नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २०२७ सालदेखिको मित्रता रहेको भन्दै त्यसैलाई कायम राख्न भेट्न गएको बताएका छन्।
खनालले मंगलबार राति एमाले अध्यक्ष ओलीसँग उनको निवास गुण्डुमा भेटवार्ता गरेका थिए। एमाले फर्कने गरी खनालले संवाद अघि बढाएको भन्ने चर्चा हुन थाले पनि पछिल्लो भेट त्यसमा केन्द्रित नभएको उनले प्रष्टीकरण दिए।
‘२०२७ सालदेखिको मित्रता हो हाम्रो। म मित्रहरूसँगको मित्रतालाई कायम राख्न चाहन्छु। मतभेदहरू हाम्रा बीचमा नभएका होइनन्, छन्। तर मतभेदले मित्रतालाई तलमाथि पार्नुहुँदैन भन्ने मान्यताको मान्छे हुँ,’ उनले भने।
अध्यक्ष ओलीले पत्नी रविलक्ष्मी चित्रकारको उपचारमा सहयोग गरेको र सद्भाव व्यक्त गरेको भन्दै त्यसप्रति धन्यवाद दिन गुण्डु पुगेको बताए।
चित्रकार गत भदौ २४ गतेको आन्दोलनमा घरमै आगजनीमा परेकी थिइन्। आन्दोलनकारीले खनाल दम्पतीको घरमा आगजनी गर्दा चित्रकार आगामा परेर सख्त घाइते भएकी थिइन्। उनको अहिले भारतमा उपचार भइरहेको छ। पत्नीको उपचारका लागि खनाल पनि भारतमा थिए। केही समयअघि मात्रै उनी फर्किएका हुन्।
‘म त अहिले एक किसिमको घाइते बाघ हो। म र मेरो परिवारमाथि जुन हमला भयो। अझै पनि मेरो पत्नी उपचारकै क्रममा छन्। त्यो उपचारको क्रममा मलाई सहयोग गर्ने, मप्रति सद्भाव राख्ने नेताहरूलाई मैले धन्यवाद दिनु मेरो आफ्नो कर्तव्य हो। त्यही कर्तव्य पूरा गर्न म केपी ओलीकहाँ गएको हुँ। त्यो कठिन बेलामा उहाँले मलाई सहयोग, सद्भाव प्रकट गर्नुभयो। त्यसकारण मैले उहाँलाई धन्यवाद दिए। त्यही सिलसिलामा आजको अवस्थाबारे कुराकानी भयो। त्यो स्वाभाविक पनि हो। फर्कने गरी संवाद अगाडि बढाएको केही पनि होइन। त्यस्तो कुराकानी नै भएन हाम्रो बीचमा त्यो हिसाबले गएको पनि म गएको होइन,’ उनले भने।
अहिले वाम आन्दोलन पुनर्गठन युगको आवश्यकता भएको उनले बताए।
यसैबीच खनालले बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्दैछन्। उनीसँग पनि राजनीतिक कुराकानी भन्दा पनि धन्यवाद दिन जान लागेको खनालले बताए।
‘म अहिले प्रचण्ड भेट्न जाँदैछु, उहाँलाई पनि म धन्यवाद दिन्छु,’ उनले भने।