माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता जनार्दन शर्मा 'प्रभाकर' ले ४२ वर्षभन्दा लामो राजनीतिक सहकार्यमा पूर्णविराम लगाएका छन्।
प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आठ वाम घटक मिलाएर एकीकृत पार्टीको संयोजक बन्दै छन्।यो एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बसिरहेको छ। त्यसपछि प्रचण्डसँग माओवाद र गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिह्न हुने छैन।
उनले जीवनमा दोस्रो पटक आफूले बोक्दै आएको राजनीतिक विचारधारा र चुनाव चिह्न छाड्न लागेका हुन्। यसअघि २०७५ जेठ ३ गते नेकपा एमालेसँग पार्टी एकता गर्दा माओ विचारधारा र चुनाव चिह्न छाडेका थिए।
यही एकताप्रति असन्तुष्टि जनाउँदै प्रभाकरले सोमबार नै 'राजनीतिक जीवनको कुनै घुम्तीमा भेटौंला' भन्दै प्रचण्डलाई विदाइको हात हल्लाएका थिए।
सँगसँगै, उनले ललितपुरको बखुण्डोलस्थि एक क्याफेबाट छुट्टै प्रगतिशील अभियान नेपाल घोषणा पनि गरेका छन्।
यसरी 'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए त?
प्रचण्ड र प्रभाकरबीच लामो समयदेखि वैचारिक बेमेल थियो। प्रचण्डसँगको वैचारिक, राजनीतिक र कार्यशैलीगत असन्तुष्टि उनले पार्टी कमिटीका बैठकमा मुखर ढंगले राख्दै आएका थिए। त्यही असहमतिले प्रचण्डसँग उनको दुरी बढाएको थियो।
राजनीतिको सुरूआती दिनमा भने प्रभाकर प्रचण्डको व्यक्तित्वबाट प्रभावित थिए। त्यसो त उनी आफ्नै बुबा इस्कन्द शर्माको राजनीतिक आदर्शबाट मुख्य रूपमा प्रभावित थिए। उनका बुबा रूकुममा कम्युनिस्ट पार्टी स्थापना गर्नेमध्येका एक मानिन्छन्।
बाबुकै पाइला पछ्याउँदै राजनीतिमा प्रवेश गरेका प्रभाकर २०३८ सालसम्म जागिरे थिए।
उनले हाल रूकुम पश्चिममा पर्ने सिम्रुतु स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक पदबाट जागिरे जीवन सुरू गरेका थिए। यो २०३६ सालको कुरा हो। त्यसको अर्को वर्ष उनी साक्चाको एक प्राथमिक विद्यालयमा शिक्षकसमेत भए।
त्यसपछि २०३८ सालमा रूकुम पश्चिम तरकारी बीउ उत्पादन केन्द्रका प्राविधिक सहायक भएका प्रभाकर त्यसै वर्ष नेपाल कम्युनिस्ट पार्टी (मसाल) को रूकुम जिल्ला कमिटीका सदस्य भएका थिए।
प्रचण्डसँग उनको भेट भने २०४२ सालमा मात्र भयो। भाइ अनील शर्माले उनलाई प्रचण्डसँग भेटाएका थिए।
अनीलका अनुसार प्रचण्डसँग जनार्दनको पहिलो भेट रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा पर्ने हिलगाउँमा भएको थियो। २०२० सालमा जन्मिएका जनार्दन त्यति बेला २२ वर्षका थिए।
युवा उमेरदेखि प्रचण्डको संगतमा लागेर द्वन्द्वकालमा माओवादीको डेपुटी कमान्डरसम्म बनेका उनी अन्ततः प्रचण्डसँग अन्तरविरोध चुलिएपछि बाटो अलग गर्ने ठाउँमा आइपुगेका छन्।
२०३४ सालमै कम्युनिस्ट पार्टीको सदस्य बनेका उनी २०३८ सालमा रूकुम जिल्ला कमिटी सदस्य हुँदै २०४८ सालमा कार्यवाहक सेक्रेटरी बनेका थिए। २०४८ सालको आमनिर्वाचनमा उनी रूकुमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए। तर पराजित भए।
२०५० सालमा दाङ जिल्लाको सेक्रेटरी बनेका उनी २०५२ सालदेखि माओवादी द्वन्द्वमा आबद्ध भए। माओवादीमा छँदा उनी 'प्रभाकर' का नामबाट चिनिन्थे।
२०५६ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय कमिटी सदस्य बनेका प्रभाकर २०५७ सालमा पोलिटब्युरो सदस्य बने। त्यसपछि उनको भूमिका सैन्य क्षेत्रमा केन्द्रित भयो। २०५७ सालमा सेती–महाकाली क्षेत्रीय ब्युरो इन्चार्ज हुँदै जनमुक्ति सेनाको कमिसार बने। २०६० मा डिभिजन कमान्डर, २०६१ मा डेपुटी कमान्डर बनेका थिए।
त्यति बेला माओवादीमा चार जना (जनार्दन शर्मा, वर्षमान पुनः नन्दकिशोर पुन, चन्द्रप्रकाश खनाल) डेपुटी कमान्डर थिए। २०७० सालमा माओवादी स्थायी समिति सदस्य बनेका उनी २०७८ मा माअोवादी केन्द्रको संगठन विभाग प्रमुख थिए।
२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि निरन्तर संसदीय भूमिका रहेका शर्मा पाँच पटक (अर्थ, गृह, ऊर्जा, शान्ति तथा पुनर्निर्माण), बिनाविभागीय) मन्त्री बने। माओवादी केन्द्रमा रहँदा पटक पटक अवसर पाइरहने नेतामध्ये उनी पर्छन्। संसदको सार्वजनिक लेखा समिति, सेना समायोजन विशेष समितिको सदस्य पनि बने।
नेतृत्वको नजिक रहेर पद प्रतिष्ठा आर्जन गरेको आरोप व्यहोरेका शर्मा नेतृत्वसँगकै विमतिका कारण बाटो लाग्ने अवस्थामा पुगेका छन्।
प्रचण्डसँग राजनीतिक र कार्यशैलीगत प्रश्न उठाएर बाटो लाग्नेमा जनार्दन शर्मा पछिल्लो नेता हुन्। शर्माअघि प्रचण्डका धेरै सहकर्मीले फरक फरक घुम्तीमा बाटो अलग गरिसकेका छन्।
२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भएसँगै माओवादीको खुला राजनीतिक यात्रा सुरू भएको थियो। त्यस बेला माओवादीको संगठन सानो र छरितो आकारको थियो। जम्मा ११ जनाको सचिवालय अनि ३५ जनाको केन्द्रीय कमिटी थियो। तत्कालै कुनै महत्त्वपूर्ण निर्णय गर्न ६ जनाको अघोषित 'कोर टिम' थियो।
त्यसमा प्रचण्डका साथै वरिष्ठ नेताहरू मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल र पोष्टबाहादुर बोगटी थिए। तीमध्ये बोगटीको निधन भएको छ भने अरू कुनै पनि नेता अहिले प्रचण्डसँग छैनन्।
त्यस्तै ११ जनाको सचिवालयमा त्यतिखेर प्रचण्डसहित मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, देव गुरूङ, टोपबहादुर रायमाझी, वर्षमान पुन र नेत्रविक्रम चन्द 'विप्लव' थिए।
त्यो सचिवालयका सदस्यमध्ये अहिले प्रचण्डसँग देव गुरूङ, कृष्णबहादुर महरा र वर्षमान पुन मात्रै छन्। गुरूङ पनि केही समय प्रचण्डको साथ छाडेर पुनः मूलधार फर्किएका हुन्।
वैद्य र गजुरेल नेकपा क्रान्तिकारी माओवादीमा छन्। भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा छन् भने बादल र रायमाझी नेकपा विघटनपछि एमालेमै छन्। बादल एमालेका उपाध्यक्ष छन्। सचिव रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि जेलमा छन्।
विप्लवले कम्युनिस्ट पार्टी नेपाल नामकरण गर्दै आफ्नो समूह निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।
३५ जनाको केन्द्रीय कमिटीमा पनि १५ जनाले प्रचण्डको साथ छाडिसकेका छन्।
मोहन वैद्य 'किरण', बाबुराम भट्टराई, सिपी गजुरेल, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल, नेत्रविक्रम चन्द, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, हिसिला यमी, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली र गोपाल किराती अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा छैनन्।
यद्यपि किरातीले तीन बुँदे सहमति गरेर एकीकृत पार्टीमै फर्कने तयारी गरेका छन्।
२०६४ सालमा नारायणकाजी श्रेष्ठसँग भएको एकतापछि लिलामणि पोखरेल, गिरीराजमणि पोखरेल, गणेश साहजस्ता वामपन्थी राजनीतिमा लामो समय बिताएका नेताहरू प्रचण्डसँग समाहित हुन आएका थिए। त्यसमध्ये साहले पार्टीको सक्रिय राजनीतिक छाडेको घोषणा गरेका छन्।
***