सम्पादकीय नोटः कर्णालीवासीलाई लेख्न प्रेरित गर्ने उद्देश्यले सुरू 'कर्णाली लेख्छ' अभियानमार्फत् आएको लेखः
कर्णालीबारे बाजेबराजुदेखि छोरानातिका पालासम्म सुनिँदै आएको छ- कर्णाली विकट र अत्यन्तै दुर्गम ठाउँ हो। त्यहाँ जन्मनु नरक यात्रा सरह हो। खान, लाउन र बस्न कठिन छ। मान्छेहरू बोल्न जान्दैनन्। विकास के हो थाहा छैन। बिरामी भएर मृत्युशैय्यामा छटपटिँदा समेत अस्पताल जाँदैनन्। धामीझाँक्रीमा विश्वास गर्छन्। फोहोरी छन्। सँगै बस्दा गन्हाउँछन्। अधिकांश जनता अशिक्षित छन्। सँधै खाद्यान्न अभाव हुन्छ।
यस्तै, यस्तै...।
पुस्तौंपुस्ताले सुन्दै-देख्दै-भोग्दै आएको कर्णालीको दृश्य अब पनि धेरै पुस्ताले सुन्ने-देख्ने-भोग्ने अवस्था छ।
कर्णाली पछि परेको छ भन्ने जान्दाजान्दै यहाँ विकासका पहल हुँदैनन्। भएकाहरूको पनि तारतम्मे मिल्दैन वा के भएर हो, प्रभावकारी देखिएको छैन। भनेका बेला औषधि-उपचार गर्ने ठाउँ छैन। राम्रो शिक्षा दिने शिक्षालय छैनन्। बेरोजगारीको भयावह स्थिति छ। राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेतृत्व छैन। उत्पादन छैन। भएकाको बजार छैन। प्राकृतिक श्रोतसाधन र जडिबुटीका साथै पर्यटकीय क्षेत्रको सदुपयोग हुन सकेको छैन।
मानव विकास प्रतिवेदनअनुसार सन् २०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुकको सबभन्दा पछाडि परेको क्षेत्र भनिएको छ। यहाँका ५५ प्रतिशत बढी वयस्क जनसंख्या साक्षर छैन। महिला साक्षरता झनै न्यून छ। पाँच वर्ष मुनिका आधाभन्दा बढी बालबालिका कुपोषणका सिकार छन्। झन्डै आधा जनसंख्याको जिविका सुरक्षित छैन। जम्मा ५० वर्ष पनि बाँच्न असमर्थ जनसंख्या छ।
सरकारले स्कुल खोलिदिएको छ। एकाधबाहेक अन्यमा पढाइ हुँदैन। एउटा स्कुलको ढोकामा विद्यार्थीहरूले लेखेको देखेको थिएँ- हाम्रो स्कुलका सरहरू स्कुल आउँदैनन्। आए पनि पढाउँदैनन्। पढाए पनि शैक्षिक सामग्रीको प्रयोग गर्दैनन्। गरे पनि समय दिएर गर्दैनन्।
जिम्मेवार व्यक्तिले समेत बेवास्ता गर्दा आजको एक्काइसौं शताब्दीमा पनि यहाँ अज्ञानताको भयावह स्थिति छ। काम गर्न योग्यता र अवसर नपुगकेकै कारण खाडी मुलुक र भारतमा यहाँका कलिलादेखि पाका उमेरसम्मका मान्छे थुप्रिएका छन्। उनीहरू कुल्ली, दरबानी, ज्यामी बनेरै आफ्ना हातखुट्टा खियाइरहेका छन्।
एकातिर मुलुकमा मेट्रो रेल विकासको कुरा उठिरहेको छ। अर्कोतिर यही देशको एक विशाल भाग कर्णालीमा आधार सडक समेत छैन। भर्खरै विकास नामको चराले पखेटा हाल्न खोजेको त छ। तर यही नाममा डोजर आतंकले आफ्ना पञ्जा जकडाएको छ। डाँडाकाँडा र उब्जाउ खेतबारी यसको शिकार भएका छन्। डोजरले समृद्धि ल्याउँदैन भन्ने कसले बुझाओस्।
कर्णालीको जीवनस्तर सुधार्न, आर्थिक समृद्धिमा लैजान, यहाँको दुर्दशा र गरिबी घटाउन भन्दै २०६९ सालमै कर्णाली विकास आयोग गठन भएको थियो। तीव्र र दीगो विकास गर्ने नाममा बनेको आयोग राजनीतिक भर्ती केन्द्र मात्र बन्यो। पदाधिकारीहरूले आफूनिकटलाई रोजगारी दिने कामबाहेक समग्रमा देखिने कुनै काम गरेको देखिएन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले पनि प्रभावकारी सेवा दिन सकेको छैन। राजनीतिक दलदलमा फसेको छ। करार कर्मचारी भर्ना नाममा होस् वा विद्यार्थीको प्रवेश परीक्षा सन्दर्भमा वा स्वास्थ्य उपचार बन्दोवस्ती अवस्था नै किन नहोस्, हिजो कल्पना गरे जस्तो छैन।
यस्ता समस्याहरूको बादल कर्णालीको आकाश भरिनै मडारिएको छ।
हिजो केन्द्रीकृत सरकारले हामीलाई बेवास्ता गरेकै कारण हाम्रो विकास भएन भन्यौं। देश संघीयतामा गएसँगै हाम्रै घरआँगनमा सरकार आएको छ। हामीले प्रदेश सरकार पाएका छौं। स्थानीय सरकार पाएका छौं। हिजोको राणा, पञ्चायत, राजतन्त्र र त्यसपछिका केन्द्रिकृत सरकारले हेरेन भन्ने आरोप लगाएका थियौं। आज त्यो अवस्था रहेन।
तर यी सरकार हाम्रो आँखै अगाडि घुमिरहेको दुई वर्ष पुग्न लाग्दा पनि सामान्य रोगव्याधले मृत्युशैयामा छट्पटिएका दृश्य पनि आँखाबाट हटेका छैनन्। स्वास्थ्य संस्थामा कर्मचारी र उपकरण अभाव त छँदैछ। नि:शुल्क वितरण हुने औषधि समेत पाउन सकिन्न।
'सुखी नेपाली, समृद्ध नेपाल' नारा हुनेखाने वर्ग र केही वर्तमान जनप्रतिनिधिमा मात्रै लागू देखिन्छ। जनता भने जहाँ थिए त्यहीँ छन्। जनताले सडक, खानेपानी, सिँचाइ, विद्युत जस्ता आधारभूत सेवासुविधा पाउन सकेका छैनन्।
भौगोलिक कठिनाइ र संक्रमणकालको दोष देखाएर विकास हुन नसकेको आरोप आज पनि लगाइन्छ। यस्तो हुँदो हो भने विश्वका मरूभूमि र डाँडाकाडाले ढाकेका देश, अणुबम र आतंकवादबाट क्षतविक्षत देशहरूले कसरी विकास भेटे होलान्?
कर्णाली स्रोत अभावका कारण हैन, विशेषता अनुरुप विकास परिकल्पना नभएर पिछडिएको हो। स्रोतसाधन व्यवस्थापन र भरपूर सदुपयोग गर्न नसकेर हो।
कर्णालीको विकास अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ हुनुपर्छ। अहिलेसम्म कर्णालीको विकास तत्कालीन आवश्यकतामा केन्द्रित छ। अब विकल्प खोज्न जरुरी छ। कर्णाली विकासका लागि आवश्यक सिपमूलक दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ। राजनीतिक परिवर्तनको अनुभूति गराउन कर्णालीका जनतालाई आर्थिक तथा सामाजिक रूपमा रुपान्तरण गर्न जरुरी छ। ठूला राजमार्ग, जलविद्युत परियोजना, पर्यटन विकास, ठूलो मात्रामा कृषि तथा जडिबुटीको उत्पादन एवम् बजारीकरण कर्णालीको आवश्यकता हो।
इतिहास हेर्ने हो भने कर्णाली सभ्यताको धनी मानिन्छ। बिक्रम सम्वत् १८४६ पूर्व आत्मनिर्भर र आत्मविश्वासले भरिएको थियो कर्णाली।
आखिर के कारणले इतिहासको त्यो विरासत गुम्यो? कर्णाली कसरी जर्जर अवस्थामा आइपुग्यो?
यी समस्याका आधार र कारण खोजेर समाधानतिर लाग्ने हो भने कर्णालीका 'दर्दनाक' अनुभव एकादेशको कथा बन्थे। नभए भौतिक, पूर्वाधार तथा मान्छेहरूको चेतनास्तर विकास हेर्दा अझै धेरै वर्ष कर्णाली 'पिछडिएकै' उपमा भिरेर बस्नेछ।