पछिल्ला ३५ महिनायता मासिक रूपमा नेपाल भित्रिने रेमिटेन्स रकम एक खर्ब रूपैयाँभन्दा माथि रहँदै आएको छ।
यो असोजमा भने नयाँ रेकर्ड थपियो। असोजमा इतिहासमै पहिलो पटक मासिक रूपमा भित्रिएको रेमिटेन्स रकम दुई खर्ब रूपैयाँ नाघ्यो। असोजमा दुई खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
लामो बिदा हुने र दसैंतिहार जस्ता चाडवाड असोज र कात्तिकमा पर्ने भएकाले पनि वर्षका अन्य महिनाको तुलनामा यी महिनामा रेमिटेन्स भित्रिने दर उल्लेख्य बढ्छ।
राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल पनि यो समयमा रेमिटेन्स बढ्नुमा दसैं लगायत चाडपर्व सहित अन्य कारण भएको बताउँछन्।
'नेपाली मुद्राको अवमूल्यन हुनु, राम्रो आम्दानी हुने मुलुकमा बिदेसिने नेपालीहरू बढ्नु र राष्ट्र बैंकले औपचारिक प्रणाली प्रयोगमा गरिरहेको प्रोत्साहनका कारण पनि रेमिटेन्स बढेको हो,' उनले भने।
२०८१ असोजमा एक अमेरिकी डलर बराबर करिब एक सय ३४ रूपैयाँ थियो। यो असोजमा एक डलर बराबर एक सय ४० रूपैयाँ थियो। डलरको तुलनामा नेपाली रूपैयाँ करिब ४.७ प्रतिशतले अवमूल्यन भएको छ।
तर मासिक रूपमा भित्रिने रेमिटेन्स रकम डलरमा पनि बढेको छ। यो भदौमा एक अर्ब २३ करोड डलर बराबर रेमिटेन्स भित्रिएकामा असोजमा एक अर्ब ४२ करोड डलर भित्रिएको थियो। भदौको तुलनामा असोजमा १९ करोड डलर धेरै रेमिटेन्स भित्रिएको हो। २०८१ असोजमा भने एक अर्ब सात करोड डलर भित्रिएको थियो।
यस्तो हुनुमा जापान जस्ता बढी आम्दानी हुने मुलुकमा जाने नेपालीको संख्या बढेको हुन सक्ने मानिएको छ। राष्ट्र बैंककै तथ्यांकले गत आर्थिक वर्ष २०८१/८२ को असोजसम्म नयाँ श्रम स्वीकृतिमा जापान जानेको तुलनामा यो असोजसम्म ३० प्रतिशत बढेको देखाएको छ।
‘नेपालीहरू जापान र दक्षीण कोरिया जस्ता मुलुक जाने प्रवृत्ति बढिरहेकाले रेमिटेन्स बढ्न सक्ने आकलन विश्व बैंकले यसअघि नै गरेको थियो,’ कार्यकारी निर्देशक पौडेलले थपे।
समग्रमा बिदेसिने नेपालीको संख्या पनि बढिरहेकै छ। यो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा यो अवधिमा एक लाख ७० हजारले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए। यस वर्ष दुई लाख सात सयले यस्तो स्वीकृति लिएका छन्।
केही वर्षदेखि बैंकहरूले अन्य निक्षेप खातामा भन्दा रेमिटेन्स खातामा चलनचल्तीको भन्दा एक प्रतिशत बढी ब्याज दिँदै आएका छन्। यस कारण पनि रेमिटेन्स प्रोत्साहित भइरहेको हुन सक्छ।
यसरी रेमिटेन्स बढ्नुमा यसबाहेक अन्य कारण पनि छ। नेपाली अर्थतन्त्रमा वा सामाजिक सदभाव खलबलिँदा नेपालमा बढी रेमिटेन्स भित्रिने देखिएको छ।
२०७२ सालको भुइँचालोमा होस् वा कोरोना महामारी कालमा, नेपालमा रेमिटेन्स भित्रिने दर बढेको थियो। नेपालमा रहेका आफन्तहरूको जीवन सहज होस भन्ने उद्देश्यले पनि यस्तो समयमा रेमिटेन्स भित्रिने दर बढ्ने गरेको छ।
अहिले मुलुक राजनीतिक संक्रमणकालीन अवस्थामा रहेको, विभिन्न पक्षले बेलाबेला आन्दोलन लगायत कार्यक्रमको घोषणा गरिरहँदा यहाँ हुने आफ्ना घरपरिवारलाई असहज नहोस् भनेर यो समय रेमिटेन्स बढेको अनुमान विश्लेषकहरूको छ।