रेमिटेन्स ल्याउनेको कथा
सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेका छन्। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ। तिनमा बाध्य भएर बिदेसिनुपर्ने नियति धेरैको छ। उनीहरूकै जीवनको उतारचढाव र परदेशको अनुभव हामी यो शृंखलामा प्रकाशन गर्नेछौं। आज पहिलो अंकमा पाँच वर्षदेखि मकाउको क्यासिनोमा काम गरिरहेका चितवनका गणेश घलानको कथा —
मकाउ पुग्नुअघि उनले क्यासिनो देखेकै थिएनन्।
नेपालका केही तारे होटलमा क्यासिनो छन् भन्ने सुनेका थिए। ती क्यासिनो विदेशी पर्यटक लक्षित हुन्छन् र त्यहाँ जुवा खेलाइन्छ भन्नेसम्म थाहा थियो। तर नियतिले काम गर्न क्यासिनोमै पुर्याउला भन्ने त चितवनका गणेश घलानले कल्पनासम्म गरेका थिएनन्।
हुन त कल्पना गरेजस्तो जीवन कसको पो हुन्छ र!
गणेश अहिले मकाउको एक क्यासिनोमा सुरक्षा गार्डको काम गरिरहेका छन्। उनी सन् २०१९ अक्टोबरमा मकाउ गएका हुन्।
देश छाड्दै गर्दा गणेशको मन कम्ता कुँडिएको थिएन। बेहिसाब दुखेको मनको कुम्लो कसेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएका थिए। यात्रु प्रतिक्षालयमा बोर्डिङ पास लिएर उभिँदा तीन र सात वर्षका दुई छोरा र आमाको अनुहार आँखैभरि झलझली घुमिरहेको थियो।
त्यही बेला घरबाट बारम्बार फोन आइरह्यो। उनीसँग फोन उठाएर बोल्ने शब्दधरि थिएन। कतिपटक त उठाउँदै उठाएनन्। उठाए पनि बोल्न नसकेर व्यस्त छु भन्दै राखिदिए।
त्यस दिन उनीसँगै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान लागेका थुप्रै युवा लाइनमा थिए। मकाउ नै जानेहरू पनि धेरै थिए। उनीहरू कसैसँग गणेश एक शब्द बोल्न सकिरहेका थिएनन्।
उनी चुपचाप उभिए; उभिइरहे।
'त्यति बेला मेरो आँखा घरिघरि आफ्नै हातको हरियो पासपोर्टतिर जान्थ्यो। त्यसपछि म त्यस्तै पासपोर्ट बोकेर वरिपरि उभिएका हातहरूतिर हेर्थेँ। ती सबैलाई हेर्दा र आफैंलाई नियाल्दा मेरो मनमा देशको राजनीतिप्रति घृणा जागेको थियो। देशले आज कुशल नेता र नेतृत्व पाएको भए कोही पनि युवा अरूको देश जानुपर्ने थिएन होला भनेर म मनमनै कुँडिएको थिएँ,' गणेशले हामीसँगको लामो भिडिओ कुराकानीमा भने।
यसरी परिवारसँगको विछोड र देशको अवस्थाप्रति वितृष्णाले भरिएको मन बोकेर उनी परदेशको बाटो लागे।
जहाज जति जति माथि उड्थ्यो, उनको मन उति उति भक्कानिँदै जान्थ्यो।
'जहाजमा उडिरहँदा सपनाजस्तै लागेको थियो,' उनले भने, 'जीवनमै पहिलोपटक परदेशी माटो टेक्दा त मेरो मथिंगल नै हल्लियो। जिम्मेवारीले थिचिएको मन निकै भारी अनुभव भयो। सँगसँगै जिज्ञासा र उत्साह पनि भरपुर थियो।'
उनलाई मकाउ विमानस्थलबाट सरासर त्यहाँको एउटा ठूलो र भव्य क्यासिनोमा लगियो।
गणेशले जीवनमै पहिलोपटक क्यासिनो देखे।
लगभग दुई ठूला फुटबल मैदान जत्रो एउटै भवन। एउटै झ्याल नभएको बन्द कोठा। जहिल्यै झिलिमिली। रात हो कि दिउँसो पत्तै नपाइने!
त्यहाँ पाहुनाहरू आउजाउ गर्न थुप्रै गेट थिए। ती गेटमा कहिलेकाहीँ त विभिन्न देशबाट आएका पर्यटकको दोहोरीलत्ता नै लाग्थ्यो। कति पर्यटक त मकाउ आउनुको मुख्य प्रयोजन नै क्यासिनो भ्रमण गर्नु हुन्थ्यो। उनीहरू दिनरात क्यासिनोमा जुवा खेलेको खेल्यै गर्थे। कोही लाखौं जितेर जान्थे, कोही लाखौं हार्थे। एक रातमै दसौं लाख हार्नेहरूको अनुहारमा पनि पैसा गुमाएको चिन्ता अलिकति पनि देखिन्थेन। हलभरि ठाउँ ठाउँमा जुवाको खाल जमेको हुन्थ्यो र प्रत्येक खालमा रक्सीको खोलो बग्थ्यो।
क्यासिनोभित्रका यस्ता दृश्य देखेर सुरूमा त गणेश चकित खाए।
गाउँमा दस रूपैयाँको बाजी हार्दा पनि खित्रिक्क पर्ने उनी आँखै अगाडि लाखौं लाखको दाउ चलेको देखेर मनमनै सोच्थे — यी मान्छेहरू यही ग्रहका प्राणी हुन् कि कुनै अर्कै ग्रहबाट आएका हुन्! के यिनको ग्रहमा पैसाको कुनै मूल्य छैन!
अझ आफू हिँड्न-डुल्न नसके पनि अरूको सहारामा क्यासिनो छिरेर जुवाको खाल वरिपरि झुमिरहेका अशक्त, वृद्धवृद्धालाई देख्दा त उनी जिल पर्थे।
सोच्थे — यो जुवाको नसा हो, वा पैसाको मात!
गणेशका निम्ति क्यासिनोको सबभन्दा रोचक अनुभव के रह्यो भने — त्यहाँ उनले एउटा होइन, दुइटा होइन, अनेक देशका मान्छे भेटे। संसारमा जति पनि देश छन्, ती सबै देशका कोही न कोही मान्छेसँग परिचय भयो भन्ने उनलाई लाग्छ। नेपालमा हुँदा विदेशीका नाममा अमेरिकी र युरोपेली गोरा मात्र देखेका गणेश संसारका कुना-कुनाबाट जुवा खेल्न आएका फरक फरक अनुहार र तिनका फरक फरक आनीबानी देखेर रोमाञ्चित भए।
'जुनसुकै देशका मान्छे होस्, मनको भाव एकै हुँदो रहेछ,' उनले भने, 'जित्दाको उत्साह र हार्दाको उराठ एकै हुँदो रहेछ। तर उनीहरूको उराठ हामीजस्तो कयौं दिनसम्म बाँकी बस्ने होइन। हारेपछि एकैछिन उराठ भयो, अनि त फेरि रक्सीको गिलास समातेर झुम्न थालिहाल्यो।'
क्यासिनोमा गणेशको काम सेक्युरिटीको हो। उनी क्यासिनो फ्लोरभित्र पेट्रोलिङ (गस्ती) को ड्युटी गर्छन्। दिनैपिच्छे फरक फरक समयमा गस्ती गर्न जानुपर्छ। क्यासिनोको चिप्स र पैसा साट्न जाँदा पनि सेक्युरिटी गार्डहरूलाई अनिवार्य लगिन्छ। जुवा खेलेर टेबलमा जम्मा भएको पैसाको बाकस तुरून्तका तुरून्त अर्को कोठामा लगेर राख्नुपर्छ। यी काममा चाहिँ अलि बढी नै सतर्क हुनुपर्ने उनी बताउँछन्।
'मकाउ क्यासिनोको कारोबार हङकङ डलरमा हुन्छ। एउटा चिप्सको मूल्य न्यूनतम २५ देखि ५ लाख डलरसम्म हुने रहेछ,' उनले भने, 'जुवा खेल्न आएका पर्यटक आ-आफ्नो देशको पैसा लिएर आएका हुन्छन्। उनीहरूको पैसालाई सटही केन्द्र गएर हङकङ डलरमा साट्नुपर्छ। पैसा ओसारपसार गर्दा सेक्युरिटी गार्डको भूमिका महत्त्वपूर्ण हुन्छ। यो ड्युटी चाहिँ जोखिमपूर्ण र संवेदनशील मानिन्छ।'
यति मात्र होइन, रातको समय ड्युटीमा खटिँदा कहिलेकाहीँ क्यासिनोभित्र अनधिकृत पैसा साट्ने मान्छे फेला पर्छन्। उनीहरूलाई समातेर कारागारजस्तो कोठामा लगेर राखिन्छ।
'मलाई क्यासिनोको परिवेशसँग घुलमिल हुन धेरै गाह्रो भयो। सुरू सुरूमा त क्यासिनोभित्र पस्नासाथ कुनै जात्रा, महोत्सव वा पर्वमा छिरेजस्तो भान हुन्थ्यो,' गणेशले भने, 'चौबीसै घन्टा एकनासको रौनक र उमंग देखेर केही महिना त दिक्कै लाग्यो। होम-सिक नै भएँ। घरपरिवार सम्झिएर पूरै विरक्तिएको थिएँ।'
परिवार सम्झेर विरक्तिएका घडीमा उनी एक्लै टोलाएर बस्थे। बेलाबेला झस्किन्थे। अनि, जबर्जस्ती आफूलाई काममा भुलाउने प्रयास गर्थे।
बिस्तारै उनी मकाउ सहर र क्यासिनोसँग घुलमिल हुँदै गए। जुवा खालको हल्लाखल्ला र वरिपरि झुम्मिएका मान्छेसँग भिज्दै गए। खासगरी जुनसुकै काम र त्यो काम गर्ने मान्छेलाई दिइने प्राथमिकता र सम्मानले उनलाई सबभन्दा बढी ऊर्जा दियो।
गणेशका अनुसार मकाउ सहरको सुरक्षा व्यवस्था निकै राम्रो छ। रातको समय पनि पैसा र चिप्स बोकेर निर्धक्क हिँड्न सकिन्छ। यसरी पैसा र चिप्स ओसारपसार गर्दा सतर्क हुनुपरे पनि कहिल्यै डराउनु नपरेको उनी बताउँछन्।
गणेशको ड्युटी दैनिक ८ घन्टाको हुन्छ। उनीहरू बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा काम गर्छन्। बिहानको सिफ्ट ८ बजेदेखि साँझ ४ बजेसम्म हुन्छ। दिउँसोको सिफ्ट ४ देखि मध्यरात १२ र रातिको सिफ्ट मध्यरात १२ देखि बिहान ८ बजेसम्म हुन्छ।
'सुरूका दिन मलाई दिउँसोको सिफ्ट ड्युटी गर्न एकदमै डर लाग्थ्यो। काम सकेर कोठा फर्कँदा आधा रात बितिसकेको हुन्थ्यो। रात-बिरात केही बित्यास पर्ने हो कि भनेर मन आत्तिरहन्थ्यो,' उनले भने, 'तर आधा रातमा पनि मकाउ सहर उस्तै गुल्जार रहन्छ। मैले यहाँ कुनै पनि दिन समस्या भोग्नुपरेको छैन।'
हामीसँग पहिलोपटक कुरा गर्दा गणेश रातिको ड्युटीमा थिए। दिनभरि अपार्टमेन्ट गएर सुत्थे। रातको ड्युटी परेका बेला उनी एकदमै व्यस्त हुँदा रहेछन्। उनीसँग भिडिओ कुराकानी निम्ति समय मिलाउन हामीलाई निकै गाह्रो परेको थियो। ड्युटी बीचको ब्रेकमा बेला बेला कुरा हुन्थ्यो। कुराकानी नसकिँदै उनी भन्थे, 'अब मलाई ड्युटीमा जानुपर्ने बेला भयो, बाँकी कुरा छुट्टीमा गरौं है।'
यसरी नै उनको फुर्सत मिलाएर टुक्रा टुक्रा कुराकानी गर्दै हामीले यो स्टोरी पूरा गरेका हौं।
यसमा उनले मकाउ सहरदेखि आफ्नो काम, कमाइ र घरपरिवारबारे लामो व्याख्या गरेका छन्।
मकाउ कहिल्यै निदाउँदैन।
त्यहाँका ठुल्ठूला डिपार्टमेन्ट स्टोरदेखि फुटपाथ बजार चौबीसै घन्टा चल्छन्। मध्यरात पनि सडक झलमल्ल हुन्छ। त्यसमाथि जताततै सिसिटिभीको निगरानी हुँदा कहीँ कतै छिसिक्क भयो भने प्रहरी भ्यान तुरून्तै आइपुग्छ।
यहाँ सार्वजनिक गाडीको दु:ख छैन। जुनसुकै बेला जहाँसुकै जान गाडी पाइन्छ। यति हुँदाहुँदै क्यासिनोले आफ्ना कर्मचारीलाई ल्याउन र लैजान विभिन्न ठाउँमा बस स्टेसन तोकेको छ। कर्मचारीहरूले आफू बस्ने ठाउँबाट पायक पर्ने स्टेसनमा गएर बस कुर्नुपर्छ। गणेश बस्ने अपार्टमेन्टबाट बस स्टेसन पुग्न १० मिनेट हिँड्नुपर्छ। त्यहाँबाट बस चढेर २० देखि २२ मिनेटभित्र उनी क्यासिनो पुग्छन्।
उनी काम गर्ने क्यासिनोमा २१ वर्ष नाघेका व्यक्तिले मात्र प्रवेश पाउँछन्। मकाउकै नागरिकलाई भने क्यासिनोमा जुवा खेल्ने छुट छैन। बढीजसो आउने चीन, हङकङ, मलेसिया, जापान, कोरिया र केही युरोपेली मुलुकका नागरिक हुन्।
यहाँ जुवा खेल्नेहरूका लागि दुइटा गेमिङ फ्लोर छन् — भिआइपी फ्लोर र मास फ्लोर। भिआइपी फ्लोरमा एकचोटिमा ३० लाख हङकङ डलर (पाँच करोडभन्दा बढी नेपाली रूपैयाँ) सम्म बाजी राखेको गणेशले देखेका छन्। मास फ्लोरमा भने १५ लाख हङकङ डलरसम्मको बाजी देखेको उनी बताउँछन्।
'यहाँको बाजी देखेर त मनै सिरिंग हुन्छ। मैले महिनामा कमाउनेभन्दा कयौं गुणा बढी बाजी एकैचोटि पर्छ,' महिनाको १४ हजार हङकङ डलर (दुई लाखभन्दा बढी रूपैयाँ) कमाउने गणेशले मुसुमुसु हाँस्दै भने, 'एकचोटि मैले यसै हिसाब गरेको, मास फ्लोरमा हुने बाजी बराबर रकम कमाउन मलाई १३ वर्ष लाग्ने रहेछ!'
'भिआइपी फ्लोरमा हुने बाजी बराबर कमाउन त २६ वर्ष नै खट्नुपर्ने रहेछ,' उनी यति भनेर मज्जाले हाँसे।
हाँसो थामिएपछि अगाडि भने, 'नेपालमा हुँदा भट्टीतिर रक्सीको खोलो बग्छ भन्ने सुनेको थिएँ। यहाँको क्यासिनोमा त रक्सीको मात्र होइन, पैसाको पनि खोलै बग्ने रहेछ। मान्छेहरू एक-एकछिनमा दसौं लाख बाजी थाप्छन्। दसौं लाखको हारजित हुन्छ। मान्छेमा जुवाको नसा पनि यति धेरै हुने रहेछ भन्ने मैले यहीँ आएर चाल पाएँ।'
आफ्नो आठ घन्टे ड्युटीभरि लाखौं लाखको हरहिसाब देख्ने गणेशलाई बेला बेला आफ्नो महिनावारी तलब सम्झेर मन खिस्रिक हुन्छ। तर कुनै चित्तदुखाइ छैन। उनी आफ्नो काम र तलब-सुविधाबाट सन्तुष्ट छन्। खाना, अपार्टमेन्ट भाडा र परिवारलाई पठाउने रकम कटाएर पनि थोरै थोरै बचत भइरहेको उनी बताउँछन्।
उनका अनुसार मकाउमा स्थानीय श्रमिक र आप्रवासी श्रमिकबीच काम र तलब स्केलमा भेदभाव छैन। लैंगिक अल्पसंख्यक समुदायका मानिसलाई पनि समान व्यवहार गरिन्छ।
काम गरिरहँदा अवस्था हेरेर प्रत्येक डेढ घन्टामा आराम लिन पाइन्छ। त्यो आरामको समयबाहेक ड्युटी बेला मोबाइल चलाउन र आफ्नो व्यक्तिगत काममा अल्झिन निषेध छ। ड्युटीमा कसैले मोबाइल चलाइरहेको छ कि छैन वा अरू नै काममा अल्झेको छ कि भनेर माथिल्लो तहबाट नियमित निगरानी भइरहेको हुन्छ। ड्युटी समयमा खल्तीबाट मोबाइल निकाले र चलाए वा अन्य गल्ती गरे लिखित स्पष्टीकरण दिनुपर्छ।
गणेशले हामीसँगको कुराकानीमा आफ्नो बसाइबारे पनि सुनाए।
उनी मकाउ टापुमै बस्छन्। त्यहाँको जीवनशैली खर्चिलो छ। कोठा भाडा महँगो पर्छ। न्यूनतम ६ हजार हङकङ डलर अर्थात् एक लाख हाराहारी नेपाली रूपैयाँ कोठा भाडामै खर्चिनुपर्छ। भाडा महँगो भएकैले गणेश दुई जना साथीसँग मिलेर बस्छन्। खर्च पनि मिलेरै गर्छन्।
'खानेकुरा भने खासै महँगो छैन। लत्ताकपडा सस्तादेखि महँगा सबै किसिमका पाइन्छन्,' उनले भने, 'यहाँको बजारमा प्राय: सबै सामानको निश्चित मूल्य तोकिएको हुन्छ। त्यसैले किनमेल गर्दा ठगिने जोखिम एकदमै कम हुन्छ।'
गणेशले साताको एक दिन बिदा पाउँछन्। बिदाको दिन उनी साथीहरूसँग रमाइलो गर्न कहिले समुद्री किनार पुग्छन्, कहिले सहरका विभिन्न ठाउँमा घुमफिर गर्न हिँड्छन्। त्यहाँ घुम्नलाई ताइपा, कोलोन लगायतका स-साना टापु छन्। केही धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थल पनि छन्।
मकाउको हावापानी नेपालसँग मिल्दोजुल्दो छ। समुद्री किनार, केही साना थुम्काथुम्की पहाडबाहेक घुमफिरका लागि प्राकृतिक दृश्य त्यति धेरै भेटिँदैनन्। साथीहरूसँग टापु वा समुद्री किनार जाँदा उनीहरू फास्टफुड र फलफूलहरू बोकेर जान्छन्।
कहिलेकाहीँ बिदाको दिन वा कुनै अवसर पारेर साथीहरूसँगै कोठामा भेटघाट पनि हुन्छ। यसरी भेटघाट गर्दा उनीहरू नेपालको सम्झना गर्छन् र मिठा मिठा परिकार पकाएर खान्छन्। नेपाली परिकारका अतिरिक्त अचेल उनीहरू मकाउका लोकप्रिय खानेकुरा बनाउन पनि सिपालु भइसकेका छन्। पोर्चुगिज एग टार्ट, एग रोल, सिफुड, राइस, प्राउन, चाउमिन, पेकिङ रोस्ट डक लगायत त्यहाँका विशेष परिकार हुन्।
'साथीभाइसँग जमघट गर्दा हामी बार्बिक्यू पार्टी पनि गर्छौं। रक्सी खानेहरूलाई त विशेष रमाइलो हुन्छ,' उनले भने, 'यहाँ रक्सी नेपालमा जस्तो महँगो पर्दैन। नेपालमा नौ-दस हजार रूपैयाँ पर्ने ब्रान्डेड रक्सी पनि तीन-चार हजारमै पाइन्छ। यसले धेरैको रोजाइमा ब्रान्डेड रक्सी नै पर्छ। म चाहिँ धूमपान, मद्यपान गर्दिनँ। त्यसो हुँदा साथीहरूसँग भेटघाट र कुराकानीमै मलाई रमाइलो हुन्छ।'
नेपाली चाडबाडको समयमा पनि मकाउमा भएका नेपालीहरू एकैठाउँ भेला हुने चलन छ। त्यस्तो बेला उनीहरू सँगै चाड मनाउँछन्। सुखदुःख साट्छन्, अनि रमाइलो गर्छन्। यसले घरपरिवारबाट टाढा भए पनि परिवारसँगै बसेर चाड मनाउँदाको झल्को मेटिने गणेश बताउँछन्।
गैरआवासीय नेपाली संघ मकाउका अनुसार त्यहाँ तीन हजारभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्। विशेषगरी क्यासिनोमा सेक्युरिटी गार्ड, जेल गार्ड, हाउस किपिङ लगायतमा नेपालीहरू काम गर्छन्। सप्लायर्स कम्पनी, लाउन्ड्री, सवारी चालक लगायतमा पनि केही नेपाली पुगेका छन्। आफ्नो काम स्वतन्त्र भएर गर्न पाइने हुँदा मकाउमा नेपालीहरूको आकर्षण बढेको उनको भनाइ छ।
कोभिड महामारीमा भने रोजगारदाताले धेरै श्रमिक कटौती गरेका थिए। नेपालीहरू पनि थुप्रै कटौतीमा परे। त्यति बेला रोजगारी गुमाएका कतिपय नेपाली काम पाएर फेरि त्यहाँ पुगिसकेका छन्।
गणेशका अनुसार मकाउमा सिधै कम्पनीबाट नियुक्तिपत्र लिएर जाँदा महिनाको दुई लाख रूपैयाँभन्दा बढी कमाइ हुन्छ भने म्यानपावर सप्लायर्स कम्पनीमार्फत् गए डेढ लाख हाराहारी कमाइ हुन्छ।
हामीले गणेशसँग मकाउ जानुअघिको अवस्थाबारे पनि कुराकानी गर्यौं।
उनले मकाउ जानुअघि केही साथीहरूसँग मिलेर चितवनमा एउटा निजी विद्यालय चलाएका थिए। त्यहीँ पढाउँथे पनि।
सुरूमा त्यो विद्यालय प्राथमिक तहसम्म मात्रै थियो। पछि विद्यार्थी बढ्दै गए। विद्यालय विस्तारका लागि अभिभावकहरूबाट पनि माग आउन थाल्यो। उनीहरूले माध्यामिक तहसम्म कक्षा सञ्चालन गर्न थाले।
विद्यालय चलाउने सबै साझेदारको आर्थिक स्तर मध्यम खालको थियो। पढाएर आएको मासिक शुल्कले घर खर्च चलाउनुपर्थ्यो। भौतिक पूर्वाधार निर्माण र व्यवस्थापनका काममा सधैं घरबाटै पैसा हाल्नुपर्ने अवस्था आयो। यसले उनी र उनका साथीहरूलाई आर्थिक संकटले च्याप्दै लग्यो।
त्यसपछि केही साथीहरूले वैकल्पिक क्षेत्रमा लगानी गर्न थाले र बढी समय त्यतै दिन थाले। यसले स्कुलको पठनपाठन र व्यवसायमा प्रत्यक्ष असर पर्यो।
आर्थिक संकट टार्न स्कुलमा नयाँ साझेदार थपिए। बिस्तारै मनमुटाव बढ्दै गयो। स्वामित्वको विषयमा कुरा मिलेन। पछि त्यो विद्यालय अरूलाई नै बिक्री गरियो।
विद्यालय बेचे पनि गणेशले शिक्षण पेसालाई निरन्तरता दिए।
त्यो बेला उनी दुइटा कक्षा मात्र पढाउँथे। मासिक १२ हजार रूपैयाँ कमाइ थियो। पछि अर्को विद्यालयमा पनि जोडिए र पूर्णकालीन शिक्षणमा लागे। पूर्णकालीन पढाउँदा उनको मासिक कमाइ ३५ हजार रूपैयाँ थियो। तर तलब प्रत्येक तीन–तीन महिनामा हुने त्रैमासिक परीक्षा केन्द्रित भएर आउँथ्यो।
'शिक्षण पेसासँगै मैले आफ्नो पढाइ पनि अघि बढाउँदै गएँ,' गणेशले भने, 'बिहानदेखि साँझसम्म खट्दा थकित हुन्थेँ। पारिश्रमिकले घरव्यवहार चलाउन धौ धौ थियो।'
सन् २०१४ मा उनले समाजशास्त्रमा स्नातकोत्तर पूरा गरे। त्यसपछि सरकारी शिक्षक बन्ने सोचले शिक्षा संकायमा स्नातक अध्ययन सुरू गरे।
'आफूले जानेको ज्ञान, अनुभव, दक्षता सबै यसैमा खर्चिने सोचले पुन: अध्ययन सुरू गरेको थिएँ,' उनले भने, 'तर सोचेजस्तो भएन।'
उनले शिक्षामा स्नातक सकेर शिक्षक लाइसेन्स लिने तयारी गरिरहँदा जापान पढ्न जाने कुरा आयो। एक जना परिचित दाइले चलाएको एउटा कन्सल्टेन्सीले जापानमा अध्ययन गर्न पठाउने रहेछ। त्यहाँ एउटा विश्वविद्यालयमा अंग्रेजी भाषामै पढ्न पाइन्छ भन्ने उनले सुने। त्यसपछि गणेशको ध्यान जापानतिर तानियो। उनी जापानको क्योटो युनिभर्सिटीमा स्नातकोत्तर गर्न जाने तयारीमा लागे।
उनले आवेदन दिए। नाम पनि निस्कियो। तर त्यहाँ जान साढे १४ लाख रूपैयाँ लाग्ने भनियो।
त्यो समय पैसाको अभाव झेलिरहेका गणेशलाई बरू राम्रो कामको अवसर पाए कामदार भिसामा जाने सोच आयो। त्यही बेला उनले मकाउमा सुरक्षा गार्डको कमाइ राम्रो हुन्छ भन्ने थाहा पाए। साथीहरूले त्यहाँको कामको प्रकृति र सुरक्षा व्यवस्था सुनाउँदा उनलाई ठिकै लाग्यो।
मकाउले सुरू सुरूमा क्यासिनोको सुरक्षाका लागि पूर्वसैनिक, प्रहरी तथा खेलाडी मात्र लैजान्थ्यो। पछि सामाजिक कार्यमा सक्रिय व्यक्तिहरूलाई पनि अनुभवका आधारमा लैजान थाल्यो। यसबारे थाहा पाउनेबित्तिकै गणेशले काठमाडौंस्थित एक म्यानपावर कम्पनीमा आफ्ना कागजपत्र छाडे।
केही समयपछि उनलाई अन्तर्वार्तामा बोलाइयो।
उनी मकाउको क्यासिनोमा काम गर्न छनौट भए। एक तालिम केन्द्रबाट सुरक्षासम्बन्धी तालिम पनि लिए।
यहाँनिर आएपछि गणेशले आफ्नो जापान सपनालाई सिरानीमुनि थन्क्याए र क्यासिनो सुरक्षा गार्डका रूपमा मकाउ उडे।
उनी मकाउ गएको झन्डै पाँच वर्ष बितिसकेको छ। यसबीच गत तिहारमा एकचोटि मात्र नेपाल फर्किएका छन्। छोटो छुट्टी लिएर आएका उनी परिवारसँग भेटघाट र घुमघाम गरेर फर्किएका थिए।
गणेश छ सन्तानमध्ये तेस्रो हुन्। जेठा दाइ छुट्टै बस्छन्। एक दिदी र बहिनीको बिहे भइसकेको छ। अहिले पनि उनीसँग संयुक्त परिवारको जिम्मेवारी छ। आमाबुबा दुई भाइबुहारी, उनकी श्रीमती र बच्चाहरूसँग चितवनमै बस्छन्। भाइहरू पनि त्यहीँ पसल चलाउँछन्। उनकी श्रीमती शिक्षिका हुन्। उनी निजी विद्यालयमा पठाउँछिन्। उनको कान्छो छोरा दुई कक्षामा र जेठो छोरा सात कक्षामा पढ्छन्।
लगातार पाँच वर्षदेखि विदेशमा बसेकाले पछिल्लो समय उनलाई आमाले घर फर्किन तारन्तार दबाब दिइरहेकी छन्। 'अब फर्की छोरा, यहीँ केही गरेर जीवन गुजारौंला' भनेर सम्झाइरहेकी छन्। श्रीमती पनि त्यही भन्छिन्।
'तपाईंको विचार चाहिँ के छ त?'
हाम्रो यो प्रश्नमा गणेशले भने, 'म पनि पाँच वर्ष काम गरेर फर्कने सोचमा थिएँ। तर पाँच वर्षमा फर्किहाल्ने अवस्था बनेन।'
'अहिलेको अवस्थामा नेपाल फर्केर केही लगानी गर्ने र दीर्घकालीन रूपमा परिवारसँगै बस्ने अवस्था म देख्दिनँ,' उनले अगाडि भने, 'म सायद अझै केही वर्ष बस्छु।'
गणेशलाई अर्को चिन्ता पनि छ — पाँच वर्ष मकाउमा खट्दा पनि घरको आर्थिक अवस्था बलियो भइसकेको छैन। त्यसैले आर्थिक पाटो सुल्झाउन अझै केही समय खट्ने उनको योजना छ।
'अहिलेसम्मको बसाइ निर्वाहमुखी मात्रै भइरहेको छ। एक दशकभन्दा बढी समय नेपालमै बसेर काम गर्दा पनि आर्थिक समस्याले च्यापेर विदेशी भूमिमा काम गर्न आउनुपर्ने बाध्यता हाम्रो विडम्बना हो,' उनले भने।
यसबीच मकाउमा कमाएको पैसाबाट गणेशले घरको ऋण तिरे। केही जग्गा पनि जोडे। अब नेपालमै केही गर्ने आँट र पुँजी बोकेर फर्कन चाहन्छन्। भन्छन्, 'यहाँ काम गरेर आर्थिक अवस्थामा केही सुधार होला, आफ्नो व्यवहार मिलाउन सकिएला, तर परिवारबिनाको एक्लो परदेशी जिन्दगी पक्कै कुण्ठा र तृष्णाले भरिएको हुन्छ। यो मेरो व्यक्तिगत भोगाइ हो।'
अहिले प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत् भिडिओमै कुराकानी गर्ने सुविधा पाएर उनलाई केही सन्चो भएको छ। गणेश हरेक दिन आफ्नो परिवारसँग भिडिओ कुराकानी गर्छन्। अनुहार हेरी हेरी कुरा गर्न पाउँदा न्यास्रो मेटिन्छ। मकाउको समय नेपालभन्दा २ घन्टा २५ मिनेट छिटो छ। समयको अन्तरले परिवारसँग कुरा गर्न अनुकूल मिलाउनुपर्छ।
'भौतिक रूपमा परिवारबाट टाढा भए पनि डिजिटल प्रविधिले भिडिओमा अनुहार हेर्दै कुरा गर्न पाएको छु,' गणेशले भने, 'यसरी कुरा गर्दा पनि सँगै रहेको अनुभूति हुन्छ।'
'एकदिन मात्र घर कुरा गर्न पाइनँ भने म एक्लो महसुस गर्छु,' उनले अगाडि भने, 'मनमा निराशा छाउँछ।'
***
(तपाईंहरू पनि वैदेशिक रोजगारमा जानुभएको छ र आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ भने setopatidebate@gmail.com मा हामीलाई इमेल गर्नुहोस्। हामी मेसेन्जर, भाइबर, ह्वाट्सएप वा तपाईंलाई अनुकूल हुने माध्यमबाट भिडिओ कुराकानी गरेर तपाईंको अन्तर्वार्ता लिनेछौं र यो शृंखलामा प्रकाशन गर्नेछौं। परदेशमा पसिना बगाउँदै देशमा रेमिटेन्स पठाउँदाको तपाईंको अनुभव सुन्नु र अरूलाई सुनाउनु हाम्रो उद्देश्य हो।)