नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार केन्द्रीय समिति बैठकमा १५औं महाधिवेशनको प्रस्ताव पेस गर्दा बिपी कोइरालाको एउटा भनाइ स्मरण गरेका छन्।
२०१५ सालमा प्रथम जननिर्वाचित सरकारको नेतृत्व गरिरहेका बेला बिपीले कांग्रेसको सातौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि भनेको कुरा महामन्त्री थापाले उद्धृत गरेका हुन्।
बिपीले भनेका थिए —
'इतिहासले बारम्बार नेपाली कांग्रेसलाई नयाँ नयाँ परिस्थितिमा नयाँ नयाँ अभिभारा बोकाइरहेको छ। हामीलाई विश्राम कहाँ? इतिहासले हामीलाई फुर्सद कहाँ दिइरहेको छ? यदि हामीलाई इतिहासको हतियार बन्ने सौभाग्य प्राप्त भएकोमा गर्व छ भने यही तथ्यबाट उत्पन्न भएको जिम्मेदारीबाट हामी कसरी मुक्त हुन सक्छौं र!
'साथीहरू हो, हामी नेपाली कांग्रेसका सिपाहीलाई जो आजको परिस्थितिमा इतिहासका सिपाही भएका छौं, कुनै किसिमको विश्रामको सुख प्राप्त छैन। पार्टीले इतिहासको क्रान्तिकारी लक्ष्य पूरा गर्न सक्ने क्षमतालाई हामीले आफ्नो कार्यद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले अर्को हतियार निर्मित गर्छ। त्यसो हुनाले हामी सबैले हाम्रो संस्थालाई इतिहासको हतियार सम्झेर यसलाई सफा र उज्ज्वल राखेर सही अर्थमा एउटा हतियार जस्तै प्रभावयुक्त बनाउनुपर्छ।'
बिपीको यो भनाइलाई कांग्रेसले २०४६ र २०६२/६३ सालको राजनीतिक परिवर्तन क्रममा प्रमाणित गरेको उल्लेख गर्दै महामन्त्री थापाले भने, 'जेनजी आन्दोलनपछि कांग्रेसलाई फेरि एक पटक सफा र उज्ज्वल राख्दै प्रभावकारी हतियार बनाउनुपर्छ। यसबारे केन्द्रीय समितिले गम्भीर चिन्तन गर्नुपर्छ।'
'वर्तमान गतिरोधबाट निकासका लागि हामीलाई प्राविधिक कुरा गरेर, संख्याका कुरा गरेर, यो वा त्यो कुरा गरेर अल्मलिने छुट छैन, समय पनि छैन,' महामन्त्री थापाले भने, 'पार्टी भनेको यसका सभापति वा केन्द्रीय कार्यसमिति सदस्य वा महाधिवेशन प्रतिनिधि वा प्रारम्भिक तहका क्रियाशील सदस्यहरू मात्र होइनन्। पार्टी त त्योभन्दा बृहत्तर कुरा हो। यसका शुभेच्छुक, समर्थक, मतदाता र आम रूपमा जनतासँग पार्टीको प्रत्यक्ष सरोकार हुन्छ।'
कांग्रेसलाई चुनावमा हुने जित वा हारसँग ज्यादा सरोकार नभएको उल्लेख गर्दै महामन्त्री थापाले पार्टीभित्र बृहत्तर एकता कायम गरेर देशभित्रका राष्ट्रिय शक्तिलाई एक ढिक्का बनाउने र जेनजी, नागरिक समाज, राजनीतिक पार्टीहरू लगायत सम्पूर्ण सरोकारवालासँग संवाद गरेर आन्दोलनका उपलब्धि संस्थागत गर्दै निर्वाचनमा डोर्याउने दायित्व कांग्रेसको भएको बताए।
'आजको दिनमा नेपाली कांग्रेसलाई न त आत्मसमर्पण गर्ने छुट छ न उत्तेजनाको राजनीति गर्ने छुट छ,' उनले भने, 'कांग्रेसले प्रश्नबाट भागेर होइन, परिस्थितिको डटेर सामना गर्नुपर्छ। कांग्रेसले नै दिशाविहीन र लड्खडाएको देश सम्हाल्छ र रूपान्तरणकारी नेतृत्व दिन्छ।'
***