सम्पादकीय नोटः कर्णालीवासीलाई लेख्न प्रेरित गर्ने उद्देश्यले सुरू 'कर्णाली लेख्छ' अभियानमार्फत् आएको लेखः
तिहार नजिकिँदै गरेको बेला। हिउँदे चिसो सुरू हुँदै गरेको एउटा न्यानो बिहानी।
वीरेन्द्रनगर बसपार्क। वीरेन्द्रनगर अर्थात् कर्णाली प्रदेशको राजधानी। बसपार्क बनिसक्नुपर्ने समय घर्किसक्दा समेत काम पूरा भएको छैन। मंगलगढी चोक नै बसपार्क बनेको छ। अव्यवस्थित सवारीसाधन व्यवस्थित गर्न ट्राफिक र प्रहरी खटिएका छन्। गाडीका हर्न फरक-फरक सूरताल वा बेतालमा टाँटाँटिँटीँ गर्दैछन्। त्यही ताल वा बेतालमा मान्छे चलमलाइरहेका छन्।
कोही दिदीबहिनीबाट तिहारको टीका थाप्न हतार भए जस्ता। कोही दाजुभाइका निधार रंगाउन आत्तिएका जस्ता अनुहार।
प्रदेश राजधानी भएर के गर्नु! यहाँको अस्तव्यस्त बसपार्कमा यात्रुले निकै सास्ती खेप्दै आएका छन्।
यसपटक तिहार मनाउनु हुन्थेन। छुट्टीमा कतै जाऊँ भन्ने लागेको थियो। तीन दिन बिदा हुने भएपछि दैलेख जाने निधो भयो।
दैलेखको भगवतीमाई गाउँपालिका घर भएका साथी डिलप्रसाद शर्माको घर जाने अनि फर्कँदा दैलेख घुम्ने सल्लाह भयो। म, गोविन्द देवकोटा र डिलप्रसाद दैलेखका लागि तिहारको अघिल्लो दिन हिँड्यौं।
दैलेखको वेस्तडा जान बिहान ६ बजे बस छुट्ने तालिका थियो। स्वाभाविक मानौं, एक घण्टा ढिलो छुट्यो।
उदाउँदै गरेको घाम। झ्यालबाट झोंका हानिरहेका चिसो हावा। बाहिरी वातावरण र दृश्यले मन लोभ्याइरहेको थियो। सुर्खेत-दैलेखको सिमानामा रहेको गुराँसेबाट सुर्योदयको निकै मनमोहक दृश्य देखियो। नयाँ ठाउँको यात्रा, उत्सुकता यसै बढी।
एघार बज्नै लागेको थियो। गाडीको ढोकामा उभिएका भाइले 'खाना खान झर्नुस्' भन्दै माथिल्लो ढुंगेश्वर पुगेको बताए। दैलेख सदरमुकाम नपुगी सिधै वेस्तडा जाने बस थियो। चुप्रा खोला कटेपछि बस दाँया मोडियो। दैलेख सदरमुकाम, नारायण नगरपालिका जाने बाटोसँग छुट्टिएर चुप्राबाट वेस्तडा जाने सडकतिर लागेपछि बस निरन्तर गाडि ढल्किरह्यो।
पिङमा मच्चिए जस्तै भयो। फरक यत्ति हो, पिङमा अघि-पछि हल्लिइन्छ। बसमा दाँयाबाँया। पिङमा मच्चिँदा मज्जा आउँछ। बसमा सास्ती।
हिउँदे समयको बाटो, कतै धुलाम्मे, कतै हिलाम्मे। नयाँ ठाउँ, अप्ठ्यारो सडक। डरले मुटु काम्थ्यो बेलाबेला। अरू यात्रु पनि डराएका देखिन्थे। सँगै गएका साथीहरू सम्झाउँदै भन्थे, 'नडराऊ केही हुँदैन। यहाँको बाटो यस्तै हो।'
लगभग २ घण्टा हामी यसरी नै डराउँदै ढल्कियौं। ट्रयाक खुलेको १४ वर्ष पुग्न लाग्यो। सडक रत्ति सुधार हुन सकेको छैन। अझै कति वर्ष यस्तै हुने!
गाडीमा यात्रु टनाटन थिए। चाडका बेला न पर्यो। अधिकांश युवाहरू मुडामै बसेर वीरेन्द्रनगरबाट दैलेख पुगे। सेना र प्रहरीमा जागिर भए जस्ता देखिने ती युवाहरू हरेक साल एकपटक घर आउँदा यसरी नै सिट नपाउने गुनासो गर्दै थिए। सिट नपाएकोमा मात्रै होइन, सडक सुधार नभएकोमा पनि उत्तिकै गुनासो गर्दै थिए।
बर्खाको भेलले बगाएर बचेको सडक जस्तो बाटो। गाडीको ढोकैमा उभिएका दुई जना सहचालकहरू अप्ठ्यारो बाटो आउनासाथ उत्रिन्थे। गाडी फस्न सक्ने खाडलमा ढुंगा हाल्थे। अनि गाडीका चक्का तिनै ढुंगामाथि कुद्थ्यो।
कर्णालीका सडक साँघुरा छन्। सवारी दुर्घटना भइरहन्छन्। यो कुरा नयाँ थिएन।
सडक साँच्चै साँघुरा थिए। फरक दिशाबाट आएका दुइटा सवारीसाधन भेट भए, रोकेर ब्याक गर्दै एकअर्कालाई साइड दिनुपर्ने। तर कर्णालीका तिनै साँघुरा सडक वरपरका दृश्यले मन प्रफुल्लित हुन्छ। सडकमुनि स-साना खोलामा बगेको पानी। २१ सय मिटर उचाइको सुर्खेतको सिद्धपाइला, रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईवान्ना, घोडावास लगायत मनमोहक क्षेत्र।
यी सबैलाई ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके सुनमा सुगन्ध होला।
बसमा हल्लिँदा हल्लिँदा थकाइ लागिसकेको थियो। पेट कुइँकुइँ कराउन थालेको थियो। यी दुवैको तनाव हटाउन गाडीबाटै देखिएको सुन्दरता काफी थियो। वारिपारि जताततै एकनासका बस्ती। कमेरो र माटोले लिपिएका एकै डिजाइनका (तलपट्टि गाईवस्तु बाँध्ने, माथि मान्छे बस्ने) घर। भिरालो जमिनमाथि यी वस्ती सहरको कोलाहलबाट गएर होला, निकै शान्त लाग्थ्यो।
तल खोलामा बगिरहेको पानीको आवाज कानसम्म ठोक्किँदा लाग्थ्यो, वाह कर्णाली!
पारि गाउँमा छर्लंग घाम देखिए पनि वारि हामी हिँडिरहेको गाउँमा अस्ताउनै लागे झैं देखिन्थ्यो। बिहान ७ बजे वीरेन्द्रनगरबाट छुटेको बस साढे १ बज्नै लाग्दा, वेस्तडा पुग्यो।
कतै धूलो र खाडल, कतै कालोपत्रे त कतै निर्माणाधीन मध्यपहाडि लोकमार्ग हुँदै दैलेखको पश्चिमी क्षेत्र वेस्तडा पुगियो। गाडीबाट ओर्लेर झण्डै साढे ३ घण्टा उकालो बाटो पैदल हिँडेर हामी रुम गाउँमा रहेको साथी डिलप्रसादको घर पुग्यौं।
भगवतीमाई गाउँपालिकाको वडा नम्बर २, रुम गाउँ। निम्न माध्यमिक विद्यालय पुग्न दुई घण्टा र माध्यमिक विद्यालय पुग्न तीन घण्टा हिँड्नुपर्छ। यहीकारण कक्षा दोर्होयाउने र विद्यालय छाड्ने दर पनि बढ्दो छ रुममा। मुश्किलले एसएलसी सकेकाहरू पनि धेरैजसो रोजगारीका लागि भारत जाने रहेछन्। अझै पछिल्लो समय खाद्यान्न उत्पादन कम भएसँगै जग्गा बाँझो छोड्ने चलन बढ्दै गएको छ। यसले विदेशिने क्रम झनै बढाएको छ।
भौगोलिक विकटताका कारण रुम गाउँ विकासका हरेक दृष्टिकोणबाट निकै पछाडि परेको महशुस गरेँ। विस्तार हुन नसकेका सडक सञ्जाल, स्कुलका जीर्ण भवन, स्वास्थ्य सेवा अभाव। गाउँमा कोही बिरामी भए २ घण्टा लगाएर स्वास्थ्य संस्था पुर्याउनुपर्ने बाध्यता छ। यस्तै-यस्तै अभाव र पीडासँग जुधिरहेका छन् स्थानीय।
‘तमी त सहरकी केटी, हाम्रा गाउँमा कहरी बस्न्या हौ?’ तिहारको दिन बिहानै माला उन्न लाग्नुभएकी डिलप्रसादकी फूपुले भन्नुभयो।
‘यहाँ त दुःख हुन्छ,’ फुपूले भनेको सुन्दा म ट्वाल्ल परेँ। फुपूले भनेका कुरा नयाँ थिएनन्। शब्द नयाँ थिए। त्यहाँका स्थानीयको बोलीचाली र मेरो बोलीचालीमा केही भिन्नता थिए। उनीहरूले भनेका कुनै कुरा म बुझ्न सक्थिनँ। एकछिन सोच्थेँ।
मेरो जीवनका १३ वर्ष गाउँमै हुर्किएँ। सात वर्षयता अधिकांश समय सहरमै छु। दसैंतिहारमा त हो गाउँ जाने। धाराबाट पानी ल्याउन एक घण्टा लाग्थ्यो मेरो गाउँमा। रुमका स्थानीयका भोगाइ र दैनिकी योभन्दा कठिन थियो।
म कक्षा ३ मा पढ्दा बुबाले मलाई आफ्नो परिचय दिन सिकाउनुभयो। आफ्नो घर सुर्खेत जिल्ला, भेरी अञ्चल हो भन्न लाउनुभएको थियो। त्यहीबेला बुबाले १४ अञ्चल ७५ जिल्लाका बारेमा सिकाउँदा कर्णालीको नाम सुनेकी थिएँ। मैले कर्णालीका बारेमा जिज्ञासा राख्दा बुबाले कर्णालीलाई एउटा विकट अञ्चलका रुपमा परिभाषित गर्नुभएको थियो। बुझ्ने भएदेखि सुन्दै आएको कर्णालीका कथा आफ्नै आँखाले देख्न थालेपछि अलि फराकिलो भएको छ।
रुम गाउँ देख्दा बुबाकै भनाइ याद आउँछ।
तिहारको भोलिपल्ट बिहान। चिसो सिरेटो चलिरहेको थियो। हामी वीरेन्द्रनगर फर्किने योजनासहित डिलप्रसादको घरबाट निस्कियौं। पैदल हिँडेर वेस्तडा बजार पुगियो। वेस्तडामा गाडीले दैलेख सदरमुकाम नगई सुर्खेत जाने भने। हामीले दैलेख बजारसम्म पुग्ने साधन खोज्न थाल्यौं।
एउटा सानो जिप भेटियो। खाली। हामी चढेपछि सदरमुकामतिर हुइँकियो। चालकसहित ५ जनाको सिट भए पनि पछि ७ जना बस्नुपरेको थियो। टाढाको गाउँबाट दैलेख सदरमुकामसम्म आइपुग्ने जीपले क्षमताभन्दा बढी यात्रु बोक्छन् भन्ने पहिल्यै सुनेकी थिएँ। त्यस्तै भयो।
बाटोमा थुप्रैपटक जिप रोकियो। भेटिएका सबै जसो यात्रुलाई चालकले पछाडि उभिन भन्थे। यात्रु चुपचाप पछाडि उभिएर यात्रा गर्न तयार हुन्थे। बाध्यता थियो। चाडपर्वका बेला भनेको समयमा गाडी पाइन्न।
हामी फर्किँदा जिपको पछाडि बसेका यात्रु लोहोरे नजिक प्रहरी चेकपोस्टको अलि वरै ओर्लिए। चेकिङमा प्रहरीलाई चालकले सिटमा बसेका आफूसहितका ७ जना यात्रु देखाए। अगाडि बढ्न निर्देशन पाएपछि जिप अघि बढ्यो। केही अगाडि आएर रोकियो। अघि झरेर हिँडेका यात्रु फेरि चढे।
कच्ची सडकमा सामान बोक्ने जिप।
सुर्खेतदेखि वेस्तडासम्म झण्डै ७० किलोमिटर दूरीमा हामीले एकजनाको भाडा ४६४ रुपैयाँ तिरेका थियौं। वेस्तडादेखि दैलेख सदरमुकामसम्म २२ किलोमिटरको ३०० रुपैयाँ तिर्नुपर्यो। यसरी ग्रामिण भेगबाट सदरमुकाम आउने क्रममा यात्रुले गाडीले मागे जति भाडा तिर्न बाध्य हुँदा रहेछन्। चर्को भाडा र उच्च जोखिम झेल्दै हामी सकुशल दैलेख पुगियो।
साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राजधानी र अहिलेको कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सिमाना जोडिएको जिल्ला हो दैलेख। सांस्कृतिक रुपमा धनी दैलेख पर्यटकीय हिसाबले पनि उत्तिकै धनी छ। पर्याप्त स्रोत र सम्भावना हुँदाहुँदै पनि विकासको गति अपेक्षाकृत छैन। यहाँ भौतिक विकास र सामाजिक रुपान्तरणले गति लिन सकेको छैन।
दैलेख विकासका लागि यहाँ पर्यटक लोभ्याउने पञ्चकोशी, ज्वाला, लगायत ठाउँ विकास गर्न सकियो भने पर्याप्त हुनेछ। यस्तै व्यवसायिक कृषि, जलविद्युत उत्पादनका लागि पनि यहाँ प्रशस्त सम्भावना छन्। स्रोतसाधन सही परिचालन नहुँदा यहाँका नागरिक अभाव भोग्न बाध्य छन्। युवाहरू विदेशिन बाध्य छन्।
गरिबी, अभाव र पूर्वाधार विकासका लागि शिक्षा, सडक, जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकता दिन सके दैलेखको समृद्धिको यात्रामा इँटा थपिनेछ। बर्सेनि सडक विस्तार नाममा लाखौं रकम विनियोजन हुन्छ। अनुगमन हुँदैन। लक्ष्यअनुसार सडक सञ्जाल विस्तार हुन सकेको छैन।
यावत् कारणले कर्णालीमा प्रचुर सम्भावना भए पनि अझै विकट ठाउँ भनिन्छ। कर्णाली भन्ने बित्तिकै सबैको दिमागमा विकट नै आउँछ। कर्णालीलाई गरिब मात्रै भनियो। कर्णालीको परिभाषा औसत आयू, साक्षरता दर, प्रतिव्यक्ति आय लगायत आधारमा निर्धारण हुने सबै सूचकांकमा पुछारमा परेको छ।
तर कर्णाली गरिब छैन। हामी स्रोतसाधन परिचालनमा गरिब छौं।
वास्तवमा भन्ने हो भने कर्णाली विकासका लागि अहिलेसम्म बनेका योजना कर्णालीमैत्री बन्न सकेनन्। विकट कर्णालीमा समृद्ध कर्णालीका थुप्रै आधार र सम्भावना छन्। यी सम्भावना वास्तविकतामा परिणत हुनुपर्छ। गरिब भनिँदै आएको कर्णालीका सम्पत्ति खोतलिनुपर्छ। विकास बाहिरबाट ल्याएर आउँदैन, यहीँभित्र फस्टाउन सक्नुपर्छ।