असार १५! अक्सर असार १५ लाई किसानको दसैँ भनिन्छ। दसैँ अर्थात् पर्व। तर असार १५ दसैँ होइन। किसानको लागि पैसा, डिएपी, पोटास, बिउ, पानी, ट्याक्टर, हलो, जन लगायतको व्यवस्थापनको धनसन हुने वर्षकै सबैभन्दा कठिन दिन हो।
असार १५ पार गरेर मैझारो गरेको १५ दिनमा धानका बिरुवा हरियो भएर सान्त्वना त दिन्छन्। तर सॅंगै आउँछ युरिया मलको अभाव हुने सिजन। हाम्रा खेतहरू फेरि रासायनिक मल खान पल्किसकेका छन्। बिना युरिया, धान दुई भित्ता पनि बढ्दैनन्।
जसोतसो भारतबाट लुकाएर ल्याएको युरिया हालेर धान हलक्क बढायो। त्यसपछि आउँछ झार मार्ने औषधीको अभाव। अनि फेरि नहरको पानीको लागि रातदिनको दौडधुप र अनिद्रा। पानीको लागि छिमेकीसँगको झगडा र गाईबस्तुबाट धान बचाउने झन्झट पनि सँगै छन्। झन् खेतको हेरचाह गर्दा विषालु सर्पबाट हुनसक्ने आक्रमणको सम्भावनाले त किसानलाई कहिले छोड्छ र?
सबै छिचोलेर बल्लबल्ल धानका बाला लाग्छन्। अनि सुरु हुन्छ किराको आतंक। महँगा किटनाशक छरेर धान बचाउनै पर्यो। त्यो समेत पार गरेर धानका वाला लाग्छन् र पहेँलो फर्किन्छन्। यति मिहिनेत गरेर फलाएको धान बल्लतल्ल काट्ने बेला हुन्छ।
महँगो मान्छे खोजेर धान काटेर खेतमा लडायो। अनि आउँछ कतै नभएको कात्तिके झरी र आँधीहुरी। जसले काटेको धान भिजाइदिन्छ र नकाटेको धान लडाइदिन्छ। साथै किसानका आँखा भिजाइदिन्छ र आशा लडाइदिन्छ।
भिजेको धान केही दिन सुकाएर जन र थ्रेसरको लागि कुदाकुद हुन्छ। थ्रेसर भेटेको दिन काम गर्ने जन भेटिँदैन र जन भेटेको दिन थ्रेसर आउँदैन। केही दिन यिनैको चाँजोपाँजोमा बिताएर बल्लतल्ल धान दाउनी हुन्छ। कट्ठाले नापेर चालिसा भन्दै ढेरी लगाइन्छ। अनि बोरामा भरेर बेच्नको लागि धान तयार हुन्छ।
तर अन्तिममा यति हन्डर खाएर तयार पारिएको धानको मूल्य किसान आफैँले तोक्न पाउँदैन। अरू नै कसैले तोकिदिन्छ। त्यो पनि धानको होइन भुसको भाउमा! चामल होइन कनिकाको दाममा।
कैयौँलाई असार १५ माटोको टीका लगाएर फोटो खिच्ने दसैँ होला। तर किसानको लागि असार १५ आशाको केवल सुरुवात हो, सफलता होइन। पहाडको फेदी हो, चुचुरो होइन। यात्राको आरम्भ हो, गन्तव्य होइन।
असारमा फोटो खिच्न जुन किसानकोमा जानु भएको थियो, मङ्सिरमा धानको बोरा भित्र्याउने बेलामा पनि जानुहोस् ल। र सोध्नुहोस् कि त्यो दिन रोपेका, केही माना धान, मुरी कसरी भए? किसानको सारा कथा सुन्ने अवसर पाउनु भयो भने अर्को दिनदेखि धेरै भएको भात डस्टबिनमा हाल्दा तपाईंको पनि हात काँप्ने छन्।
जे होस्, असार १५ को धेरै धेरै शुभकामना!