राजनीति, व्यवसाय र पत्रकारिताले मागेको ठूलो सुधार- १
तपाईंहरूले 'डाँस' देख्नुभएको छ? चिन्नुहुन्छ?
गाई, भैंसी, घोडा लगायत जनावरका शरीरमा बस्ने डाँस झिँगा जस्तै देखिन्छ। तर झिँगाभन्दा अलि फुस्रो र ठूलो आकारको।
यसले गाईवस्तुलाई टोकेर हैरान पार्छ। डाँस धपाउन गाईवस्तुले निरन्तर पुच्छर चलाउँछन्, खुट्टा टकटक्याउँछन्।
डाँसलाई अंग्रेजीमा 'ग्याड-फ्लाई' भनिन्छ।
कवि र लेखकहरूको कल्पनाशीलता अपार हुन्छ त्यसै भनिएको होइन।
सन् १९७५ मा चेकोस्लाभाकियाका कवि, लेखक र नाटककार भाक्लाभ हावेलले समाजमा बुद्धिजीवीहरूको भूमिका बुझाउन उनीहरूलाई ग्याड-फ्लाईसँग तुलना गरेका थिए। जसरी ग्याड-फ्लाईले गाईवस्तुलाई टोकेर हैरान पार्छ, त्यसरी नै बुद्धिजीवीहरूले समाजको चेतनालाई टोकसेर, त्यहाँ भइरहेका चुनौती र अन्यायका विरूद्ध समाजलाई जागृत गराउनु पर्छ भन्थे हावेल।
हावेल चेक समाजको अग्रणी बौद्धिक थिए। चेकोस्लाभाकियामा सोभियत संघले थोपरेको कम्युनिस्ट शासनविरूद्ध संघर्षको अग्रणी मोर्चामा थिए उनी। कम्युनिस्ट शासनको पतनपछि उनी चेकोस्लाभाकियाका राष्ट्रपति बने।
कैयन समाजमा बुद्धिजीवीहरूले सत्तामा बसेकालाई प्रश्न मात्र गरेका छैनन्, उनीहरूले परिवर्तनको नेतृत्व नै गरेका छन्। हावेलले पनि त्यही गरे।
जुन समाजमा कथित बौद्धिकहरू परिवर्तनका महत्त्वपूर्ण मुद्दामा उदासीन रहन्छन्, वर्तमान बेथितिबारे गनगन गरिरहन्छन् र निराशा मात्र पोखिरहन्छन्, त्यो समाज हत्तपत्त सुधार हुँदैन। परिवर्तन हुँदैन। किनभने, त्यो समाजले सकारात्मक परिवर्तनका लागि चाहिने कल्पनाशीलता र ऊर्जाको जोहो गर्न सक्दैन।
मलाई पछिल्लो केही समयदेखि शंका लाग्न थालेको छ — कतै नेपाली समाज पनि उदासीन, गनगने वा निराश बौद्धिकहरूका कारण जिम्लिँदै जान थालेको त छैन? कतै हामीसँग परिवर्तन र सुधारका लागि चाहिने कल्पनाशीलता हराउँदै जान थालेको छैन? कतै त्यो ऊर्जा हामीले गुमाउँदै गएका त छैनौं?
मैले यहाँ बौद्धिक भनेर 'घघडान चिन्तक' हरूको कुरा गरेको होइन। प्राध्यापक, डाक्टर, वकिल, इञ्जिनियर, साहित्यकार, पत्रकार, राजनीतिज्ञ वा व्यवसायी, जसले आफ्नो पारिवारिक पृष्ठभूमि वा आफ्नै मेहनतका कारण आममानिसभन्दा राम्रो र धेरै पढ्न पाए र जसको जीवन आज आममानिसहरूको भन्दा आर्थिक र सामाजिक हिसाबले सहज र सबल छ, उनीहरूको कुरा गरेको हो।
भाग्यको कुरा गर्ने भए, उनीहरू आममानिसभन्दा भाग्यमानी हुन्। कर्मको कुरा गर्ने भए, उनीहरू आममानिसभन्दा कर्मशील र सफल। भाग्य र कर्मका हिसाबले समाजका यिनै 'फर्चुनेट' हरूको कुरा गरेको।
सबै बौद्धिकहरू निराश छन्, कसैले पनि आफ्नो ठाउँबाट हस्तक्षेप गरेका छैनन् भन्ने पक्कै होइन। धेरै मानिसहरू निरन्तर डटिरहेका छन्। बोलिरहेका छन्। लेखिरहेका छन्। प्रश्न गरिरहेका छन्। सचेत गराइरहेका छन्। अगाडि हिँड्ने बाटो सुझाइरहेका छन्।
तर उनीहरू अति नै सानो संख्यामा छन्। आजका दिनमा बौद्धिक निराशा वा उदासीनता नै मूलधार बनेको छ। कतिपय कथित बौद्धिकहरू नै आममानिसभन्दा पनि धेरै निराश र उदासीन देखिन थालेका छन्। सामाजिक भेटघाट र सामाजिक सञ्जालमा निराशा र गनगन पोख्नेमा उनीहरू नै अगाडि छन्। उनीहरूसँग समाजका चुनौती र बेथितिमाथि बहस, विश्लेषण वा प्रश्न कम र निराशा बढी छ।
राजनीतिक र आर्थिक सत्ताको केन्द्रमा रहेकालाई प्रश्न नगर्ने, उनीहरूलाई बौद्धिक चुनौती नदिने तर एकोहोरो गाली मात्र गर्ने पछौटे समाजका पछौटे बौद्धिकहरूको चरित्र हो।
समाजमा अन्योल भएका बेला, समाज अप्ठ्यारोमा परेको बेला झनै घोत्लिने, चिन्तन गर्ने, लेख्ने, बोल्ने, प्रश्न र बहस गर्ने अनि अगाडिको बाटो पहिल्याउन सहयोग गर्ने जिम्मेवारी बौद्धिकहरूको हुन्छ। कतै कथित 'फर्चुनेट' हरूमा यो जटिलता पर्गेल्ने बौद्धिकता, कल्पनाशीलता र ऊर्जा नभएकै कारण उनीहरूमा उदासीनता र निराशा बाक्लिन थालेको त होइन? अहिलेको चुनौतीका मूल आयाम के के हुन् र यिनको सामना गर्न के गर्नुपर्छ भन्ने कुराको छेउ, टुप्पो भेउ पाउन नसकेर नै बौद्धिकहरू निस्सासिएका र थलिएका त होइनन्?
वयस्क लोकतन्त्र र बलियो समाजमा आममानिसका जायज र नाजायज असन्तुष्टि र गनगनभन्दा पर बौद्धिकहरू त्यो समाज र त्यो समयका महत्त्वपूर्ण मुद्दामा घोत्लिरहन्छन्। तिनलाई पर्गेल्न प्रयत्न गरिरहन्छन् र तिनमा जमेर बहस गर्छन्। समाजलाई त्यो समयकालभन्दा अगाडि लैजान मद्दत गर्छन्।
अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, जापान, कोरिया, अस्ट्रेलिया जस्ता वयस्क लोकतन्त्रमा पनि व्यापक असन्तुष्टि छन् र ती असन्तुष्टिले समाजलाई तरंगित पारिरहेकै छन्। तर सँगसँगै त्यहाँ मूलभूत र महत्त्वपूर्ण मुद्दाहरूमा बहस छेड्ने बौद्धिकहरूको कमी छैन। अन्ततः त्यही बहसले ती समाजलाई डोहोर्याउने गरेको छ। समाजमा अघि बढ्न चाहिने कल्पनाशीलता र ऊर्जाको जोहो गर्ने गरेको छ। बाटो पहिल्याउने गरेको छ।
हामीले प्रश्न गरेर के हुन्छ, बोलेर के हुन्छ, सुझाएर के हुन्छ भन्ने लघुताभास अधिकांश बौद्धिकहरूमा छ। पक्कै पनि सत्तासीनहरूलाई फरक बाटो हिँड्न दबाबका साथसाथै नयाँ सम्भावना देखाउनु सजिलो कुरा होइन। तर यो अप्ठ्यारो हरेक समाजले हरेक कालमा बेहोरेको छ।
कुनै पनि कालखण्डमा कुनै पनि देश वा समाज चुनौतीरहित हुँदैन। ती चुनौती सामना गर्न समाजले निरन्तर आफूलाई 'एड्जस्ट' गर्दै, परिवर्तन गर्दै लैजानुपर्छ। त्यो नै गतिशील समाजको चरित्र हो।
त्यो गतिशीलता हामीलाई झनै धेरै चाहिएको छ। किनभने, सुधार र परिवर्तनका विषयहरूको डंगुर हाम्रै समाजमा छ। वयस्क लोकतान्त्रिक मुलुकहरू सुधार गरेर जुन ठाउँमा पुगेका छन्, त्यसको तुलनामा हामी लंका पछाडि छौं। हामी त लोकतान्त्रिक, खुला र जवाफदेही समाजमा चाहिने सुधारको पहिलो खुड्किलोमै अड्किएका छौं!
सुधारका महत्त्वपूर्ण मुद्दाहरूमा हामीले ध्यान पुर्याउन सकेनौं र सुधार अघि बढाएनौं भने आजको निराशाले हामीलाई भोलि झनै थिच्ने छ। अर्को सम्भावना पनि उत्तिकै प्रबल छ — कसैले केही सुधार गर्दैन भन्ने भावना बिस्तारै आक्रोशमा र त्यो आक्रोश बिस्फोटमा बदलिन सक्छ।
त्यसैले सुधारको बहस जतिसुकै कमसल, अपूरो र अधकल्चो किन नहोस्, त्यो सुरू गर्न जरूरी छ। त्यसलाई निरन्तरता दिन जरूरी छ। बहस सुरू भएपछि त्यसमा मानिसहरू थपिँदै जान्छन्। फरक विचार र कल्पनाशीलता थपिँदै जान्छ। त्यसले एउटा बृहत् र उपयोगी बहसको आकार ग्रहण गर्छ।
सेतोपाटीमा हामीले केही समयअघि 'नेपाल कति बन्यो, कति बिग्रियो' भन्ने शृंखला सुरू गरेपछि, धेरैले धेरै कोणबाट लेख्नुभयो। त्यसले विगत ३० वर्ष, अझ कतिपय सन्दर्भमा ६० वर्षको नेपालको एउटा चित्र उतार्यो। भविष्यमा कसैले नेपाललाई यो समयको कालखण्डको आँखीझ्यालबाट हेर्न चाह्यो भने त्यो शृंखला एउटा महत्त्वपूर्ण दस्तावेज हो भन्ने हामीलाई लाग्छ। तर त्यो बहस हिजोका बारेमा थियो।
हामी सेतोपाटीमा अब भोलिका बारेमा बहस गर्न चाहन्छौं। सुधारका आगामी एजेन्डाबारे बहस केन्द्रित गर्न चाहन्छौं। त्यही प्रयत्नको सुरूआती लेख हो यो।
यो लेखमा म नेपाली समाजका तीन महत्त्वपूर्ण क्षेत्रहरूमा अति जरूरी बनेको सुधारको विषय उठान गर्नेछु — राजनीति, व्यवसाय र पत्रकारिता।
हाम्रो देशको राजनीति, व्यवसाय (निजी क्षेत्र) र पत्रकारिता अहिले जस्तो अवस्थामा छन्, तिनले व्यापक सुधारबिना अब नेपाली समाजलाई थप अगाडि लैजान सक्ने छैनन्। यी तीनै क्षेत्र आफ्ना कमजोरी र विकृतिको भारले थप खस्किन थालेका छन्। समाजले यिनलाई हेर्ने दृष्टिकोण पनि खस्किँदो छ।
यसैलाई सकारात्मक कोणबाट हेरौं — राजनीति, व्यवसाय र पत्रकारितामा हामीले सुधार अघि बढाउन सक्यौं भने यी तीनै क्षेत्रमा गतिशीलता आउने छ। त्यो नेपाली समाजमा परिवर्तनका लागि एउटा ठूलो फड्को हुनेछ। त्यसको प्रभाव अरू क्षेत्रमा पनि तुरून्तै पर्छ र सुधारको एउटा चक्र सुरू हुन्छ।
तीन भागमा लेखिने यो लेखमा म यी तीनै क्षेत्रमा अहिले देखिएका समस्या र तिनमा गर्नुपर्ने आवश्यक सुधारका केही महत्त्वपूर्ण विषयहरू उठान गर्नेछु। यति विशाल आयतन बोकेका यी तीन क्षेत्रबारे बहस गर्न फरक विचार भएका र फरक दृष्टिकोण राख्ने मानिसहरूले विविध कोणबाट विमर्श गर्न जरूरी हुन्छ। यो शृंखलामा हामी मूल रूपमा राजनीति, व्यवसाय र पत्रकारिता; तीनै क्षेत्रका धेरैभन्दा धेरै व्यक्तिहरूसँग लामा अन्तर्वार्ताहरू गर्नेछौं र केही लेखहरू प्रकाशन गर्नेछौं।
बहस अघि बढाउने यो सुरूआती लेख तीन भागमा प्रकाशित हुनेछ। आजको पहिलो भाग व्यवसाय र व्यवसायीहरूका बारेमा केन्द्रित छ।
सुपर नागरिक हुन् असल व्यवसायी!
तपाईंहरूमध्ये कतिले नेपाली पाँच पैसाको सिक्का देख्न पाउनुभयो? नयाँ पुस्ताले पक्कै पनि देख्न पाएन। पाँच पैसाको सिक्कामा एकातिर गाई, अर्कोतिर त्रिशूल छापिएको हुन्थ्यो। सानोमा हामीले कैयन कुराको छिनोफानो 'गाई कि त्रिशूल' मार्फत गरेका छौं।
कुनै पनि समाजमा व्यवसायीहरू अक्सर दुई खालका हुन्छन् — राम्रा र नराम्रा।
फेरि सिक्काका दुई पाटा भए जस्तै प्रायः सबै व्यवसायीका पनि अक्सर दुई पाटा हुन्छन् — असल र खराब।
म दुवै खाले व्यवसायीको कुरा गर्नेछु। व्यवसायीका दुवै पाटाको कुरा गर्नेछु।
सुरूमा असल व्यवसायीको कुरा गरौं। किनभने, असल व्यवसायीबारे नबुझी खराब व्यवसायीबारे बुझ्न सकिँदैन। सिक्काको एउटा मात्र पाटो हेरेर सिक्काको पूरा चरित्र बुझ्न सकिँदैन।
खुला र उदार समाजमा व्यवसायी आर्थिक प्रगतिका प्रमुख इञ्जिन हुन्। उनीहरूले प्रश्रय पाएमा अर्थतन्त्र र समाज अघि बढ्छ। नत्र समाज जिम्लिन्छ, अहिलेको जस्तै।
हाम्रो समाजमा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा ठूलो खोट छ। वर्तमान समयको एउटा प्रमुख समस्या त्यही हो। व्यवसायी भन्ने बित्तिकै धेरैको दिमागमा ठग, बदमास र अरूको शोषण गरेर धन कमाउने मानिसको चित्र आउँछ।
खासमा आफ्नो आचरणमा बसेर व्यवसाय गर्नेहरू कुनै पनि समाजका 'सुपर नागरिक' हुन्।
सुपर नागरिक उनीहरूको अधिकारका हिसाबले भनेको होइन। उनीहरूको क्षमता, सिर्जनशीलता, आँट, धैर्य र असल व्यवसायीले समाजमा गर्ने योगदानका हिसाबले भनेको हो। सबभन्दा बलियो घ्राण शक्ति भएका, सबभन्दा आँटिला र गजब व्यवस्थापकीय क्षमता (पुँजी र मानवस्रोत दुवै व्यवस्थापन गर्ने क्षमता भएका) भएका सुपर नागरिक हुन् व्यवसायी।
म यसलाई अब विस्तारमा भन्छु।
एउटा व्यवसायीले सबभन्दा पहिले के गर्छ?
उसले कुन व्यवसाय चल्छ भन्ने पत्ता लगाउँछ। कुनै पनि व्यवसाय चल्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन तर म चलाउन सक्छु भन्ने आँट बटुल्छ, आफ्नो क्षमता र भाग्यमा विश्वास गर्छ। त्यसका लागि चाहिने लगानी (पुँजी) जोहो गर्छ। आफ्नो सम्पत्ति हाल्छ। थप पुँजीका लागि बैंकबाट ऋण लिन्छ।
त्यो ऋण लिएर तिर्न सकेन भने उसको नाम कालोसूचीमा चढ्छ; फेरि कुनै बैंकले ऋण दिँदैन भन्ने उसलाई थाहा छ। अरू सम्पत्ति बेचेर भए पनि ऋण तिर्नुपर्छ भन्ने पनि उसलाई थाहा छ। तर पनि उसले आफूमाथि भरोसा गर्छ, आफ्नो मनले खाएको व्यवसाय गर्ने अठोट गर्छ।
त्यसका लागि ठाउँ खोज्छ। पसल, कार्यालय वा कारखाना खोल्छ। व्यवसाय सुरू गर्दा सरकारी कार्यालयहरूमा पाउने हैरानी उठाउँछ। काम गर्न उसलाई मानिसहरू चाहिन्छ — जाँगर, सीप, ज्ञान र क्षमता भएका मानिस। त्यस्ता मानिस पाउन सजिलो छैन। उसले त्यस्ता मानिस खोजेर व्यवसायका लागि चाहिने मानवीय स्रोत पनि जोहो गर्छ। ती मानिसको साथले परिणाम निकाल्न सक्छु भन्ने विश्वास राख्छ। अन्ततः उसको व्यवसाय सुरू हुन्छ।
उसको पसलले बेच्ने सामान, कार्यालयले दिने सेवा वा फ्याक्ट्रीले बनाउने सामान कसैले किन्नै पर्छ भन्ने छैन। खुला समाजमा उपभोक्ताहरू ती सामान वा सेवा किन्न वा नकिन्न स्वतन्त्र छन्। मूल्य र गुणस्तर ठीक लागे किन्छन्, नत्र किन्दैनन्। आफ्नै मर्जीमा चल्ने ती नागरिकहरू (उपभोक्ता) ले पत्याए भने मात्र व्यवसायीको व्यवसाय चल्छ। व्यवसायी आममानिस र उपभोक्ताको विश्वासमा आश्रित छ।
हामीले व्यवसायीहरू धनी भएको, 'मोज' गरेको मात्र देखेका छौं। हामीलाई उनीहरूको डाह पनि लाग्छ। तर हामीमध्ये कतिसँग कुन व्यवसाय चल्छ भन्ने पहिल्याउने घ्राण शक्ति छ? त्यसका लागि चाहिने आर्थिक र मानवीय स्रोत जुटाउने क्षमता छ? कतिसँग व्यवसाय सञ्चालनमा आइपर्ने हैरानी बेहोर्ने धैर्य छ? र, व्यवसाय चलेन भने त्यो घाटा बेहोर्छु भन्ने आँट छ?
हामीमध्ये धेरैसँग छैन। त्यसैले व्यवसायी र हामीमा फरक छ। त्यसैले व्यवसायी सुपर नागरिक हो। यो सुपर नागरिक जब सफल हुन्छ, उसले समाजमा योगदान गर्छ। मानिसको दैनिक जीवन सहज बनाउन मद्दत गर्छ, समाजलाई अगाडि लैजान मद्दत गर्छ।
एउटा राजनीतिक दलका सभापतिले केही समयअगाडि व्यवसायीहरूसँगको भेटमा भनेका थिए, 'तपाईं व्यवसायीहरूले राज्यलाई कर तिर्नु हुन्छ अनि राज्य चल्छ। त्यसैले हामी तपाईंहरूलाई सहयोग गर्छौं।'
उनको बुझाइ सही त हो, तर धेरै साँघुरो हो।
कुनै पनि व्यवसायीले समाजमा गर्ने सबभन्दा ठूलो योगदान हो — मानिसको छनौट फराकिलो बनाउने, उनीहरूले भोगिरहेको समस्या समाधान गर्ने र उनीहरूको जीवन सहज बनाउँदै लैजाने।
एकछिनलाई सम्झिनुहोस् त, हामीले किन्ने गरेको एउटा सामान वा सेवा छाडेर अर्को कम्पनीको त्यस्तै सेवा वा सामान किन किन्छौं? कि त त्यसको गुणस्तर राम्रो भएर किन्छौं, कि सस्तो भएर किन्छौं, कि प्रयोग गर्न सजिलो भएर किन्छौं, त्यसमाथि हामीलाई विश्वास भएर किन्छौं, कि त त्यो सामान हामीलाई पायक पर्ने ठाउँमा सजिलै उपलब्ध भएर किन्छौं।
बिनाकारण मानिसहरूले आफूले प्रयोग गरिरहेको सामान वा सेवा बदल्दैनन्।
उदाहरणका लागि, सम्झिनुहोस् त, काठमाडौंमा केही अघिसम्म घरका छतमा पानीको कालो ट्यांकी ठिंग उभिएका हुन्थे। आजकाल हरियो वा स्टिलका ट्यांकीले छतहरू भरिन थालेका छन्।
पञ्चकन्याले स्टिलको ट्यांकी ल्याएपछि धेरै मानिसले आजकाल त्यो प्रयोग गर्न थालेका छन्। कालो ट्यांकीभन्दा सफा गर्न सजिलो, धेरै टिक्ने, ट्यांकीमा पानी भरिएपछि आफैं मोटर बन्द हुने र स्वास्थ्यका हिसाबले पनि यो ट्यांकीको पानी कम हानिकारक हुने जस्ता विभिन्न कारणले उपभोक्ता यसमा आकर्षित भएका हुन्।
यहाँ पञ्चकन्याले के गर्यो? ट्यांकी भरिएर पानी पोखिने मानिसहरूको एउटा प्रमुख समस्या हल गर्यो। सजिलैसँग आफैंले घरमा सफा गर्न सकिने ट्यांकी बनाइदियो।
दोस्रो उदाहरण हेरौं।
दिलिप अग्रवाल सन् १९९४ मा अमेरिकामा बायोकेमेस्ट्री पढ्न गएका थिए। उनका बुबा अमेरिकाबाटै बायोकेमेस्ट्रीमा पिएचडी (विद्यावारिधि) गरेर त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्थे। छोराले पनि आफूजस्तै अध्यापन गरोस् वा वैज्ञानिक बनोस् भन्ने उनको चाहना थियो।
दिलिपलाई भने अमेरिकामा बिस्तारै बढ्न थालेको इन्टरनेटको प्रयोगले तान्न थाल्यो। उनी कम्प्युटर इञ्जिनियर त थिएनन् तर कम्प्युटर र इन्टरनेटमा उनलाई अधिक चासो थियो। उनले आफ्नो कम्प्युटरमा मोडम जोडेर कसरी इमेल सेवा दिन सकिन्छ भनेर प्रयोग गरेका थिए। उनलाई नेपालमा इन्टरनेट सेवा सुरू गर्ने हुटहुटी चल्यो।
पढ्दापढ्दै बीचैमा उनी एउटा कम्प्युटर र मोडम लिएर नेपाल आए र आफ्नै घरको कोठाबाट इमेल सेवा स्थापित गरे। त्यसको केही महिनाअघि नेपालको स्थापित व्यावसायिक घराना 'मर्कन्टाइल' ले काठमाडौंमा इमेल सेवा सुरू गरेको थियो। तर आममानिसलाई इमेल के हो, इन्टरनेट के हो, केही थाहा थिएन। सरकारी निकायलाई पनि थाहा थिएन। न इन्टरनेट सम्बन्धी कुनै नियम वा कानुन नै थियो।
त्यस्तो समयमा दिलिपले 'वर्ल्डलिंक' कम्पनी स्थापना गरे। नियम र कानुनका अभावमा सरकारले उनको कम्पनीलाई इमेल वा इन्टरनेट सेवा दिने कम्पनी होइन 'पिसिओ कम्युनिकेसन' भनेर दर्ता गराइदिएको थियो।
स्थापित घराना मर्कन्टाइलसँग प्रतिस्पर्धा गर्ने जुक्ति उनले निकाले। त्यो बेला इमेल सेवा जोडिदिन वा केही समस्या परे त्यसको समाधान खोज्न ग्राहकहरूले आफ्नो कम्प्युटर र मोडम बोकेर मर्कन्टाइलकहाँ पुग्नुपर्थ्यो।
वर्ल्डलिंकले 'तपाईंहरू हाम्रो कार्यालय आउनु पर्दैन, हामी आफैं तपाईंहरूको घर आउछौं' भन्यो। खासमा दिलिपको कार्यालय पनि थिएन। उनका बुबाको घरको एउटा कोठालाई नै उनले कार्यालय बनाएका थिए।
घरघर गएर इमेल सेवा जोडिदिने र केही समस्या पर्यो भने समाधान गर्न दिलिप फेरि ग्राहकको घर पुग्न थाले। अमेरिकामा पढेको एउटा केटाले घरघर आएर सेवा दिन थालेपछि मानिसहरू खुसी भए। उनको व्यवसाय बढ्यो।
पछिल्लो ३० वर्षमा वर्ल्डलिंकले आफ्नो सेवा ७४ जिल्लामा विस्तार गरेको छ। नेपालमा इन्टरनेट चलाउनेमध्ये ३३ प्रतिशत वर्ल्डलिंकका ग्राहक छन्। जबकि नेपाल टेलिकमको इन्टरनेट करिब १० प्रतिशत र एनसेलको इन्टरनेट करिब ७ प्रतिशतले चलाउँछन्।
वर्ल्डलिंकको वार्षिक आम्दानी १० अर्ब रूपैयाँ पुगेको छ। र, यसले ५५ सय मानिसलाई रोजगारी दिन्छ।
यो त भयो दिलिपको प्रगतिको कथा। तीस वर्षमा वर्ल्डलिंकलाई यहाँसम्म ल्याइपुर्याउँदा दिलिपले भोगेको हैरानी, पाएको सरकारी झन्झट र राजस्व कार्यालयले दिएको दुःखको लामो कथा छ। आरोह-अवरोहको लामो शृंखला छ। प्राज्ञिक क्षेत्र छाडेर व्यवसायतिर लागेका छोरासँग रिसाएका बुबाको कहानी छ।
तर पनि दिलिपलाई सधैं लाग्यो — इमेल र इन्टरनेट नै भविष्य हो। र, नेपाललाई इमेल र इन्टरनेटले जोड्नु व्यवसाय बढाउनु मात्र होइन, देशका लागि पनि ठूलो काम गर्नु हो।
कालान्तरमा मर्कन्टाइल व्यवसायमा टिक्न नसकेर हरायो, तर वर्ल्डलिंक डटिरह्यो। उसलाई पछ्याउँदै नयाँ कम्पनी आए। सरकारी र निजी कम्पनीले आज नेपालका गाउँगाउँसम्म इन्टरनेट पुर्याएका छन्। नेपाल इन्टरनेटमार्फत संसारसँग जोडिएको छ र नेपाल संसारमै सस्तो इन्टरनेट उपलब्ध गराउने दस मुलुकमध्ये पर्छ।
तेस्रो उदाहरण हेरौं।
धेरै वर्षअगाडि मिनबहादुर गुरूङ भाटभटेनीमा सानो किराना र खाद्यान्न पसल चलाउँथे। आगो लागेर त्यो नस्ट भयो। हार मानेनन्। ऋण खोजेर फेरि व्यवसाय सुरू गरे। व्यवसाय बढ्दै गयो। विदेशमा एउटै ठाउँमा सामान पाइने र सबै उपभोक्तालाई एउटै मूल्य लिने ठूला 'सुपरमार्केट' हुन्छन्, नेपालमा पनि किन नखोल्ने भनेर उनले आँट गरे।
काठमाडौंको भाटभटेनीमा निजी क्षेत्रको पहिलो र भव्य भाटभटेनी सुपरमार्केट खोले। त्यसपछि त्यसलाई काठमाडौंका अन्य ठाउँमा विस्तार गरे। अहिले काठमाडौं बाहिर पनि विस्तार गर्दैछन्। किनभने मानिसहरू भाटभटेनीमा सामान किन्न जान मन पराउँछन्। उनीहरू मिनबहादुरलाई मन पराएर त्यहाँ किन्न गएका होइनन्। बहुसंख्यकले मिनबहादुरलाई देखेका छैनन्। चिन्दैनन् पनि।
किन जान्छन् त मानिस भाटभटेनी?
दस ठाउँ चहारेर सामान खोज्दा हुने झमेला र मोलतोल गर्नुपर्ने झन्झट र ठगिएला भन्ने पिरबाट भाटभटेनीले मुक्ति दियो। त्यसैले उनीहरू भाटभटेनी जान्छन्। आजकाल भाटभटेनीमा खाद्यान्नदेखि अरू सबै सामान तुलनात्मक रूपमा सुपथ मूल्यमा पाइन थालेको छ। त्यसले थप ग्राहक तान्न थालेको छ।
यी माथिका तीन उदाहरणले प्रस्ट देखाउँछन् — व्यवसायी भनेका आममानिसले भोगेका समस्या समाधान गरेर आफ्नो व्यवसाय निर्माण गर्ने अजिबका 'प्रजाति' हुन्।
अवसर देख्न र खतरा मोल्न सक्ने यिनै 'प्रजाति' ले उत्पादन गरेका वा बेचेका सामान र सेवा किनेर हामीले जीवन क्रमशः बदल्दै, सहज बनाउँदै लगेका छौं। स्वैच्छिक रूपमा हामीले उपभोग गर्ने सामान र सेवाहरू निरन्तर बदलिँदै गएका छन्। भोलि पनि बदलिने छन्। त्यसको व्यवस्थापन व्यवसायीले गर्छन्।
एउटा व्यवसायीले समाजमा गर्ने सबभन्दा ठूलो योगदान यही हो — उसले मानिसका छनौटहरू विस्तार गर्दै लैजान्छ। विकल्पहरू पस्किँदै जान्छ। र, उनीहरूको स्वैच्छिक छनौटमा आफ्नो व्यवसायलाई उभ्याउँछ। त्यसका लागि उसले निरन्तर मूल्य घटाउन र गुणस्तर बढाउनमा ध्यान दिन्छ। उसले उपभोक्ताको मायाले पक्कै त्यसो गर्दैन, भोलि कसैले आएर मेरो व्यवसाय खोसिदेला कि भन्ने डरका कारण भने त्यसो गर्छ।
जुन व्यवसायले मानिसको मन तान्न वा जित्न सक्दैन, त्यो उभिनै सक्दैन। जसले मानिसहरूको बदलिँदो छनौट अनुसार आफूलाई बदल्न सक्दैन, त्यो बजारमा टिक्नै सक्दैन। हराउँछ।
खुला समाजमा उपभोक्ता र व्यवसायीहरूका आ-आफ्नै स्वार्थ छन्। दुवैले आफ्नो स्वार्थ पूरा गर्न प्रयत्न गर्छन्। यी स्वार्थहरूको सन्तुलनमा व्यवसाय र समाज अघि बढ्छ।
व्यवसाय नगरेका हामीमध्ये धेरैलाई लाग्छ — व्यवसायीले पसल खोल्यो, सेवा दिने कार्यालय खोल्यो, फ्याक्ट्री खोल्यो अनि पैसा कमायो!
हामी यसलाई यति सजिलोसँग लिन्छौं कि व्यवसाय खोल्नेबित्तिकै सबै सफल हुन्छन्। सबैले पैसा कमाउँछन्। अनि एकपटक व्यवसाय खोलेपछि त्यो सधैं चल्छ।
त्यो साँचो होइन। संसारभरि नै बहुसंख्यक व्यवसाय सफल हुँदैनन्। थोरै मात्र सफल हुन्छन्। सुरूमा जो सफल हुन्छन्, ती पनि सधैं टिक्दैनन्। लामो समयसम्म व्यवसाय टिकाउनु कम कठिन छैन।
औसतमा व्यवसायहरू कति वर्षसम्म टिक्छन् भनेर संसारभरि नै धेरै अध्ययनहरू भएका छन्। लगभग ती सबै अध्ययनहरूको उस्तै निष्कर्ष छ। कुनै पनि व्यवसाय सफल बनाउन र त्यसपछि पनि टिकाउन सजिलो छैन।
संसारभर नै, करिब २० प्रतिशत व्यवसाय पहिलो वर्ष नै असफल हुन्छन्। पाँच वर्षभित्र आधा व्यवसाय असफल हुन्छन्। र, करिब एक-तिहाई व्यवसाय मात्रै दस वर्षभन्दा बढी टिक्छन्। अनि १ देखि ५ प्रतिशत व्यवसाय मात्रै ५० वर्षसम्म टिक्छन्।
पछिल्ला ५०-६० वर्षमा बढ्दो प्रतिस्पर्धा, प्रविधिमा भइरहेको तीव्र परिवर्तन र उपभोक्ताहरूको छनौटमा आइरहने परिवर्तनले गर्दा व्यवसायहरूको औसत आयु झनै घट्न थालेको अध्ययनहरूले देखाएका छन्।
अर्थात्, हामी औसत नेपाली जति वर्ष बाँच्छौं (७० वर्ष), त्यति वर्ष त विरलै कुनै व्यवसाय बाँच्ने रहेछन्। हामी व्यवसायहरू फस्टाएको, व्यवसायीले कमाएको मात्र देख्छौं, किनभने सफल व्यवसाय बाहिर देखिन्छन्। नबिर्सौं, बहुसंख्यक व्यवसाय असफल हुने रहेछन्। र, व्यवसाय ठूलो जोखिमको कुरा रहेछ। आफ्नो सम्पत्ति लगाएर, बैंकबाट ऋण लिएर गरिएका कैयन व्यवसाय असफल हुने रहेछन्। र, कैयन व्यवसायीहरू वा व्यवसायी हुन चाहनेहरू गुमनाम हुने रहेछन्। तिनको पीडा हामीले देखेका छैनौं।
अब फेरि एउटा व्यवसायी सफल भयो भने उसले समाजमा गर्ने दोस्रो ठूलो योगदानको कुरा गरौं — रोजगारी।
कुनै पनि व्यावसायिक घरानाका परिवारका सदस्यले मात्र आफ्नो व्यवसाय धान्न सक्दैनन्। सानो चिया पसलदेखि ठूला होटल होऊन् वा सामान बेच्ने ससाना पसलदेखि ठुल्ठूला फ्याक्ट्री नै किन नहोऊन्, सबै व्यवसायले आफ्नो परिवारभन्दा बाहिरको मानिसको साथ लिएर व्यवसाय चलाउँछन्। त्यसैले उनीहरूले रोजगारी सिर्जना गर्छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र विश्व बैंकको सहयोगी संस्था 'आइएफसी' ले सन् २०२३ मेमा सार्वजनिक गरेको एउटा अध्ययन अनुसार नेपालमा निजी क्षेत्रमा ५५ लाख मानिस काम गर्छन्। जबकि सरकारी र अर्धसरकारी क्षेत्रमा जम्मा ४ लाख २७ हजार मानिस रोजगारीमा छन्। अर्थात् ८५ प्रतिशत रोजगारी कृषिसहितको निजी क्षेत्रले प्रदान गर्छ।
एकछिन कल्पना गर्नुहोस् त — आँट गरेर, लगानी जम्मा गरेर अनि आफ्नो मेहनतले चलाएका यी व्यवसायले रोजगारी सिर्जना नगर्ने हो भने हाम्रो समाजको हालत के हुन्छ? कुनै पनि समाजको हालत के हुन्छ?
अब व्यवसायीले गर्ने तेस्रो योगदानको कुरा गरौं।
कुनै पनि ठूलो व्यवसाय चलाउने र सफल व्यवसायीले राज्यलाई कर तिरेर ठूलो सहयोग गर्छ।
उसले राज्यलाई तीन किसिमले कर बुझाउँछ।
पहिलो, यदि व्यवसायीको वार्षिक आय ५० लाख रूपैयाँभन्दा माथि छ भने उसले त्यसमा ३९ प्रतिशत अर्थात् साढे १९ लाख रूपैयाँ सरकारलाई आयकर बापत बुझाउँछ। साढे ३१ लाख रूपैयाँ मात्र घर लैजान्छ।
दोस्रो, कम्पनीले नाफा कमायो भने फेरि त्यसको २५ प्रतिशत कर्पोरेट ट्याक्स सरकारलाई बुझाउँछ।
तेस्रो, आफ्ना कर्मचारीलाई तिरेको तलबमा कट्टी गरेको आयकर र आफूले सेवा वा सामान बेच्दा संकलन गरेको भ्याट सरकारलाई बुझाउँछ।
यसरी व्यवसायीले आफ्नो कमाइ र नाफाबापतको र अरूबाट संकलन गरेर सरकारलाई बुझाएको करले राज्य चल्छ। राजनीतिज्ञ, कर्मचारी, न्यायाधीश, सेना, प्रहरी, शिक्षकहरूले तलब खाने त्यही करबाट हो। वृद्ध भत्ता, अपांगता भत्ता, सुत्केरी भत्ता, विपन्न विद्यार्थीहरूले विद्यालयमा पाउने खाजा लगायतको खर्च राज्यले उठाउने करबाटै आउने हो। राज्यले जति धेरै कर प्राप्त गर्छ, त्यति नै विकास र पूर्वाधारमा खर्च गर्ने उसको क्षमता बढ्छ।
यसरी खतरा मोलेर व्यवसाय सुरू गरी मानिसलाई सामान वा सेवा उपलब्ध गराएर तिनको छनौट व्यापक बनाउने र जिन्दगी सहज बनाउने; रोजगारी प्रदान गर्ने; अनि कर बुझाएर राज्यलाई आफ्नो जिम्मेवारी पूरा गर्न आयस्रोतको व्यवस्था गरिदिने तीन काम नै व्यवसायले समाजमा गर्ने आधारभूत योगदान हुन्।
अब एकछिन सोचौं — यसरी राज्य र समाजमा यी तीन मुख्य योगदान गर्ने व्यवसायीले आफू सफल भएपछि के पाउँछ, के गर्छ?
हामीमध्ये कतिलाई व्यवसायीले पैसा कमाएको, राम्रो घरमा बसेको, राम्रो गाडी चढेकोमा डाह लाग्छ। धेरैलाई लाग्छ, व्यवसायीले पैसा कमाउँछन् र मोज गर्छन्, उडाउँछन्। अनि उनीहरूको जीवन कति सहज छ!
पक्कै पनि कुनै व्यवसायीले पैसा कमायो भने उसले आफ्नो जीवनस्तर केही थप माथि उठाउला। राम्रो लुगा लगाउला, राम्रो खाला, राम्रो घर किन्ला वा गाडी चढ्ला, नयाँ नयाँ देश घुम्न जाला! त्यो त व्यवसाय नगर्ने आममानिसले पनि आफ्नो आय बढ्यो भने गर्छ नै।
सफल व्यवसायीका लागि यो मुख्य कुरा होइन, खासै अर्थ राख्ने कुरा होइन।
सफल भएर धेरै माथि पुगिसकेका कैयन व्यवसायीले थप कमाउँदैमा आफ्नो जीवनस्तर थप उकास्दैनन्। उनीहरू एउटा 'जीवनस्तर' मा बसिसकेका हुन्छन् र आफ्नो आय बढ्यो भन्दैमा थप खर्च गर्दैनन्। गरे नै भने पनि ठूला व्यवसायीले आफ्ना लागि गर्ने खर्च उनीहरूको आयको अति नै सानो हिस्सा मात्र हुन्छ।
विनोद चौधरी, रूप ज्योति, रविभक्त श्रेष्ठ, विजय शाह, शेखर गोल्छा, सिद्धार्थ राणा, चन्द्र ढकाल, डा. उपेन्द्र महतो, मिनबहादुर गुरूङ, पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, शाहिल अग्रवाल, पवन गोल्यान, अनुज अग्रवाल, रामचन्द्र संघाई लगायत ठूला व्यवसायीको ध्यान कमाएर थप खर्च गर्नेमा हुँदैन।
केमा हुन्छ त उनीहरूको ध्यान?
थप कमाउने र थप लगानी गर्नेमा!
सफल व्यवसायीहरू पैसा कमाउन, जोगाउन र थप लगानी गर्न अभिशप्त हुन्छन्। लाख कमजोरीका बाबजुद पुँजीवादी अर्थ-व्यवस्थाको राम्रो र सबभन्दा बलियो पक्ष यही हो — पुँजी निर्माण र लगानी।
उनीहरूको ध्यान सधैं अर्को व्यवसाय खोल्नेमा हुन्छ। अर्को व्यवसाय खोलेर उनीहरू मानिसले पाउने सामान र सेवाका छनौट थप बढाउँछन्। थप रोजगारी सिर्जना गर्छन्। र, राज्यलाई थप कर तिर्छन्। लगानी गर्ने, कमाउने, जोगाउने र थप लगानी गर्ने चक्रमै व्यवसायीको जीवन बित्छ। अनि व्यवसायीको यही जीवनचक्रले समाजलाई अघि बढाउँछ।
कुनै पनि मुलुकमा सबै नागरिकसँग व्यावसायिक चेत, जाँगर, धैर्य अनि खतरा र हैरानी उठाउन सक्ने क्षमता हुँदैन। त्यसैले सबै मुलुकमा केही सुपर नागरिकहरू व्यवसायी बन्छन्। र, तिनै 'सुपर नागरिक' ले अर्थतन्त्र अघि बढाउने हुन्। समाजलाई अघि बढाउने हुन्।
हाम्रो समाजको एउटा ठूलो हिस्सा कस्तो छ भने, ऊ कुनै पनि व्यवसायीलाई सुपर नागरिक त के, नागरिक पनि मान्न तयार छैन!
पक्कै पनि काम, क्रोध, लोभ, डाह जुनसुकै समाजमा हुने मानवीय अवगुण हुन्। पछौटे समाजमा भने अरूको डाह अलि बढी नै हुने गर्छ। आफन्त, साथीभाइ वा चिनजानका मानिसले गरेका आर्थिक प्रगतिमा डाह लाग्छ। व्यवसायीका बारेमा हाम्रो समाजमा झनै धेरै डाह छ, नकारात्मकता छ। हामी उनीहरूको प्रशंसक कम र निन्दक बढी छौं। जुन समाजमा व्यवसायीको निन्दा मात्र हुन्छ, त्यो समाजले प्रगति गर्दैन। यसलाई अर्को शब्दमा भनौं — संसारभरि नै ती समाजले मात्र प्रगति गरेका छन्, जहाँ 'सुपर नागरिक' हरूले प्रश्रय र प्रोत्साहन पाएका छन्।
प्रिय पाठकहरू, तपाईंहरू व्यवसायीको बखान सुनेर थाकिसक्नुभयो होला होइन? तपाईंहरूका मनमा एकैपटक व्यवसायीका कमजोरी र कर्तुतबारे सयौं प्रश्न आए होला होइन? व्यवसायी सुपर नागरिक होइनन्, समाजका 'भिलेन' हुन्; कोहीकोही त समाजका धमिरा नै हुन् भन्ने खयालसम्म आयो होला होइन?
त्यस्तो लाग्नु वा त्यस्तो खयाल आउनु अस्वाभाविक छैन।
आउनुहोस्, सिक्काको अर्को पाटोको कुरा गरौं — खोटो पाटोको कुरा गरौं!
जसरी सुपर नागरिकका रूपमा समाजमा ठूलो योगदान गर्न सक्ने क्षमता व्यवसायीको हुन्छ, त्यसरी नै भिलेन बनेर समाजलाई ठूलो हानि पुर्याउन सक्ने क्षमता पनि उनीहरूसँग अरूको भन्दा धेरै हुन्छ। हाम्रो समाजमा पनि 'सुपर भिलेन' हरू कम छैनन्।
यसको कारण छ।
केही समयअगाडि आफ्नो किताब नेपालमा सार्वजनिक गर्न काठमाडौं आएका भारतीय लेखक गुरचरण दासले व्यवसायीबारे चाखलाग्दो कुरा भने।
उनी भारतमा व्यावसायिक दुनियाँसँग लामो संगत गरेका मानिस हुन्। उनी बहुराष्ट्रिय कम्पनी 'प्रोक्टर एन्ड ग्याम्बल' का पूर्वसिइओ पनि हुन्। यो कम्पनीले गएको वर्ष संसारभर ८० अर्ब डलर बराबरको सामान बेचेको थियो। भारतमा यति ठूलो कम्पनीको सिइओका रूपमा काम गर्दा उनले व्यावसायिक जगतका धैरै मानिसहरूसँग संगत गरे।
कर्पोरेट संसार छोडेदेखि दासले अहिलेसम्म चारवटा महत्त्वपूर्ण पुस्तक लेखिसकेका छन्। उनी भारतमा 'पब्लिक इन्टेलेक्चुअल' का रूपमा गनिन्छन्। लेखकीय जीवनसँगै पछिल्लो समय उनको संगत लेखक र बौद्धिकहरूसँग धेरै छ।
आफ्नो किताब बिमोचन समारोहमा उनले भने, 'मलाई लागेको थियो, व्यापार छाडेर लेखक बनेपछि म राम्रो मान्छे बन्नेछु। तर अहिले मैले निष्कर्ष निकालेको छु, व्यावसायिक व्यक्तिहरू बरू राम्रा मानिस हुन्।'
सो निष्कर्षमा पुग्नु पछाडिको कारण केलाउँदै उनले भने — म यो किन भनिरहेको छु भने, व्यवसायीहरूले पहिलो दिनबाटै अन्तरनिर्भरता सिक्नुपर्छ। तपाईं आफ्नो ग्राहकसँग राम्रो बन्नुपर्छ। आपूर्ति गर्ने मान्छेसँग राम्रो हुनुपर्छ। तपाईंका कर्मचारी हुन्छन्, जोबिना तपाईं कुनै काम राम्ररी गर्न सक्नुहुन्न। उनीहरूलाई पनि राम्रो व्यवहार गर्नुपर्छ। यसले तपाईंलाई अरू मान्छेबारे सचेत बनाउँछ, राम्रो बन्न सिकाउँछ।
तर लेखक त 'बबल' मा बस्छ। लेखन र अध्ययन गर्दा उसले कसैलाई देख्दैन। आफैंलाई पनि बिर्सिन्छ।
गुरचरण दासले भनेको कुरामा मलाई निक्कै नै घत परेको छ। जसरी आफ्नै 'बबल' मा बस्ने लेखक, पत्रकार, डाक्टर, इञ्जिनियर, कर्मचारी वा कथित बौद्धिकहरू साँघुरा हुन्छन्, बृहत् सम्पर्कमा बस्ने व्यवसायी उनीहरूभन्दा धेरै फराकिला लाग्छन्। उनीहरू कम आत्मकेन्द्रित हुन्छन्। किन पनि भने, आत्मकेन्द्रित हुनु उनीहरूको व्यवसायको आधारभूत स्वार्थ विपरीत हुन्छ। मैले भेटेका कतिपय ठूला व्यवसायीहरू अतुलनीय रूपमा नम्र, मिजासिला र मृदुभाषी छन्।
यही विनम्रता र व्यापक सम्पर्कमा नै व्यवसायीको भिलेन बन्न सक्ने अनि आफ्ना प्रतिस्पर्धी र समाजलाई हानि गर्न सक्ने क्षमता पनि अन्तरनिहित हुन्छ।
आफ्नो काम फच्चे गराउन सामान्य नागरिकको तुलनामा व्यवसायीहरूले व्यापक सम्पर्क राख्छन्। उनीहरूसँग बृहत् सम्पर्क सञ्जाल हुन्छ, राज्यका निकाय र नीति निर्माणमा काम गर्ने राजनीतिज्ञ, कर्मचारीसँग उनीहरूको कसिलो पहुँच र सम्पर्क हुन्छ। अनि सबभन्दा महत्त्वपूर्ण कुरा, आवश्यक परेको खण्डमा ती मानिसहरूलाई प्रभावमा पार्न सक्ने 'आर्थिक स्रोत' पनि उनीहरूसँग हुन्छ।
आफ्नो काम फच्चे गराउन, आफ्ना प्रतिस्पर्धीभन्दा अघि बढ्न वा कतिपय सन्दर्भमा आफ्नो स्वार्थका लागि राज्यका नीति नियम र सार्वजनिक हित विपरीत जान उनीहरूले आफ्नो सम्पर्क र 'आर्थिक मसल' प्रयोग गर्छन्।
कतिले त्यस्तो पहुँच प्रयोग गरेर सरकारी सम्पत्ति हडप्लान्, कतिले कर छल्लान्, कतिले राज्यका निकायबाट आफ्नो हित अनुकूल निर्णय गराउलान्, कतिले आफ्ना गलत कामबापत पाउने सजाय वा कारबाही रोक्न लगाउलान्।
यसरी आफ्नो स्वार्थमा राजनीति, प्रशासनयन्त्र, राज्यका अन्य निकाय, अदालत र मिडियासम्मलाई प्रयोग गर्न सक्ने सबभन्दा धेरै सामर्थ्य पनि व्यवसायीहरू सँगै हुन्छ। र, नेपालमा धेरै व्यवसायीहरूले त्यसो गरेका छन्।
कैयन व्यवसायीहरूसँग अनौपचारिक कुराकानीमा मैले सोध्ने गरेको छु — सुपर नागरिकको भूमिकाबाट उत्रिएर तपाईंहरू किन बारम्बार भिलेनका रूपमा प्रस्तुत हुनुहुन्छ?
व्यवसायीहरूका मुख्य रूपमा दुइटा जवाफ छन्।
पहिलो — नेपाली राजनीति र प्रशासनयन्त्र यति धेरै भ्रष्ट छ, कुनै पनि व्यवसायीले नियम, कानुन मान्छु तर घुस दिन्नँ भनेर राज्यका निकायबाट आफ्नो नियमित र जायज काम पनि गराउन सम्भव छैन।
एकजना व्यवसायीले भने, 'सामान्य नागरिकको त काम रोकेर, दुःख दिने र घुस खाने कर्मचारीले हामी व्यवसायीको काम बिनापैसा गरिदिन्छन् भन्ने त कल्पनै नगर्नुस्।'
उनले गुनासो पोखे, 'व्यवसायीले त पैसा कमाउँछन्, त्यही भएर पैसा झार्नै पर्छ भन्ने मानसिकता राजनीतिज्ञ र कर्मचारीमा छ। पछि कमाइहाल्छन्, त्यही भएर हामीलाई सुरूमै दिनुपर्छ भन्ने सोच्छन्।'
मैले उनलाई सोधेँ — व्यवसायीले पनि त राजनीतिज्ञ र कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर गलत काम गराउँछन् नि! दोष उनीहरूको मात्र छैन, तपाईंहरूको पनि छ!
उनले त्यो स्वीकार गरे, तर भने, 'नेपालमा सही र क्लिन काम गर्न चाहनेभन्दा गलत र फोहोरी काम गर्न चाहने व्यवसायीहरूले नै धेरै जसो राजनीतिज्ञ र कर्मचारीको साथ पाउँछन्। त्यसैले व्यवसायीमा पनि नियम र कानुन अनुसार व्यवसाय गर्यो भने दुःख मात्र पाइन्छ, अनि प्रतिस्पर्धीले उछिन्छन्, बरू राजनीतिज्ञ र कर्मचारीलाई आफ्नो पक्षमा लिइराख्नुपर्छ, त्यसपछि सही होस् वा गलत, आफ्नो काम बन्छ भन्ने मानसिकता बनेको छ।'
उनले थपे, 'नियम, कानुन अनुसार व्यवसायीहरूको जायज काम फटाफट अघि बढे, सही काम गर्ने व्यवसायी अघि बढ्थे, गलत गर्ने बिस्तारै पछि पर्दै जान्थे नि!'
व्यवसायीहरूको यो गुनासो धेरै हदसम्म जायज छ। गलत राजनीतिज्ञ, कर्मचारी र गलत व्यवसायीबीच जुन सघन 'नेक्सस' बनेको छ, त्यो नै आजको नेपालको एउटा प्रमुख विकृति र चुनौती हो।
यो विकृतिको प्रमुख अंग व्यवसायी पक्कै हुन्, तर प्रमुख कारक राजनीति र राजनीतिज्ञ हुन्। यो आलेखको भाग- २ मा यो नेक्ससलाई के के कुराले मलजल गरेको छ, यसको अर्थ-राजनीति के हो, यसको दार्शनिक पाटो के हो, यसको सुधारबिना नेपाली समाज किन थप जर्जर हुँदै जानेछ र सुधारको महत्त्वपूर्ण सुरूआत के हो भन्नेमा चर्चा गर्नेछु।
यो लेखको भाग-२ मूल रूपमा त्यसैमा केन्द्रित हुनेछ।
अहिले भने व्यवसायीकै भूमिकाको कुरा गरौं।
मुलुक जस्तो छ, हामी पनि त्यस्तै छौं भनेर मात्र व्यवसायीहरू आफ्ना दुर्गुणबाट उम्किन पाउँदैनन्। प्रणालीगत समस्या बदल्न सक्ने तुलनात्मक तागत जोसँग धेरै छ, उसैले देश यस्तो छ, मैले मात्र के गर्न सक्छु भनेर टाउको लुकाउनु मनासिब हुँदैन। नैतिक जिम्मेवारी जति राजनीतिज्ञ वा अरू कसैको थाप्लोमा हालेर व्यवसायी चोखिन पाउँदैनन्।
नैतिक जिम्मेवारीबाट व्यवसायीहरू सधैं पन्छिने वा चुक्ने हो भने बेथिति यस्तै रहिरहन्छ। असल व्यवसायीले दुःख पाइरहन्छन्। अर्थतन्त्र र समाजले त्यसको मूल्य चुकाइरहन्छ। अर्कोतिर, यो बेथिति सुध्रियो भने त्यसको सबभन्दा ठूलो लाभ असल व्यवसायीलाई नै हुन्छ।
त्यसैले सुधारको प्रयत्न व्यवसायीले झनै धेरै गर्नुपर्छ। तर नेपालका सीमित असल र राम्रा व्यवसायीहरूमा पनि एक खालको लघुताभास छ — सुधार हामीले गर्ने होइन, हामीले गरेर केही हुने पनि होइन भन्ने लघुताभास!
कहिलेकाहीँ मलाई व्यवसायीहरू कस्तुरीझैं लाग्छ। आफ्नै बास्ना नचिन्ने कस्तुरी।
'म सुपर नागरिक हुँ, किनभने समाजमा मैले सामान्य नागरिकभन्दा धेरै योगदान गरेको छु' भन्ने आत्मविश्वास धेरै व्यवसायीमा छैन। कुनै राजनीतिज्ञ वा कर्मचारीको भन्दा समाजमा मेरो योगदान धेरै छ भन्ने गर्व उनीहरूमा देखिँदैन। वा कम्तीमा पनि त्यो दाबी गर्ने हैसियत उनीहरूले देखाएका छैनन्।
त्यसैले उनीहरूमध्ये धेरैले राजनीतिज्ञ र कर्मचारीसँग आफ्नो हकको कुरा कम र मोलाहिजा धेरै गर्छन्। आफ्नो अधिकार माग्नुका सट्टा सौदाबाजी गर्छन्, घुस खुवाउँछन्। उनीहरूको धेय जसरी पनि आफ्नो व्यवसाय बढाउने हुन्छ।
'राजनीतिज्ञ र कर्मचारीसँग झगडा गरेर कसरी साध्य हुन्छ, हाम्रो काम मात्रै रोकिन्छ। त्यसले यति धेरै व्यावसायिक नोक्सानी हुन्छ,' एक जना व्यवसायीले भने, 'जसरी हुन्छ काम सक्काउने हो!'
व्यवसाय बढाउने 'भूत' कुनै पनि व्यवसायीमा यसरी सवार हुन्छ, उनीहरूले अरू केही कुरा देख्दैनन्। त्यसका लागि जस्तो पनि सम्झौता गर्छन्। सही वा गलत, त्यसको पर्वाह गर्दैनन्।
आफू हिँडेको बाटो कति ठीक थियो, कति बेठीक भन्ने प्रायः व्यवसायीहरूले त्यो बेला मात्र थाहा पाउँछन्, जतिखेर समय घर्किसकेको हुन्छ। भाग्यमानी ती व्यवसायी हुन् जसले समय छँदै ठीक र बेठीकको भेउ पाउँछन्।
यो लेखको अन्त्यमा म अब त्यस्तै एक व्यवसायीको कथा भन्छु।
एक जना सफल व्यवसायीले घरमा एक दिन योगीलाई डिनर खान बोलाएका थिए। उनी केही वर्षदेखि व्यवसायभन्दा बाहिर फरक फरक क्षेत्रका मानिसहरूसँग संगत गरिरहेका थिए। उनीहरूका कुरा सुनिरहेका थिए।
लामो डिनरमा दुई जनाबीच धेरै विषयमा कुरा भए।
डिनरको अन्तिमतिर योगीले ती व्यवसायीलाई सोधे — तिमीले यति ठूलो व्यावसायिक साम्राज्य खडा गरेका छौ। यति लामो व्यावसायिक यात्रा छ तिम्रो। व्यावसायिक जीवनमा तिमी सबभन्दा धेरै खुसी भएका तीन क्षणबारे मलाई बताऊ न!
ती व्यवसायी एकछिन गमे अनि भने —
मैले बडो डर र अनिश्चयबीच आफ्नो सुरक्षित जागिर छाडेर व्यवसाय सुरू गरेको थिएँ। आफू बस्ने घर दाउमा लगाएको थिएँ। बैंकबाट ऋण लिएको थिएँ। मेरा बालबच्चा सानै थिए। उनीहरूको आर्थिक सुरक्षा दाउमा राखेको थिएँ। मैले सुरू गरेको व्यवसाय चल्छ कि चल्दैन, थाहा थिएन। व्यवसाय नचले म सडकमा आउने निश्चित थियो।
तर पनि मैले आँट गरे। व्यवसाय सुरू भयो। तीन वर्षको कठिन मेहनतपछि मात्र मेरो व्यवसाय 'ब्रेक इभन' (सबै खर्च धान्न सक्ने अवस्था) मा पुग्यो। म त्यो दिन बहुत खुसी भएँ। त्यो दिन बल्ल मेरो मनको डर र अनिश्चय कम भयो। मनको बादल फाट्यो र अगाडिको यात्राका लागि आत्मविश्वास बढ्यो। तीस वर्ष लामो मेरो व्यावसायिक यात्रामा मैले धेरै सफलताका घुम्तीहरू पार गरेको छु। कैयन ठुल्ठूला सफलता हात पारेको छु। अहिले फर्केर हेर्दा त्यस्ता धेरै क्षणहरू मेरो स्मृतिमा मधुरो भएका छन्। मेरो पहिलो व्यवसाय 'ब्रेक इभन' मा पुग्दाको क्षण र खुसी भने म मेरो मनमा गाढा नै छ। सायद यो जीवनभर त्यस्तै रहनेछ।
योगीले सोधे — दोस्रो व्यावसायिक खुसीको क्षण?
उनले एकछिन सोचे र भने —
मेरो नाम जब पहिलो पटक संसारका सबभन्दा धनी १०० जना व्यवसायीको सूचीमा चढ्यो, मलाई लाग्यो, मैले जीवनमा ठूलो फड्को मारेँ। ठूलो मुकाम हासिल गरेँ। संसारमा दुई सयवटा त देश नै छन्। म आफ्नै मेहनतले 'टप १००' मा पुगेको थिएँ। त्यो दिन म धेरै नै खुसी भएँ।
योगीले फेरि सोधे — तेस्रो खुसीको क्षण?
उनले भने —
संसारका १०० ठूला व्यवसायीहरूको सूचीमा मेरो नाम परेको भन्दा पनि धेरै खुसी र आत्मसन्तुष्टि भएको एउटा क्षण छ। तर त्यो व्यावसायिक क्षण होइन। म त्यसबारे भन्न चाहन्छु।
योगीले भने — होइन, व्यावसायिक रूपले खुसी भएको क्षण नै भन न!
उनले जिद्दी गरे, 'म त्यही घटना सुनाउन चाहन्छु।'
योगीले उनलाई सम्झाए, 'तिमीले आफ्नो जीवन नै व्यवसायमा दिएका छौ। व्यावसायिक जिन्दगीको तेस्रो सबभन्दा खुसीको क्षणको सट्टा तिमी अरू नै खुसीको कुरा गर्न चाहिरहेका छौ। मलाई भने तिम्रो व्यावसायिक जीवनबारे नै सुन्न मन छ। तिमी पक्का अरू नै कुरा गर्न चाहन्छौ?'
उनले भने — हो।
योगीले भने — त्यसो भए सुनाऊ!
'पाँच वर्षअघि मेरो एउटा साथीले उसको स्कुलका अपांगता भएका बच्चाहरूका लागि १०० वटा ह्विलचेयर किन्ने पैसा दिन अनुरोध गर्यो। मैले तुरून्तै पठाइदिएँ। विद्यार्थीहरूलाई ह्विलचेयर दिने दिन आफैं उपस्थित भइदिन उसले आग्रह गर्यो। म स्कुल पुगेँ। त्यसअगाडि म कहिल्यै त्यहाँ गएको थिइनँ। विद्यार्थीहरूलाई ह्विलचेयर आफ्नै हातले दिएँ। कलिला नानीहरू ह्विलचेयरमा बसेर गुड्न थाले। कोही फनन घुम्न थाले। कोही खित्का छोडेर हाँसे, रमाए। त्यो दिन उनीहरू कति खुसी थिए, कति! मैले जीवनमा मानिसहरूको अनुहारमा त्यति निश्चल हाँसो र त्यति धेरै खुसी कहिल्यै देखेको थिइनँ। मलाई त्यो दिन जस्तो सुखानुभूति भयो, त्यस्तो कहिल्यै भएको थिएन।'
व्यवसायी एकछिन सास फेर्न अडिए र भने —
म फर्किने बेला त्यहाँ जे घटना भयो, त्यसले भने मलाई नमज्जासँग हल्लाइदियो। म मञ्चबाट उत्रिएर आफ्नो गाडीतिर जाँदै थिएँ। एउटा १४-१५ वर्षको विद्यार्थी ह्विलचेयर गुडाउँदै मेरो छेवैमा आइपुग्यो र घुँडामाथि च्याप्पै समात्यो। मैले सोचेँ, ऊ केही माग्न चाहन्छ। म त्यसका लागि मानसिक रूपमा तयार भएँ। तर त्यो बालक केही बोलेन, मेरो मुखमा एकटक हेरिरह्यो।
उसले के भन्छ भनेर म पर्खिरहेँ।
अन्तिममा उसले भन्यो, 'म तिम्रो अनुहार केहीबेर हेर्न चाहन्छु ताकि म तिमीलाई जीवनभर नभुलूँ।'
त्यो क्षण मेरा घुँडा एक्कासि गले। म त्यो दिन फर्किएर अफिस गइनँ। सहरबीचबाट ड्राइभरलाई गाडी घर पठाइदिएँ। अनि गलेका खुट्टाले लगातार दुई घन्टा हिँडेर घर पुगेँ।
घरमा पुगेर मैले धेरैबेर ऐना हेरेँ — के म त्यो बालकले जीवनभर सम्झिन लायक मानिस हुँ?
त्यो दिनदेखि म बदलिएँ। मैले आजकल संगत फराकिलो पारेको छु। व्यवसायभन्दा बाहिरका र मेरो व्यवसायसँग कुनै सरोकार नभएका मानिससँग भेट्न थालेको छु। फरक पुस्तक पढ्न थालेको छु। धर्म, ज्ञान, विज्ञान र दर्शनबारे मेरो चासो बढ्न थालेको छ। त्यसले मलाई मानिसहरूसँग नजिक लैजान थालेको छ। म मानिसहरूसँग बस्दा उनीहरू सँगै हुन थालेको छु।
योगीले सोधे — के व्यवसाय छोड्यौ?
'होइन, छाडेको छैन। झनै मेहनतका साथ काम गर्दैछु। व्यवसाय झनै ठूलो बनाउने अठोट लिएको छु।'
योगीले भने — के बदलियो त? कर्म त उही छ?
व्यवसायीले भने —
व्यवसाय राम्रो कर्म हो भन्नेमा मलाई कहिल्यै कुनै शंका थिएन। त्यसैले मैले गर्ने काम बदलेको छैन। म भने बदलिएको छु।
योगीले सोधे — कसरी?
'एउटा व्यवसायीका रूपमा मैले सधैं अंकमा ध्यान दिएँ। मेरा कम्पनी कतिवटा पुगे, मैले कतिलाई रोजगारी दिएँ, मेरो नाफा कति पुग्यो, मेरो 'नेट वर्थ' कति पुग्यो! त्यो सबै महत्त्वपूर्ण पनि छ। किनभने जति धेरै कम्पनी भए, त्यति धेरै रोजगारी दिन सकिन्छ। जति धेरै नाफा कमायो, राज्यलाई त्यति धेरै कर तिर्न सकिन्छ, त्यति धेरै लगानी गर्न सकिन्छ। व्यवसाय विस्तार गर्न सकिन्छ। हरेक पेसाको धर्म हुन्छ। कमाउनु र फेरि लगानी गर्नु व्यवसायीको धर्म हो। हाम्रो त्यही धर्ममा राज्य र समाजको प्रगति धेरै मात्रामा निहित छ।'
योगीले सोधे — त्यसो भए के बदलियौ त तिमी?
'व्यवसायलाई हेर्ने मेरो दृष्टिकोण बदलियो। एक अर्बबाट दुई वा तीन अर्ब डलरको सम्पत्ति हुनुमा तात्विक केही भिन्नता छैन रहेछ। रोजगारी धैरै दिएँ, राज्यलाई कर धेरै बुझाएँ भन्ने पनि फगत 'इगो' को विषय रहेछ। मनको छल रहेछ। मलाई लाग्थ्यो, व्यवसाय बढ्दै गएपछि आत्मसन्तुष्टि र खुसी पनि बढ्दै जान्छ। मैले पछिल्ला पाँच वर्षमा थाहा पाएँ, जसरी ट्रेडमिलमा कुदेर कोही कहीँ पुग्दैन, व्यवसाय वा सम्पत्ति बढेर कसैको खुसी वा सन्तुष्टि बढ्दैन। आजकल भेटघाटमा म मेरा व्यावसायिक मित्रहरूको अनुहार अलि थामिएर पढ्न थालेको छु। उमेरसँगै उनीहरूको अनुहारको कान्ति र खुसी घटेको देख्छु। अनुहारमा तनावसँगै एक किसिमको रिक्तता देख्छु। आखिर किन? खासमा सबभन्दा बलवान् समय रहेछ। मानिस अन्ततः आफ्नै कठघरामा उभिने रहेछ। समयले अन्ततः मानिससँग उसको कर्मको, खासगरी जिन्दगीमा गरिएका अर्थहीन सम्झौताहरूको हिसाबकिताब माग्ने रहेछ।'
उनी भन्दै गए —
'धेरै धर्मले भनेका छन्, अनि अहिले विज्ञानले पनि मान्छ — मर्ने बेलामा मानिसको आँखाअगाडि उसको जीवनका प्रमुख घटना र पात्रहरू फरर खुल्छन्। अन्तिम क्षणमा मानिसका आँखा धेरै फड्फडाउने कारण त्यही हो। मेरा आँखा पनि कुनै दिन त्यसरी नै फड्फडाउने छन्। म चाहन्छु, त्यो क्षण मेरा आँखा पश्चातापमा यति धमिला नहोऊन् कि मैले माया गर्ने र मलाई माया गर्ने मानिसका अनुहार धुमिल होस्। म ती सारा मानिसका अनुहार सङ्ला देख्न चाहन्छु जसले मेरो जीवन छोए र जसको जीवन मैले छुन सकेँ। अनि ह्विलचेयरको त्यो बालकको अनुहार पनि प्रस्ट देख्न चाहन्छु जसले मलाई नयाँ जीवनदृष्टि दियो।'
***
यी पनि पढ्नुहोस्
खराब राजनीतिज्ञ र खराब व्यवसायीबीचको 'नेक्सस'
जनताको विश्वास उडेको पत्रकारिता