हाम्रो समाजले सम्बन्ध मापनका लागि दुई वटा फरक तराजु राखेको देखिन्छ। छोरीलाई ज्वाइँले माया गर्यो, सम्मानले व्यवहार गर्यो, उसलाई साँचो साथीसँगै जीवनसाथी बनायो भने घरभित्रै उज्यालो फैलिन्छ। गाउँघरदेखि सहरसम्म यो प्रसङ्ग गर्वले भनिन्छ- हाम्रो ज्वाइँ असल हुनुहुन्छ, हाम्री छोरी सुखी छ।
तर यही समाजमा जब छोराले आफ्नी पत्नीलाई आदर गर्छ, मायाले हेर्छ, जीवनका निर्णयहरूमा उनको राय लिन्छ, जब उसले आफ्नो घर-परिवारभन्दा अगाडि श्रीमतीको सम्मान र खुसीलाई प्राथमिकता दिन थाल्छ, तब छोरामाथि एउटा गम्भीर आरोप लाग्छ- श्रीमतीको माया जालमा फस्यो भन्दै आमाबाबुले घृणाका शब्द बोलेको सुन्न पाइन्छ।
जब ज्वाइँले छोरीको सुखका लागि घर, जागिर, गाडी केही गरे त्यो गर्व। त्यहीँ छोराले बुहारीलाई सहज जीवन दिन खोज्यो भने आरोप लाग्छ। जब ज्वाइँले छोरीलाई सहरमा राख्यो, उहाँ त असल ज्वाइँ। त्यहीँ छोराले बुहारीलाई सहरमा लग्यो, स्वास्नीको पछि लागेर बाबुआमालाई बिर्सियो भनिन्छ।
किन यस्तो दोहोरो मापदण्ड?
यो विडम्बना हाम्रो सामाजिक संरचनामा गहिरो गडेको छ। पुरुषले आफ्नी श्रीमतीलाई माया गर्दा ऊ कमजोर देखिन्छ, परिवारको गर्व हैन, लाज बन्न पुग्छ। जबकि वास्तविकता उल्टो हो, पत्नीलाई सम्मान गर्नु, उसको भावना बुझ्नु, उसको आत्मसम्मानको रक्षा गर्नु नै एक असल पतिको चिनारी हो।
श्रीमतीसँग सल्लाह गरेर निर्णय गर्नु हाम्रो संस्कार र समझदारीको चिन्ह हो। यस्तो सम्बन्धमा विश्वास बराबरी बस्छ। तर हाम्रो समाजमा अझै यस्तो सोच गडेको छ कि पुरुषले सबै निर्णय आफैँ गर्नुपर्छ, श्रीमतीको सल्लाह लिनु कमजोरी हो। त्यही कारण छोरा यदि श्रीमतीसँग मिलेर निर्णय गर्छ भने उसमाथि स्वास्नीका कुरा सुन्यो, घरमा पोथी बास्न थाल्यो भन्ने जस्ता आरोप लाग्छ।
छोरीको खुसी ज्वाइँले दिलाउँदा त्यो उसको कर्तव्य मानिन्छ तर बुहारीको खुसी दिलाउने छोरालाई कमजोरीको प्रतीक किन बनाइन्छ? बुहारी हैन छोरी जस्तै हुन् भन्ने भनाइ धेरै जसो समाजमा केवल बोलीमा मात्रै सीमित छ। व्यवहारमा भने यो भनाइ प्रायः पूर्ण रूपमा पालन गरिँदैन। महिलालाई घरको सदस्यको रूपमा सम्मान दिने कुरा भनेको उनको अधिकार र भूमिका मानेर हो तर व्यावहारिक रूपमा यसलाई सही तरिकाले लागू गर्न कठिनाइ आउँछ।
यस्तै ग्रामीण समाजमा धेरैजसो सुन्न पाइने एउटा वाक्य हो- ‘छोरोलाई बुहारीले वशमा पारी।’
यो वाक्यले पारिवारिक अपेक्षा, सामाजिक यथार्थलाई गहिरोसँग उजागर गर्छ। के सम्मान र मायाको मापदण्ड सधैँ व्यक्तिको भूमिकामा निर्भर हुनुपर्छ?
छोरीलाई सुख दिनु असलता हो भने बुहारीलाई सुख दिनु कमजोरी कसरी भयो?
के बुहारी पनि अर्की कसैकी प्यारो छोरी होइनन्?
के उनीहरू माया, सम्मान र सुखका अधिकारी होइनन्?
हाम्रो समाजमा प्रायः सासूहरूबाट भनेको सुनिन्छ- ‘यत्रो वर्ष हामीले पढाउन नसकेको छोरालाई बुहारीले एकै रातमा के पढाइछ कुन्नि! हाम्रा कुरा त सुन्नै छोड्यो। हुन त जसको जुठो खायो, उस्तै हुने त हो नि।’
यसले समाजमा व्याप्त बुहारी प्रतिको शंका, असुरक्षा र पुरुष प्रधान सोचलाई झल्काउँछ। यो भनाइले छोरा अब आफ्नै विचार राख्न थालेकोमा सासूको असन्तुष्टि प्रकट गर्छ तर दोष बुहारीलाई लगाइन्छ।
समाजले छोरीका लागि जुन न्याय खोज्छ, त्यही न्याय बुहारीलाई दिन किन डराउँछ? जसरी हामी चाहन्छौँ कि हाम्रो छोरीलाई घरमा देवी झैँ राखुन्, किन हामी आफैँ आफ्नो घरमा बुहारीलाई त्यही देवीको सम्मान दिन सक्दैनौँ?
यदि छोराले बुहारीलाई साथ दिन्छ भने त्यो उसको कमजोरी होइन, त्यो त उसको मानवता हो। साँचो मायामा सेवा हुन्छ, सँगै अघि बढ्ने भावना हुन्छ, त्यहाँ न स्वास्नीको अन्डरमा बसेको हुन्छ, न कमजोरी।
गाउँघरमा एउटा उखान प्रायः सुन्न पाइन्छ- ‘आफ्नो छोरो दुष्ट, ज्वाइँ भने देउता!’
यो भनाइले हाम्रो समाजको दुई मुखे सोचलाई नग्न रूपमा उजागर गर्छ। एउटी छोरीको ज्वाइँले उसलाई सुख दिएछ भने, ज्वाइँ स्वर्गका देवताभन्दा पनि महान् ठानिन्छ। तर त्यही बाआमा आफ्नो बुहारीलाई छोराले माया दियो, सँगसँगै घरको काममा सघायो भन छोरो त बुढीको गुलाम भयो भनेर गाली गरिन्छ।
समाजले अब सोच बदल्नुपर्छ। छोरी र बुहारी दुवैलाई समान आँखाले हेर्न सक्नुपर्छ। जसरी हामी आफ्नी छोरीलाई सधैँ सुखी देख्न चाहन्छौँ, त्यस्तै गरी हामीले आफ्नी बुहारीलाई पनि सम्मान र माया दिन जान्नुपर्छ। छोरीलाई सुख दिने ज्वाइँ असल हुन्छ, ठिक त्यसै गरी बुहारीलाई सुख दिने छोरो पनि असल हुन्छ, स्वाभिमानी र साँचो पुरुष हुन्छ।
समाजको यस्तो दृष्टिकोणले न परिवारमा वास्तविक सद्भाव ल्याउन सक्छ, न त भावी पुस्तालाई समानताको शिक्षा दिन सक्छ। यदि हामी सच्चिन चाहन्छौँ भने आदर र प्रेमलाई कुनै नाताले सीमित नगरी समान दृष्टिले हेर्न सिक्नुपर्छ। छोरी र बुहारी दुवैलाई एकै किसिमको सम्मान र स्वीकृति दिन सक्नुपर्छ।