रेमिटेन्स ल्याउनेको कथा
सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेका छन्। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ। तिनमा बाध्य भएर बिदेसिनुपर्ने नियति धेरैको छ। उनीहरूकै जीवनको उतारचढाव र परदेशको अनुभव हामी यो शृंखलामा प्रकाशन गर्नेछौं। आजको अंकमा तीन वर्षदेखि साउदीको रियादमा बरिस्ताको काम गरिरहेका स्याङ्जाका शोभाकान्त पौडेलको कथा —
साउदीको रियादस्थित गल्ली नम्बर ६ मा बस्ने शोभाकान्त पौडेलले बिहान २ बजेको अलार्म राखेका छन्।
सामान्य अवस्था हो भने २ बजे उठ्नुपर्ने मान्छे ढिलोमा ८ बजे सुतिसक्छ। शोभाकान्तलाई त्यो सहुलियत छैन। उनको ड्युटी दिउँसो ३ बजे सकिन्छ, तर दौडधुप सकिँदैन। कहिले ओभरटाइम पर्छ, कहिले के! घर फर्केर पकाइवरी, खाइवरी सुत्दा १०-११ बजिसक्छ।
जसै मोबाइलको अलार्म किर्रर गर्छ, उनी निद्रा पुगे पनि नपुगे पनि आँखा मिच्दै उठ्छन्। कहिले त निदाएकै हुँदैनन्, उठ्ने बेला भइसक्छ। त्यस्तो बेला चिसो पानीमा नुहाएर निद्रा र थकान भगाउने प्रयास गर्छन्।
स्याङ्जाको अर्जुनचौपारीका शोभाकान्तको जीवन तीन वर्षदेखि यसरी नै चलिरहेको छ।
उनी साउदीको रियादस्थित 'अरेबिका स्टार' क्याफेमा बरिस्ता (कफी बनाउने) काम गर्छन्। बिहान ३ बजे ड्युटी सुरू हुन्छ। कोठाबाट क्याफे पुग्न २५ मिनेट लाग्छ। उनी घडी हेरेर ठिक साढे २ बजे निस्कन्छन्।
जति बेला गल्ली नम्बर ६ मस्त निद्रामा हुन्छ, शोभाकान्त साइकलको पाइडल चलाउँदै क्याफेतिर कुदिरहेका हुन्छन्।
निष्पट अँध्यारो र सुनसानबीच कसैले आक्रमण गर्ला कि भन्ने डरले मुटु चिसो भइरहेको हुन्छ। तर त्योभन्दा ठूलो डर हुन्छ, काममा ढिला पुगिएला कि भन्ने! किनभने, ३ बज्नुअघि क्याफे पुगेर विद्युतीय हाजिर गर्न सकेनन् भने तलब काटिन्छ। जति मिनेट ढिला भयो, तलब काटिने दर उति बढ्छ।
सामान्य अवस्था हो भने थोरै पैसाको लोभ हुँदैनथ्यो होला! शोभाकान्तलाई त्यो सहुलियत छैन। पैसा कमाउन रियाद पुगेका उनलाई पाई पाईको महत्त्व छ।
'म ५-१० मिनेट अगाडि नै क्याफे पुगिसक्छु,' उनले भने, 'त्यसपछि लगातार १२ घन्टा काम गर्नुपर्छ। हुन त क्याफेभित्र बस्दा बाहिर आगोको रापमा बसेजस्तो हुँदैन। तैपनि तातो हावा चल्ने हुँदा चिटचिट पसिना छुटिरहन्छ। दिनभरिमा निथ्रुक्कै भिजिन्छ।'
शोभाकान्तले यसो भन्दा क्याफेभित्र पनि किन पसिनाले निथ्रुक्कै भिज्ने भन्ने तपाईंहरूलाई लाग्यो होला! हामीलाई पनि त्यस्तै लागेको थियो!
उनले काम गर्ने क्याफे हामीले झम्सीखेल, ठमेल वा दरबारमार्गमा देखेजस्तो आरामदायी, वातानुकूलित क्याफे होइन। उनी सडक छेउको एककोठे क्याफेमा काम गर्छन्, जहाँ आरामसँग कफीको स्वाद लिने सुविधा छैन। गाडीमा आउनेहरू एकछिन रोकेर कफी किन्छन् र हतारिँदै कुदिहाल्छन्। बेच्ने मान्छेले भने दिनैभरि घामको राप सहनुपर्छ।
वैदेशिक रोजगारीमा जाँदा शोभाकान्तलाई दैनिक आठ घन्टाको काम भनिएको थियो। बढी गर्नुपरे ओभरटाइम पाइन्छ भनेर आस देखाइएको थियो। पुगेपछि थाहा पाए, निर्धारित ड्युटी नै १२ घन्टाको रहेछ। कहिलेकाहीँ ड्युटी सकिएपछि पनि काम गर्नुपर्दो रहेछ। ओभरटाइम गरेको अतिरिक्त पैसा उनले अहिलेसम्म पाएका छैनन्।
'कम्पनीले त मलाई अरू पनि धेरै कुरा भनेको थियो। सातामा एक दिन बिदा पाइन्छ भनेको थियो। बिरामी भए ओखती गर्दिन्छ भनेको थियो। तर ती केही पूरा भएनन्,' उनले भने, 'तीन वर्ष भयो यहाँ आएको, आजसम्म एक दिन बिदा पाएको छैन। बिरामी हुँदा पनि छुट्टी पाइँदैन। सकी-नसकी काममा जानैपर्छ। जानै नसकिने भयो भने तलब माया मार्नुपर्छ।'
'मरे बरू लास पठाउँछन्, तर काम लगाउन छाड्दैनन्!' उनले यति भनेर लामो सुस्केर हाले।
बाह्रघन्टे ड्युटी र नि:शुल्क ओभरटाइम सकेर साँझ लखतरान कोठा फर्कने शोभाकान्तसँग हामी राति राति मेसेन्जरमा भिडिओ कुराकानी गर्थ्यौं। उनी आफ्नो फुर्सत र थकान हेरेर हामीलाई समय दिन्थे। कहिले लामै कुरा गर्थे, कहिले 'आज बोल्ने अवस्थामा छैन' भन्दै बिदा भइहाल्थे।
शोभाकान्त २०७७ चैतमा साउदी गएका हुन्। उनले १ लाख ३० हजार रूपैयाँ म्यानपावर कम्पनीलाई बुझाएका थिए। कम्पनीले कफी बनाउने कामकै लागि आवेदन मागेको थियो। तर त्यो बेला उनको हातमा कफी बनाउने सीप थिएन। उतै गएर केही दिन तालिम दिइने भनेपछि उनी तयार भए।
'कोरोना महामारी थियो। घरमा के गरौं के गरौं भनेर बसिरहेको थिएँ,' उनले भने, 'यसै बस्नुभन्दा विदेश जानु ठिक होला भनेर साउदी जाने निधो गरेँ।'
कफी बनाउने सीप नभए पनि जानेबित्तिकै तालिम पाइन्छ भन्नेमा उनी ढुक्क थिए। तर यहाँ पनि कम्पनीले भनेजस्तो भएन। तालिम त परको कुरा, सुरूको एक वर्ष उनले कफी बनाउने कामधरि पाएनन्।
कफी बनाउन जानेको छैन भनेर उनलाई एक वर्षसम्म 'हेल्पर' काम लगाइयो। उनले क्याफे सरसफाइ र कफीको भाँडा धुने र भुइँ पुछ्ने काम गरे।
उनको महिनाको तलब १२ सय रियाल (४२ हजार रूपैयाँ) थियो। आठ घन्टाभन्दा बढी काम गर्नुपरे ओभरटाइम पाइन्छ भनिएको थियो। तर दिनको १२ घन्टा काममा खट्दा पनि १२ सय रियालमै चित्त बुझाउनुपर्यो।
बरू काम गर्दै जाँदा दुईपटक गरेर उनको तलब ४ सय रियाल बढेको छ। उनी अहिले १६ सय रियाल (५६ हजार रूपैयाँ) बुझ्छन्। बस्ने व्यवस्था कम्पनीले नै गरेको छ। खान आफै खर्च गर्नुपर्छ।
यसबीच सहयोगीको काम गर्दागर्दै उनले कफीमा बुट्टा भर्न सिकेका छन्। पानको पात, गुलाबको फूल, गुलाबको बोट, उन्युँको पात लगायत बुट्टा राम्ररी भर्न सक्छन्। यसका लागि २५ दिनको तालिम लिएको उनी बताउँछन्।
'अहिले त म नयाँ मान्छेलाई बुट्टा भर्न पनि सिकाउँछु,' उनले खुसी हुँदै भने, 'दिनकै सयवटा कफीमा बुट्टा भर्छु। व्यापार कम हुँदा पनि ७०-८० वटामा भर्नुपर्छ।'
यहाँ क्यापेचिनो, लाते, मोका, इटालियन, स्पेनिस, टर्किस लगायत थरीथरीका कफी बनाइन्छ। मेसिनले तयार पार्ने भए पनि कफीको मात्रा मिलाउन जान्नुपर्छ। पछिल्ला दुई वर्ष शोभाकान्तले यो सीप जानिसकेका छन्।
शोभाकान्तले काम गर्ने क्याफेको साउदीका विभिन्न सहरमा शाखा छन्। सबै शाखामा ४०० भन्दा धेरै आप्रवासी काम गर्छन्। रियादको यो शाखामा उनीसहित चार जना काम गर्छन्। दुई-दुई जनाको १२ घन्टे सिफ्ट तोकिएको छ।
यहाँ साउदीका नागरिकदेखि फिलिपिन्स, इन्डोनेसिया, जापान, बहराइन, कोरिया, बेलायत लगायत विभिन्न मुलुकका पर्यटक कफी खान आइरहन्छन्। साउदीका नागरिकसँग अरबी भाषामा कुरा गर्नुपर्छ भने अन्य विदेशीसँग उनी अंग्रेजी बोल्छन्। फरक फरक भाषा बोल्नुपर्दा सुरूमा उनलाई निकै समस्या परेको थियो। उनी न अरबी भाषा बोल्न सक्थे, न अंग्रेजी।
'मैले बिस्तारै अरबी सिक्दै गएँ। हल्काफुल्का अंग्रेजी पनि बोल्न सक्ने भएँ,' उनले भने, 'यसले काम गर्न सजिलो भएको छ।'
कुराकानी क्रममा शोभाकान्तले आफ्नो महिनावारी खर्च र बचतको हिसाब पनि देखाए।
उनी प्रत्येक महिना खाना र मोबाइल रिचार्जमा ६ सय रियाल खर्च गर्छन्। सबै खर्च कटाएर महिनाको हजार रियाल (३५ हजार रूपैयाँ) बचत हुने उनको भनाइ छ।
'दुई वर्षयता महँगी बढेकाले खर्च धेरै हुन थाल्यो,' उनले भने, 'सबै सामानको भाउ बढेको छ। खानेकुरा त १५ प्रतिशत महँगो भयो होला! तर जति महँगो भए पनि नेपालको जस्तो स्वाद छैन। बाहिरबाट ल्याएर फ्रिजमा राखिने हुँदा प्राकृतिक स्वाद हराइसकेको हुन्छ। आफ्नै बारीबाट टिपेर ल्याएको तरकारी र आमाले पकाएको घरको स्वाद यहाँ कहाँ पाउनु!'
त्यही बारीको तरकारी र आमाको हातको तिर्सना मेट्न उनी घरि घरि घरमा फोन गरिरहन्छन्। यसका लागि मोबाइलको डेटामा प्रशस्त खर्च हुन्छ।
'बरू खाना खर्च घटाउन सकिएला, मोबाइल खर्च घटाउने ठाउँ छैन। मोबाइल त वैदेशिक रोजगारमा आएकाहरूको निम्ति सालनालजस्तै हो, जसले घरसँगको सम्झना जोड्छ,' उनले भने।
अहिले उनी साउदी जीवनसँग धेरै अभ्यस्त भइसके। सुरू सुरूमा त्यहाँको गर्मी र खानाको बेस्वादले सहनै गाह्रो परेको थियो। त्यस्तो बेला घरको यादले खुब सताउँथ्यो। उनी आमा सम्झेर एक्लै रून्थे। चाडबाड बेला झनै खल्लो मान्थे।
'म यहाँ तीन जना बंगाली साथीसँग बस्छु। सुरूमा उनीहरूको भाषा नबुझेर पनि धेरै नरमाइलो भयो। अचेल हामी एकअर्काको भाषा बुझ्ने भएका छौं। मैले नेपाली बोलेको सुन्दा सुन्दा उनीहरू पनि थोरै थोरै बोल्न सक्छन्,' उनले भने, 'जतिसुकै पराई भए पनि सँगै काम गर्दै जाँदा मन बस्दै जाँदो रहेछ। परिवार भने पनि साथीभाइ भने पनि यिनीहरू नै हुन् भन्ने मनले ठानेपछि सँगै जिउन सहज हुँदो रहेछ।'
उनीहरू खानेकुरा मिलेर पकाउँछन्; मिलेरै खान्छन्। घुमफिर गर्न भने बंगालीहरू आफू आफू मात्र जाँदा रहेछन्। त्यस्तो बेला शोभाकान्त एक्लै पर्छन्।
'हुन त बजार जाने भनेको आ-आफ्नो कामले हो,' उनले अगाडि भने, 'उनीहरू बाहिर गएका बेला म जाँदिनँ, म गएका बेला उनीहरू जाँदैनन्।'
त्यसै पनि उनलाई काम सकेर घुम्ने फुर्सद कमै हुन्छ। कुनै दिन फुर्सद भइहाले घुम्न जानुभन्दा मस्त निदाउन रूचाउँछन्। बरू काम सकेर कोठा फर्कँदा साँझतिर फनपार्क र बजार डुल्ने गर्छन्। यसरी फनपार्क डुल्दा बंगलादेश, फिलिपिन्स, पाकिस्तान लगायत मुलुकबाट आएका कामदारसँग भेट हुन्छ। कहिलेकाहीँ नेपालीहरू पनि भेटिन्छन्।
'नेपालीहरू भेट्दा खुसी लाग्छ। चिनजान हुन्छ, कुराकानी हुन्छ,' उनले भने, 'आफ्नै जिल्ला वा वरपरका मान्छे भने भेटेको छैन। एउटै मान्छे नियमित भेट पनि भइरहँदैन। त्यसैले प्राय: म घुम्ने एक्लै हो।'
पार्कमा विभिन्न खालका कार्यक्रम भइरहेका हुन्छन्। उनी ती कार्यक्रम हेर्दै समय काट्छन्। एक्लै घुम्दा घरको सम्झना र तनाव कम हुने उनको अनुभव छ।
पार्क वा बजारतिर नअलमली सिधै कोठा फर्केको दिन सुत्नुअघि उनी केही समय आमा र आफन्तहरूसँग कुराकानी गरेर नियास्रो मेट्छन्।
यसरी घरपरिवारको सम्झनाले नियास्रिँदै तीन वर्ष साउदीमा बिताउनुको एउटा फाइदा शोभाकान्तले पाएका छन् — उनको परिवारको आर्थिक अवस्था केही सुध्रिएको छ। उनले पठाएको रेमिटेन्सले आमाको पुरानो चोली फेरिएको छ। उनको परिवारले पहिलेजस्तो अभावमा बाँच्नुपरेको छैन।
यति मात्र होइन, शोभाकान्तले आफू परदेश जाँदा लिएको र त्योभन्दा पहिलेको ऋण तिरिसके। भाइलाई पनि गत वर्ष वैदेशिक रोजगारीका लागि कतार पठाइसके। उनी कतारको एक अस्पतालमा क्लिनरको काम गर्छन्। कमाइ ठिकठिकै भएको उनी बताउँछन्।
'भाइ र मेरो कमाइ बचत गरेर नवलपरासीको कावासोती बजारमा १० धुर जमिन जोडेका छौं,' उनले भने, 'हाम्रो बाको जीवन गाउँमा दुःख गर्दागर्दै अभावमै बित्यो। अहिले दुई दाजुभाइले विदेशमा कमाउन थालेपछि पहिलेजस्तो अभाव र तनावमा बाँच्नुपरेको छैन।'
शोभाकान्तको बाल्यकाल दु:खमा बित्यो। उनका बुबाले भेडा र केही वस्तुभाउ पालेका थिए। गाउँमा ज्याला मजदुरी पनि गर्थे। आमा वस्तुभाउ स्याहार्थिन्, मेलापात जान्थिन्। शोभाकान्त पनि घरको काम सघाउँथे। दु:खै गरेर भए पनि आमाबाले उनलाई १२ कक्षासम्म पढाए।
२०७२ सालको कुरा हो। कक्षा १२ को अन्तिम परीक्षा थियो। उनी परीक्षा दिएर रोजगारीका लागि कोरिया जाने सोचाइमा थिए। त्यही बेला बुबा साह्रै बिरामी परे। हातपाखुरा खियाउन नसक्ने भए। उपचारका लागि पैसा चाहिने भयो।
शोभाकान्तले कोरियाको सपना थन्क्याए। बुबाको उपचारका लागि पैसा कमाउन भारत गए।
भारतमा उनका केही आफन्त थिए। तिनैको सहयोगमा उनले क्यान्टिनमा भाँडा माझ्ने काम गरे। बचेको पैसा बुबाको उपचार निम्ति पठाउँथे।
कमाइ ठिकै थियो। तर उनी भारत गएको दुई वर्षमा बुबा झनै सिकिस्त भए। उनलाई पोखराको अस्पताल भर्ना गरियो। त्यहाँ पुगेपछि थाहा भयो, बुबालाई तेस्रो चरणको क्यान्सर भएको रहेछ।
यो खबर पाएर शोभाकान्त नेपाल फर्के।
उनी फर्केको सातादिनमै बुबाको निधन भयो। अहिले स्याङ्जामा आमा र एउटी बहिनी छन्। दुई दिदी र एक बहिनीको बिहे भइसक्यो। कान्छी बहिनी ११ कक्षा पढ्दै छिन्।
बुबाको निधनपछि शोभाकान्त फेरि भारत गएका थिए। एक वर्षपछि फर्केर कोरिया जाने तयारीमा लागे। भाषा परीक्षा पनि दिए। त्यो बेला न्यूनतम ३६ अंक ल्याउनुपर्थ्यो। उनको ३५ मात्रै आयो।
'अर्को वर्ष राम्ररी पढेर फेरि जाँच दिन्छु भनेको थिएँ, त्यही बेला कोरोना लकडाउन भयो। भाषा परीक्षा भएन। अनि नेपालमै बेरोजगार बसेर के गर्नु! बरू विदेशै जान्छु भनेर साउदी आएँ,' उनले आफ्नो जीवनकथा विस्तारमा सुनाए।
साउदी गएदेखि उनी नेपाल फर्केका छैनन्। अर्को वर्ष वैशाखमा फर्किने योजना छ।
'वैशाखमा बिदा नमिले मंसिरसम्म फर्किन्छु,' उनले मेसेन्जरको भिडिओ कुराकानीमा भने, 'त्यही बेला मिल्यो भने बिहे गरूँला।'
'बिहेपछि त नेपालमै बस्ने होला नि?'
प्रश्न सुनेर उनी एकछिन सोचमग्न भए; अनि भने, 'जिम्मेवारी बढेपछि झन् नेपाल बसेर के गर्नू!'
'मलाई नेपालमै बसेर केही गर्न सक्छु भन्ने आँट पलाइसकेको छैन,' उनले अगाडि भने, 'केही वर्ष साउदी आएर अहिलेकै काम गर्छु। दुई वर्षमा त फेरि पनि तलब बढ्छ होला। धेरै खट्नुपरे पनि तलब बढ्दा ठिकै हुन्छ। यो कामको बानी बसिसकेको छ। त्यसैले अझै पाँच वर्ष यतै काम गर्छु।'
'त्यसबीच पैसा बचाउन सकेँ भने नेपालमा लगानी गर्ने पुँजी र आँट बोकेर आउनुपर्ला!' उनले भने।
त्यतिञ्जेल उनको बसाइ रियादको उही गल्ली नम्बर ६ मै!
***
(तपाईंहरू पनि वैदेशिक रोजगारमा जानुभएको छ र आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ भने setopatidebate@gmail.com मा हामीलाई इमेल गर्नुहोस्। हामी मेसेन्जर, भाइबर, ह्वाट्सएप वा तपाईंलाई अनुकूल हुने माध्यमबाट भिडिओ कुराकानी गरेर तपाईंको अन्तर्वार्ता लिनेछौं र यो शृंखलामा प्रकाशन गर्नेछौं। परदेशमा पसिना बगाउँदै देशमा रेमिटेन्स पठाउँदाको तपाईंको अनुभव सुन्नु र अरूलाई सुनाउनु हाम्रो उद्देश्य हो।)
यी पनि पढ्नुहोस्: