(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
हामी चितवन माडीको अयोध्यापुरी पुग्दा एक दम्पती स्कुटर चढेर कतै जाने तयारी गर्दै थिए।
'कहाँ जाँदै हुनुहुन्छ बा?' हामीले सोध्यौं।
'माछालाई दाना खुवाउन,' स्कुटरको स्टेयरिङ समातेका ६९ वर्षीय कुलप्रसाद भण्डारीले भने।
उनको कुरा सुनेर हामी पनि माछापालन पोखरी हेर्न उत्साहित भयौं।
कुलप्रसादले स्कुटर स्टार्ट गरे।
उनकी ६२ वर्षीया श्रीमती पिप्ला भण्डारी खितित्त हाँस्दै पछाडि सिटमा बसिन्।
स्कुटर हुइँकियो।
हामी पछ्याउन थाल्यौं।
कुलप्रसाद र पिप्लाले व्यावसायिक माछापालन सुरू गरेको करिब डेढ दशक भयो। यो उमेरमा पनि उनीहरूको जोश-जाँगर चकितलाग्दो छ। लगभग ११ बिगाहा क्षेत्रफलमा फैलिएको १२ वटा पोखरीमा उनीहरूले माछा पालेका छन्। माछालाई दाना खुवाउन र हेरचाह गर्नमै उनीहरूको दिन बित्छ।
यो दम्पतीले जीवनको उत्तरार्द्धमा आएर माछापालन कसरी गरे? र, कसरी फैलाए?
खासमा पिप्ला र कुलप्रसादले माछा पाल्न पोखरी खनेका भए पनि त्यसलाई व्यावसायिक रूपमा अघि बढाउने काम छोराहरूले गरेका हुन्।
लामो समय काम गर्दा पनि छोराहरू सफल हुन सकेनन्। उनीहरूले हरेस खाए र व्यवसायबाट हात झिके। तर यो दम्पतीलाई सन्तानको असफलता मञ्जुर भएन। छोराहरूले लत्तो छाडेको व्यवसायलाई उनीहरूले फेरि शून्यबाट थाले। दिनरात मिहिनेत गरे। र, आजको अवस्थामा पुर्याए।
पितापुर्खाले सुरू गरेको व्यवसायलाई निरन्तरता दिँदै सफल भएका छोराछोरीको कथा त हामी दिनकै सुन्छौं। आमाबाले पूरा गर्न नसकेको सपना पछ्याएका छोराछोरीको कथा पनि हामी दिनकै सुन्छौं। तर पिप्ला र कुलप्रसादको कथा उल्टो छ। सन्तानको भरमा जीवन गुजार्नुपर्ने उमेरमा उनीहरूले सन्तानले पूरा गर्न नसकेको कामलाई निरन्तरता दिने बिँडो मात्र उठाएनन्, बढ्दो उमेरले ल्याउने अनेक अप्ठ्यारा छिचोल्दै सफलताको मुकामसम्म पुर्याए।
यो ६० वसन्त पार गरिसकेका दम्पतीको त्यही सफलताको कथा हो।
माछापालनअघि उनीहरू यो जमिनमा धान रोप्थे। दलदले खेत थियो। गोरूले जोत्ने सम्भावना थिएन। राँगाले जोत्दा राँगा नै डुब्ने नौबत आउँथ्यो। त्यही भएर उनीहरू कोदालीले खन्थे।
यसरी मुस्किलले धान लगाउँदा पनि फाइदा अत्यन्तै कम हुन्थ्यो। पराल सबै कुहिएर जान्थ्यो। उनीहरू धान खेतीभन्दा अरू नै काम गर्न पाए हुन्थ्यो भन्ने विकल्प सोचिरहन्थे।
त्यही बेला गाउँमा माछापालनको लहर आयो। त्यसैको देखासिकी पिप्ला र कुलप्रसादले पनि २०६६ सालमा धान खेती छाडेर पोखरी खन्न सुरू गरे।
'गाउँमा धेरैले जहाँ जहाँ खेत भासिन्छ, त्यहाँ त्यहाँ पोखरी खनेका थिए। अरूको देखेर हामीले पनि सबै जग्गा खन्यौं,' पिप्लाले सम्झिइन्, 'हचुवा भरमा सुरू गरेका थियौं, तर दुई वर्षमै माछा उत्पादन राम्रो भयो।'
राम्रो उत्पादन देखेपछि भण्डारी दम्पतीले आफ्ना दुई छोरालाई माछापालनमै लाग्न सुझाव दिए। आमाबाको सुझावअनुसार छोराहरूले पनि माछापालन विस्तार गर्ने योजना अघि बढाए। पोखरी खन्ने र वरिपरि कटेजहरू बनाएर रिसोर्ट चलाउने उनीहरूको योजना थियो।
तर माछापालन विस्तार गरेर रिसोर्टको रूप दिने छोराहरूको योजना सफल भएन।
'पोखरी खन्दा र अरू पूर्वाधार बनाउँदा ६० लाख खर्च भइसकेको थियो। तर लगानीअनुसार लाभ भएन,' पिप्लाले भनिन्, 'माछा बेच्न दलालहरूसँग कारोबार गर्नुपर्थ्यो। दलालहरूले भाउमा एकदमै कसिकसाउ गर्थे। लागतभन्दा कममा घाटा खाएर बेच्नुपर्थ्यो। त्यसमाथि नयाँ काम गर्छु भनेर आँट्दा खुट्टा तान्ने प्रवृत्तिले गरिखान सकिएन।'
व्यवसायमा घाटा लाग्दै गएपछि छोराहरूले हरेस खाए। रिसोर्ट बनाउने सपना मात्र होइन, माछापालन नै लथालिंग भयो।
केही समय के गर्ने, कसो गर्ने भनेर रनभुल्ल परेपछि आखिरमा पिप्लाले हिम्मत कसिन्।
'त्यत्राविधि पोखरी खनेर लाखौं खर्च गरिसकेपछि यत्तिकै किन छाड्नू! तुरून्तै रिसोर्ट चलाउन नसके पनि सुझबुझ लगाउने हो भने माछापालन सफल बनाउन सकिन्छ भन्ने हामीलाई विश्वास थियो,' पिप्लाले उत्साह भरिएको लवजमा भनिन्, 'रिसोर्ट चलाउन अर्काको भर पर्नुपर्छ। पर्यटक आइदिएनन् भने एक सुका आम्दानी हुन्न। तर माछापालन त हाम्रै हो। जग्गा हाम्रै हो, पोखरी हाम्रै हो। दलालहरूलाई छाडेर सिधै बजारसम्म पुग्न सकियो भने बजार पनि हाम्रै हो। भोलि सफल हुँदै गइयो भने रिसोर्ट पनि खोलम्ला, तर अहिलेलाई माछापालनमै जोडबल लगाऊँ भनेर हामी बूढाबूढी कस्सियौं।'
त्यसपछि पिप्लाले आफ्ना छोराहरूसँग सल्लाह गरिन् र भनिन्, 'तिमीहरू आँट्दैनौ भने जग्गाको लालपुर्जा मलाई दे, म आफै केही गर्छु।'
आमाको आँट देखेर छोराहरूले सरक्क लालपुर्जा जिम्मा लगाइदिए।
पिप्लालाई आफ्नो मिहिनेतप्रति पूरापूर भरोसा थियो। दुई वर्ष काम गरेको अनुभवबाट उनलाई माछाको आनीबानी राम्ररी थाहा भइसकेको थियो। सुरूमा उनले कति माछा हाल्ने भन्ने नजानेर एकैपटक ७० हजार भुरा पोखरीमा छाडेकी थिइन्। कति बाँचे, धेरै मरे। तर जति बाँचे, ती भुरालाई हेरेर माछा बचाउन के गर्नुपर्दो रहेछ भन्नेबारे पिप्लालाई राम्रो ज्ञान भइसकेको थियो।
'माछा हुर्काउनु पनि सन्तान हुर्काउनु जस्तै हो,' पिप्लाले हाँस्दै भनिन्, 'हामी महिलाहरू नौ महिना कोखमा राखेर सन्तान हुर्काउँछौं। माछा हुर्काउन के ठूलो कुरा हो र!'
'राम्ररी माछापालन गर्ने हो भने कति पानीमा कति माछा राख्ने र ती माछालाई कति समयमा कति खानेकुरा दिने त्यसको राम्रो ख्याल राख्नुपर्छ,' उनले तरिका सिकाउँदै भनिन्, 'पानीभित्र बस्ने माछाले भोक लाग्यो भनेर आफै भन्दैन। त्यो त भर्खर जन्मेको बच्चाजस्तै हो। मान्छेको बच्चाले पनि भोक लाग्यो आमा भनेर मुखले कहाँ भन्छ र! उसको हाउभाउ देखेरै भोक लाग्यो कि, आची आयो कि, पेट दुख्यो कि भनेर आमाले आफै बुझ्नुपर्छ। दुई वर्षको अनुभवबाट मैले पनि माछाको आनीबानी बुझिसकेकी थिएँ।'
माछाको यही आनीबानी नबुझ्दा छोराहरूका हातबाट सप्रिन नसकेको उनलाई थाहा थियो। त्यसैले पिप्लाले एक व्यवसायीका रूपमा होइन, आमाको मनले माछा हुर्काउन थालिन्।
उनी माछालाई कुन समय दाना खुवाउने, कति-कति समयमा पोखरी सफा गर्ने भनेर तालिका बनाउँथिन्। र, त्यो तालिका सधैं अनुसरण गर्थिन्।
'राम्रो आहार पाएको बच्चा स्वस्थ हुन्छ। माछा पनि त्यस्तै हो; राम्रो दाना पायो भने उत्पादन राम्रो हुन्छ,' उनले भनिन्, 'दाना खुवाउन तलमाथि भयो भने पोखरीभित्रै भुराहरू बिलाउँदै जान्छन्। मान्छेजस्तै माछा पनि कुपोषणको शिकार हुन्छ। टाउको ठूलो हुन्छ, पुच्छर सानो। त्यस्ता रोगी माछा किन्न कोही मान्दैनन्। आफै बजार लैजाँदा पनि खरिदकर्ता भेटिन्न, राम्रो दाम पाइन्न। यही नबुझ्दा धेरै जना माछापालनमा असफल हुन्छन्। मेरा छोराहरूलाई पनि त्यही भयो होला।'
यसरी आफ्नै सुझबुझ र सिकाइको बलमा माछा पाल्न कस्सिएकी पिप्लालाई उनका श्रीमान कुलबहादुरले ठूलो आडभर दिए।
परिवारमा एकमत भएपछि पिप्ला माछापालन विस्तार निम्ति ऋण लिन गाउँकै अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थामा गइन्।
यहाँ विडम्बना के भइदियो भने, जुन आमाले छोराहरूले नसकेको काम आँटेकी थिइन्, त्यही आमाको आँटलाई सहकारी संस्थाले पत्याइदिएन।
'छोराहरूले सक्दैनौं भन्दै हरेस खाएर छाडेको कामलाई जसरी पनि पूरा गर्छु भन्ने मेरो अठोट थियो। बाबुबाजेको थलोमा खनेको पोखरी यत्तिकै खेर जान दिन्नँ भनेर सोचेकी थिएँ। त्यसैले जग्गाको लालपुर्जा लिएर सहकारी संस्थामा ऋण माग्न गएँ,' पिप्लाले भनिन्, 'सहकारी संस्थाले मेरो आँट देखेन, उमेर मात्र देख्यो। डाँडामाथिको जून भएकी यी बूढी भोलि मरी भने हाम्रो ऋण कसले तिर्छ भनेर उनीहरूले मलाई पत्याएनन्। छोराहरूलाई लिएर आउनू, अनि मात्र ऋण दिन्छौं भने।'
सहकारीको नियमका अगाडि पिप्लाको निधो काम लागेन।
उनी घर फर्किन् र फेरि छोराहरूसँग सल्लाह गरिन्।
छोराहरू आमाको पछि लागेर सहकारी संस्थाका अगाडि उभिन तयार भए।
जुन छोराहरूले माछापालन गर्दैनौं भनेर हात झिकेका थिए, तिनै छोराहरूलाई अगाडि तेर्स्याएपछि बल्ल पिप्लाले ऋण पाइन्।
यसरी अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ऋण लिएर पिप्लाले छोराहरूको नेतृत्वमा मृतप्राय: भइसकेको माछापालनलाई नयाँ जीवन दिइन्।
एसियाली विकास बैंक (एडिबी) को ग्रामीण उद्यम परियोजनाअन्तर्गत लिएको सहुलियत ऋणबाट पिप्लाले पुराना पोखरी ब्युँताइन्। नयाँ पोखरी खनिन्। पोखरीमा पानी नसुकोस् भनेर भित्रभित्रै पाइप बिछ्याइन्। यसबाहेक माछाका भुरा छान्न र दाना बनाउन पनि खुब मिहिनेत गरिन्।
'ऋण त धेरै नै थियो। तर ब्याज कम भएकाले तिर्न गाह्रो भएन,' पिप्लाले भनिन्, 'यही ऋण अरू बैंक वा बजारबाट उठाउनुपरेको भए यत्रो काम आँट्ने कुरै थिएन। ब्याजले नै ठहरै भइन्थ्यो।'
त्यसपछि पिप्ला र कुलबहादुरको दिनरात पोखरीमै बित्न थाल्यो। उनीहरूले रहु, नैनी, सिल्भर लगायत विभिन्न जातका माछा पालेका छन्। सुरूमा माछा बेच्न भण्डारी दम्पती स्कुटर हाँकेर भरतपुर बजार पुग्थे। पछि माडीमै जिउँदो माछा बेच्ने अभियान चल्यो। माडीमै बेच्दा एक क्विन्टलको मूल्य दुई हजार रूपैयाँ कम पर्छ। यसले धेरैभन्दा धेरै मान्छे माछा किन्न माडी पुग्न थाले। कम मोलमा बेच्दा पनि भरतपुरको दाँजोमा राम्रो फाइदा भएको पिप्ला बताउँछिन्।
अहिले उनीहरूको माछा काठमाडौं, पोखरा लगायत देशका ठुल्ठूला बजार पुग्छन्, उनले भनिन्, 'सबै किसिमका माछाको राम्रो माग छ। मान्छेहरू पोखरीमै किन्न आउँछन्। सिल्भर माछा चाहिँ टाढा लैजाँदा मर्छ भनेर थोरै थोरै मात्र लग्छन्। अरू त सबै बिक्छ।'
पिप्लाका अनुसार एउटा पोखरीमा चार-पाँच गाडी माछा हुर्किरहेका छन्। आउँदो फागुनसम्म तीन सय ग्रामदेखि एक किलोसम्मका माछा तयार हुन्छन्। फागुन अन्त्यपछि अरू धेरै पोखरीमा माछा सकिने हुँदा सबै ग्राहक आफूकहाँ आउने उनले बताइन्।
भण्डारी दम्पतीले आफ्नो माछा फार्ममा तीन जनालाई रोजगारी दिएका छन्। उनीहरू वर्षको कम्तिमा ५० लाख रूपैयाँसम्मका माछा बेच्छन्। सबै खर्च कटाउँदा १५ देखि २० लाख कमाइ हुने पिप्लाले जानकारी दिइन्।
'८०-८३ हजार रूपैयाँ त विभिन्न मान्छेले उधारो नै खाएका छन्। उठाउन बाँकी छ,' उनले भनिन्, 'उधारो उठाउन गाह्रो भएकाले हिजोआज नगदमै बेच्छु।'
माछापालनकै आम्दानीबाट उनीहरूले सहकारी संस्थाको ऋण नियमित तिरिरहेका छन्। खसी र हाँस पाल्ने योजना पनि बनाएका छन्। त्यसका लागि घर नजिकै टहरा हाल्दै छन्।
उनीहरूलाई एउटै दु:ख गोहीको छ। कहिलेकाहीँ पोखरीभित्रै पसेर माछा खाइदिन्छ। बेलाबेला मान्छेले पनि चोरेर लगिदिन्छन्। प्राय: साँझपख चोरी हुने भएकाले भण्डारी दम्पती राति ८ बजेसम्म पोखरी रूँघेर बस्छन्। केही समययता साँझ परेपछि बाघ आउने डरले माछा चोरी घटेको पिप्ला बताउँछिन्।
'अस्ति एकदिन दिउँसै बाघ आएछ। मान्छेहरू साँझ परेपछि निस्कन डराएका छन्,' उनले भनिन्, 'नभए आफ्नो कर्ममा नोक्सान हुँदा दुःख लाग्छ नि!'
कुलप्रसादले पनि मिहिनेतअनुसार व्यवसाय चित्तबुझ्दो भएकोमा सन्तुष्टि व्यक्त गरे।
'डुबिसकेको व्यवसायलाई बूढाबूढी मिलेर उँभो लगाउन सकियो, योभन्दा ठूलो खुसी अरू के हुन्छ?' उनले भने, 'बुढेसकालमा दुवै जना मिलेर काम गरेपछि छोराछोरीको मुख ताक्नुपरेन। आफ्नो कमाइ, आफै रमाइ! उनीहरूले घरखर्च भनेर पैसा दिए पनि तिमीहरूको पैसा तिमीहरू नै लैजाओ भन्छौं।'
पिप्ला र कुलप्रसादका छोराहरू भरतपुर बस्छन्। त्यहीँ व्यवसाय गर्छन्। चाडबाडमा घर आउँछन्। छोराहरूले भण्डारी दम्पतीलाई पनि भरतपुरै लैजाने प्रयास नगरेका होइनन्। तर पाखुरीमा बल हुँदासम्म माछा स्याहारेर बस्नेमा उनीहरू दृढ छन्।
'छोराहरूले यो काम अरूलाई ठेक्का दिऊँ, तपाईंहरू पनि भरतपुर हिँड्नुस् भन्छन्। मलाई चाहिँ यत्रो मिहिनेत गरेको काम अर्काको भरमा छाडेर जान मन छैन,' पिप्लाले भनिन्, 'आफ्नो जायजेथा सरक्क अर्काको जिम्मा के लगाउनू! हामी बूढाबूढी दुई-चार वर्ष यहीँ काम गर्ने हो।'
'मेरो बूढा ६९ वर्ष उमेरमा पनि युवाजस्तै खट्नुहुन्छ। साह्रै जाँगरिलो हुनुहुन्छ। उहाँको जाँगर देखेर ७० वर्ष पुग्न लाग्नुभयो भन्ने कसैले पत्याउँदैनन्,' पिप्लाले हाँस्दै भनिन्।
***