यस वर्ष मनसुन बाहिरिने बेला असोजे झरी परिरहेको छ। शनिबार बिहान वर्षाको केन्द्र काठमाडौं उपत्यकाजस्तो देखिएको थियो, अहिले मधेस प्रदेश केन्द्र बनेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेसका ६ वटा केन्द्रमा मुसलधारे पानी परिरहेको छ। पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने यसपटक केही स्थानमा रेकर्ड ब्रेक वर्षा हुनेछ। यसबारे निर्क्यौल गर्न भने आइतबार साँझसम्म कुर्नुपर्ने हुन्छ।
मनसुन सकिने बेला मुसलधारे पानी पार्ने नयाँ मौसमी प्रणाली कहाँबाट भित्रियो भन्ने सबैलाई चासो छ।
हामीले यसबारे मौसमविद् मीनकुमार अर्याललाई सोधेका छौं।
उनले बंगालको खाडी हुँदै पानीका कणहरू बोकेको हावा नेपाल प्रवेश गरेकाले त्यसले भीषण वर्षा गराइरहेको जानकारी दिए।
उनका अनुसार दक्षिणपूर्वी भारतको उडिसा राज्य आसपास बनेको वर्षा गराउने प्रणालीले पनि नेपालमा मुसलधारे पानी पार्न भूमिका खेलेको छ।
'हामीले केही दिन अगाडिदेखि नै बंगालको खाडीबाट पर्याप्त जलवाष्प बोकेको वायु नेपाल प्रवेश गर्दैछ भनेर बुलेटिन जारी गरेका थियौं,' उनले भने, 'अहिले वर्षा गराएको त्यही प्रणालीले हो। भारतको उडिसा राज्य आसपास बनेको पानी पार्ने प्रणालीको प्रभाव पनि नेपालको मौसममा पर्ने नै भयो।'
यो नयाँ मौसमी प्रणाली लुम्बिनी र गण्डकीदेखि पूर्वमा कोशीसम्म फैलिएको छ। पश्चिममा भने फैलिएको छैन। यसको कारण पश्चिमी वायुको प्रभाव हुनसक्ने उनले बताए।
'पूर्वबाट आएको वायु अहिले कोशीदेखि लुम्बिनी र गण्डकी पूर्वसम्म छ, त्यहाँबाट पश्चिमतिर विस्तार भएको छैन। यसको कारण पश्चिमी वायुको प्रभाव हुनसक्छ,' अर्यालले सेतोपाटीसँग भने।
मनसुन याममा सोमालियाबाट सिर्जना भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्ने मनसुनी वायुको प्रभाव हुन्छ। हिउँद याममा अरबी सागर हुँदै आउने पश्चिमी वायुको प्रभाव हुन्छ।
मनसुन याममा देशको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुनी वायु प्रवेश हुन्छ। बाहिरिने बेला पश्चिमी वायुले धकेल्दै सुदूरपश्चिमबाट मनसुन बाहिरिने क्रम सुरू हुन्छ।
'अहिले पश्चिम वायुको अवरोधका कारण यो प्रणाली पश्चिम नसरेको हो कि!' उनले भने।
अर्यालले अहिले यो प्रणाली उत्तरपूर्व सरिरहेको र अनुमान गरेभन्दा कम गतिमा पूर्वतिर सरिरहेको बताए। उनले भोलि बिहानसम्म काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, मधेस, कोशी प्रदेशमा वर्षा हुने र बिहानपछि केही मत्थर हुने सम्भावना देखिएको बताए।
'भोलि बिहानबाट केही कमजोर बन्न सक्छ,' उनले भने।
हामीले विपदविद् धर्मराज उप्रेतीलाई पनि यसबारे सोध्यौं।
उनले पनि उत्तर बंगालको खाडीमा विकास भएको प्रणाली भारतको बिहार हुँदै उत्तर प्रदेशबाट नेपाल छिरेको र त्यसले मनग्गे वर्षा गराउन भूमिका खेलेको बताए।
'उत्तर बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्र कहिले सीधा बाटो तय गर्दै भारत त कहिले बंगलादेश र म्यानमारतिर लाग्ने गर्थ्यो, यसपटक सीधै उत्तर हानिएर नेपालतिर आयो। साथै बंगालको खाडीबाट उच्च जलवाष्प बोकेको मनसुनी वायु नेपालतिर आउँदा र यी दुई प्रणाली मिसिँदा यहाँ घनघोर वर्षा हुने स्थिति बन्यो,' उनले भने।
यसपटक भित्रिएको प्रणालीको प्रकृति हेर्दा लुम्बिनी प्रदेशमा पनि फैलिने अवस्था रहे पनि पश्चिमी वायुका प्रभावले विस्तारित हुन नपाएको उनले बताए।
'अफगानिस्तान, पाकिस्तान, भारतको पञ्जाब, हरियाणा, दिल्ली हुँदै उत्तराखण्डसम्म मनसुन बाहिरिसकेको अवस्था थियो। यस्तो अवस्थाले अहिलेको प्रणाली पश्चिम सर्न पाएन,' उनले भने।
उनका अनुसार भोलि बिहान ११ बजे आसपाससम्म यो प्रणाली पूर्वतिर सर्दै साँझसम्म नेपालबाट बाहिरिइसक्ने पनि अनुमान गरे।
उप्रेतीले ६–७ दिनअगाडि अरब सागरबाट एउटा न्यूनचापीय प्रणाली आएको र त्यसले नेपालको सुदूरपश्चिम आसपास वर्षा गराएको बताए। तर त्यो प्रणाली ओमनतिर सरेकाले अहिले मिसिन नपाएको बताए।
'त्यो प्रणाली पनि नेपालमा सक्रिय भएको भए अझ ठूलो वर्षा हुने स्थिति बन्थ्यो,' उनले भने।
रौतहटको महेशपुरमा पछिल्लो २४ घन्टामा ३०९.८, गौरमा २७३.८, पर्साको वीरगन्जमा २६३.४, गरूडामा २५३.४, कलैयामा २३९.६, पर्साको रंगपुरमा २०५ सिमरामा १७७.४, निजगढमा १७३. मुडलीमा २३१.८ मिलिमिटर वर्षा भएको छ। यो भनेको अति भारी वर्षा हो। विभागकै आकडा पछ्याउँदा महेशपुर, गौर अझ बढी वर्षा हुने देखिन्छ।
***