तपस्वीको भेस धारण गरेका रामबहादुर बमजनले आफूमाथि पनि यौन दुर्व्यवहार गरेको उनको आश्रममा बसेकी एक पूर्वआनीले बताएकी छन्।
मकवानपुरको छतिवनस्थित अजिङ्गरेकी असली लामा नामकी पूर्वआनीले आफू पनि बमजनको यौन दुर्व्यवहारको सिकारमा परेको सेतोपाटीसँगको कुराकानीमा बताइन्।
सेतोपाटीमा बमजन आश्रमभित्र बलात्कार, हिंसा र हत्याको दुष्चक्रबारे शृंखलाबद्ध रिपोर्टिङ पढेपछि उनका पति दीपक भुजेलले आफ्नी पत्नीले पनि दुर्व्यवहार खेप्नुपरेको भन्दै प्रतिक्रिया लेखेका थिए। त्यसको केही समयपछि सम्पर्कमा आएकी असलीले आफू बमजनको आश्रममा बस्ने पहिलो समूहकी आनी भएको बताइन्।
'रामबहादुर बमजनको हलखोरियास्थित आश्रममा सबभन्दा पहिले आनी बनेका हामी चार जना थियौं,' उनले सेतोपाटीसँग भनिन्, 'हामी बस्न थालेको झन्डै ४ वर्षपछि उसले मलाई दुर्व्यवहार गर्यो।'
बमजन २०६२ जेठबाट बारा जिल्लाको रतनपुरी जंगलमा तपस्या बस्न थालेका थिए। असली भने त्यो बेला एक जना गुरूसँग लामा पढिरहेकी थिइन्। तपस्या बसेका बमजन पनि आफ्ना चेला भएको गुरूले उनलाई बताए। उनकी बहिनी पनि सँगै पढ्थिन्।
एक दिन गुरूले नै बमजनको दर्शन गर्न भनेर रतनपुरी जंगलमा लगे। दर्शन गर्न गएका उनीहरू त्यहीँ बस्न थाले। त्यहाँ गएपछि बल्ल असलीलाई थाहा भयो, बमजनकी आमा नातामा उनकी फूपु पर्दिरहिछन्। टाढाको साइनो भए पनि उनी त्यही परिवारमा बस्न थालिन्। बमजनको घरमा धेरै काम हुन्थ्यो। पूजा पनि चलिरहन्थ्यो। असलीले फूपुको परिवारलाई काममा सघाउन थालिन्।
हलखोरियामा बमजनले आश्रम निर्माण गरेपछि असली र उनकी बहिनी त्यहीँ गए। त्यसबाहेक विष्णु बल र मीना वाइवा पनि आनी बनेर त्यहाँ बस्न थाले।
असलीका अनुसार त्यतिखेर बमजनको नियमित सम्पर्कमा उनको परिवार मात्र थियो। बमजनको संरक्षणका लागि बनेको समितिका मान्छेहरू त्योभन्दा बाहिरी घेरामा थिए।
'बमजनका दाजु, दिदीहरू मनमाया र राजकुमारी भित्र जान पाउँथे। सुरूमा हामी बाहिर आश्रममा मात्र बस्थ्यौं। दर्शन पाइन्नथ्यो,' असलीले भनिन्।
धेरै समय बितेपछि एकदिन बमजनकी दिदी राजकुमारीले चार जनालाई राखेर सोधिन्, 'तिमीहरू गुरूका लागि के के गर्न सक्छौ?'
'मैले सोचेँ। जंगलमा बसेको गुरूलाई कसैले केही गर्यो भने वा आश्रममा आक्रमण भयो भने के गर्छौ भनेको होला,' असलीले भनिन्, 'त्यस्तो सोचेर ज्यान दिन तयार छौं भनेका थियौँ। कुरा त अर्कै रहेछ।'
त्यो दिन राजकुमारीले उनीहरूलाई भनिन्, 'गुरूले खाना खान्छ।'
उनीहरू झस्किए। त्यतिञ्जेल उनीहरू बमजन निराहार तपस्या बसेको विश्वासमा थिए। असलीले सोधिछन्, 'किन दुनियाँलाई गुरूले केही खाँदैन भनेको त? तपस्या बसेको भनेर किन भनिरहेको त?'
'तपस्या गरेको त साँच्चै हो। सुरूमा खाँदैनथ्यो, पछि उसले खाना ल्याउनू भन्न थाल्यो,' राजकुमारीको जवाफ सम्झिँदै उनले भनिन्, 'बाहिरकालाई भन्यो भने पत्याउँदैनन्, त्यसैले नभनेको।'
त्यसपछि असलीलाई बमजन बस्ने गरेको पाताल गुम्बाभित्र जाने अनुमति मिल्न थाल्यो। बमजनका दिदीहरू मनकुमारी र राजकुमारीले बमजनका लागि खाना पकाएर लगिदिने काम उनलाई लगाउन थाले।
'बमजन तपस्या बसेको ठाउँमै एउटा ठूलो रूख थियो। त्यो रूखको मुनिपट्टि एउटा प्वाल थियो। त्यहाँ सेतो बाल्टिन राखेको हुन्थ्यो। मैले लगेर खाना त्यसमा राखिदिन्थेँ। बमजनले आफूलाई मन लागेको बेला खान्थ्यो। अरूलाई त्यहाँसम्म जाने अनुमति थिएन,' उनले सम्झिइन्।
उनीहरू बमजनलाई कहिल्यै सिधा नजरले हेर्दैनथे। उनको अघि जाँदा टाउको निहुर्याउँथे। उनीहरूको समुदायमा आफ्ना गुरूलाई सम्मान गर्ने तरिका त्यही हो।
बमजनले विस्तारै असलीसँग कुरा गर्न सुरू गरे।
'तिम्रो घर कहाँ हो? घरमा को को हुनुहुन्छ भनेर सोध्थ्यो,' उनले सेतोपाटीसँग भनिन्, 'मैले टाउको निहुर्याएरै भन्थेँ- हजुरलाई त नभनी सबै कुरा थाहा हुन्छ हैन र?'
त्यति बेला बमजनले तपस्याको बलमा सबै कुरा थाहा पाउँछन्, अरूको मनको कुरा पनि थाहा पाउँछन् भन्ने उनीहरूको विश्वास थियो।
'मलाई सबै थाहा छ तर तिम्रो मुखबाटै सुन्न मन भएर,' बमजनले जवाफ दिएका थिए।
असलीले आफ्नो घरबारे सबै भनिन्।
त्यसपछि बमजनले भने, 'तिमीले धेरै दुःख पाएकी रहेछौ, म तिम्रो सहारा बन्छु।'
उनलाई टाउको नझुकाउन बेलाबेला बमजनले निर्देशन दिन्थे। उनले भने गुरूलाई सिधै हेरे अपमान हुने भनेर टाउको झुकाउँथिन्।
एकदिन मनकुमारी दिदी काठमाडौं गइन्। जानुअघि राति हैन, दिउँसो मात्र खाना पुर्याउन असलीलाई भनेकी थिइन्।
उनी खाना लिएर गएको बेला बमजनले आफ्नो शास्त्र सिकाउने कुरा गरे। उनी अलमलिइन्। बमजनले हात समातेर 'आफैं सिकाउँछु तिमीलाई' भनेर गुम्बाभित्र अलि पर लगे।
'उसले एक्कासि मेरो दुवै कुममा हात राख्यो,' उनले भनिन्, 'म खुब डराएँ। त्यसअघि कोही छोरामान्छेले मलाई त्यसरी छोएको थिएन।'
'के गर्नुभएको?' उनले अनुहार झुकाएरै सोधिन्।
'किन डराएकी? यता मेरो अनुहारमा हेर त भन्दै उसले मेरो अनुहार उठायो र आफ्नो मुख मेरो मुखमा जोड्यो,' असलीले सम्झिइन्, 'मलाई बेस्सरी अँठ्यायो। म फुत्किन खोजेँ तर सकिन। हामीले आश्रममा लगाउने पहेँलो भेष्ट बाहुला नभएको हुन्छ। कुममुनिबाट उसले मेरो ज्यानमा हात हाल्यो। मेरो भेष्ट च्यातियो। मलाई त्यो बेला खुब डर र खुब लाज लागेको थियो। एक्कासि बमजनले मलाई छाड्यो। त्यतिखेर पछाडिबाट राजकुमारी दिदी आएकी रहिछन्।'
राजकुमारीले आफ्ना भाइलाई किन त्यस्तो गरेको भनेर रूँदै सोधिन्। असलीलाई पनि यसबारे बाहिर गएर केही नभन्नू भनिन्।
असलीले 'किन आफूलाई त्यस्तो गरेको' भन्दै सोधिन्।
'तिमी अन्यथा नसोच। पहिलो जन्ममा तिमी मेरी बुढी थियौ,' बमजनले भनेछन्, 'मेरो ६ वर्षे तपस्या पूरा भएपछि सबैको अगाडि तिमीलाई बुढी बनाउँछु।'
'यो त राम्रो काम हैन, म बाहिर गएर भन्छु भन्दा राजकुमारी दिदीले मलाई रोक्यो। त्यसपछि उनले नै मलाई आश्रमबाट घर पठाइन्। मलाई कडा निगरानीमा राख्न थालियो,' उनले भनिन्, 'बमजनका दाजुले पनि थाहा पाए। बाहिर गएर मुख खोलिस् भने मारी नै दिन्छु भनेर थर्काउँथे।'
मनकुमारी काठमाडौंबाट आएपछि फेरि असलीलाई आश्रममै फर्काइन्।
यो घटना हुनुअघि नै सर्लाहीकी रिता वोट हलखोरिया आश्रम आइसकेकी थिइन्। असलीले पछि बमजन र रिताको सम्बन्ध रहेको थाहा पाइन्। रितालाई पनि पूर्वजन्मकै श्रीमती भन्दा रहेछन् भन्ने थाहा पाएपछि उनी फेरि झगडा गर्न थालिन्।
'एकदिन त बमजन आफैंले रिता नभएकाले तिमीलाई त्यस्तो गरको भन्यो। उसले रिता आफ्नो पहिलो प्रेम भन्थ्यो,' उनले भनिन्।
त्यसपछि भने उनले बमजनलाई मुखै छाडेर भनिन्, 'तँ साले कुकुर होस्।'
'मलाई आश्रमभित्र पनि कडा निगरानीमा राखियो। उल्टै मलाई सबैको अगाडि उभ्याएर मैले गुरूलाई आफ्नै बनाउने चाहना भएर गलत आरोप लगाएकी हुँ भन्न परिवारले दबाब दिए। मैले त्यही भनेँ,' असलीले भनिन्, 'त्यसपछि मैले दबाई खाएर ज्यान दिने निर्णय गरेँ।'
उनले आत्महत्या गर्ने कोशिश गरेको बमजनले थाहा पाए।
'आधा विष खाँदाखाँदै उसैले खोसिदियो। म उसैलाई गाली गर्दा गर्दै बेहोस भएँ,' उनले सम्झिन्, 'उसैले मलाई बचायो। खै कति समय म बेहोस भएँ थाहा छैन। ब्युझिँदा म रूखमुनि थिएँ। बमजन मेरो छेउमै थियो। म उठ्न पनि नसक्ने भएकी थिएँ।'
केही समय आराम गरेपछि सञ्चो भएको असलीले बताइन्।
'मलाई सञ्चो भएपछि एकदिन झिसमिसेमै उसले मलाई राजमार्गको पुलमा ल्याएर छाडिदियो,' उनले भनिन्, 'बाटोभरी मलाई छुट्टै घर बनाएर राख्ने लोभ देखाएको थियो। तर, मैले पत्याइनँ। गाडी चढेर घर आएँ। केही समयपछि म साउदी अरब गएँ।'
तीन आनी बेपत्ता र एक अनुयायीको हत्या लगायत बमजन आश्रममा हुने यौन शोषण, हत्या-हिंसाबारे सेतोपाटीमा सातवटा स्टोरी छापिएका थिए। पढ्नुहोस सबै स्टोरी :
पहिलो स्टोरी- बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र
दोस्रो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
तेस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
चौथो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
पाँचौं स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?
छैठौं स्टोरी- बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता
सातौं स्टोरी- बमजन आश्रमबाट बेपत्ता चार जनाका परिवारले दिए प्रहरीमा जाहेरी
बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीको छापा