन् र घर फर्किनका लागि विमानस्थल आउँछन्।
सवा सात बजे ओकल्याण्ड विमानस्थलबाट जहाज चढ्ने उनी राति ९ बजे घर आइपुग्छन्।
‘म छ घन्टा लामो यात्राको औचित्य बुझ्छु, यसमा त्यो सबै हुन्छ जे म चाहन्छु’ बाडिनस्कीले भने, ‘म हरेक बिहान दिनको सुरुवात गर्न उत्साहित हुन्छु।’