ग्लोबल नेपाली
सन् २०१४ मा डेनमार्क गएकी मनीषा श्रेष्ठले उतै ११—१२ कक्षा र त्यसपछि स्नातकोत्तर (मस्टर्स) तहसम्मको पढाइ पूरा गरिन्।
उनका अभिभावक कोपनहेगनमा जापानी सुसी रेस्टुरेन्ट चलाउँछन्। उनी अभिभावकका साथमा बसेर पढाइमा मात्र केन्द्रित हुन पाइन्।
उनी फुर्सदको समय रेस्टुरेन्टमा काम गर्थिन्। फोटोग्राफी र भिडीओग्राफीमा पनि रूचि थियो। त्यसैमार्फत् रेस्टुरेन्टको मार्केटिङमा सघाउँथिन्।
मनीषा आफ्नै ढंगले कुनै काम गर्न चाहन्थिन् तर पढाइमै केन्द्रित भइन्। पढाइसँगै फुर्सदको समय रेस्टुरेन्टमा बिताउँदा विदेशी भूमिको वातावरणमा अभ्यस्त भइन्।
उनी आफ्नै ढंगको कामबारे पनि सोच्दै थिइन्। अन्ततः सन् २०२० मा 'दिमैचा' ब्रान्डमा हातले बुनेका नेपाली लुगाको व्यापार सुरू गरिन्।
उनका अनुसार 'मैचा' भनेको छोरीचेलीलाई प्रेमले सम्बोधन गर्ने नेवारी शब्द हो। त्यसमा 'दिगो' को 'दि' जोडेर 'दिमैचा' बनाएकी हुन्।
उनी नेपालबाट सर्ट, पाइन्ट, सुरूवाल, झोला, मेकअपका सामान राख्ने पाउच (थैली) लगायतका सामान डेनमार्क लैजान्छिन्।
उनी आफ्नो डिजाइनअनुसार नेपालमा कपडा बुन्न लगाउँछिन्। धागो भारतबाट मगाउने गरेकी छन्। नेपालको धागोले विश्वव्यापी मान्यता पाउन नसकेकाले भारतबाट मगाउनु परेको उनको भनाइ छ।
'हातले बुनेका नेपाली समान विश्व्यापी बनाउने र नेपाली महिलालाई सशक्त बनाउने मेरो सोच हो,' उनी भन्छिन्, 'हामी नेपालमा कपडा बुन्ने काममा महिला सहभागितामा प्राथमिकता दिन्छौं। भारतबाट धागो ल्याएर नेपालमा कपडा बुन्छौं।'
मनीषाका अनुसार सकेसम्म अर्गानिक कपडा उत्पादनमा उनको प्राथमिकता छ। टाँक पनि वनस्पतिबाट बन्छ। सकेसम्म कच्चा पदार्थ पनि नेपालकै प्रयोग गर्ने उनको प्रयास छ तर सम्भव हुन सकेको छैन।
हातले बुनेका परम्परागत नेपाली कपडालाई उनले प्राथमिकता दिनुको पनि खास कारण छ।
भन्छिन्, 'आधुनिक डिजाइनका कपडामा प्रतिस्पर्धा गर्न कठिन हुन्छ। परम्परागत डिजाइन धेरैले मन पराउँछन्।'
कपडाको धेरैजसो डिजाइन मनीषा आफै गर्छिन्। आफ्नो आवश्यकताअनुसार नेपालमै पनि डिजाइन गराउँछिन्। नेपालबाट डेनमार्क लैजाने कपडा ब्रान्डेड नभए पनि गुणस्तरीय भएकाले ग्राहकले रूचाएको उनको भनाइ छ।
'डेनिसहरू कपडा छामेरै गुणस्तर थाहा पाउँछन्। हाम्रो गुणस्तरमा उनीहरूको विश्वास छ। यहाँ हामीलाई बजारको चुनौती छैन,' उनले भनिन्, 'बरू हामीलाई माग पूरा गर्न मुस्किल हुने गरेको छ। नेपालमा अर्डर गरेर डेनमार्क पुर्याउन पनि समय धेरै लाग्छ।'


मनिषा दिमैचामा मात्र केन्द्रित छैनन्। यो उनको व्यवसाय हो। यसअतिरिक्त उनी एउटा डेनिस बैंककमा जागिरे छिन्।
सन् २०२३ मा मास्टर्स तहको पढाइ पूरा भएपछि उनले बैंकमा जागिरका लागि प्रयास गरिन्। आवश्यक विवरण बुझाइन् तर उनलाई जागिर होला भन्ने लागेको थिएन। उनी बैंकिङ सेवामा अनुभवशून्य थिइन्।
धेरै अपेक्षा नगरेकै भए पनि करिब एक महिनापछि बैंकले बोलायो।
'मैले आफू व्यवसाय गरिरहेको र त्यसलाई निरन्तरता दिन्छु पनि भनेकी थिएँ। त्यसले समेत काम गर्यो कि जस्तो लाग्यो,' उनले भनिन्, 'बैंकमा काम गर्ने भए पनि हरेक दिन अफिस जानुपर्ने होइन। घरबाटै काम गर्न मिल्ने भएकाले मलाई सहज भएको छ।'
मनीषाले कोपनहेगनमा दिमैचाको एउटा स्टल खोलेकी छन्। दिमैचा ब्रान्ड युरोपका अन्य देशमा पनि विस्तार गर्ने उनको चाहना छ।
भविष्यमा उनी नेपालमा पनि दिमैचा चलाउन चाहन्छिन्।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com