सञ्चलाल वाइवाको हत्या तथा अरू तीन बेपत्ता पारिएको रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम भित्र प्रहरीले खोजतलास सुरू गरेको छ।
फोरेन्सिक विशेषज्ञसहित प्रहरीको ठूलो टोली बमजनको सिन्धुपाल्चोक, बाडेगाउँस्थित आश्रममा खोजतलास गर्न शुक्रबार बिहान साढे ११ बजे पुगेको हो।
सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन्।
बमजन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहिबार नै अनुमति लिइसकेको थियो।
पछिल्ला केही दिनदेखि कानुनी प्रकृया मिलाउने र बमजनविरूद्धको कारबाही अगाडि बढाउने योजनाको नेतृत्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरिरहेको स्रोतले जानकारी दियो।
खनालले उक्त कामका लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरेका थिए।
प्रहरी टोली किन गयो सिन्धुपाल्चोक आश्रम?
प्रत्यक्षदर्शीहरूले बमजनका अनुयायी सञ्चलाल वाइवाको हत्यापछि उनको लास सिन्धुपाल्चोकस्थित आश्रममा दफन गरिएको बताएका छन्।
अर्का अनुयायी सुरेश आले, दुई आनी चुन्मो र डोल्मो पनि सिन्धुपाल्चोक आश्रमबाटै बेपत्ता भएकाले प्रहरीले त्यहीँबाट खोजतलास थालेको हो।
तेस्री आनी सरिता बोट पनि बेपत्ता छिन्। तर उनी कुन आश्रमबाट बेपत्ता भएकी हुन् भन्ने टुंगो छैन।
सेतोपाटीलाई घटनाका प्रत्यक्षदर्शी दुई चेलाले केही समयअघि बताएअनुसार, बमजनले चार वर्षअघि वाइवा र अर्का अनुयायी इन्द्रमानलाई बोक्साको आरोपमा कुटेका थिए। कुट्दा कुट्दै वाइवाको तत्कालै ज्यान गयो।
‘आश्रममा हामी धेरै बिरामी भएका थियौं। त्यसैले गुरूले वाइवा र इन्द्रमानलाई बोक्सा लगाएको भन्दै पिटेका थिए। पिट्दा पिट्दै वाइवा ढले। केही बेरमै उनी मरे,’ प्रत्यक्षदर्शी बमजनका एक चेलाले सेतोपाटीसँग भने।
सिन्धुपाल्चोक आश्रममा २०७१ चैत ८ देखि १५ गतेसम्म मैत्रीपूजा भएको थियो। ती चेलाका अनुसार १५ गते आश्रममा धेरै आनी र चेलाहरू बिरामी परे। त्यत्तिकै रूने, कराउने, चिच्याउने गर्न थालेका थिए।
बमजनले सञ्चलाल र इन्द्रमानलाई मन्त्र गरेर चेलाहरू बिरामी पारेको आरोप लगाए। पूजा सकिएको भोलिपल्ट दुवैलाई बमजनले पिटे। त्यसपछि आफ्ना अरू चेलाहरूलाई पनि पिट्न लगाए।
छ, सात जना चेलाहरूले सञ्चलाल र इन्द्रमानलाई लठ्ठी, पाइप र लात्ताले पिटेको ती प्रत्यक्षदर्शी चेलाहरूले बताएका छन्।
उनीहरूका अनुसार यसरी कुट्दाकुट्दै वाइवाको ज्यान गएपछि बमजनले आफू बस्ने घर पछाडि डाँडामाथि उनको लास गाड्न लगाए।
‘चेलाहरूलाई गुरूले नै खाल्डो खन्न अह्राए र वाइवाको लास त्यहीँ पुर्न लगाए,’ ती चेलाले भने।
लासमाथि २५ पोका नुन खन्याउन लगाएको पनि ती चेलाले सम्झिए।
‘गुरूले वाइवाको लासमा २५ पोका जति नुन खन्याउन लगाए,’ उनले भने, 'नुनले लास चाँडो सड्याउँछ भनेर त्यसो गरेको रे।'
प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोकस्थित आश्रममा खानतलासको मुख्य उद्धेश्य सञ्चलालको लास गाडिएको ठाउँ खोज्नु हो। ‘ठाउँ पत्ता लागे लास उत्खनन् गर्न हामीले फोरेन्सिक विज्ञहरू पनि लगेका छौं,’ स्रोतले भन्यो।
सिन्धुपाल्चोकको बाँडेगाउँस्थित टोड्केभीर भन्ने ठाउँमा रहेको बमजनको आश्रम पुग्न सडकबाट जंगलको बाटो आधा घन्टा हिँड्नुपर्छ।
बमजन अहिले सिन्धुपाल्चोकको आश्रममा बस्दैनन्। त्यहाँ उनका केही चेलाहरू मात्र रहने गरेका छन्। बजमन भने सिन्धुलीस्थित आश्रममा रहेको प्रहरीले बताएको छ। ‘हामीले बमजन तथा उनको सिन्धुलीस्थित आश्रमलाई कडा निगरानीमा राखेका छौं,’ प्रहरी स्रोतले भन्यो।
यो श्रृंखलाका थप स्टोरीहरू पढ्नुहोस्-
श्रृंखलाको पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
श्रृंखलाको दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
श्रृंखलाको तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
श्रृंखलाको चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?