मौसमविद्हरूले वर्षातको क्रम शनिबार राति अझ बढ्ने र आइतबार बिहानसम्म निरन्तर रहने जनाएका छन्। यस अवधिमा अनावश्यक रूपमा यात्रा नगर्न सरकारी निकायहरूले सर्वसाधारणसँग आग्रह गरेका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने लामो र छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। बिपी, अरनिको, बल्खु–हेटौंडा, कान्ती, सीतापाइला–धार्के, चन्द्रागिरि–चित्लाङ र नागढुंगा–मुग्लिन सडकमा सवारी गुड्न नदिने प्राधिकरणको निर्णय छ।
सडक प्रयोगकर्ताहरूको सुरक्षाका लागि सरकारले गरेको यो राम्रो निर्णय हो।
यसको प्रभावकारी कार्यान्वयन निम्ति ट्राफिक प्रहरीहरूले सवारी आवागमनमा कडाइ गर्नुपर्छ। सर्वसाधारणले पनि अटेर नगरी सरकारी निर्देशन पालना गर्नुपर्छ।
नियामक निकायको सूचना अटेर गर्दा विगतमा ठूला दुर्घटनाहरू भएका उदाहरण छन्। झ्याप्ले खोलाको दुखान्त त्यसैमध्ये एक हो।
'सूचना अटेर गर्दा कस्तो विपत्ति आइलाग्छ भन्ने पोहोरकै हाम्रो अनुभव छ,' प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलले भने, 'बरू राजमार्गमा छेकबार राखेर भए पनि कडा नियमन गर्नुपर्छ।'
गत वर्ष असोज १० देखि १३ गतेसम्म २५ ठाउँमा रेकर्ड ब्रेक वर्षा भएको थियो। काठमाडौं उपत्यकामै ११ स्थानमा वर्षाले यसअघिको रेकर्ड तोडेको थियो। त्यो दुई दिनको अवधिको विपदबाट झन्डै तीन सय जनाको ज्यान गएको थियो।
झ्याप्ले खोलामा तीनवटा यात्रुवाहक सवारी साधन पुरिँदा ३५ जनाको मृत्यु भएको थियो।
'त्यति बेला पनि राति सवारी नचालउने निर्णय भएको थियो। प्राधिकरणले निर्णय गर्ने र जिल्ला प्रशासन कार्यालयहरूले त्यसलाई कार्यान्वयन गराउने हो। तर त्यति बेला सूचनालाई अटेर गर्दा ठूलो विपत्ति निम्तियो,' पोखरेलले भने।
त्यति बेला प्राधिकरणले कोशीका ११, मधेसका ३, बागमतीका १२, गण्डकीका ११, लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका तीन जिल्लामा रेड अलर्ट जारी गर्दै ९ बुँदे परिपत्र जारी गरेको थियो।
मनसुनजन्य विपत्तिलाई ध्यानमा राखेर प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउने निर्णय गरेको थियो। तर सूचनाको पालना नहुँदा एउटा माइक्रो बस र अर्को ठूलो यात्रुवाहक बस पहिरोमा पुरिएका थिए।
जल तथा मौसम विज्ञान विभागको सूचनालाई अटेर गर्दा गत वर्ष नै सिमलताल दुर्घटना पनि निम्तियो।
त्यति बेला पनि विभागले चितवन जिल्लामा रेड अलर्ट जारी गर्दै सावधानी अपनाउन भनेको थियो। तर अटेर गरी रात्रि सवारी साधन चलाउन दिँदा सिमलताल नजिकैको सिन्दुरे गहिरोमा भेलबाढी आउँदा काठमाडौंबाट गौर गइरहेको र वीरगन्जबाट काठमाडौं आइरहेको बस भेलबाढीले बगाएर बेपत्ता भएका थिए।
कुल ६५ जना यात्रु सवार ती दुई गाडीबाट तीन जना यात्रु बाँच्न सफल भएका थिए। बाँकी ५९ जना बेपत्ता भएका थिए। त्यसमध्ये २० जना हाराहारीको मात्रै शव फेला परेको थियो।
यसपालि पनि प्रतिकूल मौसमका बाबजुद तुइन खोलामा सवारी गुडिरहेका छन्। काठमाडौंतर्फ जाने सवारीलाई कुरिनटारमा रोकेको भए पनि पोखरा जाने सवारी साधन बिनारोकतोक गुडिरहेको चितवनस्थित हाम्रा संवाददताले जानकारी दिएका छन्।
तुइन खोलाको सुख्खा पहिरोले यसअघि नै चार दिनसम्म बाटो अवरूद्ध तुल्याएको हामीसँग दुःखद् अनुभव छ।
सवारी साधन बीच बाटोमा आइपुगेपछि सूचना जारी गरिएकाले यात्रुवाहक बस अहिले ठाउँ ठाउँमा होल्ड गरिएका छन्। सुरक्षाकर्मी चनाखो नहुने हो भने ती सवारी साधनले लेन अनुशासन मिच्दै काठमाडौंतर्फ आउन सक्ने सम्भावना रहेको विगतकै अनुभवले पनि देखाउँछ।
विगतको अनुभवबाट पाठ सिक्दै अहिले सरकारले जारी गरेको सूचनालाई अटेर नगर्न र सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।