(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले नि:शुल्क पढ्न मिल्ने गरी हामीले यो स्टोरी खुला गरेका छौं।)
सुशीला मिश्रले २५ वर्ष उमेरमै आफ्नो श्रीमान गुमाइन्।
काखमा ८ र ५ वर्षका दुई सन्तान थिए।
बस्नलाई वसन्तपुरमा दुई कोठाको घर थियो, तर छाक टार्न कसैको भर थिएन। सासू-ससुरा पहिल्यै बितिसकेका थिए। दुई जना नन्द थिए, तिनको पनि बिहे भइसकेको थियो। यसले दुई काखेबालक हुर्काउने जिम्मेवारी सुशीलाको काँधमा आइपर्यो।
श्रीमान बितेको एक महिना नबित्दै उनले सेतो पहिरन लगाएर कामको खोजीमा निस्किनुपर्यो।
लुगाको रङसँगै जिन्दगीको रङ कसरी उड्दो रहेछ भन्ने उनले बल्ल चाल पाइन्।
एक त आफै चोट सहिरहेकी थिइन्, त्यसमाथि समाजको व्यवहारले मुटु छियाछिया पार्यो। मान्छेहरू सहानुभूति देखाउनु त परै जाओस्, बोल्नधरि हच्किन्थे। बाटोमा अगाडि पर्दा पनि तर्किन्थे। उनलाई देख्दा सातो गएजस्तो मुख बिगार्थे। गर्भवती र बिरामी महिला त सुशीलाको छायालाई पनि अफाप ठान्थे।
यस्तोमा धेरैले कामै दिएनन्। कतिले दिए, तर राम्रो व्यवहार गरेनन्। सँगै हुँदा पनि टाढा बसेर बोल्थे, केही चिज दिनुपरे भुइँमा फ्यात्त राखिदिन्थे।
मान्छेका यस्ता तीता व्यवहार सुशीलालाई सह्य थिएन। तर बाध्यता र सन्तानको जिम्मेवारीले उनी विवश थिइन्।
यो २०४५ सालतिरको कुरा हो।
श्रीमान बितेको लगभग तीन महिनासम्म उनले आत्मसम्मान बलि चढाएर जसोतसो अर्काको घरमा काम गरिन्। त्यसपछि भने एउटा सुखद संयोग उनको दु:खद जिन्दगीलाई कोल्टे फेर्न आइपुग्यो।
सुशीलाले काठमाडौंको नघ:स्थित श्रीघ: विहार अगाडिको प्रभात माध्यमिक विद्यालयमा काम पाइन्।
दिवंगत श्रीमानका मामाको साथीले जुराइदिएको संयोगमा टेक्दै लथालिंग जिन्दगी समेट्न थालेकी सुशीलाले आज ३५ वर्षपछि पनि त्यो संयोगको सहारा छाडेकी छैनन्। उनी अहिले पनि त्यही स्कुलमा काम गर्दै छिन्।
उनी स्कुलका शिक्षकहरूलाई चिया पकाएर खुवाउँथिन्। पिरियडपिच्छे घन्टी बजाउँथिन्। उनलाई यहाँ पनि आफ्नो सेतो पहिरनले समस्या ल्याउला कि भन्ने डर थियो। तर कसैले केही भनेन। न उनले पकाएको चिया शिक्षकहरूले खान्न भने, न उनले बजाएको घन्टीमा विद्यार्थीहरूले पढ्दिन भने।
'मलाई दु:ख परेका बेला मामाको साथी भगवान बनेर आउनुभयो,' उनले भनिन्, 'हात थामेर बाटो देखाउनुभयो।'
उनको सुरूआती तलब महिनाको ८ सय ९० रूपैयाँ थियो। तलबभन्दा ठूलो कुरा, उनले जिन्दगीको यात्रामा टेक्ने-समाउने आधार भेटेकी थिइन्। त्योभन्दा ठूलो कुरा चाहिँ, उनले प्रभात माध्यमिक विद्यालयमै आफ्ना दुवै सन्तान पढाउन पाइन्। स्कुलले तोकेबमोजिम शुल्क भने तिर्नुपर्यो।
उनी बिहानै खाना पकाइवरी, खाइवरी छोराछोरी सँगै लिएर ९ बजे स्कुल पुग्थिन्। पुग्नेबित्तिकै कक्षाकोठा सफा गर्थिन्। ठिक १० बजे घन्टी बजाएर सबै विद्यार्थीलाई आँगनमा समेट्थिन्। सवा १० बजे फेरि अर्को घन्टी बजाएर विद्यार्थीहरूलाई आ-आफ्ना कक्षाकोठा जान सूचित गर्थिन्।
त्यसपछि प्रत्येक ३०-३० मिनेटमा घन्टी बजाउनुपर्थ्यो।
सुशीलाको घन्टीसँगै कक्षाकोठामा शिक्षक फेरिन्थे। पढाइको विषय फेरिन्थ्यो। घरि विद्यार्थीहरू हुर्ररर बाहिर निस्कन्थे, घरि खुर्ररर भित्र पस्थे।
सुशीलाको घन्टीसँगै स्कुलको माहोल बदलिन्थ्यो। आँगनको रौनक बदलिन्थ्यो।
यस्तो लाग्थ्यो, मानौं स्कुलको समयधरि सुशीलाको घन्टी बजेपछि मात्र बदलिन्छ।
स्कुलको काममा अरू त सब ठिक थियो, एउटै समस्या भनेको सुशीलालाई घडी हेर्न आउँदैनथ्यो। प्रशासनको कर्मचारी वा कुनै शिक्षकले समय भयो भनेपछि उनी घन्टी बजाउँथिन्।
'डेढ किलोको फलाम हातमा झुन्ड्याएर डन्डीले हान्न बरू त्यस्तो गाह्रो भएन, जति मलाई घडी हेरेर समय थाहा पाउन भयो,' उनले भनिन्, 'मेरै कारणले कहिलेकाहीँ घन्टी बजाउनुपर्ने समय तलमाथि हुन्थ्यो। तर दुई-चार मिनेट ढिलोचाँडो हुँदा मलाई सरहरूले कहिल्यै गाली गर्नुभएन। बरू सिकाउनुभयो।'
'कुनै कुनै सर त समय भइसक्दा पनि घन्टी नबजेपछि आफै कक्षाबाट निस्केर घन्टी बजाउने समय भयो नि सुशीला भन्नुहुन्थ्यो। त्यसपछि म दौडिएर गेट नजिकै राखिएको घन्टी बजाउन जान्थेँ,' उनले हाँस्दै भनिन्।
कहिलेकाहीँ विद्यार्थीहरूले पनि घन्टी बजाउने समय भयो भनेर सम्झाइदिन्थे। सुरूआती दिनमा यस्ता घटना कयौंपटक दोहोरिएको उनी सम्झन्छिन्।
बिस्तारै सुशीलाले शिक्षक र विद्यार्थीहरूको सहयोगमा घडी हेर्न सिकिन्।
घडीमा समय चिन्न सिकेपछि उनलाई यस्तो लाग्यो, मानौं समय नै उनको मुठ्ठीमा छ!
उनी आफैले पनि घडी लगाउन थालिन्। चिया पकाउँदै गर्दा होस् वा स्कुल सरसफाइ गर्दा, उनको ध्यान घडीमै हुन्थ्यो। समय हुनासाथ सब काम छोडछाड गरेर घन्टी बजाउन जान्थिन्।
'हातमै घडी बाँधेपछि मलाई घन्टी बजाउन कसैले सम्झाइरहनु परेन,' उनले भनिन्, 'म जुनसुकै काम ढुक्कले गर्न सक्ने भएँ।'
दुई-तीन महिनामै सुशीलाले काममा प्रगति गरेको देखेर त्यति बेलाका प्रधानाध्यापक नातिकाजी महर्जनले उनलाई नयाँ जिम्मेवारी दिए — १० बजेभन्दा पछि आउने विद्यार्थीलाई गेटबाट छिर्न नदिने।
यो जिम्मेवारी पालना गर्दा भोगेको एउटा नमिठो अनुभवले सुशीलालाई आजसम्म पछ्याइरहन्छ।
भयो के भने, एकदिन १० बजेको घन्टीपछि पढाइ सुरू हुनै लागेको थियो। कक्षा ९ मा पढ्ने एक विद्यार्थी गेटमा आइपुगे। नियमअनुसार सुशीलाले ती विद्यार्थीलाई भित्र छिर्न दिइनन्। गेटमै उभ्याएर राखिन्।
ती विद्यार्थीले सुशीलामाथि आक्रोश पोखे। अपशब्द बोलेर गाली गरे। सुशीला नाजबाफ भइन्। उनले प्रधानाध्यापकलाई बोलाएर ल्याइन्।
सबै कुरा सुनेपछि प्रधानाध्यापक महर्जनले ती विद्यार्थीलाई सजायस्वरूप स्कुल परिसरमै उभ्याएर राखे। पहिलो घन्टीभरि उनलाई कक्षामा छिर्न दिइएन। अरू शिक्षकहरूले पनि गाली गरे। उनलाई माफी माग्न लगाए।
'त्यो दिन मेरो मन साह्रै दुखेको थियो। तर बच्चा हो भनेर मनमा लिइनँ,' सुशीलाले भनिन्।
दुई-चार दिनपछि ती विद्यार्थी स्कुल आउनै छाडे। सुशीलाले यो घटना आजसम्म बिर्सिन सकेकी छैनन्। ती विद्यार्थीले आफ्नै कारणले स्कुल छाडेका हुन् कि भनेर उनलाई पछुतो लागिरहन्छ।
त्यसपछि सुशीलाले दुई-चार मिनेट ढिला आउने विद्यार्थीलाई एकछिन रोकेर राखिन्, तर्साइन् तर स्कुल छिर्नबाट रोक लगाइनन्।
धेरै ढिला आउने विद्यार्थीलाई भने उनी बाहिर उभ्याइदिन्थिन्। कहिलेकाहीँ सुशीलाले छिराए पनि शिक्षकहरूले कक्षामा छिर्न दिँदैनथे।
'प्रधानाध्यापकले आफ्नै छोराछोरीलाई पनि ढिला आएको भन्दै कक्षामा छिर्न दिनुहुन्नथ्यो,' उनले भनिन्, 'अरू सरहरू पनि त्यसै गर्नुहुन्थ्यो।'
अरू विद्यार्थीलाई समान व्यवहार गरिए पनि आफू लगायत त्यहाँ काम गर्ने अरू कर्मचारीका छोराछोरीलाई भने हेपिएको अनुभव सुशीलालाई छ।
उनले आफ्नो छोरा ८ कक्षा पढ्दाको एउटा घटना सुनाइन् —
'अघिल्लो दिन रिजल्ट आउँदा मेरो छोरा पास भएको थियो। भोलिपल्ट फेल रहेछ भनियो। मेरो छोरा अलि झगडालु स्वभावको थियो। उसलाई स्कुलबाट निकाल्न त्यसो गरिएको हो भन्ने लाग्छ। त्यो घटनापछि मेरो छोराले पढ्नै मानेन। स्कुलले त्यस्तो नगरिदिएको भए छोराको भविष्य बन्थ्यो।'
सुशीलाले शिक्षकहरूसँग गुनासो पनि गरेकी थिइन्। तर कसैले वास्ता गरेनन्।
'म सामान्य कार्यालय सहयोगीको छोरा भएर सबैले बेवास्ता गरेका हुन्,' उनले भनिन्, 'कुचो लगाउनेका छोराछोरी भनेर अलिअलि सबैले हेप्थे। तर मैले मन दुखाइनँ। काम दिएका छन् भनेर चित्त बुझाएँ।'
उनकी छोरीले भने त्यही स्कुलबाट एसएलसी दिइन्।
सुशीलाले करिब एक दशक दिउँसोको जागिर खाइन्। त्यसपछि उनलाई बिहानको काममा सारियो।
काम उही थियो, समय तालिका फेरियो।
२००७ सालमा श्रीपञ्चमीका दिन स्थापना गरिएको प्रभात माध्यमिक विद्यालयमा पहिले बिहानको कक्षा मात्र हुन्थ्यो। दिउँसो पछि थपिएको हो। सुशीलाले काम सुरू गर्ने बेलासम्म बिहान-दिउँसो दुवै सिफ्टमा पढाइन्थ्यो।
बिहानी कक्षा ६ बजे सुरू हुन्थ्यो। कक्षा सुरू हुनुअघि सरसफाइको काम भ्याउन सुशीला साढे ५ बजे नै स्कुल पुग्थिन्। त्यति बेलासम्म उनकी छोरीले पनि त्यो स्कुल छाडिसकेकी थिइन्। त्यसैले बिहानको ड्युटीमा जान उनलाई कुनै समस्या भएन।
त्यसै पनि एक दशकको अनुभवबाट उनले धेरै थोक सिकिसकेकी थिइन्। विद्यार्थीहरूसँग घुलमिल भइसकेकी थिइन्। उनी गेटमा उभिएपछि मात्र विद्यार्थीहरू स्कुलभित्र छिर्थे। घन्टी बज्दा पनि कोही विद्यार्थी कक्षा बाहिरै छन् भने उनले आँखा तरिदिए पुग्थ्यो।
'माया गर्नुपर्ने ठाउँमा माया गरेँ, नियम पालना नगर्नेलाई कारबाही गरेँ,' उनले भनिन्, 'मेरो कामलाई लिएर कहिल्यै कसैको गुनासो आएन।'
सुशीलासँग विद्यार्थीहरूको मायालु सम्बन्ध कति गहिरो छ भने, आज पनि कति विद्यार्थी उनलाई भेट्न आइरहन्छन्।
'चिन्नु भएन भनेर सोध्छन्। कतिलाई सम्झिन्छु, धेरैलाई त बिर्सिसकेँ,' उनले भनिन्, 'पहिलेका विद्यार्थीको स्वभावै फरक हुन्थ्यो। अनुशासित हुन्थे। अहिले त्यस्ता छैनन्। अहिलेका विद्यार्थी भावनात्मक रूपमा जोडिँदैनन्।'
उनका अनुसार अचेल विद्यार्थीसँग खासै कुराकानी हुँदैन। आउँछन्, जान्छन्। उनको हालखबर सोध्नेहरू कमै हुन्छन्।
पछिल्लो ३५ वर्षमा सुशीलाले खटनपटन गरेका धेरै विद्यार्थी संसारभर छरिइसके। कोही अमेरिका पुगे, कोही अस्ट्रेलिया, कोही क्यानडा। कोही नेपालमै ठुल्ठूला पदमा छन्। सुशीला भने आज पनि प्रभात स्कुलको गेटमै भेटिन्छिन्।
यही मंसिर २१ गते शुक्रबारको दिन हामी सुशीलालाई भेट्न जाँदा उनी स्कुलको गेटमा कुर्सी राखेर बसिरहेकी थिइन्। १० बज्नै लागेकाले विद्यार्थीहरूको चहलपहल थियो। अभिभावकले कक्षाकोठामै छाडेर गएका साना नानीबाबुलाई उनी बाहिर निस्किन दिँदैन थिइन्। अलि ठूला विद्यार्थीहरू भने भित्र-बाहिर गर्दै थिए।
सुशीलाले १० बजेको घन्टी बजाइन्। घन्टीको आवाज सुन्नासाथ स्कुलअगाडि बौद्ध विहार आसपास खेलिरहेका विद्यार्थी भटाभट स्कुलभित्र छिरे। भित्र बिहानी कक्षा चलिरहेकै थियो।
प्रधानाध्यापक राजेश्वर श्रेष्ठका अनुसार अहिले यहाँ ३ सय २५ जना विद्यार्थी पढ्छन्। एक दशक अघिसम्म झन्डै हजार हाराहारी थिए। २०७२ सालको भुइँचालोपछि धेरै विद्यार्थी घटेको उनी बताउँछन्।
यहाँ प्लेग्रुपदेखि कक्षा ७ सम्मलाई दिउँसो र कक्षा ७ देखि १० सम्मलाई बिहान पढाइन्छ। बिहानी कक्षा ६ देखि १२ बजेसम्म चल्छ। दिउँसो पढ्नेलाई स्कुलले नै खाजा खुवाउँछ। खाजा पकाउने जिम्मा सुशीलाकै हो। उनी बिहानी कक्षा सुरू भएपछि सबै शिक्षकलाई चिया पकाएर खुवाउँछिन्। त्यसपछि दिउँसोको खाजा बनाउनतिर लाग्छिन्। उनीसँगै अन्य दुई जना सहयोगी पनि छन्।
'दिउँसो पढ्ने डेढ सय विद्यार्थीलाई हामी तीन जना मिलेर खाजा बनाउँछौं,' उनले भनिन्, 'शिक्षकहरूले पनि सहयोग गर्नुहुन्छ। खासै गाह्रो हुँदैन।'
यसरी बिहान स्कुल गएर दिउँसोको खाजा पकाइवरी घर फर्किँदा लगभग १ बज्छ। त्यसपछि खाना खाएर अलि बेर आराम गर्छिन्। अनि अपराह्न ४ बजेतिर दिउँसोका कक्षाहरू सकिएपछि उनी फेरि स्कुल जान्छिन्। सबै कक्षाकोठा र शौचालय सफा गर्छिन्।
दिनको दुईपटक स्कुल आउजाउ गर्न सजिलो होस् भनेर उनी चार वर्षदेखि स्कुलनजिकै डेरा लिएर बसिरहेकी छन्। छोरी र नाति-नातिना सँगै छन्।
'वसन्तपुरको दुईकोठे घर के भयो त?'
हाम्रो यो प्रश्नमा सुशीलाले भनिन्, 'भुइँचालोले भत्कियो। नयाँ बनाउन सकेको छैन। पहिला छोराबुहारीसँग बस्थेँ। चित्त नबुझेपछि छोरीसँग बस्न थालेँ।'
उनकी छोरी ब्युटीपार्लर चलाउँछिन्। छोरा अहिले केही गर्दैनन्। बुहारी फुटपाथमा व्यापार गर्छिन्। त्यसैबाट उनीहरूको गुजारा चलिरहेको छ।
सुशीलाका तीन नाति-नातिना पनि प्रभात स्कुलमै पढेर हुर्किए। एउटी नातिनी ९ कक्षा पढ्दै छिन्।
पछिल्लो ३५ वर्षदेखि दैनिक स्कुलमा खट्दै आएकी सुशीलालाई यसबीच पैसाको दु:ख भएन, तर मनग्गे पनि कहिल्यै भएन। जिन्दगीमा अहिलेसम्म एक-डेढ लाख रूपैयाँ पनि जम्मा गर्न नसकेकोमा उनको मनखत छ।
तलब भने सुरूको ८ सय ९० रूपैयाँबाट बढेर महिनाको १५ हजार पुगेको छ। त्यसमध्ये २ हजार सञ्चय कोषले काट्छ। यही स्कुलमा काठमाडौं महानगरले नियुक्त गरेका सहयोगीको तलब २२ हजार रूपैयाँ छ।
जागिर स्थायी नभएको र तलब थोरै भएको भन्दै उनले धेरैचोटि प्रधानाध्यापकसँग गुनासो पोखिसकिन्। सुनुवाइ भएको छैन। सञ्चय कोषको पैसा पनि छोराछोरीको बिहेमा खर्च गरिसकिन्। जम्मा पुँजी केही नभएकाले सुशीलालाई भविष्यको चिन्ताले सताउन थालेको छ। आधा जिन्दगी बिताएको स्कुलले निस्किने बेला केही आर्थिक सहयोग गरोस् भन्ने उनको अपेक्षा छ।
सुशीलालाई अचेल शारीरिक कमजोरी पनि महसुस हुन्छ। बिहान छिट्टै उठ्न र हिँडडुल गर्न पहिलेजस्तो सजिलो छैन। त्यसैले एक-दुई वर्षभन्दा बढी काम गर्न नसक्ने उनी बताउँछिन्।
'प्रधानाध्यापक सरलाई निस्किने बेला केही हेरिदिनू है भनेकी छु। अलि अलि दिनुभयो भने नाङ्लो पसल चलाएर भए पनि गुजारा गर्छु,' उनले भनिन्, 'सरले केही भन्नुभएको छैन। तैपनि आस छ।'
स्कुलबाट केही सहयोग पाइन्छ कि भन्ने आसले नै ६० वर्ष उमेरमा पनि सुशीला काममा खटिरहेकी छन्। हिजोका दिनमा पैसा नहुँदा धेरै भौंतारिनुपर्यो, त्यसैले बुढेसकालमा आनन्दले दुई छाक टार्ने बाटो खोजिरहेको उनको भनाइ छ।
'विगतको कुरा सम्झियो भने अहिले पनि मन थाम्न सक्दिनँ,' उनले मुख अमिलो पार्दै भनिन्, 'दु:खमा माइतीले सम्म हेरेन।'
सुशीलाको माइती भारत हो। उनका दुई आमाबाट नौ जना सन्तान थिए। उनी पाँचौं सन्तानमा पर्छिन्। परिवारमा अरू दाजुभाइ, दिदीबहिनीले पढे पनि सुशीलाले पढेकी छैनन्। उनलाई पढाइप्रति रूचि नै भएन। स्कुल जानधरि कहिल्यै मानिनन्।
जिन्दगीको संयोग पनि कस्तो, जसलाई स्कुल जान कहिल्यै मन लागेन, उनको जिन्दगी नै स्कुलको घन्टी बजाएर बित्यो!
'अहिले नपढेकोमा पछुतो लाग्छ,' उनले भनिन्, 'त्यति बेला पढेको भए जिन्दगीमा यति धेरै दु:ख हुँदैनथ्यो कि!'
अर्को एउटा कुरामा पनि उनको नियति दिदीबहिनीको भन्दा फरक रह्यो। उनका सबै दिदीबहिनीको बिहे भारतमै भएको थियो। सुशीलाको लगन भने नेपालका यादव मिश्रसँग जोडियो। बिहे हुँदा उनी १४ वर्षकी थिइन्।
भारतबाट काठमाडौंमा लगन कसरी जुर्यो त?
जबाफमा उनी थोरै मुस्कुराइन् र भनिन्, 'म उहाँकी कान्छी श्रीमती। उहाँको पहिलो बिहे १६-१७ वर्षकै उमेरमा भएको रहेछ। पहिलो बिहे एक वर्ष पनि टिकेनछ। त्यसपछि दोस्रो बिहे मसँग जुर्यो।'
'उहाँ (यादव मिश्र) आमा बितेपछि बांगेमुढाको मामाघर बस्नुहुन्थ्यो। मामाहरू काठमाडौंकै बासिन्दा भए पनि माइजूहरू भारतीय हुनुहुन्थ्यो। यसरी माइजूकै सम्पर्कबाट बिहेको कुरा चल्यो,' सुशीलाले भनिन्।
उनीहरूको समुदायमा बिहे भएको २० दिनदेखि एक-डेढ वर्षसम्म माइतीमै बस्ने चलन थियो। उनका दिदीबहिनी सबै डेढ वर्ष माइतीमै बसेका थिए। सुशीलाको हकमा भने त्यो भएन। उनी रित पुर्याउन ९ दिन मात्र बसिन्।
'उहाँ ट्रक चलाउनु हुन्थ्यो। बिहेमा आफ्नै ट्रक लिएर आउनुभएको थियो। फर्किँदा पनि हामी त्यसैमा आयौं। पहिलो रात वीरगन्जमा बास बस्यौं, भोलिपल्ट बेलुकी काठमाडौं आइपुग्यौं,' सुशीलाले भनिन्।
बिहेपछि पनि केही वर्ष उनीहरू बांगेमुढाको मामाघर नै बसे। पहिलो सन्तान जन्मेपछि मात्र वसन्तपुरको घर गएको उनी बताउँछिन्।
यादवले लेखपढ गरेका थिएनन्। तर ट्रक चलाएर राम्रै पैसा कमाउँथे। त्यसैले सुरू सुरूमा सुशीलालाई पैसाको कुनै कमी भएन। त्यति बेला सुन तोलाको ६-७ हजार रूपैयाँ थियो। यादवले बिहेमै तिलहरी, नौगेडी, मगंलसुत्र, बुलाखी, पायल लगायत गरगहना जोडिदिएका थिए। दुई कोठाको घर भए पनि ओखाइपोखाइ माया गरेर 'महारानी' बनाएर राखेको सुशीला सम्झन्छिन्।
बिहे भएको १२-१३ वर्ष जिन्दगी हाँसीखुसीमा बित्यो।
अनि, एकाएक उनको जिन्दगीमा बज्रपात पर्यो।
त्यो बालाचतुर्थीको दिन थियो।
यादव दिनभर ट्रक चलाएर थाकेर आएका थिए। साँझ ७-८ बजे घर आइपुगेका उनी ९ बजेभित्र खाना तयार गर्नू भन्दै नजिकै पसलमा गए। उनी हरेक दिन त्यहाँ जान्थे। कहिलेकाहीँ रक्सी खाएर फर्किन्थे।
त्यो दिन भने अबेरसम्म फर्किएनन्।
राति साढे ९ बजेतिर उनका काका-ससुराका छोराहरूले यादवलाई बेहोस अवस्थामा ल्याएर कोठामा सुताइदिए।
धेरै रक्सी खाएर गाह्रो भएको होला भन्दै सुशीलाले गोडामा तेल लगाइदिइन्। शरीर मालिस गरिदिइन्। निकै बेर कपाल सुम्सुम्याइरहिन्।
रातको ११ बजेसम्म पनि यादवले चालचुल केही नगरेपछि आफन्तको सहयोगमा वीर अस्पताल लगिन्।
'अस्पताल लैजाँदा देवरहरूले होटलमा बसेर रक्सी खाएको नभन्नू है भनेका थिए। उहाँहरूले जे-जे भन्नुभयो मैले मानेँ,' सुशीलाले भनिन्, 'अस्पताल पुर्याएपछि डाक्टरहरूले उपचार सुरू नगर्दै मृत घोषणा गरिदिए।'
'दुई-तीन घन्टा अगाडि नै मृत्यु भइसकेको थियो भन्दा म छाँगाबाट खसेजस्तै भएँ। देवरहरूले कोठामा ल्याउँदा नै उहाँको मृत्यु भइसकेको रहेछ। मैले भने अस्पताल पुगेपछि मात्र थाहा पाएँ। म उहाँको मृत शरीरकै मालिस गरिरहेकी रहेछु। मृत शरीरकै हातखुट्टा मिचिरहेकी रहेछु,' यसो भन्दै गर्दा सुशीलाका आँखा भरिँदै आए।
यादवको मृत्युपछि करिब दुई सातासम्म सुशीला अर्धबेहोस भइन्। काजकिरिया सकेपछि सबै आफन्ती आ-आफ्ना घर गए।
श्रीमानबिनाको रित्तो घर, श्रीमानबिनाको रित्तो मन र श्रीमानले छाडेर गएका दुई सन्तान हुर्काउने जिम्मेवारी मात्र सुशीलाका साथमा रहे।
सन्तान हुर्काउने जिम्मेवारी उनले निर्वाह गरिसकिन्। छोरा र छोरी दुवै आ-आफ्नो बाटो लागिसके। दुवैका परिवार भइसके। श्रीमानले छाडेको घर भुइँचालोले ढालेपछि फेरि ठडिन सकेको छैन। रित्तो मन भने आज पनि रित्तै छ।
श्रीमानको यादले बेलाबेला घाउ बल्झाउँछ। आँखाभरि साउन-भदौ उर्लिएर आउँछ।
रित्तो मन र शून्य आँखामा अब एउटै चाहना बाँकी छ — भुइँचालोमा ढलेको घर कसैगरी फेरि उभ्याउन पाए हुन्थ्यो!
कसरी उभ्याउने, उनलाई थाहा छैन। न पैसा छ, न पैसा जुटाउने कुनै उपाय।
यत्ति भन्छिन्, 'त्यो घरमा मेरो श्रीमानको आत्मा बसेको छ।'
***