अहिलेको वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह बढेर जोखिम भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका फोटा र भिडिओ फैलिइरहेका छन्।
हामीले यसबारे जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई सोधेका छौं।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अहिले सामाजिक सञ्जालमा फैलिएका फोटा र भिडिओहरू पुराना भएको बताएका छन्।
यस्ता सामग्री राखेर त्रस्त बनाउने प्रयास भएको भन्दै उनले कोशी ब्यारेजको अवस्था ठिकै रहेको बताए।
'हाल कोशी ब्यारेजमा पानीको बहाब करिब एक लाख क्युसेक आसपास मात्र छ। ५६ वटा ढोकामध्ये १५ ढोका मात्रै खोलिएको छ,' उनले भने।
प्रजिअ मिश्रले अहिलेसम्म कुनै जोखिमपूर्ण अवस्था नभएको र स्थिति पूर्ण रूपमा सामान्य भएको पनि बताए।
सामाजिक सञ्जाल वा सञ्चार माध्यममा पुराना सामग्री हालेर भ्रम सिर्जना नगर्न र भ्रममा नपर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ।