(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
शिखरापुर (फर्पिङ) का राजा श्रीवीरदेवको दरबार वरपर ललित नामका एक घाँसी सधैं घाँस काट्न आउँथे।
राजा वीरदेव हरेक दिनजसो आफ्नो कोठाको झ्यालबाट ती घाँसीले घाँस काटेको हेरेर बस्थे।
घाँसीलाई कुष्ठरोग लागेको थियो। त्यही भएर उनको अनुहार र हातगोडा देखेर राजालाई निकै नरमाइलो लाग्थ्यो।
एकदिन अचम्मको घटना भयो।
ललित घाँसीलाई हेर्न झ्यालछेउ बसेका राजा वीरदेव उनलाई देखेर छक्क परे।
त्यो दिन घाँसीको कुष्ठरोग निको भइसकेको थियो। उनको शरीर मूर्तिझैं सुन्दर र बेदाग थियो।
राजाले मनमनै सोचे — रातारात यो चमत्कार कसरी भयो?
उनलाई घाँसीको शारीरिक परिवर्तनको राज जान्न हुटहुटी हुन थाल्यो।
उनले ललित घाँसीलाई राजसभामा बोलाए।
राजाको निम्तो पाएपछि ललित घाँसी उत्साहित हुँदै दरबारमा हाजिर भए र उनको जिज्ञासाको जबाफ दिँदै भने, 'हे महाराज! म हिजो बागमतीबाट दक्षिण दिशामा रहेको ललितारण्य वनमा घाँस काट्न गएको थिएँ। चर्को घामले निकै गर्मी भइरहेको थियो। म आफ्नो घाँस बोक्ने नोल (खर्पन) एक ठाउँमा गाडेर नजिकै पोखरीजस्तो पानी जमेको ठाउँमा नुहाउन गएँ। नुहाएर पानीबाट निस्कँदा मेरो कुष्ठरोग निको भइसकेको थियो।'
राजा वीरदेव ललितको कुरा सुनेर छक्क परे।
उनी भगवानप्रति निकै आस्था राख्थे। त्यही भगवानको प्रतापले यस्तो चमत्कार भएको हो भन्ने उनले सोचे। र, भगवानको आशीर्वाद पाएका ललित घाँसीलाई आफ्नो मन्त्री बनाए।
राजा वीरदेवको एउटै सपना थियो — उनी शिखरापुर राज्यमा सुन्दर सहर बनाउन चाहन्थे।
राजाको यो सपनामा ललितले मन्त्रीका रूपमा ऊर्जा भर्ने काम गरे।
त्यसै क्रममा एक रात राजा वीरदेवलाई सपनामा भगवानले दर्शन दिएछन् र भनेछन्, 'हे राजन, तिमी आफ्नो राज्यमा सुन्दर सहर बनाउने हो भने ललितारण्य वन फाँडेर त्यहाँ नयाँ सहर बसाऊ। त्यसको जिम्मेबारी मन्त्री ललितलाई देऊ।'
भगवानको सुझावअनुसार वीरदेवले ललितलाई ललितारण्य वन फाँडेर सहर बसाउने आदेश दिए।
राजाको आदेश शिरोपर गर्दै ललित मन्त्री दिनरात काममा खटिए। धेरै धन-सम्पत्ति खर्चेर २४ वटा टोल बनाए। पुरानो सहरसँग जोडिएको नयाँ सहरमा पाँच थुम्का निर्माण गराए। करिब नौ हजार घर थपे। धारा, इनार, पोखरी र अनगिन्ती देवी-देवताका मन्दिर स्थापना गराए। नयाँ सहरको मध्य भागमा नयाँ दरबार पनि बनाए। नयाँ दरबार बनेपछि राजा वीरदेव उतै सरे।
नेपालको प्राचीन इतिहासका कथा-किम्बदन्ती समेटिएको ग्रन्थ 'भाषा वंशावली' अनुसार ललितारण्य वन फाँडेर र मन्त्री ललितको सक्रियतामा बसाइएको सहर भएकाले 'ललितपत्तन' नाम दिइयो। कालान्तरमा त्यही ललितपत्तनलाई कसैले ललितपुर भने, कसैले पाटन।
अन्य विभिन्न ग्रन्थ र जनश्रुतिमा यो सहरलाई अशोक पतन, युपग्राम, ललितापुरी, ललितक्रम, मनिंगल, यल लगायत विभिन्न नामले सम्बोधन गरिएको पाइन्छ। अरू नाम समय क्रममा हराउँदै गए पनि पाटनलाई यल भनेर आज पनि हामी सम्बोधन गर्छौं।
यल शब्द युपग्रामबाट आएको हो, जुन पाटनको लिच्छविकालीन नाम हो। लिच्छवि कालमा काठमाडौंलाई कोलिग्राम र भक्तपुरलाई खोपृङग्राम भनेजस्तै पाटनलाई युपग्राम भनिएको तत्कालीन अभिलेखहरूमा उल्लेख छ।
यो सहर मध्य कालमा बौद्ध धर्म र संस्कृतिको केन्द्रका रूपमा विकास भएको थियो। पाटन संग्रहालयका कार्यसमिति सदस्य तथा सम्पदाविद् दिलेन्द्र श्रेष्ठका अनुसार बौद्धधर्मीहरूले बनाउने चैत्यको जगदेखि गजुरसम्ममा काठ राखिएको हुन्छ, जसलाई युप भनिन्छ। नेपाल भाषामा 'यलसिँ' पनि भनिन्छ।
'काठमाडौं र भक्तपुरमा सल्लाको पवित्र रूख काटेर यःसिँ ठड्याएपछि यँया (इन्द्रजात्रा) सुरू हुन्छ। यःसिँ शब्द यलसिँबाट अपभ्रंस भएर बनेको हुनुपर्छ,' पाटनका संस्कृतिविद् हेमराज शाक्यको भनाइ उद्धृत गर्दै दिलेन्द्रले भने, 'नेपाल भाषामा हामी झ्याललाई झ्याः, बहाललाई बहाः, पसललाई पसः भन्छौं। ती सबै शब्दमा 'ल' भनिएको देखिँदैन। त्यसैगरी, यलसिँबाट ल हटेर यःसिँ मात्र भनिएको हुनुपर्छ। त्यति बेला पाटनमा प्रशस्त सिँ अर्थात् काठ पाइन्थ्यो कि!'
'पाटनलाई यल भनिनुमा किराँती राज यलम्बरले स्थापना गरेको सहर भनेर पनि बुझिन्छ,' उनले अगाडि भने, 'मलाई चाहिँ हेमराज शाक्यले सुनाउनुभएको कुरा नै आधिकारिक हो जस्तो लाग्छ।'
अनुसन्धाता रास जोशी पनि यसमा सहमत छन्।
उनका अनुसार 'युप' को अर्थ ठुल्ठूला चैत्य, रथ र मन्दिरको बीचमा रहेको रूख भन्ने बुझिन्छ। यस्ता रूखबाट बनाइएको ग्राम वा ठाउँ भएकाले पाटन सहरको नाम युपग्राम भएको उनी बताउँछन्।
'संस्कृतमा युपको अर्थ विशेष पर्वमा बलि दिन पशु बाँधिने र मार हान्न प्रयोग हुने काठको किलो भन्ने बुझिन्छ। आदिकालमा ललितपुर पनि पशु बाँध्ने किलो वा अग्लाअग्ला रूख हुर्किएको ठाउँ हुनुपर्छ। पछि युपग्रामबाट अपभ्रंश हुँदै यल रहन गएको अनुमान गरिन्छ,' जोशीले आफ्नो किताब 'ललितपुर राजदरबार' मा लेखेका छन्।
पाटनका नामजस्तै यहाँका धेरै सम्पदा अहिले कथा र नाममै सीमित छन्। तिनको अस्तित्व समय क्रममा हराएर गए; जसलाई अब हामी देख्न पाउँदैनौं।
हराएका ठाउँ खोजी गर्ने यो शृंखलाको आजको अंकमा हामीले पाटनका त्यस्तै ८ वटा सम्पदा खोजी गरेका छौं।
पाटन दरबार स्क्वायरमा थियो विहार
पाटन, मंगलबजारमा फेला परेको लिच्छविकालीन शिलालेखमा कुँदिएका अक्षर छाप्दै लिपिविज्ञ श्यामसुन्दर राजवंशी। तस्बिर: सेतोपाटीदुई वर्षअघि पाटन दरबार स्क्वायरको भीमसेन मन्दिरअगाडि १४ सय वर्ष पुरानो शिलालेख भेटियो।
ढल खन्ने क्रममा भेटिएको उक्त शिलालेखलाई पुरातत्वविद् प्रकाश दर्नाल र लिपिविज्ञ श्यामसुन्दर राजवंशीले अध्ययन गरेका थिए।
शिलालेखमा कुँदिएको अक्षरका आधारमा त्यो लिच्छवि सम्बत् ५३६ को भएको पुष्टि भयो। यो भनेको विक्रम सम्बत् ६७१ हुन आउँछ।
केही भाग खिइएको र केही बिग्रिएको उक्त शिलालेखको शीर्षभागमा श्रावक मृग र बीचमा धर्मचक्र चिह्न अंकित छन्। यसले उक्त शिलालेख बौद्ध धर्मसँग सम्बन्धित रहेको बुझाउँछ।
'लिच्छविकालीन लिपि र संस्कृत भाषाको यो शिलालेखमा तत्कालीन शासक अंशुवर्माको नाम प्रस्टै बुझिन्छ,' शिलापत्र अध्ययन क्रममा लिपिविज्ञ श्यामसुन्दर राजवंशीले हामीसँग भनेका थिए, 'अंशुवर्माले लिच्छवि राजा वृषदेवले मंगलबजारमा निर्माण गराएको बौद्ध विहारबारे जानकारी दिन शिलालेख राखेका हुन सक्छन्।'
इतिहासविद् गौतमवज्र बज्राचार्यका अनुसार अंशुवर्माले आफूभन्दा करिब दुई सय वर्षअघिका लिच्छवि राजा वृषदेवले स्थापना गरेको धातुचैत्य र त्यस नजिक बनेको बौद्ध विहारको सुरक्षा अधिकार र आर्थिक बन्दोबस्तको वर्णन उक्त शिलालेखमा गरेका छन्।
'शिलालेखको तल्लो भागमा राजकीय सनदमा उल्लिखित आदेश नमान्नेहरूले ठूलो सजाय भोग्नुपर्ने सूचना दिइएको छ। अभिलेखको अन्तिम पंक्तिमा दूतक चन्द्र (जीव) को नाम र सम्बत् उल्लेख छ ,' शिलापत्र फेला परेपछि बज्राचार्यले आफ्नो एउटा लेखमा लेखेका छन्।
यसरी भीमसेन मन्दिर र पाटन दरबारको बीचमा १४ सय वर्ष पुरानो शिलालेख फेला परेपछि अहिले जुन ठाउँमा पाटन दरबार स्क्वायर छ, त्यहाँ लिच्छवि कालसम्म विहार थियो भन्ने पुष्टि भयो।
सन् १८३० तिर पाटनका एक विद्वानले लेखेको अनुमान गरिएको 'नेपालिकभूपवंशावली' मा पनि पाटन दरबार क्षेत्रमा पहिले विहार भएको प्रसंग उल्लेख छ।
यो किताबलाई केही समयअघि मात्र जर्मन वास्तुविद् निल्स गुत्सो, मणिक बज्राचार्य र एक्सेल माइकल्सले अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गरेका छन्।
पाटन दरबार स्क्वायर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीनेपालिकभूपवंशावलीमा भनिएको छ, 'दरबारको मूलचोक नजिकै पहिला हखःबहाः थियो, जसलाई राज्य विस्तार क्रममा तत्कालीन मल्ल राजा सिद्धिनरसिंहले स्थानान्तरण गरेका थिए। विहार भत्काएर राज्य विस्तार गरेपछि राजाले ढोकाको दायाँ भागमा सिद्धिगणेश र बायाँ भागमा नरसिंहको मूर्ति राखेका थिए। राजा सिद्धिनरसिंहले आफूले राजदरबार निर्माण गरेको कुरा जनतालाई बताउन त्यसो गरेका हुन्।'
विहारको कुरा वंशावलीमा उल्लेख भए पनि हालसम्म ठोस अभिलेख फेला नपरेकाले इतिहासविद्हरूले यसै हो भन्न सकेका थिएनन्। तर प्रामाणिक शिलालेख नै फेला परेपछि धेरै वर्षदेखि चर्चा हुँदै आएको विहारको प्रसंग फेरि केन्द्रमा आएको छ।
पाटन दरबार स्क्वायरमा हुने केही सांस्कृतिक गतिविधिले पनि त्यो ठाउँमा पहिले बौद्ध विहार रहेको पुष्टि गर्छ।
उदाहरणका लागि — गुँला पर्व बेला पाटन संग्रहालय अगाडिको सुनढोकामा बुद्धको मूर्ति एक महिना पानीमा डुबाएर राखिन्छ। यसलाई कतिपयले विहारको संकेतका रूपमा बुझ्छन्। त्यही ढोकामाथि लोकेश्वरको आकृति पनि छ।
संस्कृति अनुसन्धाता नुतनधर शर्मा भने बुद्धको मूर्ति राखिने सुनढोका र त्यसभित्रको केशवनारायण चोकमा दरबार हुन नसक्ने बताउँछन्।
'सुनढोकाभित्रको केशवनारायण चोकमा राजा नरेन्द्रदेवको लिच्छविकालीन शिलालेख छ। त्यसमा भन्सार उठाउने कुराहरू उल्लेख छन्,' उनले भने, 'त्यही भएर त्यो चोकमा त कमसेकम दरबार नहुनुपर्छ।'
दरबार भए पनि मूलचोक, सुन्दरीचोक वा भण्डारखालतिर हुनसक्ने उनको भनाइ छ।
पाटन संग्रहालयका कार्यसमिति सदस्य तथा सम्पदाविद् दिलेन्द्र श्रेष्ठका अनुसार केही महिनाअघि दरबारको उत्तरी भाग कमजोर भएकाले भत्काएर मर्मत गरिएको थियो। त्यस क्रममा दरबारमा अर्को जग फेला परेको थियो। त्यसलाई अध्ययन गर्दा विहारको प्रमाण फेला पर्नसक्ने उनको अनुमान छ।
पिम्बहाः (पिम्बहाल) को बहाल खोई?
पाटनको पिम्बहा: (पिम्बहाल) पोखरी र अशोक चैत्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीपछिल्लो समय पाटन दरबार स्क्वायरपछि गुलजार बन्दै गएको ठाउँ हो, पिम्बहाल। तर यहाँ परम्परागत बहाःबहीमा हुनेजस्तो कुनै पनि संरचना र गतिविधि तपाईंहरू देख्न सक्नुहुन्न। आधुनिक घर र संरचनाले बहा:बहीका परम्परागत संरचना विस्थापित गरिसके।
नेपाल मण्डलमा प्रचलित मौलिक बज्रयान बौद्ध परम्परा र दर्शनका आधारमा महाविहार-विहार (बहाःबही) बनेका हुन्छन्। कला, संस्कृतिको संरक्षण र शिक्षादिक्षामा बहाःबहीको विशेष भूमिका हुन्छ। तर हामी सबैले देखेको, घुमेको पिम्बहालमा कहाँ छ त यस्तो मौलिक बहाः?
कतिपयले जगमदु पुखु (पिम्बहाल पोखरी) को पश्चिमतिर रहेको महाविहारलाई नै पिम्बहाल हो भन्छन्। तर त्यो त श्री गवर्मपिन्थ महाविहार (मूबहाः) हो।
त्यसो भए पिम्बहाल कहाँ छ त?
हामीले यो प्रश्नको जबाफ खोज्दै मूबहाःका सबभन्दा जेठा सदस्य ८६ वर्षीय त्रिरत्न शाक्यलाई भेट्यौं। उनैले पिम्बहाल कहाँ छ भन्ने गुत्थी सुल्झाइदिए।
जगमदु पुखु (पिम्बहाल पोखरी) को पश्चिमतर्फ अशोक चैत्य छ। चैत्यबाट करिब ४० मिटर उत्तरमा सानो गल्लीजस्तो ठाउँ छ। त्यो गल्लीभित्र छिर्यौं भने हामी एउटा सानो आयातकार चोकमा पुग्छौं। चारैतिर आधुनिक घरले घेरिएको उक्त चोकको बीचमा ऐतिहासिक इनार र भित्तातर्फ केही खाली जग्गा छ।
तिनै संरचना देखाउँदै त्रिरत्न शाक्यले भने, 'पिम्बहालमा जे जति बचेको छ, यति नै हो।'
यही ठाउँमा पहिले बहालको मुख्य देवता राखिएको हुनसक्ने उनी अनुमान गर्छन्।
उनका अनुसार त्यहाँको इनार नजिक पहिले बुद्धको मूर्ति थियो। समय क्रममा त्यो मूर्ति कता गयो भन्नेबारे कुनै जानकारी नभएको उनले बताए।
'२०-२५ वर्ष अघिसम्म पिम्बहाल पोखरी नजिकै बुद्धको मूर्ति राखेर पञ्चदानको समयमा दान दिइन्थ्यो। त्यो परम्परा अहिले लोप भइसक्यो,' त्रिरत्नले भने, 'पहिले श्रेष्ठ समुदायको रेखदेखमा यो बहाल सञ्चालनमा थियो। तर राजनीतिक कारणले बहाल संरक्षण गर्ने र परम्परा धान्नेहरू हराइसके।'
उनका अनुसार लिच्छवि कालमा पिम्बहालमा प्रशासनिक भवन थियो। यहीँबाट कीर्तिपुरको राजकाजको काम हुन्थ्यो। अहिले पिम्बहाल आफै नाममा सीमित भएकाले यसअन्तर्गतका प्रशासनिकबाहेक अन्य सांस्कृतिक गतिविधि मूबहाः ले गर्दै आएको छ।
वर्णवबज्र बज्रचार्यको किताब 'क्वबहाः करूणामय बाखः' लाई आधार बनाएर नेवाः बौद्ध धर्मको अध्ययन गरेका अमेरिकी अनुसन्धाता जोन लकले आफ्नो 'करूणामय' किताबमा पिम्बहाल र मञ्जुश्रीको सम्बन्धबारे चर्चा गरेका छन्।
पिम्बहालमा रहेको ऐतिहासिक इनार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीमञ्जुश्री ती पात्र हुन् जसले चोभारको डाँडा काटेर काठमाडौं उपत्यकामा रहेको दहको पानी निखारेको र यो ठाउँलाई बस्नयोग्य बनाएको जनविश्वास छ।
धेरै युगपछि काठमाडौं उपत्यकामा राजा धर्माकरको शासन हुँदा मञ्जुश्री फेरि श्री ३ ज्योतिरूपा स्वयम्भूको दर्शन गर्न यहाँ आउँछन्। उनले आफ्नो साथमा सातौं बुद्ध मानिने कश्यप तथागतलाई पनि ल्याएका हुन्छन्। यी दुई जनाले उपत्यकामा एउटा विहार निर्माण गर्ने सोच बनाउँछन्, ताकि यहाँका मानिसमा ज्ञान र चेतना भरियोस्।
उनै मञ्जुश्री र कश्यप तथागतले पिम्बहाल निर्माण गरेको भनाइ छ।
किम्बदन्तीअनुसार मञ्जुश्रीले आफ्नो र तथागतको राम्रो पूजाआजा र सत्कार होस् भनेर केही आचार्य र उनका सन्तानलाई नियुक्त गरेका हुन्छन्। बिस्तारै ती आचार्यका सन्तान-दर-सन्तान बढ्दै जान्छन्। धेरै पुस्तापछि उनीहरूमा कसले भगवानको सेवा गर्ने भनेर झगडा हुन थाल्छ। आखिरमा उनीहरूले पालैपालो भगवानको सेवा गर्ने निर्णय गर्छन्।
त्यति बेलासम्म कलियुग आइसकेको हुन्छ। त्यसपछि ती दुई भगवानले पिम्बहालमा बसिरहन उचित ठान्दैनन्। उनीहरूले मानिसहरूसँग पहिलेजस्तो प्रत्यक्ष कुराकानी नगर्ने निर्णय गर्छन् र मूर्तिको रूप लिन्छन्।
अर्को दिन द्यः पाला (पुजारी) आउँदा भगवान हल न चल भएको देखेर उनी रून थाल्छन्। भगवानलाई बोल्न बिन्ती गर्छन्।
बिस्तारै यो खबर चारैतिर फैलिन्छ।
मानिसहरूले भगवान हल न चल हुनुको दोष पुजारीहरूमाथि लगाउँछन् र सबभन्दा बूढा पुजारीलाई छाडेर सबैको हत्या गर्छन्।
यसरी भगवानकै कारण परिवारका सबै सदस्य मारिएपछि ती बूढा पुजारी पूजाआजा गर्न छाड्छन्। भगवानका मूर्तिमध्ये मञ्जुश्रीलाई आर्यतीर्थ र कश्यपलाई शान्ति तीर्थ लगेर फाल्छन्।
एकदिन नदीमा ध्यान गरिरहेका हेमराज आचार्य भन्ने व्यक्तिले कश्यपको मूर्ति फेला पार्छन् र पाटनको 'गोल्डन टेम्पल' भनिने क्वा:बहाःमा लगेर स्थापना गर्छन्।
त्यस्तै, मञ्जुश्रीको मूर्ति जयतीर्थ भन्ने ठाउँमा ध्यान बसेका सुभल आचार्यले फेला पार्छन्। उनी आफ्नो साधनाबाट उक्त मूर्तिको शक्ति कलशमा कैद गर्छन् र चोभारस्थित कक्षपाल पर्वतमा रहेको एउटा मूर्तिमा सार्छन्। त्यो मूर्तिलाई आनन्दी लोकेश्वर भनिन्छ।
यो कथाले पिम्बहाल निकै पुरानो ठाउँ हो भन्ने संकेत गर्छ। पिम्बहाल नजिकै अशोक चैत्य छ। बंगालका शासक शमशुद्धिनले आक्रमण गरेर भत्काएपछि नेपाल सम्बत् ४७७ (सन् १३७५) मा चैत्य जीर्णोद्धार गरिएको अभिलेख पाइन्छ। यसबाट पनि साढे ६ सय वर्षभन्दा अगाडि नै पिम्बहाल निर्माण भइसकेको थाहा हुन्छ।
पिम्बहालको केन्द्रमा आकर्षक जगमदु (जग नभएको) पोखरी छ, जुन पिम्बहाल पोखरी भनेर प्रसिद्ध छ। 'गय बाजे' नामका एक तान्त्रिकले लाखेलाई आफ्नो कब्जामा लिएर एकै रातमा यो पोखरी बनाउन लगाएको किम्बदन्ती छ। तिनै लाखेले आफ्नी प्रेमिकाका लागि पोखरी बनाइदिएको भनाइ पनि सुनिन्छ।
अर्कोपटक पिम्बहाल र पोखरी घुम्दै गर्दा ऐतिहासिक पिम्बहालको अवशेषका रूपमा बचेको इनार पनि हेर्न जानुहोस् है!
मिथकजस्ता लाग्ने ऐतिहासिक 'गय बाजे' को घर
गय बाजेको ऐतिहासिक घर। रातो घेरा लगाइएको झ्यालको रेडियो-कार्बन परीक्षण गर्दा १०-११औं शताब्दीको हो भन्ने पत्ता लागेको छ। तस्बिर स्रोत: रोहित रञ्जितकारहामीले पिम्बहाल पोखरी बनाउने तान्त्रिक गय बाजेको थोरै चर्चा माथि गर्यौं। उनी पिम्बहाल पोखरीको उत्तरतर्फ रहेको चण्डेश्वरी मन्दिर निर्माणमा पनि जोडिन्छन्।
किम्बदन्तीअनुसार एकपटक गय बाजे पाटनको इखालखुमा श्री हरिसिद्धि माईको नाच हेर्न गएका थिए। नाच हेरिरहेका बेला उनले एक जना केटीलाई देखे, जो अरूभन्दा निकै अलग थिइन्।
ती केटीमा कस्तो विलक्षण शक्ति थियो भने, भीडमा अगाडिका मान्छेले नाच छेकिदिँदा उनी त्यहीअनुसार आफ्नो उचाइ बढाउँथिन् र अरूभन्दा अग्ली हुन्थिन्। नछेकिएका बेला भने सामान्य उचाइमै फर्कन्थिन्।
तान्त्रिक गय बाजेले सोचे — यस्तो शक्ति त सामान्य मान्छेमा हुनै सक्दैन! यी पक्कै मानव रूपमा आएकी कुनै देवी हुन्!
यही सोचेर गय बाजेले आफ्नो तन्त्र बलमा ती केटीलाई पिम्बहाल लिएर आए।
पिम्बहाल ल्याएपछि उनलाई थाहा भयो — ती केटी बनेपाबाट आएकी चण्डेश्वरी देवी रहिछन्।
त्यसपछि गय बाजेले चण्डेश्वरी देवीलाई पिम्बहालमै बस्न आग्रह गरे।
यसरी गय बाजेले आफ्नो शक्तिबाट देवी-देवता कब्जा गर्नेदेखि मरेकालाई जिउँदो बनाउनेसम्मका चमत्कारी कथा-किम्बदन्ती हामी सुन्छौं।
कथा-किम्बदन्ती सुन्दा मिथक पात्रजस्ता लाग्ने गय बाजे एक ऐतिहासिक व्यक्ति हुन्। उनी तन्त्र विद्यामा निपुण थिए। पिम्बहाल पोखरी नजिकै सुलिम्ह टोलमा रहेको रत्नेश्वर मन्दिर पछाडि उनको ऐतिहासिक घर थियो। यो घर कति पुरानो थियो भन्ने एउटा आधार यसको झ्याल हो।
पाटन संग्रहालयमा सुरक्षित उक्त झ्यालको रेडियो-कार्बन परीक्षण गर्दा १०-११औं शताब्दीको हो भन्ने पत्ता लागेको छ।
गय बाजेको नाम भएको अभिलेख भने १५औं शताब्दीतिरका भेटिन्छन्, जसबाट उनको वास्तविक नाम गयपति रहेको थाहा हुन्छ।
इतिहासविद् महेशराज पन्तले 'पूर्णिमा' पत्रिकाको एउटा अंकमा 'सुलिम्हमा बस्ने एक ब्राह्मण गयपति' भनेर लेखिएको अभिलेखबारे चर्चा गरेका छन्। यो सन् १४६८ (नेपाल सम्बत ५८९) को अभिलेख हो।
अर्को अभिलेख महाभारतसम्बन्धी गयपतिले लेखेको नाटकबारे छ। सन् १४५२ (नेपाल सम्बत् ५७३) को उक्त नाटक राजकुमार राय मल्लको पशुपतिमा तुलादानको समयमा लेखिएको हो।
त्यस्तै, लुभूस्थित नारायण मन्दिरमा सन् १४५१ (नेपाल सम्बत् ५७२) को अभिलेख ढुंगामा कुँदिएको छ, जसमा यो मन्दिर गयपतिले बनाएको उल्लेख छ।
गय बाजेको घरको अहिलेको स्वरूप। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटीयी तान्त्रिक यति शक्तिशाली थिए, १७औं शताब्दीका पाटनका राजा सिद्धिनरसिंह मल्लका गुरू विश्वनाथ राजोपाध्यायले उनकै मार्ग पछ्याएको मानिन्छ।
पाटनका शक्तिशाली तान्त्रिक गय बाजेसँग जोडिएका कथा र किम्बदन्ती सुलिम्हस्थित उनको घरमा बाँचेको थियो। घरमा उनको छुट्टै कोठा थियो, जुन सधैं बन्द हुन्थ्यो। मानिसहरू कोठासम्म पुग्न र त्यसको ऊर्जा महसुस गर्न यहाँ आउँथे।
सन् १९५० तिर पुजारी र स्थानीयको नेतृत्वमा घर उत्खनन् गरियो। वैज्ञानिक तरिकाबाट उत्खनन् नगरिएको भए पनि भूमिगत मार्ग र कोठा फेला परेको थियो। त्यो मार्ग भूमिगत पानीले भरिन थालेपछि उत्खनन् बन्द गरियो।
गय बाजेको घरमा २०-२५ वर्षअघिसम्म उनकै पुस्ताका सूर्यनाथ राजोपाध्याय बस्थे। पछि उनले यो घर आफ्नो भान्जा खलकलाई बेचे।
२०७२ को भुइँचालोमा चर्किएको यो घर भत्काएर २०७४/७५ सालतिर आधुनिक तरिकाले बनाउन थालिएको थियो। स्थानीयले पुरानै शैलीमा पुनर्निर्माण हुनुपर्ने र घरको उत्खनन हुनुपर्ने भन्दै विरोध गरे।
विरोध गर्नेमध्ये स्थानीय शैलेन्द्र श्रेष्ठले भने, 'आधुनिक तरिकाले बनाउन लागेकाले हामीले विरोध गरेका थियौं। महानगरकै इन्जिनियरबाट घर बनाउन लागिएको रहेछ। नक्सा पास नगरी बनाउन लागेकाले रोक्का भयो। यो घर विभिन्न विवादमा परेपछि घरधनीले बेचे।'
गय बाजेका भान्जा खलकले बेचेपछि मंगल श्रेष्ठ भन्ने व्यक्तिले घर किनेर पुनर्निर्माण गरिरहेका छन्। तीनतले यो घर पाँच तलाको बनेको छ।
'कति कुरा समयअनुसार परिवर्तन हुनुपर्छ। पाँच तलाको बने पनि परम्परागत शैलीमा बनेको छ। घरधनीले गय बाजेको समाधि र खाल्डो पनि भत्काएका छैनन्। त्यसलाई संरक्षण गर्दै यो घरलाई संग्रहालय बनाउन हामीले सल्लाह दिएका छौं,' शैलेन्द्रले भने, 'यहाँ संग्रहालय बनाउने हो भने पाटनका प्रसिद्ध तान्त्रिक गय बाजेबारे धेरैलाई थाहा हुने थियो।'
पेट दुखेको निको पार्ने 'प्वा: स्या: फल्चा'
तस्बिरमा सबभन्दा बायाँपट्टिको दुईतले घर 'प्वा: स्या: फल्चा' हो। तस्बिर स्रोत: नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्टएउटा समय थियो, पाटनका मानिस आफ्नो पेट दुखाइ निको पार्न अस्पताल होइन, प्वा: स्या: फल्चा पुग्थे। नेपाल भाषामा प्वा: भनेको पेट, स्या: भनेको दुख्नु र फल्चा भनेको पाटी हो।
यो फल्चामा भएका द्यः अर्थात् देवताले पेट दुखेको निको पार्छन् भन्ने जनविश्वास थियो।
मंगलबजारबाट ग्वार्को जाने बाटोमा रहेको नुगः टोलमा यो फल्चा थियो। नुगः टोलकै सुन्धारा (लुँ हिति) को ठ्याक्कै अगाडि अर्थात् उत्तरमा रहेको यो फल्चा २०३६ सालतिर भत्काइएको थियो। अहिले यहाँ न फल्चा छ, न भगवान। डबलीजस्तो अवशेष मात्र बाँकी छ।
'भत्काइनुअघि प्वा: स्या: फल्चा दुई तलाको थियो। यसको छाना झिँगटीले छाएको थियो। माथिल्लो तलाको दक्षिणी मोहोडामा तीनवटा सँझ्याः (झ्याल) थिए। पश्चिम मोहोडामा एउटा ठूलो झ्याल थियो। फल्चाको पूर्वी मोहोडामा पनि एउटा झ्याल थियो,' नेपालका सम्पदाबारे अभिलेख गरिरहेको 'नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्ट' को विवरणमा उल्लेख छ, 'फल्चाको पूर्वी मोहोडामा माथि उक्लिने भर्याङ थियो। भुइँतलामा तीनवटा खण्ड थिए, जसको पश्चिममा सानो पसल, बीचमा भगवान प्वा: स्या: द्यः र पूर्वतिरको भाग खाली थियो।'
स्थानीयका अनुसार यहाँका भगवानको मूर्तिको पेट निकै ठूलो थियो। उनलाई कुनै लुगा लगाइएको थिएन। यी भगवानबारे एउटा किम्बदन्ती छ —
प्वा: स्या: द्यः कसैले नदेख्ने समयमा आफ्नो अगाडि रहेको लुँ हिति गएर पानी खान्थे। उनले पानी खाने तरिका एकदमै अचम्मको थियो। उनी तीनवटा लहरै रहेका टुटीमध्ये दायाँ र बायाँ टुटीलाई हातले थुन्थे र बीचको टुटीबाट पानी खान्थे। यसो गर्दा बीचको धाराबाट ठूलो पानी आउँथ्यो।
यही किम्बदन्तीलाई आधार मानेर पेट दुखेका मानिस फल्चामा भएका भगवानको नाभीमा छोएर पूजा गर्थे र लुँ हितिको पानी खान जान्थे। यसो गर्दा दुखाइ निको हुने विश्वास राख्थे।
यति महत्त्वको फल्चा कसरी भत्कियो वा भत्काइयो त?
प्वा: स्या: फल्चा रहेको ठाउँमा अहिले यस्तो डबली छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीस्थानीय बासिन्दाले देख्दासम्म फल्चाको माथिल्लो तलामा प्रहरी चौकी थियो। त्यति बेला नुगः टोलका युवा र छिमेकी टोलका युवाबीच झैझगडा भइरहन्थ्यो। २०३६ सालतिर त्यसरी नै झगडा पर्दा प्रहरीले युवाहरूलाई समातेर फल्चामाथिको चौकीमा राखे।
'आफ्ना युवाहरूलाई त्यसरी समातेपछि टोलबासीले चौकी तोडफोड गरे। त्यसपछि पुलिस चौकी त्यहाँबाट हटाएर लुँ हितिको दक्षिणमा रहेको फल्चामा सारियो। चौकी हटेपछि फल्चाको मर्मत गरिएन। बिस्तारै जीर्ण हुँदै गयो र भत्कियो,' नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्टको अभिलेखमा उल्लेख छ।
यो फल्चा पहिले चंकि टोलका चिपालु (श्रेष्ठ) हरूको संरक्षणमा थियो। गुठी बन्द भइसकेकाले उनीहरूले फल्चा जीर्णोद्धार गर्न कुनै चासो देखाएका छैनन्। फल्चामा रहेको प्वा: स्या: द्यः पनि कहाँ छ भन्ने थाहा हुन सकेको छैन।
अहिले पनि फल्चा पुनर्निर्माण गर्ने कुरा चल्छ, तर काम सुरू हुन सकेको छैन।
फल्चा नबन्दा बुंगद्यः (रातो मच्छिन्द्रनाथ) को रथ तान्न भने सजिलो भएको स्थानीय बताउँछन्।
जगतजंगले बग्गी कुदाउन पुरेको गाः हिति
ऐतिहासिक गा: हितिको अवशेष। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीबगलामुखी मन्दिरबाट शंखमुलतिर जाने बाटोको टोललाई गाः हिति भनिन्छ। टोलको नाम गाः हिति भए पनि यहाँ कुनै हिति (ढुंगेधारा) देखिन्न।
गाः हिति भनेको गहिरो ठाउँमा भएको हिति हो। हितिको नाममा अहिले एउटा घरमा अडेस लगाएर राखिएको शिवलिंगको भागजस्तो अवशेष मात्र छ। त्यसमा पहिले उमामहेश्वरको मूर्ति रहेको स्थानीय बताउँछन्। त्यो मूर्ति अहिले छाउनी संग्रहालयमा छ।
हिति भने पहिलो राणा प्रधानमन्त्री जंगबहादुरका छोरा जगतजंगले आफ्नो बग्गी कुदाउन बाटो साँघुरो भएपछि पुरेको पाटन संग्रहालयका कार्यसमिति सदस्य तथा सम्पदाविद् दिलेन्द्र श्रेष्ठ बताउँछन्।
'जगतजंगले शंखमुलमा तेराकोटा इँटा नै इँटाले ग्रन्थकुट शैलीको जगतनारायण मन्दिर बनाएका थिए। भगवान विष्णुलाई समर्पण गरेर बनाइएको यो मन्दिर २०७२ सालको भुइँचालोमा जीर्ण भएपछि बनेको छैन,' श्रेष्ठले भने, 'तत्कालीन समयमा मन्दिर बनाउँदा साइकलबाट मात्र त्यहाँ जान सम्भव थियो। जगतजंगलाई आफ्नो बग्गी लैजान बाटो चाहिएपछि उनले गा: हिति पुरेका हुन्।'
हिति पुरेपछि उमामहेश्वरको मूर्ति नजिकै फल्चामा राखिएको थियो। मूर्तिको माथिल्लो भागमा चार द्वारपाल र शिवका आकृति छन्। तल घण्टाकर्ण, शिवका भक्त, गणेश लगायतका आकृति छन्।
यो मूर्ति सन् १९७५ मा चोरी भएर अमेरिकास्थित डेन्भर आर्ट म्युजियम पुगेको थियो। सन् २०२१ मार्च २३ मा नेपाललाई फिर्ता गरिएको छ।
'पहिले मूर्ति राखिएको फल्चामा प्रहरी चौकी थियो। चौकी हुँदाहुँदै मूर्ति चोरी भयो,' गाः हितिका ८२ वर्षीय स्थानीय मानबहादुर महर्जनले भने।
विभिन्न मुलुकबाट फर्काइएका मूर्ति जुन ठाउँको हो, त्यही ठाउँलाई फिर्ता गर्ने नेपालको नियम छ। तर स्थानीयले अपनत्व जनाउँदै लिन नआएकाले छाउनी संग्रहालयमा राखिएको छ।
तपाईंहरू पनि उमामहेश्वरको मूर्ति हेर्न चाहनुहुन्छ भने छाउनी संग्रहालय जान सक्नुहुन्छ। गाः हिति हेर्न भने जगतजंगले पुरेको ठाउँ उत्खनन् नगरेसम्म सम्भव छैन।
हिति नभएको गा: हिति टोल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी१९९० सालको भुइँचालोपछि नबनेका सम्पदा
नब्बे सालको भुइँचालोले आठ दशकसम्म भग्नावशेषमा विलिन गराएको भाइदेगः मन्दिर यति बेला पुनर्निर्माणको अन्तिम चरणमा छ।
यो मन्दिर पुनर्निर्माण गर्न बेलायका चिकित्सक तथा चित्रकार हेनरी एमब्रोस ओल्डफिल्डको चित्र निकै उपयोगी साबित भयो।
उनले १९१० सालमा बनाएको चित्रमा मन्दिरको खम्बा, टुँडालमा रहेका काष्ठकलाको मिहिन काम चित्रण गरेका थिए। त्यही चित्रका आधारमा तीनतले भाइदेग: मन्दिर पुनर्निर्माण भइरहेको छ।
करिब चार करोड रूपैयाँको अनुमानित लागतमा मन्दिर निर्माणको काम सुरू भए पनि हालसम्म नौ करोड लागिसक्यो। थप दुई करोड लाग्नसक्ने मन्दिर पुनर्निर्माण समूहमा आबद्ध सम्पदाविद् दिलेन्द्र श्रेष्ठले बताएका छन्।
भाइदेग: मन्दिर पुनर्निर्माण हुँदै गर्दा १९९० सालमै भत्किएका अन्य सम्पदा पनि पुनर्निर्माण हुनुपर्छ भन्ने कुरा आएको छ। आउनुस् ती सम्पदाबारे चर्चा गरौं।
नब्बे सालको भुइँचालोमा भत्किएका पाटनका यी सम्पदा अहिले देखिँदैनन्।
मानमानेश्वरी
पाटन दरबार स्क्वायर र रातो गोलो घेरा लगाइएको मानमानेश्वरी मन्दिर। तस्बिर स्रोत: क्लारेन्स टेलर (सन् १८६३)
अहिलेको पाटन दरबार स्क्वायर, जहाँ मानमानेश्वरी मन्दिर देखिँदैन। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटीपाटन दरबारभित्रै देगु तलेजु छेउमा मानमानेश्वरी मन्दिर थियो। १९९० को भुइँचालोमा भत्किएको यो मन्दिर पाटनभरमै विशेष शैलीको भएको पाटन संग्रहालयका सूचना अधिकारी सुरेश लाखे बताउँछन्।
'मानमानेश्वरी अनौठो खालको थियो। पहिलो छानो गोलो, बीचको अष्टकोण र तलको चारकुने,' उनले भने, 'मैले यस्तो खालको मन्दिर अन्त देखेको छैन।'
मानेश्वरी मात्र पनि भनिने मानमानेश्वरीलाई राजाहरूका 'संरक्षक देवता' मानिन्छ। खडगसिद्धि र शक्ति साधनासँग सम्बन्धित यी देवीलाई लिच्छवि राजा मानदेवको इष्टदेवी मानिन्छ।
पाटनको मानमानेश्वरी मन्दिरसँग सम्बन्धित भएर दसैं बेला पायो (खड्ग) जात्रा मनाइन्छ। २९ वर्षदेखि रोकिएको यो जात्रा २०७५ सालमा पुनः सञ्चालनमा ल्याइएको थियो।
घटस्थापनादेखि विधिवत् जात्रा सुरू भए पनि देशभर फूलपाती भित्र्याइँदै गर्दा पाटन दरबारमा मानमानेश्वरी देवीको जात्रा सुरू हुन्छ।
देवीलाई मूछेँ आगंबाट मूलचोकस्थित मूछेँ माजुको देवालयमा शक्तिको प्रतीक तीन खड्ग र बाजागाजासहित भित्र्याइन्छ। त्यसपछि देवी र तीन खड्गको विधिवत् पूजा हुन्छ।
भष्मेश्वर महादेव मन्दिर
नब्बे सालको भुइँचालोअघि भष्मेश्वर महादेव मन्दिरको वास्तविक स्वरूप। तस्बिर स्रोत: कर्ट बुक
नब्बे सालको भुइँचालोपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको भष्मेश्वर महादेव मन्दिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीपाटन दरबार क्षेत्रबाट हःखा टोलतिर लाग्दा दक्षिणपट्टि भष्मेश्वर महादेव मन्दिर छ। हाल गुम्बज शैलीमा रहेको यो मन्दिर १९९० सालको भुइँचालोअघि कृष्ण मन्दिरझैं शिखर शैलीमा ढुंगै ढुंगाले बनेको थियो।
मन्दिरको बीचमा सेतो रंगको शिवलिंग छ, जुन चारकुने र माथि गोलाकार छ। यसलाई नेपाल भाषामा तुयुम्ह (सेतो) महादेव पनि भनिन्छ।
मन्दिरको उत्तरी भित्तामा सिंहासनमा बसेकी महालक्ष्मीको मूर्ति छ। मन्दिरअगाडि सिंहका दुइटा मूर्ति थिए, जसलाई २०७२ को भुइँचालोपछि नजिकैको हुलाक कार्यालयमा राखिएका छन्।
पाटनका दिलेन्द्र श्रेष्ठका अनुसार यो मन्दिरको स्तम्भमाथिको मेथ पट्कोनारायण मन्दिरमा छ। त्यस्तै अन्य स्तम्भ र ढुंगा अन्य मन्दिरमा प्रयोग गरिएको हुनसक्ने उनी बताउँछन्।
'पट्कोनारायण मन्दिरको आकार झन्डै भष्मेश्वर जत्रै थियो। यो मन्दिर पनि ९० सालको भुइँचालोमा भत्किएको मानिन्छ,' उनले भने, 'भष्मेश्वरबाहेक अन्य विभिन्न मन्दिरका सामग्री ल्याएर पट्कोनारायण मन्दिर पुनर्निर्माण गरिएको हुनुपर्छ।'
जर्मनीका कर्ट बुकले भष्मेश्वर महादेव मन्दिर देखिने गरी सन् १८९९ मा पाटन दरबार स्क्वायरको फोटो खिचेका थिए। त्यही फोटोलाई आधार बनाएर यो मन्दिर पुनर्निर्माण गर्न सकिन्छ।
उमामहेश्वर मन्दिर
नब्बे सालको भुइँचालोपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको उमामहेश्वरको मन्दिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीकर्ट बुक को फोटो संकलनमा पाटन दरबार स्क्वायरमा तीनवटा शिखर शैलीका मन्दिर देखिन्छन्। तीमध्ये भष्मेश्वर महादेव मन्दिरबारे हामीले कुरा गरिहाल्यौं। च्यासिं द्यः अहिले पनि छँदैछ। त्यसबाहेक दरबार स्क्वायरबाट लगनखेल जाँदा दायाँ भागमा पर्ने उमामहेश्वरको मन्दिर चाहिँ खोई त?
शिव र पार्वतीलाई समर्पित यो मन्दिर अहिले पनि त्यही ठाउँमा छ, तर शैली फेरिएको छ।
शिखर शैलीमा बनाइएको यो मन्दिरलाई नब्बे सालको भुइँचालोपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो।
मन्दिर भएको ठाउँमा एकतले भवन छ, जहाँ विभिन्न पसल छन्। माथि कौसी छ, जसलाई पाटन दरबार स्क्वायर हेर्न मिल्ने खुला ठाउँका रूपमा प्रयोग गरिँदै आएको छ। यो मन्दिर पनि कर्ट बुकको फोटो हेरेर मौलिक स्वरूपमा पुनर्निर्माण गर्न सकिन्छ।
भाइदेगः मन्दिर पुनर्निर्माणताका नब्बे सालको भुइँचालोमा भत्किएर पुनर्निर्माण नभएका यी तीन मन्दिर पनि बनाउने ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका थिए।
पाटनमा यी सम्पदासँगै थुप्रै बहाःबही, मन्दिर, पोखरी, ख्यः (चउर), मूर्ति लगायत विभिन्न सम्पदा लोप भएका र लोप हुने क्रममा छन्। ती सबै संरक्षण र पुनर्निर्माणको पर्खाइमा छन्।
***
यो पनि पढ्नुहोस्: