रेमिटेन्स ल्याउनेको कथा
सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेका छन्। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ। तिनमा बाध्य भएर बिदेसिनुपर्ने नियति धेरैको छ। उनीहरूकै जीवनको उतारचढाव र परदेशको अनुभव हामी यो शृंखलामा प्रकाशन गर्नेछौं। आज दोस्रो अंकमा १२ वर्षदेखि साउदीको सडकमा ट्रक कुदाउने काम गरिरहेका पाल्पाका सन्तोष रूछालको कथा —
उनलाई अरबको धुपसँग बानी बसिसकेको छ। साउदीको सडकमा दिनभर कुदाउने ट्रेलर (ट्रक) आफ्नै घरजस्तो लाग्न थालेको छ।
बिहान ७ बजेदेखि ट्रेलर कुदाउन सुरू गर्छन्, रातको ११ बजेसम्म उनको हात स्टेयरिङबाट छुट्दैन। कहिलेकाहीँ त गाडी हाँक्दा हाँक्दै रात छर्लंग बित्छ।
लामो लामो सफरमा निस्केका बेला उनी गाडीभित्रै खाना पकाएर खान्छन्। निद्राले झुपझुप पार्दा गाडीभित्रै ओछ्याउन लगाएर पल्टन्छन्। अनि, सफरको बीचमा परिवारको सम्झनाले सतायो भने गाडी साइड लगाएर मोबाइल डेटा खोल्छन् र मेसेन्जरको भिडिओ कलमा परिवारको मुहार हेरेर मन बुझाउँछन्।
साँझ-बिहान, दिन-रात, महिना-वर्ष गन्दागन्दै जिन्दगीको एक दशकभन्दा बढी समय यसरी नै साउदीको सडकमा बिताइसके उनले।
परदेशमा पसिना बगाउँदै देशमा रेमिटेन्स पठाउनेहरूको कथा खोज्ने क्रममा हामी यसपालि पाल्पाको रिप्दीकोट गाउँपालिका-४ भैरवस्थानका सन्तोष रूछालको सम्पर्कमा पुगेका छौं।
बाह्र वर्षअघि साउदी अरब पुगेका सन्तोष नित्य १७ घन्टा ट्रेलर कुदाउँछन्। कामको बीचमा प्राय: बोल्ने फुर्सदधरि हुँदैन। हामीले धेरैचोटि सम्पर्क गर्दा उनले एउटै जबाफ फर्काएका थिए, 'हेर्नुस् न, म त साह्रै व्यस्त छु। बोल्ने समय नै छैन। पछि फुर्सद मिलाएर कुरा गरौंला नि है!'
यसै भन्दै उनले लामो समय हामीलाई पर्खाए।
आखिरमा कहिले सडक जाममा फस्दा, कहिले रातो बत्तीमा रोकिँदा त कहिले बेलुकी खाना पकाउने समयमा अलि अलि गर्दै उनी हामीसँग जोडिँदै गए।
सन्तोषले आफ्नो दौडधुपबाट टुक्रा टुक्रा समय बचाएर साटेको अनुभव समेटेर लेखिएको हो यो कथा। उनको फुर्सद मिलाउँदै कुराकानी गर्दै जाँदा हामीलाई यो कथा पूरा गर्न चार महिनाभन्दा बढी समय लाग्यो।
सन्तोष रूछाल सन् २०१२ मा साउदी उडेका थिए।
भारतमा दस नंग्रा खियाउँदा पनि केही सिप नलागेपछि उनले साउदीको बाटो समाते।
त्यस बेला उनकी दिदी साउदीमै काम गर्दै थिइन्। दिदीले नै उनलाई त्यहाँको भिसा पठाइदिएकी थिइन्।
'तँ गाडी सिकेको मान्छे, यहाँ आइस् भने राम्रो हुन्छ भनेर दिदीले सम्झाउनुभयो। उहाँकै सुझाव मानेर मैले साउदी जाने निधो गरेँ,' सन्तोषले हामीसँगको टुक्रा टुक्रा भिडिओ संवादमा भने।
जहाजको झ्यालबाट पहिलोपटक साउदी नियाल्दा जताततै धुलाम्मे बालुवै बालुवा देखेर सन्तोषको मन खङरङ्ग भएको थियो। अनुहारको रोगन एकाएक उडेको थियो। मन मरूभूमिजस्तै उजाडिएको थियो।
परदेशमा एउटा काम भनेर अर्कै काम लगाउँछ भन्ने उनले सुनेका थिए। आफूलाई पनि त्यस्तै पर्ने हो कि भन्ने डरले मनमा पहिरो गइरहेको थियो। अझ त्यहाँको ४०-४५ डिग्री तापक्रममा ऊँट चराउँदै हिँड्नुपर्ने त होइन भनेर उनी भित्रभित्रै कामेका थिए।
धन्न, उनले त्यस्तो दुःख खेप्नु परेन।
जुन कामलाई भनेर गएका थिए, उनले त्यही काम पाए — सन्तोष साउदीको एउटा ढुवानी कम्पनीमा ट्रेलर चालक बने।
यमनका नागरिकले खोलेको उक्त कम्पनीले साउदीभित्र विभिन्न ठाउँमा र अरबका विभिन्न मुलुकमा सामान ढुवानीको काम गर्थ्यो। निर्धारित ठाउँमा गएर सामान लोड गर्ने, १७ घन्टाभन्दा बढी गाडी हाँकेर गन्तव्यमा पुर्याउने र गन्तव्य पुगेपछि सामान अनलोड गर्ने सन्तोषको जिम्मेवारी थियो।
उनले साउदीमा पाइला टेकेको तेस्रो दिनबाट यो काम सुरू गरे; आज १२ वर्षपछि पनि यही काम गर्दै छन्।
उनको यो काममा सबभन्दा दुःख अरबको प्रचण्ड गर्मी हो। उनको गाडीमा एयरकन्डिसन (एसी) छैन। हपहप धुपमा चिटचिट पसिना चुहाउँदै गाडी हाँक्नुपर्ने। सुरूमा त उनीसँग साउदीको सवारी लाइसेन्स पनि थिएन। उनले कम्पनीलाई यसको जानकारी दिएका थिए, तर कम्पनीले बिनालाइसेन्स नै उनको हातमा स्टेयरिङ थमाइदियो। केही तलमाथि परे जरिवाना कम्पनीले बेहोर्छ, अरू सजाय चाहिँ आफैं भोग्नुपर्छ भनेर सतर्क पनि गरायो।
सन्तोष बिलखबन्दमा परे।
नमानूँ, त्यहाँको लाइसेन्स आउने कहिले हो कहिले, त्योभन्दा अगाडि नै जागिर गुम्ला भन्ने डर!
मानूँ, पराई देशमा लाइसेन्सबिना गाडी चलाउँदा ट्राफिक प्रहरीको फन्दामा परिएला भन्ने डर!
सन्तोषले जे पर्ला पर्ला भनेर जोखिम मोल्ने निर्णय गरे।
लामो दुरीको यात्रामा उनी पटक पटक सवारी जाँचमा परे। लाइसेन्स नबोकी गाडी कुदाएको भनेर प्रहरीले धेरैचोटि जरिवाना ठटायो। सर्तअनुसार जरिवाना त कम्पनीले तिरिदियो, तर कयौंपटक जेल चाहिँ उनी आफैं बस्नुपर्यो।
'अर्काको देशमा त्यसै त मन उराठ भइरहन्छ, त्यसमाथि जेलमै बस्नुपरेपछि साह्रै अमिलो हुने रहेछ,' सन्तोषले भने, 'जेलभित्रै सडिने हो कि भनेर मेरो त मुटुले ठाउँ छाड्थ्यो।'
साउदीको नियमअनुसार बिनालाइसेन्स गाडी चलाउनेलाई ट्राफिक प्रहरीले तीन दिन थुनामा राख्छ। कम्पनीले जरिवाना तिरेर जोडबल लगायो भने २४ घन्टामै निस्किन पनि पाइन्छ। सन्तोषले काम सुरू गरेको १८ महिनामा लाइसेन्स पाए। त्यसबीच आठपटक थुनामा बस्नुपरेको उनी सम्झन्छन्।
'त्यसपछि भने त्यतिबिघ्न समस्या आइलागेन,' उनले भने, 'परिवार सम्झेर बिरक्तिनुबाहेक अरू पिर लिनुपरेन।'
सन्तोषले दुई वर्ष त्यो कम्पनीमा काम गरे, अनि नेपाल फर्किए।
दुई वर्ष परदेशमा हाड घोट्दा पनि देशमा जिन्दगी गुजार्न सहज अवस्था बनेन। कमाएको रकम ऋण तिर्दा र घर खर्च धान्दैमा ठिक्क भयो।
फर्किएको झन्डै एक वर्ष घरै बसेपछि उनी फेरि साउदी उडे।
उनी दोस्रोपटक सन् २०१५ मा साउदी गएका हुन्।
दमामस्थित जदिर लजिस्टिक ट्रान्सपोर्ट कम्पनीका लागि ट्रेलर हाँक्न उनी साउदी गएका थिए। अहिले पनि त्यही कम्पनीमा ट्रेलर चलाइरहेका छन्।
उनी बाह्रचक्के ट्रेलरबाट साउदीका विभिन्न ठाउँमा सामान ढुवानी गर्छन्। युरिया, प्लास्टिक, मोबिल लगायत औद्योगिक मालवस्तुदेखि दाल, चामल, माछा, मासुजस्ता खाद्यान्नका कन्टेनर विभिन्न बन्दरगाहसम्म पुर्याउने र ल्याउने गर्छन्। उनको कम्पनीले कन्टेनर स्टोरेज, ट्यांक मर्मत, निरीक्षण तथा सरसफाइको काम पनि गर्ने हुँदा खाली ट्यांक पनि ओसार्नुपर्छ।
उनी सामान ढुवानी क्रममा दमामबाट जेद्दा, यम्बु, मदिना, रियाद लगायत विभिन्न ठाउँ पुग्छन्। ती ठाउँबाट आफ्नै कम्पनीको वा अरू कम्पनीको सामान खोजेर ल्याउनुपर्छ। सामान नपाइएका बेला खाली कन्टेनर ओसार्नुपर्छ।
दमामदेखि जेद्दासम्मको दुरी १६ सय किलोमिटर छ। भोलिपल्ट पुग्नुपर्ने हो भने राति नै रियादको वान-वे सडक छिचोल्नुपर्छ। दमामबाट रियादको दुरी पाँच सय किलोमिटर छ। यहाँ रातको ११ बजे नो-इन्ट्री खुल्छ। त्यो बेला नो इन्ट्री पार गर्न एकदमै दौडधुप हुने सन्तोष बताउँछन्।
सफरमा बेलाबेला घन्टौं जाममा बस्नुपर्छ। अरू लेन खाली भए पनि अगाडिको गाडीलाई ओभरटेक गरेर उछिन्न पाइँदैन।
गत माघमा हामीसँग मेसेन्जरमा कुराकानी गरिरहँदा सन्तोष दमाम सडकको जाममा फसेका थिए। उनले मोबाइल क्यामरा अगाडि सडकतिर फर्काए। उनले चलाइरहेजस्ता ठुल्ठूला ट्रेलरको लामो लस्कर देखियो। अर्कोपट्टिको खाली लेन देखाउँदै उनले भने, 'हेर्नुस् त, अर्को लेन खाली छ, तर आफ्नो लेन छाडेर ओभरटेक गर्न पाइँदैन। गर्यो भने लगभग एक लाख नेपाली रूपैयाँ जरिवाना लाग्छ। जेल पनि बस्नुपर्छ। त्यसैले जाम खुलेपछि बल्ल हिँड्ने हो।'
उनका अनुसार दमामको सडकमा सवारी चाप एकदमै धेरै छ। त्यही चापले जाम भइरहन्छ। जाम भए पनि प्वाँप्वाँ पुँपुँ हर्न बजाएर कसैले ध्वनि प्रदूषण गर्दैनन्। आफ्नो लेन छाडेर गाडी फनफनी घुमाइरहने वा तोकिएभन्दा बढी स्पिडमा कुदाउने काम पनि कसैबाट हुँदैन।
'दमामबाट बाहिर जाँदा नो-इन्ट्री लाग्ने ठाउँसम्म पुग्न बडो धपेडी हुन्छ,' उनले भने, 'त्यति सडक नकटेसम्म भोक, प्यास, थकाइ केही भन्न पाइँदैन। अलिकति ढिलो भयो पनि रातभरि नो-इन्ट्रीमा पालो पर्खेर बस्नुपर्छ। त्यसैले समयमै नो-इन्ट्री पार गर्न सकेजति रफ्तारमा कुदाउनुपर्छ। नो-इन्ट्री कटेपछि बल्ल ढुक्क सास फेर्न पाइन्छ।'
दमामबाट करिब दुई सय किलोमिटर गुडेपछि एउटा ठाउँ आइपुग्छ, जसलाई साउदीमा काम गर्ने नेपाली चालकहरूले 'पार्किङ' नाम दिएका छन्। त्यहाँ केही बेर ट्रेलर अडिन्छ। यो नेपाली चालकहरूको थकाइ मार्ने, साथीभाइसँग भेट्ने र गफगाफ गर्ने थलो हो। थकाइ मत्थर भएपछि उनीहरू आ-आफ्नो खानपिनको मेलोमेसो मिलाउन थाल्छन्।
खानपिनका लागि त्यहाँ रेस्टुरेन्ट वा ढाबा पनि छन्। तर रेस्टुरेन्ट वा ढाबामा खाने हो भने पैसा बचाउन मुस्किल पर्छ। त्यसैले सन्तोष लगायत सबै नेपाली चालकहरूले आ-आफ्नो भान्सा गाडीमै बोकेर हिँडेका हुन्छन्। दाल, चामलदेखि तरकारी, नुन, तेल, मरमसला र खानेपानी ट्रेलरको 'किचन बक्स' मा राख्छन्।
'सधैं सँगसँगै भेटिने साथीहरू पालो मिलाएर पकाउने पनि गर्छौं,' उनले भने, 'साथीभाइ सँगै बसेर हरियो तरकारी, माछा-मासुसँग भात खान निकै स्वाद पर्छ। त्यसपछि बल्ल दिनभरको भोक र प्यास मेटिन्छ।'
खानपिनका सामग्री मात्र होइन, राति सुत्न सजिलो होस् भनेर ओढ्ने-ओछ्याउने पनि उनीहरू ट्रेलरमै बोकेर हिँड्छन्। राति अबेरसम्म साथीभाइसँग गफगाफ र खानपिनपछि आ-आफ्नो ट्रेलरमा जान्छन्, ओछ्यान लगाउँछन् र मोबाइलमा बिहान सबेरैको अलार्म सेट गरेर सुत्छन्।
सुत्ने बेला परिवारको तर्कना आँखाभरि नाच्न आइपुग्छ, तर दिनभरको थकानले शरीर यस्तरी थाकेको हुन्छ, ओछ्यानमा पल्टनासाथ निदाइहाल्छन्।
बिहान उठेपछि नजिकै पेट्रोल पम्पको स्मार्ट बाथरूममा उनीहरू नुहाइधुवाइ गर्छन्। त्यहाँ चौबीसै घन्टा तातो-चिसो पानीको व्यवस्था हुन्छ। यसको निम्ति कुनै शुल्क तिर्नुपर्दैन।
त्यसपछि फेरि सुरू हुन्छ, अर्को दिनको लामो यात्रा।
यात्रा जतिसुकै लामो किन नहोस्, प्राय: हिँड्ने एक्लै हो। गाडी हाँक्नेदेखि सरसफाइ गर्ने र कहिलेकाहीँ त सामान लोड-अनलोडको कामसमेत चालकहरूले नै गर्नुपर्छ। पट्यारलाग्दो लामो यात्रामा मन भुलाउन मनपर्ने नेपाली गीतहरू युट्युबमा छानेर सुन्ने गरेको सन्तोष बताउँछन्।
लाउनैपर्यो, खानैपर्यो, घर छाडेर जानैपर्यो, रहरले होइन मायालु — परदेशीहरूका लागि लेखिएका यस्ता अनेक गीत बजाउँदै, गुनगुनाउँदै उनीहरूको यात्रा अघि बढ्छ।
'कतिपय गीत त हाम्रै लागि लेखिएजस्तो लाग्छ,' सन्तोषले मुसुक्क हाँस्दै भने, 'ड्राइभर मान्छे, गीत-संगीत बिनाको जिन्दगी त अत्यासलाग्दो हुन्छ नि!'
बाटोमा नेपाली गीत सुन्नकै लागि भनेर उनी महिनाभरका लागि 'अनलिमिटेड डेटा' लिन्छन्, ताकि चौबीसै घन्टा अनलाइन भए पनि फरक नपरोस्।
'एक ट्रिपमा पाउने पैसाले महिनाभरको डेटा आउँछ,' उनले अगाडि भने, 'गीत-संगीत त बाटो काट्ने र आफ्नो देश सम्झने मेलो भइहाल्यो। त्यसबाहेक यात्रामा नेपालका समाचार पनि खुब सुन्छु। कहिलेकाहीँ हिँड्दाहिँड्दै छोटाछोटा भिडिओ क्लिप खिचेर भ्लग पनि बनाउँछु। त्यसलाई सामाजिक सञ्जालमा अपलोड गर्छु।'
आफ्ना ती भ्लगमा उनी प्राय: साउदीको सडक नियमबारे जानकारी दिन्छन्। कहिले गीत गुनगुनाउँदै गाउँ र घरपरिवार पनि सम्झन्छन्।
सन्तोषले हामीसँगको कुराकानीमा एउटा यस्तो ठाउँबारे बताए, जहाँ पुग्दा नेपालको झझल्को मेटिने गरेको उनको अनुभव छ।
त्यो ठाउँ हो — ताइस।
'यो जेद्दा जाने बाटोमा पर्छ,' उनले फुरूंग पर्दै भने, 'त्यहाँ पुग्दा चिसो हावाले धाप मार्छ। जाडो मौसममा त निकै हरियाली हुन्छ। मौसम र हावापानीले नेपालको झझल्को मेटे पनि सडक देखेर भने थकथकी लागेर आउँछ।'
'त्यहाँको सडक एकदमै चिल्लो र फराकिलो छ,' उनले अगाडि भने, 'नेपालमा पनि त्यस्तै बाटो हुन्थ्यो भने दुर्घटना कति कम हुन्थ्यो होला र हामीजस्तै चालकहरूलाई गाडी हाँक्न कति सुबिस्ता हुन्थ्यो होला भन्ने सम्झेर थकथकी लाग्छ।'
'नेपालमा त्यस्तो बाटो कहिले बन्छ होला है?' आफ्नो मनमा सधैं चलिरहने प्रश्न उनले हामीलाई सोधे।
यसको जबाफ त हामीसँग पनि छैन!
उनले दमामबाट लगभग १५ सय किलोमिटर दुरीमा रहेको मुस्लिमहरूको पवित्र धार्मिक स्थल मदिनाबारे पनि हामीलाई रोचक कुरा बताए। उनका अनुसार त्यहाँ मुस्लिम र गैरमुस्लिमका लागि छुट्टाछुट्टै सडक छ। मदिना हुँदै विभिन्न स्थान जाने गैरमुस्लिमहरूले पहाडको बाटो छिचोल्दै करिब ८० किलोमिटर घुमेर जानुपर्छ।
केही दिनदेखि सन्तोष दमाम-जुबेल रूटमा काम गरिरहेका छन्। यो करिब सय किलोमिटरको बाटो हो। उनी दमामबाट खाली कन्टेनर लिएर जुबेल जान्छन्। त्यहाँ कन्टेनरमा विभिन्न सामान लोड गर्छन् र त्यसलाई जुबेल बन्दरगाह पुर्याएर फर्कन्छन्। ती सामान पानीजहाजमार्फत् भारत, बंगलादेश लगायत दक्षिण एसियाली मुलुकहरूमा पुग्छन्।
'कतिपय सामान त भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल पनि पुग्छन् रे!' उनले उत्साहित हुँदै भने।
'दिनहुँ यसरी खटिँदा कमाइ पनि राम्रै होला नि, होइन?'
हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै उनले भने, 'खोई के भनूँ! हामी ड्राइभरले जति काम गर्न सक्यो, उति पैसा आउने हो। दुःख गर्न सक्नेलाई यहाँ कमाइ राम्रै छ। कामचोर, अल्छी र ठग्नेलाई भने कुनै काम छैन।'
सामान्यतया ट्रेलर चालकको कमाइ ट्रिपअनुसार हुन्छ। जति धेरै ट्रिप ओसार्न सक्यो, कमाइ उति धेरै हुन्छ। प्रायः लामो दुरीमा सामान ओसार्नुपर्ने हुँदा एक ट्रिप भ्याउन औसत २४ घन्टा लाग्छ। यस्तो बेला ओभरटाइमको पैसा दिने चलन छैन।
'हाम्रो कमाइ भनेको ट्रिपअनुसारको भत्ता हो,' उनले भने, 'एकपटक सामान ओसार्दा ठाउँ हेरेर १५० देखि ३५० रियालसम्म भत्ता पाइन्छ। दमामबाट रियाद जाँदा १५० रियाल भत्ता हुन्छ भने जेद्दा जाँदा ३५० रियाल। यसबाहेक नजिकका ठाउँमा एक ट्रिपको ४० रियालसम्म पाइन्छ।'
उनका अनुसार दमामबाट नजिकका ठाउँमा दिनको चार ट्रिपसम्म भ्याउन सकिन्छ। चार ट्रिप ओसार्दा १६० रियालसम्म कमाइ हुन्छ। हरेक दिनको ट्रिप हिसाब गरेर महिना मर्नुभन्दा अगाडि नै कम्पनीले एकमुष्ठ पैसा खातामा जम्मा गरिदिन्छ।
यसरी रातदिन नभनी महिनाभर घोटिएर सन्तोष एक लाख ७० हजार रूपैयाँसम्म कमाउँछन्। त्यसबाट खाने खर्च आफैंले गर्नुपर्छ।
'आफ्नो दुःख र छोराछोरीको भविष्य सम्झेर मुठ्ठी कसेर पैसा बचाउने कोसिस गर्छु,' उनले भने, 'महिनाको जसोतसो एक लाख बचत हुन्छ।'
'वैदेशिक रोजगारीमा आउनु भनेको मेसिनको जिन्दगी बाँच्न तयार हुनु हो। न खाने समय हुन्छ, न सुत्ने। दिनरात दौडिएको दौडियै गर्नुपर्छ। अन्जान बाटोमा रातबिरात हिँड्दा कहिलेकाहीँ त ज्यानै रहला कि नरहला भन्ने हुन्छ। तर परिवारको खुसी र छोराछोरीको भविष्यका लागि मेसिनजस्तै भएर बाँच्नुपरे पनि केही चिन्ता छैन। खाली फर्किने बेला अलि अलि पैसा जोगाउन सकियोस्, छोराछोरीलाई राम्रो ठाउँमा पढाउन सकियोस्, राम्रो खुवाउन, राम्रो लगाउन सकियोस् र उनीहरूलाई राम्रो जिन्दगी दिन सकियोस् भन्ने मात्र मनमा लागिरहन्छ,' सन्तोषले एकै सासमा आफ्नो मनोकांक्षा सुनाए।
शुक्रबार सन्तोषको साप्ताहिक बिदाको दिन हो।
त्यसो त उनी अक्सर बिदै लिँदैनन्। शुक्रबार पनि पाएसम्म ट्रिप खोज्छन् र कुदिहाल्छन्। छुट्टीमा आराम गरेर बस्यो भने घरपरिवारको सम्झनाले बढ्ता सताउने उनको अनुभव छ।
'कोठामा एक्लै धुम्धुम्ती बसेर परिवारलाई सम्झिनुभन्दा गाडी चलाएर कतै गयो भने मन भुल्छ, कमाइ पनि हुन्छ,' उनले भने, 'त्यसैले म त प्रायः बिदा लिन्नँ।'
कुनै शुक्रबार बिदा लिइहाले भने उनी त्यस दिन कोठा सरसफाइ गर्छन्। खानेकुरा लगायत सामग्री किन्न बजार जान्छन्। र, बाँकी समय सामाजिक सञ्जालतिर आँखा डुलाउँछन्। उनले आफ्नो परिवार र आफन्तसँग कुरा गर्ने सामाजिक सञ्जालबाटै हो।
सन्तोषको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। छोरा १७ वर्ष भए भने छोरी १० वर्ष। छोरा गाउँकै एक सरकारी स्कुलमा पढ्दै छन्। छोरीलाई भने निजी स्कुलमा पढाएका छन्।
'कक्षा ६ सम्म छोरा पनि बोर्डिङमै पढ्थ्यो। त्यसपछि त्यहाँ पढ्न मानेन,' उनले भने, 'म रोजगारीका लागि लामो समय इन्डिया बस्दा छोराको पढाइ ढिला भयो। त्यसैले कक्षामा अरूभन्दा ठूलो भएँ, लाज लाग्यो भनेर बोर्डिङ जानै मानेन।'
उनका छोरा वैशाखबाट कक्षा १० पुगेका छन्। छोरी तीन कक्षा पढ्दै छिन्।
'मैले राम्ररी पढ्न-लेख्न पाइनँ। त्यसैले आज यो हाल छ। यस्तै अवस्था छोराछोरीले भोग्नु नपरोस् भनेर आज वैदेशिक रोजगारीमा आएको छु,' उनले भने, 'म यहाँ आएदेखि परिवारले त्यतिबिघ्न दुःख झेल्नुपरेको छैन। बिछोडको पीडा त छ, तर गुजारा चलाउन सजिलो पनि भएको छ।'
'जिन्दगीको सबभन्दा ठूलो आनन्द भनेकै परिवारको खुसी हो। परिवारको आँखामा खुसी चम्किँदा मन जति आनन्दित हुन्छ, त्यति आनन्द अरू केही कुराले दिँदैन। मैले यहाँ अरबको धुप खाँदै मिहिनेत गरेर परिवारले थोरै भए पनि सुख पाएको छ। जिन्दगीमा त्योभन्दा बढ्ता अरू के चाहियो!' सन्तोषले भने।
परिवारको यही खुसी किन्न उनी ११ वर्षको उमेरदेखि मिहिनेत-मजदुरी गर्दैछन्।
उनको बाल्यकाल गरिबी र अभावमै बित्यो। आमा-बुबा दुवै मजदुरी गर्थे। दुवैको कमाइले छ जनाको छाक टार्न हम्मे पर्थ्यो। उनका एक दाजु र दुई दिदी थिए। घरको नाजुक हालतका कारण तीन कक्षा पढ्दै गरेका सन्तोष पढाइ छाडेर कामको खोजीमा भारत पसे।
त्यहाँ उनले एउटा कोठी (घर) मा भाँडा माझ्ने, बच्चा हेर्ने र सरसफाइ गर्ने काम पाए। बिस्तारै खाना पकाउन सिके। त्यसपछि एउटा होटलमा भान्सेको काम गर्न थाले। त्यसैबीच उनी बिहान बिहान कोठीका साहुहरूको गाडी सफा गर्थे। गाडी सफा गर्ने क्रममै चलाउन पनि सिके।
भारतमै रहँदा उनले एउटा जुत्ता कारखानामा पनि काम गरे। टेम्पो चलाए। र, आखिरमा आफ्नो चिनजानको कोठीका साहुहरूको गाडी चलाउन थाले।
त्यसैबीच १७ वर्ष उमेरमा उनको विवाह भयो। श्रीमती पनि घरेलु काम गर्थिन्। श्रीमतीसँगै बस्दा गाउँघर र परिवारको नियास्रो कम भए पनि त्यसरी भविष्य बन्दैन भन्ने सोचेर उनले साउदी जाने निधो गरे।
'परिवार ठूलो हुँदै थियो। उनीहरूको जिम्मेवारीले मलाई सधैं सताउँथ्यो। छोराछोरीले राम्ररी पढ्न पाऊन् भन्ने म चाहन्थेँ। भारतमै ड्राइभर काम गरेर राम्रो भविष्य दिन सकिँदैन भन्ने मैले बुझिसकेको थिएँ। त्यसैले श्रीमती र छोरालाई नेपाल फर्काइदिएँ र आफू यता आएँ,' सन्तोषले भने, 'दिदी साउदीमै भएकाले यहाँको सबै बन्दोबस्त उहाँले नै मिलाइदिनुभयो।'
सन्तोषकी आमा केही वर्षअघि बितिन्। बुबा उनी भारत छँदै बितिसकेका थिए। दाइ छुट्टै घर बनाएर आफ्नो परिवारसँग बस्छन्। सन्तोषको परिवार छुट्टै बस्छ।
पछिल्लो १२ वर्ष साउदीमा घोटिएपछि उनको परिवारको आर्थिक स्थिति केही सुध्रिएको छ। साउदीमा पसिनासँग साटेको पैसाले घरको छानो फेरिएको छ। खरको छाना हटाएर जस्तापाताले छाउँदा घर चिटिक्क देखिएको उनी बताउँछन्।
उनले घरमा सुविधायुक्त ट्वाइलेट, बाथरूम पनि थपेका छन्। गाईवस्तुको गोठ व्यवस्थित भएको छ। बुटवल सहरमा थोरै जमिन पनि जोडेका छन्।
त्योभन्दा ठूलो कुरा त, उनको जिउने तौरतरिका, सिकाइ र ज्ञानको दायरा नै फराकिलो भएको छ। सामान्य लेखपढ गर्न मात्र जान्ने उनी अहिले मोबाइलबाट देश-विदेशका घटनामा चासो राख्छन्। नेपालका राजनीतिक घटनाक्रमबारे अपडेट भएर बस्छन्। अघिल्लोचोटि चुनाव हुँदा उनी मतदान गर्न नेपाल आएका थिएनन्। २०८४ को आमनिर्वाचनमा भने जसरी भए पनि छुट्टी लिएर भोट हाल्न आउने उनको योजना छ।
'परिवारसँग भेटघाट गर्न बेलाबेला बिदा लिएर नेपाल गइरहन्छु। गएको दसैंमा पनि गएको थिएँ। तर चुनावलाई भनेर अहिलेसम्म बिदा लिएको छैन,' उनले भने, '२०८४ को चुनावमा त जसरी भए पनि भोट हाल्न जाने हो।'
भारत र साउदी गरेर जिन्दगीको तीन दशकभन्दा बढी समय परदेशमा बिताइसकेका सन्तोषलाई अझै कति समय यसरी गुजार्नुपर्ने हो भन्ने टुंगो छैन।
स्वदेशमै केही उद्यम गरेर बाँच्न सक्छु भन्ने आँट र पुँजी नबटुलेसम्म साउदीमै खट्ने उनको योजना छ। आफूजस्तै सवारी चालक, सुरक्षा गार्ड र अन्य किसिमको श्रम गर्न आएका थुप्रै नेपाली सँगसँगै भएकाले पनि साउदीमा काम गर्न सजिलो लागेको उनी बताउँछन्।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा साउदीका लागि एक लाख १२ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए। मलेसिया, कतार र युएईपछि नेपालीहरूको चौथो प्रमुख गन्तव्य साउदी नै हो। गएको फागुनमा मात्र १३ हजारभन्दा बढीले साउदीका लागि श्रम स्वीकृति लिए।
'परदेश सबैलाई उस्तै हुँदैन। कसैले एकदमै राम्रो कमाइ गर्छन्, कसैले मध्यम स्तरको। कोही त अलपत्र परेर फर्कनुपर्ने अवस्था पनि छ,' सन्तोषले भने, 'मैले मध्यम स्तरको कमाइ गरेँ। परिवार र बालबच्चा खुसी राख्न सकेको छु। यही सम्झेर चित्त बुझाउँछु।'
'यहाँ आएर सबभन्दा बढी जानेको मिहिनेत गर्न हो। जस्तोसुकै अवस्थामा पनि मान्छेले मिहिनेत गर्न पछि पर्नु हुँदैन रहेछ,' उनले भने।
***
(तपाईंहरू पनि वैदेशिक रोजगारमा जानुभएको छ र आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ भने setopatidebate@gmail.com मा हामीलाई इमेल गर्नुहोस्। हामी मेसेन्जर, भाइबर, ह्वाट्सएप वा तपाईंलाई अनुकूल हुने माध्यमबाट भिडिओ कुराकानी गरेर तपाईंको अन्तर्वार्ता लिनेछौं र यो शृंखलामा प्रकाशन गर्नेछौं। परदेशमा पसिना बगाउँदै देशमा रेमिटेन्स पठाउँदाको तपाईंको अनुभव सुन्नु र अरूलाई सुनाउनु हाम्रो उद्देश्य हो।)
यो पनि पढ्नुहोस्: