सम्पादकीय नोटः कर्णालीवासीलाई लेख्न प्रेरित गर्ने उद्देश्यले सुरू 'कर्णाली लेख्छ' अभियानमार्फत् छनौट भएको लेखः
घर मेरो रुकुम जिल्लाको गोतामकोट। घरैको पछाडि भेरी बग्छ। अघिल्तिर डोल्पा जाने बाटो छ।
दस मिटर अघिल्तिरको बाटोमा हिँड्ने आधाभन्दा बढी मान्छे कि डोल्पा गइरहेका हुन्छन्, कि डोल्पाबाट फर्किरहेका।
मेरा अधिकांश साथी, परिवार, छिमेकी डोल्पा पुगेकै हुन्थे। सबैलाई आकर्षण गर्छ डोल्पाले। थोरैलाई अरू कारणले हुनसक्छ। धेरैलाई डोल्पामा पाइने यार्चागुम्बाले तान्छ।
स्थानीयको कुरा छाडौं। हरेक वर्ष वैशाख-जेठ महिना स्कुलै बन्द गरेर विद्यार्थी-शिक्षक समेत कीरा (यार्चागुम्बालाई स्थानीयहरू किरा भन्छन्) खोज्न जाने चलन व्याप्त छ। सम्झिन्छु, म स्कुल पढ्दा नयाँ वर्षको कक्षा सुरू हुन नपाउँदै मेरा साथी र दाइदिदीहरू आफू जत्रै वा ठूला बोरा बोकेर लर्को लागेको।
कक्षाका सबै डोल्पा जान्थे। म भने उनीहरूका फर्किसकेपछिका कथा सुनेर चित्त बुझाउँथे। मलाई पनि डोल्पा जाने रहर नहुने कुरा थिएन। तर आँट जम्मा भइसकेको थिएन।
हिउँपहिरोका त्रास, दिनभर भारी बोकेर हिँड्नु पर्ने, यी डर मेरो बाल मस्तिष्कलाई तर्साउन काफी थिए।
समयसँगै यहाँ मान्छे मात्र पनि हिँड्न गाह्रो हुने बाटोमा जीप हुँइकिन थाल्यो। म पढाइको सिलसिलामा कोहलपुर-काठमाडौं हुँदै भारतको कोलकाता पुगेँ। तर अझै डोल्पा पुग्ने साइत जुरेन।
आफू कर्णाली प्रदेशको बासिन्दा बनिसकेपछि यार्चा टिप्ने ठाउँ एकपटक अवश्य पुग्छु भन्ने थियो। के-के कुराले ठ्याम्मै साथ दिइरहेको थिएन।
सन् २०१८ अगस्ट महिनामा मेरो बोर्ड परीक्षापछि कम्तीमा एक महिना छुट्टि पाइने भयो। यो याम डोल्पा जान उपयुक्त। उत्साहित भएँ। कोलकाताबाटै धुमधाम रिसर्च गरेँ। यूट्युबमा डोल्पा सम्बन्धी भिडियो कुनै बाँकी राखिनँ। इन्टरनेटमा भएका पदयात्रा सम्बन्धी अनेकन वेबसाइट हेरेँ। पूर्ण तयारी साथ म परीक्षा सकेर रुकुम फर्किएँ।
कोलकातादेखिकै तयारी भए पनि घर पुगेका केही दिन रमझममै भुलियो। धेरै कुरा फेरिएछन्। तीन वर्षपछि रुकुम पुग्दा गाउँ-गाउँमा डोजरले मोटरबाटो पुर्याएछ। हिँड्दा १ घण्टा लाग्ने ठाउँमा बरु आधा घण्टा कुरेर, सय रुपैयाँ तिरेर जीपमा झुण्डिने चलन सुरू भएछ।
अर्को राम्रो कुरा, गाउँ बिजुलीले झलमल पार्दै रहेछ। एक दिन, दुई दिन भन्दाभन्दै एक महिना बित्यो। डोल्पा जाने मेलो आएन।
मैले जुन रूट जाने सोचेको थिएँ, त्यहाँबाट नजान सल्लाह पाएँ। अर्को महत्वपूर्ण कुरा सहयात्रीको थियो। अलि गार्है मानिएको रूटमा एक्लै हिँड्न असम्भव नभए पनि सजिलो थिएन। उसो त सहयात्री खोज्ने प्रयास मैले कोलकाता हुँदै गरेको थिएँ। केही तयार पनि थिए। तर अन्तिम समयमा रूट परमिट शुल्कले बाधा गर्यो। विदेशीलाई पाँच सय डलर लाग्ने रे! उनीहरूको योजना रद्द भयो।
नेपाली साथी खोज्ने प्रयास गरेँ। भनेकै बेला उनीहरूको समय मिल्न सजिलो थिएन। केहीको मिले पनि डोल्पा जान परिवारबाट अनुमति पाउन मुश्किल। धेरै तर्साउन डोल्पा नाम नै काफी।
कोही नभेटिने छाँट आएपछि म एक्लै हिँड्ने तयारीमा लागेँ। एक्लै पठाउनुभन्दा आफूहरू पनि साथै जाने योजना मेरा आमाबाले बनाउनुभयो। उहाँहरूलाई पनि शे-फोक्सुन्डो पुग्ने रहर!
आमाबासँगै आफूले चाहेको ठाँउ यात्रा गर्ने अवसर जीवनमा कति पटक आउँछ र? खुसीले उफ्रेँ।
नुमा ला बाग ला वाला रूट नहिँड्न र सिधै सुलिगाड हुँदै फोक्सुन्डो पुगेर फर्किने सल्लाह धेरै पाइयो। यो रूटमा विकट उपल्लो डोल्पा र बीचमा आउने ठूला पासहरूले हामीलाई समस्या पर्न सक्थ्यो। मेरो स्वभावले कहाँ मान्थ्यो! नसक्ने भनिएको काम गर्नै मनलाग्ने। फेरि उपल्लो डोल्पा भोट नपुगी फर्किन मनले कहाँ मान्थ्यो? सकेसम्म रूट परिवर्तन नगर्ने योजनासहित हामी एकबिहानै तीन वटा ठूला झोलासहित तयार भयौं।
हुन त जीप हिँड्ने बाटो हो। त्यति भरपर्दो र समयमा गन्तव्यमा पुर्याउने ठेगान भने हुँदैन। जीप पुग्ने ठाउँसम्म बाइक यात्रा निधो गर्यौं। भर्खरै पानी परेकोले चिप्लो बाटो, पातलो टायर भएको होन्डा साइन बाइक र यस्तो बाटोमा खासै अनुभव नभएको म! मेरो लागि त गुरिल्ला तालिम नै भयो। बाइक यात्रा त्रिवेणी पुगेर रोकियो। अगाडि बर्खाले बाटो बिगारेको सूचना केही दिन अघि हामीले पाइसकेका थियौं।
त्रिवेणीमा बाइक थन्काएर कफी सुरूप्प पारेसँगै हाम्रो पदयात्रा सुरू भयो। त्रिवेणीबाट भेरी किनारैकिनार करिब तीन घण्टा हिँडेपछि करबगाड नामको ठाउँ पुग्यौं। त्यहीँबाट रुकुम सकिएर डोल्पाको सिमाना सुरु हुने रहेछ। मेरा पाइलाले पहिलोपल्ट डोल्पा टेक्दै थिए।
भिन्नै किसिमको माटोको छानो। छानामाथि तरकारी खेती। रातो खुर्सानी सुकाएका पालहरू। त्यहाँबाटै डोल्पाली परिवेश सुरू भइसकेको थियो। कतै बन्दै गरेको, कतै भत्किएको बाटो। कतिबेला भेरीपारि, कतिबेला भेरीवारि गर्दै हामी ५ बजे त्रिपुराकोट पुग्यौं।
त्रिपुराकोट डोल्पाको उदाउँदो व्यापार केन्द्र। भेरी किनारमै र देब्रेतिरको डाँडाबाट त्रिपुरासुन्दरी माइको मन्दिरले कवच प्रदान गरेजस्तो लाग्ने। स्वादिलो डोल्पाली स्याउ मज्जाले चाख्ने जोग मिल्यो। त्यो दिनको बास जुफालमा हुने पूर्वयोजना मुताबिक हामी ढिलो नगरी हिँड्यौं।
त्रिपुराबाट जुफाल २ घण्टा उकालो। जीप पनि चल्ने। हेलिकप्टरले पुर्याएको रे! हामी पुग्दा अन्तिम जीप छुटिसकेछ। हाम्रा खुट्टा उकालोमा अझ २ घण्टा तन्काउनुको विकल्प रहेन। लामो समयपछिको हिँडाइ भएर होला, खुट्टाले थकान मानिसकेका थिए। राति ८ बजे जुफाल पुगियो।
जुफाल एअरपोर्टको लागि प्रसिद्द। अर्को दिन जुफालका डाँडा चहार्यौं। देखिने विभिन्न ठाउँका जानकारी लियौं।
त्यत्तिकैमा 'एता आउनुस्, स्याउ चाखेर जानुहोस्' आवाज एक फार्मबाट आइरहेको थियो। हामीले बजारतिर गाडीबाट ओर्लिन नपाउँदै आफ्नो होटल बोलाउने व्यापारी सम्झ्यौं। दाइले स्याउ र काँक्रा नांग्लोभरि ल्याउनुभयो। हामीले अघाउन्जेल खायौं। पैसा दिन लाग्दा मान्नुभएन। भन्नुभो, 'सप्पै को-को ने खाइ दिँदाछन्। हजुरहरूबाट के पैसा लिँदा हुँ। कता टाढाबाट आउनु भाको हो।'
हामीसँग बदलामा दिन केही थिएन। आभारी शब्दहरू बाहेक। जीन्दगीमा कहिलेकाँही हामी भ्रममा हुन्छौं, जब हामीसँग पैसा छ, सबथोक हुन्छ! फराकिलो हृदयका धनी डोल्पाली दाइको फोटो खिचेर हामी छुट्टियौं।
त्यो साँझ फापर चाख्ने मौका मिल्यो। फरक स्वाद मलाई मनपर्यो।
भोलिपल्ट बिहानै हेलिकप्टरले ओसारेको जीप चढेर हामी डोल्पाको सदरमुकाम दुनै पुग्यौं। अब हाम्रो सही अर्थमा पदयात्रा सुरू हुँदै थियो। हामीमध्ये कोही पनि नहिँडेको बाटो सुरू हुँदै थियो। दुनैमा भेटिनु भएका एक आफन्तको सल्लाह अनुरुप केही भारी घटायौं। केही थप्यौं। थपेकामध्ये तीन वटा प्लास्टिक पनि थिए जो पानी पर्दा चाहिन्थे।
निर्जन बाटो, एकतमासले हाम्रो विपरीत बगिरहेको भेरी, लाग्थ्यो भेरी हतारिएको छ सागर भेट्न। हामीलाई पनि हतारिन सम्झाइरहेको छ। कोठामा बसेर योजना बनाएको जस्तो सहज नहुन सक्छ यात्रा। त्यो साँझ हामी ताराकोट पुग्यौं। नयाँ ठाउँमा त प्रहरी चौकी देख्दा नि खुसी लाग्ने रैछ। चौकी नजिकैको होटलमा बास भयो।
ताराकोटका बासिन्दालाई तराली भनिने रहेछ। खाम भाषा बोल्ने उनीहरू प्रायः बुद्ध धर्मावलम्बी रहेछन्। भोलिबाट हाम्रो फोनले काम गर्नेवाला थिएन। धो उपत्यका नपुगेसम्म हाम्रो बास पनि पालमै थियो। मेरो दाहिने गोडा दुखिरहेको थियो। थकानले होला। चौंरी गाईको घिउले मालिस गरेर सुतियो।
सुताइ गतिलो भएन। झस्काइरह्यो। रातभर के-के आवाज सुनियो। भोलिपल्ट थाहा भयो, भोटे कुकुरको भुकाइ रहेछ। भिन्न खालको भुकाइ!
खुट्टा उस्तै थियो। जाम भएजस्तो। हिँड्न निकै गाह्रो। मुभ र पेनकिलरको मद्दतले जसोतसो लत्रिँए। यात्रा रद्द गर्ने कुरा पनि आयो। त्यस्तो हिँडाइले गन्तव्यमा पुग्न सम्भव थिएन। अवस्था सुधार नभए झन् विकट ठाँउमा समस्या पर्ने थियो। बाटो झन् निर्जन हुँदै थियो। करिब एक घण्टा जसोतसो हिँडेपछि फेरि मुभले मालिस गरेँ।
बुबा भने 'यस्तो पाराले हुँदैन' भन्दै मेरो लागि लौरो काट्न तम्सिनुभयो। लौरोले केही सहज भयो। तै झोला बोकेर हिँड्ने अवस्था भएन। रुकस्याक बुबाले बोकिदिनुभयो। म लौरोको आडमा लत्रिँदै थिएँ।
हामी भेरीको मुख्य शाखा छाडेर अर्को शाखा पछ्याउन लाग्यौं। उकालो-ओरालो। बच्चादेखि सुनेको भन्दैमा भोटको बाटो सजिलो कहाँ हुन्छ र!
एक बजेतिर हामी लैनिओडार पुग्यौं। अब पाल मात्र भेटिने घर नभएका ठाउँ पुगेका थियौं। एउटा पालमा चाउचाउ उमाल्न लगाएर चिउरासँग खायौं। यात्रा अवधिभर बिहानको खाना प्रायः चाउचाउ नै भयो। खान पकाउन लगाउने, कुर्ने समय हामीसँग कहाँ थियो र!
साँझ ५ बजे झोर पुग्यौं। हाम्रो योजना नावरपानी पुग्ने थियो। खोच्याउँदै हिँडेको खुट्टाले अघि बढ्न दिएन। एउटी दिदीले 'भोलि नाप्पो नाप्पो गयानी धो पुगीजादछ, के को हतार हो' भनेपछि हाम्रो बास त्यही दिदीको पालमा भयो।
जीवनको पहिलो पालको बास। दिदीले मिठो खाना खुवाउनुभयो। करिब १ घण्टा त चौंरीको घिउले मेरो खुट्टा मालिस गर्ने काम गरियो। धेरै सहज भयो। थकानले होला कोल्टे नफेरी रात बित्यो। भोलिपल्ट उज्यालो हुँदा हामी नावरपानी पुगिसकेका थियौं। करिब एक घण्टा हिँडेपछि चोलाङ्ग नामको ठाउँ पुग्यौं। एउटा पालमा भोटेचिया र हामीले बोकेका खाजा खाएर अघि बढ्यौं।
अब भूगोल अलि फरक हुँदै थियो। अग्ला पहाड देखिन छोडेका थिए। निकै साघुँरो बाटो। जीर्ण पुलहरू। बाटो जोखिमपूर्ण भए पनि यात्रा रोमाञ्चक हुँदै थियो। उपल्लो डोल्पामा पाइला चाल्दै थियौं। एकचोटी फोटो खिचेर चित्त नबुझ्ने। हेरेर आँखा नअघाउने वनस्पति विहिन होचा लेकहरू। छेउमै बगिरहेको भेरी हामीले भेटेको बेलाको भन्दा निकै सानो भइसकेको थियो।
म पनि लौरोको सहाराले आफ्नो रुक्स्याक बोकेर हिँड्न सक्ने भइसकको थिएँ। बाटोछेवैमा नावरका बथान देखिन र डाँफेका चिरबिर सुनिन थालेको थियो। निकै मनमोहक दृश्य। चारैतिर नियाल्दै ४ बजेतिर उपल्लो डोल्पाको सुन्दर उपत्यका धो थराप पुग्यौं। प्राचीन व्यापारिक नाका धो। तिब्बती व्यापारीहरू माथिबाट र तलका व्यापारीहरू माथि आएर व्यापार गर्ने नाका।
पर्यटकीय याम र ठाँउ भए पनि पर्यटक छिटफुट मात्र। सूर्यास्त समयको धो उपत्यका निकै सुन्दर थियो। भाषा, जीवनशैली, भूगोल सबै निकै फरक। साँझमा एक इटालियन नागरिकसँग भेट भयो। एकछिन भलाकुसारी गर्यौं। उनी धोमा निर्माण हुन लागेको जलविद्युत परियोजनाका कर्मचारी रहेछन्। उनका अनुसार अबको २ वर्षमै धोमा बत्तीले प्रकाश छर्नेछ।
धोमा तिब्बतबाट आयातित मोटरसाइकल पनि देखिए। बिना नम्बर प्लेटका मोटरसाइकल निर्वाध चलिरहेका। त्यहा कहाँबाट पुग्ने ट्राफिक प्रहरी! लाग्यो यो नेपाल होइन, कुनै अर्कै मुलुक हो। नेपाली नोट चल्नेबाहेक नेपाल हो भन्ने विशेषता निकै कम थिए।
अर्को दिन धो उपत्यका नजिकैको ताक्सी गाउँमा आराम गरेर बितायौं। भोलिपल्ट बास बस्ने योजना बनाएको ठाँउ दानीगारमा पालवाला होटल बन्द भइसकेको जानकारी पाएका थियौं। अब एक दिन आराम गरेर भए पनि भोलिपल्ट दुई दिनको बाटो एक दिनमै पार गर्नुको विकल्प थिएन। दिनभर आराम गरेर त त्यो साँझ सबेरै खाना खाएर सुत्यौं।
बिहान ३ बजे उठेर भोटेचियाले जिउ तताएसँगै यात्रा सुरू गर्यौं। हामीले त्यो दिन दुइटा पास पार गर्नुपर्ने थियो, नु मा ला ५३१० मिटर र बाग ला ५१७० मिटर। बाटोमा चौंरी र नावरका बथान जताततै चरिरहेको देखिन्थे। बिहान ८ बजे नु मा लाको चुचुरो पुग्न सफल भयौं।
निकै सुन्दर क्षण थियो त्यो। घामले टल्किरहेका हिउँले ढाकिएका हिमाल। लाग्थ्यो हामीभन्दा होचा छन्। केही समय चुचुरामा बिताएपछि ओरालो झर्न सुरू गर्यौं। करिब ३ घण्टा झरेपछि हामी दानीगार पुग्यौं जहाँ साल्दाङ्गबाट आएको बाटो मिसिन्थ्यो। त्यहाँबाट खच्चड हिँड्ने बाटो बाग ला पास पार गरेर फोक्सुन्डो झर्थ्यो। दानीगारमा एकछिन आराम गरेर हामी फेरि उकालो लाग्यौं।
अब भने गाह्रो हुन सुरू भइसकेको थियो। जसोतसो हामी साँझ ४ बजे बाग ला को चुचुरो पुग्यौं। त्यहाँबाट कान्जिरोवा हिमालको निकै सुन्दर दृश्यले स्वागत गरिरहेको थियो। केही क्षणपछि बाग लासँग बिदा भएर ओरालोबाटो समात्यौं। हाम्रो योजना त्यो दिन सके फोक्सुन्डो पुग्ने, नसके याकखर्क बास बस्ने थियो। मेरो जीवनको सबभन्दा चुनौतीपूर्ण दिनमध्येको एक थियो त्यो।
रात बढ्दै छ। झन् सुनसान ठाउँ आउँदै छ। दिनभरको हिँडाइले खुट्टा आफ्नो हो कि अर्काको भन्ने अवस्थामा पुगिसकेको थियो। निकै संघर्षपूर्ण यात्रापछि करिब ८ बजे याकखर्क पुग्यौं। पालमा ओढ्ने-ओछ्याउने कपडा सबैलाई पुग्ने गरी थिएन। च्यांग्राको छाला ओछ्याएर रात काट्यौं।
भोलिपल्ट बिहानै यात्रा सुरु गर्यौं। फेरि बोटबिरुवा देखिन थालेका थिए। हरियाली देख्न पाउँदा आनन्द लाग्यो। उपल्लो डोल्पा छाडेर अब शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्रवेश गर्दै थियौं। फोक्सुन्डो ताल पुग्नै लाग्दा पारिबाट नेपालकै ठूलो सुलिगाड झरना हामीलाई स्वागत गरिरहेको थियो। करिब ९ बजे हामी सुलिगाडमाथिको झोलुंगे पुल तरेर रिग्मो गाउँ पुग्यौं, जहाँ हाम्रो सपनाको केन्द्र शे-फोक्सुन्डो थियो।
सुन्दर शे-फोक्सुन्डो। लाग्यो प्रकृतिको सुन्दर पेन्टिङ हो। आकाशभन्दा निलो रङको सङ्लो पानी। आकाशभन्दा गहिरो छ कि!
फोक्सुन्डोसम्म सुविधायुक्त होटल पुगिसकेका रहेछन्। होटलमा झोला थन्काएर तालतिर नुहाउन गयौं। तालको अन्त्य र सुलिगाड नदी सुरू हुने ठाउँमा नुहाउने ठाउँ बनाइएको रहेछ। हप्तादिनको हिँडाइले भारी भएको जिउ तालको पानीले हलुका बनायौं। मुटु नै सिरिङ्ग पार्ने चिसो पानीमा नयाँ अनुभव गर्न भए पनि डुबुल्की मारियो।
दिउँसो फोक्सुन्डो चक्कर लगायौं। काठमात्रले थामिएको बाटो हेर्दा क्याराभान फिल्मको याद आयो। फोक्सुन्डोको अर्को कुनासम्म पुग्यौं। जति हेर्यो उति सुन्दर। फोक्सुन्डोको सुन्दरता नशालु थियो। विदेशी र आन्तरिक पर्यटकको बाक्लै उपस्थिति थियो।
तालको अर्को छेउको गुम्बा सुन्दर थियो। गुम्बा परिसरमै तरकारी फलाइएको देख्दा खुसी लाग्यो। धित मरुञ्जेल दिनभर फोक्सुन्डो हेर्यौं।
भोलिपल्ट बिहानै मन नलागीनलागी फोक्सुन्डोसँग बिदा माग्यौं। बाटोमा फेरि एकपटक सुलिगाड झरना भेट्यौं। केही थान तस्बिर लिएर अघि बढ्यौं। अब हामी सुलिगाड नदी किनारैकिनार झरिरहेका थियौं। जंगलको बाटो। पर्यटक, उनीहरूका भरिया र खच्चडले बाटोको माहोल नै अर्कै बनाएको थियो।
एक बजेतिर छेप्का पुगेर फेरि चाउचाउवाला खाना खायौं। साँझ ८ बजे जुफाल पुग्यौं।
यसरी हाम्रो पदयात्रा सुरू भएकै ठाउँ जुफाल पुगेर सकियो।
भोलिपल्ट बिहानै यात्रा सुरू गरेर त्रिपुरासुन्दरी माई दर्शन गरेर साँझ ९ बजे गोतामकोटस्थित घर फर्कियौं।
अब मलाई भोट र यार्चागुम्बा खोज्ने ठाउँको कल्पना होइन, सम्झना गरे पुग्ने भयो। कर्णाली प्रदेशको बासिन्दा भएर घर नजिकैको डोल्पा पुगेको छैन भन्ने आफैसँग रहेको गुन्जायस बाँकी रहेन।
सोधे कसैले, 'के खोज्न गएको थिइस्, के लिएर फर्किस्?'
म खुसी साथ भन्न सक्नेछु 'सम्झनाहरू'।
(विजय केसी आठबीसकोट नगरपालिका, गोतामकोट रुकुम (पश्चिम), कर्णाली प्रदेशका बासिन्दा हुन्। हाल उनी कोलकातामा अध्ययनरत छन्।)