द कन्भरसेसन- २९
पहिलो किताब अनुभवबाट जन्मिन्छ, दोस्रो किताब लेखकको उकुसमुकुसले जन्माउँछ।
मनको सन्दुकमा संगालेर राखेका अनुभवका गाँठा फुकाउँदै प्रायः लेखकले जिन्दगीको पहिलो किताब लेखेको हुन्छ। राम्रो लेख्छु भन्ने बोझ हुँदैन। कतिले पढ्छन् वा पढ्छन् कि पढ्दैनन् भन्ने पनि थाहा हुँदैन। लेखनका प्राविधिक शिल्पले मगज गिजोल्न पाएको हुँदैन। त्यसैले पहिलो लेखन बालसुलभ निश्छलताले भरिएको हुन्छ; रासायनिक मल नहालेको तरकारीझैं अर्गानिक हुन्छ।
त्यही लेखक जब दोस्रो किताब लेख्न बस्छ, उसलाई राम्रो लेख्नुपर्छ भन्ने बोझले थिच्छ। अघिल्लो किताबमा आफूलाई मन पराएका असंख्य पाठकलाई खुसी पार्ने भोक जाग्छ। लेखनका प्राविधिक शिल्पले मगज गिँजोल्न थाल्छ। बालसुलभ निश्छलता कता हराउँछ कता!
नेपालीभाषी भारतीय लेखक प्रज्वल पराजुली पनि यही अनुभवबाट गुज्रिरहेका छन्।
फरक यत्ति हो, धेरै लेखकलाई दोस्रो किताब लेख्दा हुने उकुसमुकुस प्रज्वललाई तेस्रो किताबमा भइरहेको छ।
प्रज्वलको पहिलो किताब सन् २०१२ मा प्रकाशित भएको थियो — द गुर्खाज् डटर।
त्यसको दुई वर्षमै उनले दोस्रो किताब लेखे — द ल्यान्ड ह्वेर आई फ्ली।
यी दुवै किताबका नेपाली अनुवाद 'गोर्खाकी छोरी' र 'चित्रलेखाको चौरासी' नामले प्रकाशित छन्।
तर लगभग दस वर्ष बितिसक्दा पनि उनको तेस्रो किताब छापिएको छैन। वा यसो भनौं; आफ्नो व्यक्तिगत, सामाजिक र भौगोलिक अनुभवबाट उनले जति सजिलै दुइटा किताब लेखे, तेस्रो किताब लेख्न उति नै उकुसमुकुस भइरहेको छ।
किन त?
के सिक्किमको ग्यान्टोकबाट उदाएका यी प्रतिभाशाली लेखकलाई पनि राम्रो लेख्छु भन्ने बोझले थिचेको छ?
चर्चाको शिखरमा पुगेका धेरै लेखकलाई जस्तो उनलाई पनि आफ्ना पाठक सम्हालेर राख्ने बोझले पिरोलेको त छैन? कतै उनी पनि अनुभवहरूको संग्रह रित्तिएर लेखनको प्राविधिक शिल्पतिर बहकिन पो थाले कि?
गत शनिबार सेतोपाटी स्टुडिओमा प्रज्वलसँग डेढ घन्टा भिडिओ कुराकानी गर्दा मैले यिनै प्रश्न सोधेको थिएँ।
लेखनको सकस झेलिरहेका प्रज्वलको जबाफ बालसुलभ निश्छल नै थियो।
'मेरो लागि पहिलो र दोस्रो किताब एकदमै सहज रह्यो,' मुसुमुसु हाँस्दै अर्गानिक लवजमा उनले भने, 'पहिलो किताब नछापिँदै दुइटाको सम्झौता गरेको थिएँ। सम्झौता सही गर्दा दोस्रो किताब त सुरू नै गरेको थिइनँ।'
'पहिलो किताब प्रकाशित हुनेबित्तिकै भारतीय मिडियाहरूले मप्रति धेरै चासो देखाए। बिबिसी, हिन्दु लगायतका मिडियाले मेरोबारे बढाइचढाइ स्टोरीहरू लेखे। एउटा नामुद लेखकको जन्म भएजसरी मलाई प्रस्तुत गरे। मेरो मनमा पनि उत्साह र हौसला भरिएर आयो। त्यही हौसलाले 'द गुर्खाज् डटर' र 'द ल्यान्ड ह्वेर आई फ्ली' मैले सहजै लेख्न सकेँ। मेरो हृदयबाट शब्दहरू स्वतस्फूर्त पोखिँदै गए।'
उनले यो पनि भने, 'पहिलो र दोस्रो किताब लेख्दा मेरो मनमा कुनै बोझ थिएन। कसले पढ्छ भन्ने पनि थाहा थिएन। लेख्दै गएपछि बिस्तारै नियमित कामजस्तो लाग्न थाल्यो। जागिर खाएजस्तै भयो। पहिले जुन उत्साहका साथ लेखिन्थ्यो, त्यो उत्साह दबाबमा परिणत हुँदै गयो। त्यसले नै होला, मलाई तेस्रो किताब लेख्न धेरै समय लाग्यो।'
'म लेख्छु भनेर लेख्नु एउटा कुरा, राम्रो लेख्छु भन्ने सोचेर लेख्नु अर्को,' उनले भने, 'राम्रो लेख्छु भन्ने दबाबले त लेखकलाई निकै ठूलो पीडा दिन्छ नि!'
'बल्लबल्ल कयौं वर्ष लगाएर मैले तेस्रो उपन्यास लेखेर त सकेँ, तर त्यसलाई पनि तत्काल प्रकाशित नगर्ने भएको छु। २५-३० वर्षपछि आउँछ होला, तर अहिले त्यो किताब निकाल्ने समय भइसकेको छैन।'
यसको मतलब प्रज्वल तेस्रो किताब थाती राखेर केही लेख्दै नलेखी चुपचाप बसेका छैनन्।
उनी दुइटा किताबमा सँगसँगै काम गरिरहेका छन्। हामीसँगको कुराकानीमा ती दुई किताबबारे उनले संक्षेपमा बताए।
'म आख्यानबाट गैरआख्यानतिर लागेको छु,' उनले भने, 'एउटा किताब बालबालिकाका लागि लेखिरहेको छु, अर्को मैले गरेका यात्रासँग सम्बन्धित छ।'
अहिलेको लेखन कस्तो हुँदैछ त?
'एकदमै नौलो,' जबाफमा उनले भने, 'आख्यानबाट गैरआख्यानतिर लाग्दा मलाई जिन्दगीको पहिलो किताब लेखेजस्तै भइरहेको छ। मेरो लेखनमा पुरानै उत्साह फर्किएको छ। यसअघि तेस्रो किताब लेख्दा मभित्रको लेखकीय उत्साह गुमेको थियो, अहिले फेरि ब्युँतिँदैछ। मैले आफूभित्र रहेको एउटा नयाँ लेखक जन्माउने मौका पाइरहेको छु।'
गैरआख्यानतर्फ फड्को मारेका यी ४० वर्षीय लेखकलाई मैले सोधेँ, 'आख्यान र गैरआख्यानको सीमा के? कुनै पनि विषयलाई लेखनमा ढालिसकेपछि आख्यान र गैरआख्यानको भेद धमिलो हुँदै जाँदैन र?'
'आख्यानमा लेखकको कल्पनाशीलता हाबी हुन्छ, गैरआख्यानमा यथार्थप्रति इमानदार हुनुपर्छ,' उनले भने, 'गैरआख्यानमा लेखकको कल्पनालाई कुनै स्थान हुँदैन। कुनै घटना पाठकलाई रूचिकर हुँदैन जस्तो लाग्यो भने म किताबमा राख्दै राख्दिनँ, तर रूचिकर बनाउने नाममा घटनालाई बढाइचढाइ प्रस्तुत गर्ने वा आख्यानीकरण गर्ने काम म गर्दिनँ। त्यसो गर्नु गैरआख्यान लेखनप्रति न्याय होइन।'
यथार्थसँग नजिक रहने मामिलामा प्रज्वलको आख्यान र गैरआख्यान लेखन फरक भए पनि दुवैमा एउटा कुरा भने समान छ — पात्रहरूको चित्रण।
प्रज्वलले आफ्ना दुई उपन्यासमा जसरी पात्रहरू ल्याएका छन् र ती पात्रका माध्यमबाट आफू बाँचेको समाजको कथा भनेका छन्, यो शैलीले गैरआख्यानमा पनि निरन्तरता पाउनेछ। फरक यत्ति हो — आख्यानका पात्र उनले आफ्नो अनुभवका आधारमा सिर्जेका थिए भने गैरआख्यानका पात्र वास्तविक हुनेछन्।
'मुस्ताङ जाँदा मैले त्यहाँ चिवर लगाएर ध्यान बसेका एक बौद्ध भिक्षुलाई भेटेको थिएँ। मैले उहाँसँग कुरा गरेँ। उहाँको जीवनको भोगाइ र अनुभव सुनेँ। यात्रा वृत्तान्तमा म उहाँलाई एक पात्रका रूपमा उभ्याउँदैछु,' प्रज्वलले भने, 'यो किताब लेख्दा मैले यस्ता धेरै पात्र भेटेको छु। उहाँहरूसँग लामो लामो कुराकानी गरेको छु। ती कुराकानी रेकर्ड गरेको छु। डायरीका पानाभरि टिपोटहरू उतारेको छु। मेरो यो किताब विभिन्न यात्रा क्रममा भेटेका तिनै पात्रको जीवनमा आधारित हुनेछ। यो ट्राभल गाइडजस्तो यात्रा वृत्तान्त होइन। यात्राले सिकाउने जीवन अनुभवको संगालो हो।'
हाम्रो निम्ति खुसीको कुरा के भने, प्रज्वलको यात्रा वृत्तान्तमा समेटिने एउटा सहर काठमाडौं पनि हो।
मैले प्रज्वलसँगको कुराकानीमा उनको पहिलो र त्यसपछिका काठमाडौं यात्राबारे पनि सोधेको थिएँ। जसै उनले जबाफ दिन थाले, त्यसले काठमाडौं र सहरी जीवनबारे लामै चर्चा चल्यो।
उनी पहिलोचोटि सन् १९९० मा काठमाडौं आएका रहेछन्। त्यति बेला ६ वर्षका थिए।
'तपाईंहरू काठमाडौंलाई सानो सहर भन्नुहुन्छ, त्यो सुन्दा म गललल हाँस्छु। हाम्रो ग्यान्टोक भनेको काठमाडौंको न्यूरोडजत्रो छ,' उनले आजभन्दा करिब ३५ वर्षअघिको घटना सम्झे, 'त्यति बेला काठमाडौं आउँदा मलाई 'वाउ' भएको थियो। कति भव्य सहर हो यो भन्ने परेको थियो। न्यूरोडको विशाल बजार छ नि, म जीवनमा पहिलोपटक एस्केलेटर चढेको त्यहीँ हो। सानोमा त्यो एस्केलेटर देख्दा त स्वर्गै पुगेजस्तो लाग्थ्यो। हामी घरिघरि तलमाथि, तलमाथि गरिरहन्थ्यौं।'
अर्को पनि रोचक सम्झना छ — उनी सिक्किममा वाइवाइ चाउचाउ काँचै खान्थे। त्यसलाई पकाएर पनि खान सकिन्छ भन्ने काठमाडौं आएरै थाहा पाए।
'वाइवाइलाई यहाँ चाउचाउ भनिँदो रहेछ, त्यो पनि मलाई थाहा थिएन। हामी त वाइवाइ नै भन्थ्यौं,' उनले भने, 'अहिले पनि चाउचाउ भनेको सुन्दा मलाई हाँसो उठ्छ।'
पछिल्ला ३५ वर्षमा प्रज्वल करिब २० चोटि काठमाडौं आइसके। उनका दुइटा किताब 'नेपालय' प्रकाशनबाट अनुवाद भएर आइसकेपछि त झन् काठमाडौं आउजाउ बढेको छ। तर अहिले पनि यहाँ आउँदा उनलाई 'वाउ' नै लाग्छ। संसारकै कुनै भव्य महानगरमा आएजस्तो अनुभूति हुन्छ।
'काठमाडौं विविधतायुक्त सहर हो। यहाँको जस्तो विविधता मैले संसारका कमै सहरमा देखेको छु। विविधताले नै मलाई काठमाडौं साँचो अर्थमा महानगर हो भन्ने लाग्छ,' प्रज्वलले भने, 'म हरेक वर्ष पाँच-छ महिना भारतका विभिन्न सहरमा बस्छु। दिल्ली, चेन्नई, मुम्बई लगायत धेरै सहरमा लामो लामो समय बिताएको छु। मलाई भारतका ती सहर एकदमै कोलाहलपूर्ण लाग्छन्। त्यहाँ गाडीको हर्न एकदमै धेरै सुनिन्छ। काठमाडौंमा पनि कोलाहल त छ, तर हर्नको आवाज एकदमै कम सुनेँ मैले।'
यसपालिको काठमाडौं भ्रमणबाट त उनी झन् उत्साहित भएका छन्।
'पहिले एकचोटि काठमाडौं आउँदा म निराश भएको थिएँ। एकदमै दुर्गन्धित थियो सहर। बाटोमा फोहोरमैला थुप्रिएका थिए। प्रदूषण व्यापक थियो। किन किन, मलाई यो सहरको आशा गुमेको अनुभव भएको थियो। त्यही अनुभवका आधारमा मैले आफ्नो दोस्रो किताब 'द ल्यान्ड ह्वेर आई फ्ली' मा काठमाडौं सहरीकरणको बोझले थिचिँदै गएको छ भनेको थिएँ। यसपालि भने मलाई यो सहर सकारात्मक लाग्यो। प्रदूषण नाटकीय रूपमा घटेछ। बाटाघाटा सफासुग्घर भएछन्। आकाश पनि एकदमै नीलो देखिन थालेछ,' उनले भने।
संसारका एक-से-एक ठूला सहर घुमेका लेखकबाट लगातार काठमाडौंको तारिफ सुनेपछि मैले सोधेँ, 'तपाईंले संसारका विभिन्न सहर घुम्नुभएको छ। अन्य अन्तर्राष्ट्रिय सहरको दाँजोमा यहाँको सहरी ढुकढुकी कस्तो पाउनुभयो त?'
जबाफमा उनले भने, 'काठमाडौंको रात्रि जीवन भारतीय लगायत कुनै पनि दक्षिण एसियाली सहरभन्दा राम्रो छ। यहाँ रेस्टुरेन्टको विविधता छ। इन्डियन, चाइनिजदेखि जापानी, कोरियन, इटालियन, जर्मन; जुनसुकै देशका खानेकुरा पाइने रेस्टुरेन्टहरू छन्। कुनै रेस्टुरेन्टमा मान्छे फ्रेन्च बोलिरहेका हुन्छन्, कुनैमा जर्मन बोलिरहेका हुन्छन्। कहीँ कोरियन खाना खाइरहेका हुन्छन्, कहीँ इटालियन खाइरहेका हुन्छन्। त्यो पनि विदेशी पर्यटकले होइन, नेपालीहरूले नै। उनीहरू दालभात खाएजस्तो कोरियन खान्छन्, मानौं त्यो उनीहरूको नियमित खान्की नै हो।'
प्रज्वलले यसो भनिरहँदा काठमाडौंलाई अत्यन्त माया गर्ने व्यक्तिका रूपमा मेरो मुखबाट फुत्त निस्कियो, 'भनेपछि काठमाडौं सहर कुनै पनि अन्तर्राष्ट्रिय सहरभन्दा कम छैन?'
'तपाईंले कुनै पनि अन्तर्राष्ट्रिय सहरभन्दा कम छैन भनेर अन्तर्राष्ट्रिय सहरहरूलाई बढी नै उच्च दर्जामा राखेजस्तो बुझियो,' उनले मलाई खिप्दै भने, 'मलाई चाहिँ काठमाडौं सहरको जस्तो ढुकढुकी भएको अन्तर्राष्ट्रिय सहर कमै छ जस्तो लाग्छ।'
'दुबई, सिंगापुर संसारका प्रसिद्ध सहर हुन्। तर मलाई दुबईमा ढुकढुकी महसुस हुँदैन। सिंगापुर पनि दुबईजस्तै हो, तर त्यहाँ थोरै भए पनि ढुकढुकी बाँचेको छ,' उनले थपे, 'काठमाडौं भने धूलोधुवाँ होस्, कोलाहल होस्, विकासमा पछि परेको किन नहोस्, तर यहाँको आत्मा जीवित छ। यो सहरमा ढुकढुकी छ।'
यसपालिको काठमाडौं भ्रमणबाट प्रज्वलले एउटा फरक अनुभव भने लिएर जाँदैछन्।
आफन्तको विवाहमा सरिक हुन आएका प्रज्वलले यहाँको विवाह संस्कृति 'बलिउडीकरण' भएको अनुभव गरे।
'हाम्रो ग्यान्टोक, कालिम्पोङ, दार्जिलिङमा बिहेहरू यस्तरी बलिउडीकरण भइसकेको छैन। उता बिहेमा जाँदा अझै पनि स्न्याक्समा सेलरोटी खुवाइन्छ। मैले यहाँ सेलरोटी खान पाइनँ। बरू त्यसको सट्टा उत्तर-भारतीय खाना खाइयो,' उनले भने, 'नेपालको बिहे भनेपछि मिठो गुन्द्रुक हुन्छ होला, गोर्खे अचार हुन्छ होला, आगोमा पोलेर सिलौटामा पिसेको टमाटरको अचार हुन्छ होला, आलुको अचार हुन्छ होला भन्ने मैले कल्पना गरेको थिएँ, तर त्यस्तो केही पनि खान पाइनँ।'
'पहिरनमा पनि उता हाम्रोतिर बिहेबारीमा धेरैले दौरा-सुरूवाल र गुन्यूचोली लगाएका हुन्छन्। यहाँ भने लेहेंगाको चलन बढेछ,' उनले भने, 'हुन त म भारतको मान्छेले यसमा गर्व गरे हुन्थ्यो। हाम्रो बलिउडले कति धेरै प्रभाव पारेछ भनेर सोचे हुन्थ्यो। तर मैले नेपाली संस्कृति बलिउडीकरण हुँदै गएकोमा गर्व गर्न सकिनँ।'
नेपाली संस्कृति बिग्रेकोमा खेद मान्दै गर्दा प्रज्वलले यो पनि भने, 'हुन त सहरको चरित्र नै यही हो। सहर भनेको सबै किसिमका संस्कृति घुलमिल हुने ठाउँ हो। सहरले सबै किसिमका गीत, संगीत, साहित्य, भाषा, पहिरन र परिकार स्वीकार गरेको हुन्छ। सामाजिक विविधताको स्वाभाविक मिलन हुने विन्दु नै सहर हो। त्यसैले काठमाडौंको यो परिवर्तनलाई मैले सहज रूपमा लिएको छु।'
काठमाडौंको चर्चा सँगसँगै मैले प्रज्वललाई उनी बाँचेको नेपालीभाषी भारतीय समाजबारे पनि प्रश्न गरेको थिएँ।
जबाफ दिने क्रममा उनले एउटा रोचक अनुभव सुनाए।
प्रज्वल पहिलोचोटि मुम्बई जाँदा कसैले उनको भाषा र बोल्ने शैली देखेर सोधेछ, 'कहाँबाट आएको?'
'ग्यान्टोकबाट,' प्रज्वलले भने।
'बैंककबाट!'
प्रश्न गर्नेले गलत बुझ्यो। उसले ग्यान्टोक भन्ने ठाउँ सुनेकै थिएन।
प्रज्वलले हतारहतार सच्याउन खोजे र भने, 'ग्यान्टोक भनेको सिक्किम हो।'
यति भनेपछि उसले बुझ्छ होला भन्ने प्रज्वललाई लागेको थियो। तर बुझेन। उल्टै उत्साहित हुँदै भन्यो, 'ओहो, भुटान!'
यो आजभन्दा २०-२५ वर्षअघिको घटना हो। त्यतिखेर यस्ता घटना धेरै हुन्थे। नेपालबाट गएका नेपालीले मात्र होइन, नेपालीभाषी भारतीयहरूले पनि आफ्नै देशभित्र हेपिएको र होच्याइएको अनुभव गर्नुपर्थ्यो।
'मेरो हिन्दी खत्तम छ। त्यो मेरो भाषा नै होइन। मेरो भाषा नेपाली हो। म नेपाली बोल्नमै गर्व गर्छु। तपाईंहरूलाई मैले बोलेको नेपाली उटपट्याङ लाग्ला, तर जस्तो भए पनि मलाई यही भाषा बोल्न गर्व लाग्छ। तर कुनै समय भारतभित्र हामी नेपालीभाषीहरू खुलेर आफ्नो भाषा बोल्न सक्दैनथ्यौं। हामीले नेपाली बोल्न धक मान्नुपर्थ्यो। रेस्टुरेन्टमा बसेर नेपालीमा कुरा गर्न हिच्किचाउनुपर्थ्यो। नेपाली बोलेको सुन्नासाथ हामीलाई गरिने व्यवहार अर्कै हुन्थ्यो,' उनले भने, 'मैले धेरैचोटि नेपालीभाषीहरूलाई आफ्नो भाषा नबोलेर किन जबर्जस्ती अर्काको भाषा बोलेको भनेर सोधेको छु।'
प्रज्वलले भारतको मूलधारका मिडियाले नेपालीभाषी भारतीय समुदायलाई गर्ने चित्रण पनि विभेदयुक्त भएको टिप्पणी गरे।
'भारतको मूलधारका मिडियामा हामी नेपालीभाषीलाई जसरी प्रस्तुत गरिन्छ, त्यसमा मेरो गुनासो छ। उनीहरू हामीलाई भान्से, कामदार, सुरक्षागार्ड वा यौनकर्मीका रूपमा चित्रण गर्छन्। ती पेसा अपनाउनु नराम्रो होइन। सबै पेसा सम्मानित हुन्छन्, हुनुपर्छ। तर हामी नेपालीभाषी भनेका ती मात्र होइनौं। हामी लेखक छौं, डाक्टर छौं, वकिल छौं, सम्पादक छौं, पत्रकार छौं। मूलधारको मिडियाले हाम्रो त्यो छवि पनि देखाइदिए हुन्थ्यो भन्ने मलाई लाग्छ,' उनले भने।
उनले अगाडि भने, 'आसाममा ठूलो नेपालीभाषी समुदाय छ। उनीहरू सम्पन्न छन्, स्थापित छन्। अर्कातिर मेघालयको नेपालीभाषी समुदाय पिछडिएका छन्, हेपिएका छन्। मणिपुर, नागाल्यान्डमा भने नेपालीभाषीहरू अरू समुदायसँग मिसिएर बसेका छन्। दिल्ली, चेन्नईमा मैले थुप्रै नेपालीभाषी भेटेको छु, जो राम्रो करिअर बनाएका बसेका छन्।'
केही समययता नेपालबाट गएका नेपाली वा भारतीय नेपालीभाषीमा आफ्नो पहिचान खोल्ने आत्मविश्वास बढ्दै गएको उनले अनुभव गरेका छन्।
'हामीलाई भाषाकै कारण अलग्गै व्यवहार गर्ने, हेप्ने वा होच्याउने प्रवृत्तिमा सुधार आइरहेको छ। हामीलाई भारतमा नेपाली भएर बाँच्न सजिलो हुँदैछ,' उनले भने, 'यसो भन्दै गर्दा म के पनि थप्न चाहन्छु भने, म नेपालीभाषी भारतीय समाजको अलि हुनेखाने वर्गमा पर्छु। त्यस हिसाबले मेरो अनुभव भिन्न हुनसक्छ। मजस्तै मध्यम वा त्योभन्दा माथिल्लो वर्गका नेपालीभाषीले विभेद झेल्नुपर्दैन भन्दैमा विभेद नै निमिट्यान्न भयो भनेर म भन्दिनँ। अहिले पनि भान्सामा काम गर्ने, सरसफाइमा काम गर्ने, चौकीदारी गर्ने थुप्रै नेपाली वा नेपालीभाषी भारतीयहरूले विभेद झेलिरहनुभएको हुनसक्छ।'
विभेदकै कुरा गर्दा प्रज्वलले आत्मालोचना पनि गरे।
भने, 'जसरी हामीलाई हिन्दी बोल्ने मूलधारका भारतीयहरूले अलग्याउँछन्, त्यसरी नै हामीले पनि समथर भूभागका बसोबासीलाई अलग्याएर व्यवहार गर्दै आएका छौं। मूलधारका भारतीयहरूलाई हाम्रो संस्कृतिबारे ज्ञान छैन भनेर गुनासो गरिरहँदा हामीलाई पनि अन्य उत्तरपूर्वी भारतीय राज्यको संस्कृतिबारे कम ज्ञान छ भन्ने भुल्नु हुँदैन। म आफै सिक्किमको मान्छे भएर मेघालय र आसामबाहेक अन्य उत्तरपूर्वी क्षेत्र कहीँ गएको छैन। त्यहाँको विविधतापूर्ण संस्कृतिबारे मलाई कम ज्ञान छ। हामीले आफूमाथि भएको विभेदको कुरा उठाउँदा अरूलाई गरेको विभेदमा आत्मालोचना पनि गर्नुपर्छ।'
प्रज्वलको लेखन यात्राको सुरूआत केही हदसम्म यही विभेदसँग जोडिन्छ। मूलधारको भारतीय समाजलाई आफू जन्मे-हुर्केको र आफू बाँचेको समाजबारे बुझाउने हुटहुटीले उनी लेखक भएका थिए।
'मेरो समाजको कथा मेरै समाजको शैलीमा लेख्छु भनेर म लेखक बनेँ,' उनले भने, 'यसरी अल्पसंख्यक समुदायबारे लेख्दा लाभ–हानि दुवै हुने रहेछ।'
उनका अनुसार अल्पसंख्यक समुदायको कथा धेरैले सुनेका हुँदैनन्। त्यसैले धेरैलाई ती कथा नौला लाग्छन्। धेरैले मन पराउँछन्।
सँगसँगै, यस्तो कथा लेख्नुका केही हानि पनि छन् — समाजको नकारात्मक पक्ष बाहिर ल्यायो भनेर आफ्नै मान्छेले गाली गर्छन्।
'मलाई धेरैले तैंले त हाम्रो समाजको नराम्रो कुरा पो बाहिर ल्याइस् त केटा भनेर गाली गर्छन्। तैंले हामी बाहुनहरूको छविमा धक्का लगाउने काम गरिस् भनेर भन्छन्। आफ्नो समाजबारे राम्रो कुरा मात्र लेख्नू नि भनेर सल्लाह दिन्छन्। मलाई नेपालीभाषी भारतीय समाजको प्रवक्ता बनाउन खोज्छन्। तर म प्रवक्ता होइन, लेखक हुँ,' प्रज्वलले भने, 'लेखकका रूपमा साहित्य रचना गर्दा मलाई नायक चाहिन्छ, खलनायक पनि चाहिन्छ। राम्रो पात्र चाहिन्छ, नराम्रो पात्र पनि चाहिन्छ। कुनै पनि समाज राम्रै राम्रो मान्छे मिलेर बनेको हुँदैन। राम्रो-नराम्रोको मिश्रण नै समाज हो। मैले मेरो समाजलाई त्यसरी नै चित्रण गर्ने हो, जस्तो मेरो समाज छ। मैले लेखेका उपन्यासका पात्र मेरो अनुभवबाट जन्मेका हुन्। मेरो अनुभवमा राम्रा-नराम्रा दुवै घटना बराबर छन्।'
आगामी दिनमा प्रज्वल नेपाली मूलको भारतीय समाजको कथा, नेपालीभाषीहरूको संघर्षको कथा, गोर्खाल्यान्ड आन्दोलनको कथा, मेघालयबाट नेपालीभाषीहरूलाई निकालिएको कथा, भुटानी शरणार्थीहरूको कथा लगायतमा गैरआख्यान लेख्न चाहन्छन्।
'अघिल्ला दुइटा किताबमा मैले आफ्नो अनुभवका आधारमा पात्र रचना गरेँ, अब मेरै समाजबाट पात्रहरू टिप्न चाहन्छु। उनीहरूको कथा गैरआख्यान शैलीमा यथार्थ ढंगले लेख्न चाहन्छु,' उनले भने।
हेर्नुहोस् प्रज्वल पराजुलीसँगको भिडिओ कुराकानी सेतोपाटी कन्भरसेसनमा —