सहिद परिवार
भदौ २२ गते साँझको कुरा हो।
विमलबाबु भट्ट आफ्ना दाइलाई भन्दै थिए — भोलि जेनजी आन्दोलनमा जानु छ!
दाजु अनिल उनलाई आन्दोलनमा भिडभाड हुने भएकाले त्यस्तो ठाउँमा नजान भनिरहेका थिए।
विमल अनिलको कुरा सुनिरहेकै थिएनन्।
'हामी जस्तो युवा नगएर हुन्छ, देश बनाउनुपरेन?,' २२ वर्षीय विमल भन्दै थिए, 'देशमा परिवर्तन चाहिएको छ। हामी लड्नुपर्छ। मर्नु परे पनि डर छैन।'
भाइको यस्तो कुरा सुनेर अनिल निकै डराएका थिए। सामाजिक सञ्जालमा भ्रष्टाचारविरूद्ध चर्को आलोचना भइरहेको थियो। मान्छेहरूको भिड हुन्छ भन्ने डर अनिलको मनमा थियो। त्यसैले पटक पटक विमललाई जेनजी आन्दोलनमा नजा भन्दै सम्झाइरहेका थिए।
धेरै पटक भनिसकेपछि विमलले कुरा माने। आन्दोलनमा नजाने भने।
अनिल पनि ढुक्क भए। भदौ २३ गते बिहान उनी केही पिर नगरी, खाना खाएर काममा गए। उनी न्युरोडस्थित एक पसलमा काम गर्छन्।
उनी काममा जाँदासम्म विमल कोठामै थिए।
'भाइले आन्दोलनमा जान्नँ भनेकै छ भनेर ढुक्कले काममा गएँ,' उनले भने।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ घर भएका भट्ट दाजुभाइ कोटेश्वरमा मामाघरमा बस्दै आएका थिए। अनिल घरका माइला र विमल कान्छा छोरा हुन्।
विमल कक्षा ९ देखि काठमाडौं बसेर पढ्न थालेका थिए। उनले गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीको चामुण्डा माध्यामिक विद्यालयबाट एसइई दिए। एक वर्षअघि मात्र त्यहीँबाट प्लस–टू सकेका उनी पोर्चुगल जाने तयारीमा थिए।
दिउँसो दुई बज्नै लाग्दा अनिलले विमललाई फोन गरे।
फोन अर्कै व्यक्तिले उठाए।
'उताबाट तपाईंको भाइलाई गोली लागेर अस्पताल लगेको छ, कुन अस्पताल लगेको थाहा छैन भने,' अनिलले सुनाए, 'त्यति बेला बल्ल भाइ आन्दोलनमा गएछ भन्ने थाहा पाएँ।'
विमललाई गोली लागेको खबर पाएपछि उनी हतारिँदै कामबाट निस्किए। सुन्धारा चोकमा आएर पठाओ बोलाए। बस कुरे। तत्काल केही आएनन्। एक घन्टा कुरेपछि बल्ल काँडाघारी जाने बस आयो। उनी त्यसमै चढे।
सुन्धाराबाट बस चक्रपथ–चाबहिल–बौद्ध हुँदै हिँड्यो। जाम खाँदै साँझ साढे ५ बजेतिर कोटेश्वर पुगे।
'पछि त बेकार बस चढेछु जस्तो लाग्यो। यता न उताको भएँ,' अनिलले सुनाए।
उनको मोबाइल स्विच अफ भइसकेको थियो। कोठा पुग्दा आफन्तहरू भेला भइसकेका रहेछन्। उनले भाइलाई गोली लागेको र कुनै अस्पतालमा उपचार भइरहेको होला भन्ने सोचेका थिए। त्यसैले भाइलाई खोज्न जान्छु भने।
'अहिले बाहिरको माहोल खराब छ भनेर रोक्नुभयो,' अनिलले भने, 'भाइको मृत्यु भइसकेको सबैलाई थाहा रहेछ। मलाई त राति ८ बज्नै लाग्दा मात्र भन्नुभयो।'
भाइको मृत्युको खबर सुनेर उनी बेहोस भए। बिहान ३ बजेतिर मात्र होस आएको उनी बताउँछन्।
अनिल होसमा आइसकेपछि विमलको शव सिभिल अस्पतालमा छ भन्ने थाहा पाए।
आफूले कोठामा छाडेर हिँडेको भाइको शव साता दिनपछि अस्पतालबाट निकालेको उनले बताए।
जेनजी आन्दोलन क्रममा सबभन्दा पहिले गोली लागेका व्यक्ति भनेर सामाजिक सञ्जालभरि विमलको नाम फैलिएको थियो। विमलका साथीहरूले दिएको जानकारी अनुसार आन्दोलनको नारा लगाइरहँदा उनको छातीमा गोली लागेको थियो।
'गोली चलाउने र आदेश दिनेलाई कारबाही नगरेसम्म मृतकका परिवारले न्याय पाउँदैनन्,' अनिलले भने, 'मृतकका परिवार एकजुट भएर कारबाहीको माग राखिएको छ।'