पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार दिउँसो ६ जनाको ज्यान जाने गरी भएको गाडी दुर्घटनाका मृतकको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका ६ जनाको भने पहिचान खुलेको छ।
'मृतकको सनाखत भइसकेको छैन, आफन्तहरू खोज्ने क्रम जारी छ,' पाँचथर प्रहरी प्रमुख डिएसपी अनिशकुमार कर्णले भने।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ताप्लेजुङबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको गाडी तमोर करिडोर सडक खण्डमा पुग्दा अनियन्त्रित भई करिब ३०० मिटर तल तमोर खोलाको किनारमा खसेको थियो।
गाडीमा सवार १२ जनामध्ये घटनास्थलमै तीन महिला र तीन पुरूष गरी ६ जनाको मृत्यु भएको थियो।
तीन जनाको शव जिल्ला अस्पताल पाँचथर ल्याइएको र बाँकी तीन जनाको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका पाँच जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र एक जनाको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।
बिपी प्रतिष्ठानमा उपचाररत घाइतेहरूमा ताप्लेजुङ मेरिङ्देन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्लाखोला–४ की २५ वर्षीया मनु सावाँ लिम्बू, कालीखोला निवासी ७ वर्षीय अनिश लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईं र ताप्लेजुङ मेरिङ्देन–५ का २५ वर्षीय बिमल लिम्बू छन्।
उनीहरूमध्ये मनु सावाँ लिम्बू र बिमल लिम्बुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्ला अस्पताल पाँचथरमा मिक्लाखोला–४ का करिब ३० वर्षीय संजोहाङ लिम्बूको उपचार भइरहेको छ। उनको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको र खुट्टा तथा शरीरका विभिन्न भागमा चोट पुगेको प्रहरीले बताएको छ।