काठमाडौंको खास स्वाद चाख्ने हो भने भव्य रेस्टुरेन्टहरू चहार्ने होइन, गल्ली गल्लीमा खुलेका स–साना होटल घुम्नुपर्छ, जहाँको बास्नाले तपाईंलाई टाढैबाट आफूतिर तान्छ।
पाटन, नागबहालको 'ओम तारा चप हाउस' त्यस्तै एउटा होटल हो।
आकारमा सानो र क्षेत्रफलमा साँघुरो भए पनि यो होटलको एउटा खास विशेषता छ। त्यो विशेषता हो, यहाँ पाइने चिकेन पकौडा।
यहाँको चिकेन पकौडा र अरू परिकारहरू कति प्रख्यात छन् भने, तपाईं जुनसुकै बेला ग्राहकको भिड देख्नुहुन्छ। दिउँसो होस् वा साँझ, पसलबाहिर कोही आफ्नो अर्डर कुरिरहेका हुन्छन्, कोही बस्ने ठाउँ पाएर खुसी हुँदै खाइरहेका हुन्छन्। कोही त ठाउँ नपाए पनि उभिएरै भोक मेटिरहेका हुन्छन्।
अनि, पसलभित्र जसलाई पनि मुसुक्क हाँस्दै स्वागत गरिरहेका भेटिन्छन् — तारादेवी श्रेष्ठ र उनका श्रीमान ओम श्रेष्ठलाई।

तारादेवी यहाँको भान्सा सम्हाल्छिन्। दिनैभरि साँघुरो कोठाको तातो भान्सामा टुक्रुक्क बसेर तेलमा खानेकुरा तारिरहेकी हुन्छिन्।
ओम भने काउन्टर सम्हाल्छन्, ग्राहकहरूलाई खाजा दिन्छन् र अर्डर गर्न आएकाहरूको खाजा प्याकिङ गर्छन्।
यो होटलको सुरूआत आठ वर्षअघि भएको थियो। त्यसअघि उनीहरू होटल व्यवसायमा थिएनन्। तारादेवी आफ्नै घरमा सिलाइबुनाइको काम गर्थिन् भने ओमको कुनै स्थायी रोजगार थिएन। उनी समयअनुसार जे पायो, त्यही काम गर्थे।
यी दम्पतीका एक छोरा र एक छोरी छन्। आम्दानीको भरपर्दो स्रोत नहुँदा चार जनाको परिवार धान्न मुस्किल थियो।
उनीहरूले आफ्नो सामान्य जीवनलाई गति दिने बाटो देखे, होटल व्यवसायमा।
यही व्यवसाय छान्नुको पछाडि पनि कारण छ। खासमा तारालाई पकाउने खुब सोख थियो। उनले विभिन्न किसिमका खाजा बनाउन जानेकी थिइन्। उनले पकाएका खानेकुरा छोराछोरीले मात्र होइन, छरछिमेकले पनि स्वाद मान्दै खान्थे।
आफ्नो यही सिप बुझेर एकदिन ताराले आफ्ना श्रीमानसँग होटल खोल्ने इच्छा व्यक्त गरिन्।
ओम सहमत भए।
उनीहरूको सहमतिमा छरछिमेकले पनि हौसला भरे।
यसरी खुल्यो, ओम तारा चप हाउस।

सुरूमा उनीहरू चिकेन स्टिक मात्र बेच्थे। बिस्तारै तारा नयाँ नयाँ खाजा बनाउने प्रयासमा लागिन्।
'एकदिन मैले चिकेन स्टिकलाई अलि फरक स्वाद दिन बेसनको झोलमा चिकेन डुबाएर तेलमा तारेँ,' ताराले सुरूआती दिन सम्झिँदै भनिन्, 'केटाकेटीलाई चखाउँदा उनीहरूले एकदमै मिठो माने।'
जसरी आलु वा प्याजको पकौडा बनाउँदा बेसनको झोल र विभिन्न मरमसलामा मोलेर तेलमा तारिन्छ, उनले कुखुराको मासुलाई पनि डल्लो डल्लो आकारमा काटेर त्यसैगरी पकाइन्।
पहिलो दिन बेच्दा ग्राहकको प्रतिक्रिया कस्तो होला भन्नेमा उनलाई एकदमै खुल्दुली थियो। ग्राहकले मन पराए जारी राख्ने, नभए पकाउन छाड्ने उनले निधो गरेकी थिइन्।
जसै पहिलो ग्राहकले त्यो परिकार चाखे, उनले एकदमै तारिफ गरे। र, थपेरै खाए।
अरू ग्राहकबाट पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाइन्।
त्यसपछि त के चाहियो! तारादेवीले त्यो परिकारको नाम नै 'चिकेन पकौडा' राखिन्।
त्यही चिकेन पकौडा आज उनको होटलको परिचय बनेको छ। अधिकांश ग्राहकलाई यो होटलको खास नाम थाहा छैन। उनीहरू 'आन्टीको चिकेन पकौडा पसल' भनेर चिन्छन्।
तारा र ओमले यो होटल खोल्न सुरूमा १५–२० हजार रूपैयाँ लगानी गरेका थिए। आफ्नै घरको भुइँतलामा खोलेकाले धेरै लगानी नपरेको तारा बताउँछिन्।
एउटा सानो कोठाबाट सुरू गरेको होटलमा बिस्तारै ग्राहक बढ्दै गएपछि उनीहरूले छेउको सटर पनि लिए। पहिले पसल साँघुरो हुँदा मान्छेलाई बस्ने ठाउँ पुग्दैनथ्यो। धेरैले उभिएरै खानुपर्थ्यो। अहिले बस्ने ठाउँ प्रशस्त छ। तैपनि ग्राहक बढी हुँदा उभिएर खानेहरू टन्नै हुन्छन्।
यी दम्पती हरेक दिन बिहान ७ बजेबाटै होटलको काममा लाग्छन्। दिनभरिलाई चाहिने मासु, माछा, आलु, प्याज र मरमसला बिहानै ठिक पार्छन्। अचार बनाउने काम पनि बिहानैबाट सुरू हुन्छ।
उनीहरू चिकेन पकौडा बनाउँदा हड्डी र छाला नभएको मासु मात्र प्रयोग गर्छन्। ओमका अनुसार दिनको करिब १५ किलो मासु खपत हुन्छ।
यसरी बिहानै सरसामग्री ठिक पारेपछि दिउँसो १ बजेबाट होटल सुरू हुन्छ र राति आठ–नौ बजेसम्म चल्छ।
'थाहा नहुने ग्राहक त ११–१२ बजे नै आउनुहुन्छ। हामी उहाँहरूलाई १ बजेपछि मात्र आउनुस् है भनेर पठाउँछौं,' ताराले भनिन्, 'पुराना ग्राहकलाई चाहिँ भन्न पर्दैन। उनीहरूलाई हाम्रो पसल खुल्ने समय कहिले हो भन्ने थाहा छ।'

सुरू सुरूमा यहाँ स्थानीय बासिन्दा नै धेरै आउँथे। अचेल टाढा टाढाबाट पनि आउँछन्। साथीभाइको मुखबाट यहाँको चिकेन पकौडाको तारिफ सुनेकाहरू खोजी खोजी पनि आउँछन्। पछिल्लो समय फुड भ्लगरहरूका कारण पनि यो होटल लोकप्रिय भएको छ।
'कतिपय ग्राहक त बुढानिलकण्ठ र भक्तपुरबाट पनि आउनुहुन्छ,' ताराले भनिन्, 'हामीकहाँ मिठो चिकेन पकौडा पाइन्छ भन्ने थाहा पाएर टाढा टाढाबाट मान्छे आएको देख्दा खुसी लाग्छ।'
टाढाबाट आएकाहरूले प्याकिङ गरेर घर पनि लैजाने गरेको उनले बताइन्।
चिकेन पकौडापछि यहाँको लोकप्रिय खाजा 'किमा चिली' हो। यसमा ठुल्ठूला खुर्सानीलाई बीचमा चिरा पारेर भित्र किमा राखिन्छ र तेलमा तारिन्छ।
त्यसबाहेक आलु चप, आलु वः, चिकेन लेग, चिकेन विंग्स, चिकेन स्टिक, चिकेन ससेज, बफ ससेज, तोफू, बफ चिली, स्याभाले, बफ सेकुवा, खसीको फोक्सो, तारेको माछा लगायत पनि लोकप्रिय छन्।
यहाँ २० देखि १३० रूपैयाँसम्म पर्ने विभिन्न थरीका खाजा पाइन्छन्।
'अहिलेसम्मको कामबाट हामी सन्तुष्ट छौं। पहिले घरव्यवहार चलाउन जुन दु:ख थियो, अचेल त्यो दु:ख छैन,' ओमले भने, 'छोराछोरीको पढाइलेखाइ र घरखर्च मज्जाले चलिरहेको छ।'
तारादेवीको पनि यस्तै अनुभव छ।
'यो काममा लगानीभन्दा मेहनत धेरै चाहिँदो रहेछ,' उनले भनिन्, 'ग्राहकको सन्तुष्टि हेरेर स्वादमा काम गर्नुपर्दो रहेछ। कसरी पकाउँदा उनीहरू मिठो मानेर खान्छन् भन्ने ध्यान दिनुपर्दो रहेछ।'
सानैदेखि खाना पकाउन सोखिन तारालाई नयाँ नयाँ परिकार बनाउन कहिल्यै झिँझलो लाग्दैन। उनको विशेषता यही हो। र, यही विशेषता नै उनको होटलले धेरैको मन जित्नुको कारण पनि हो।
त्यही भएर एकचोटि यहाँको परिकार चाख्नेहरू फर्की फर्की आइरहन्छन्।
'हामीकहाँ नियमित ग्राहक धेरै आउनुहुन्छ,' ताराले भनिन्, 'पहिलोचोटि आउनेहरू पनि दुई–तीन दिनपछि फर्केर आउनुहुन्छ। आफूसँगै परिवारका सदस्य र साथीभाइ पनि ल्याउनुहुन्छ।'
ग्राहक जति धेरै भए पनि अहिलेसम्म सारा काम तारा र ओमले नै धानिरहेका छन्। ठाउँ साँघुरो भएकाले कर्मचारी राख्न नसकेको उनीहरू बताउँछन्।
भविष्यमा फराकिलो ठाउँ खोजेर अहिलेभन्दा व्यवस्थित ढंगले खाजाघर चलाउने उनीहरूको सोचाइ छ। तर ठाउँ फेरिए पनि स्वाद चाहिँ फेरिन हुँदैन भन्ने उनीहरूले राम्ररी बुझेका छन्।
'स्वाद नै हाम्रो विशेषता हो,' उनीहरू भन्छन्, 'रेस्टुरेन्ट त योभन्दा ठूलो खोल्न सकिएला, तर यही स्वाद त्यहाँ दिन सकिएन भने को आउँछन्?'
सबै तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
***




