चीनमा प्रजातन्त्र निम्ति अभियन्ता एवं नोबल पुरस्कार विजेता लिउ जियाबोको निधन भएको छ। चीनमा मानवअधिकारको पक्षमा लडेकै कारण विश्वभरि चिनिएका लिउ ६१ वर्षका थिए।
उत्तरपूर्वी चीनस्थित एक अस्पतालमा कलेजो क्यान्सरका कारण उपचाररत अवस्थामै उनको निधन भएको हो। उनको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको थियो। लिउलाई गत महिना मात्र जेलबाट अस्पताल ल्याइएको थियो। पछिल्लो समय राज्यविप्लवको अभियोग लगाएर उनलाई ११ वर्षको जेल सजाय सुनाइएको थियो। कुनै समय विश्वविद्यालयका प्राध्यापक रहेका लिउले मानवअधिकारका पक्षमा वकालत थालेपछि राज्यले उनलाई अपराधीका रुपमा चित्रण गर्न थालेको थियो।
उनकी पत्नी लिउ जियालाई पनि घरमै नजरबन्द गरिएको छ। जेलमै अधिकांश जीवन बिताउन थालेका लिउलाई कुनै कुनै बेला मुक्त गरिँदा पनि कडा निगरानीमा राख्ने गरिन्थ्यो र तोकेको ठाउँमा मात्र आवतजावत गर्न दिइन्थ्यो।
थुप्रै पश्चिमा मुलुकले लिउलाई मुक्त गर्दै विदेशमा कतै राम्रो स्वास्थ्य सेवाको अवसर दिन चीन सरकारलाई अनुरोध गर्दै आएको थियो। उनलाई केही समयअघि मात्र परीक्षण गरेका एक जर्मनेली र एक अमेरिकी चिकित्सकले उपचारार्थ लिउलाई विदेश लैजान सकिने बताएका थिए। तर, चिनियाँ स्वास्थ्यविज्ञहरु उनको स्वास्थ्य अवस्था अत्यन्तै खराब रहेकाले बाहिर लैजान नसकिने किसिमको अडानमा थिए।
अधिकारको लडाइँमा लागेकै कारण बाह्य संसारमा उनी अत्यन्त प्रसिद्ध रहँदा रहँदै पनि उनलाई चीनमा धेरैले चिन्दैन थिए, किनभने उनीबारे समाचार राज्यले सेन्सर गर्दै आएको थियो।
सन् १९८९ मा भएको तियानमेन स्क्वायरमा सैनिक दमनको घटनामा उनले महत्वपूर्ण भूमिका खेलेपछि लिउ लगातार चीन सरकारको आँखाको तारो बन्दै आएका थिए। त्यतिबेला उनले केही सहयोगीहरुको साथमा थुप्रै युवाको ज्यान जानबाट बचाएका थिए। बेइजिङस्थित तियानमेन चोकमा भएको उक्त घटनामा विरोध प्रदर्शन गरिरहेका युवाहरुको शरीरमाथि सेनाले ट्यांकर चढाइदिएपछि धेरैको ज्यान गएको थियो।
त्यो घटनालगत्तै जेल परेका उनलाई सन् १९९१ मा मुक्त गरिएको थियो। तियानमेन घटनामा जेल परेकाहरुलाई मुक्त गराउन लिउले खेलेको भूमिकाकै कारण उनलाई चीनकै पूर्वोत्तर भेगमा तीन वर्षसम्म श्रम शिविरमा राखिएको थियो। श्रम शिविरमै रहेका बेला सन् १९९६ मा उनलाई कवयित्री लिउ जियासँग बिहेको अनुमति दिइएको थियो।
राज्य विप्लवको अभियोगमा जेल सजाय काटिरहेकै बेला सन् २०१० मा उनलाई नोबेल पुरस्कारले विभूषित गरिएको थियो।