सम्पादकीय नोटः कर्णालीवासीलाई लेख्नका निम्ति प्रेरित गर्ने उद्धेश्यले सुरू भएको 'कर्णाली लेख्छ' अभियानमार्फत् आएका चार वटा लेख सेतोपाटीमा हरेक शनिबार प्रकाशन गर्ने भएका छौं। छनौट भएका लेखमध्ये तातोपानी गाउँपालिका-५, श्रीनगर, जुम्लाकी बासिन्दा सिम्रन कठायतको कथाः
ऊ कर्णाली प्रदेश, जुम्लाको एउटा दुर्गम गाउँमा जन्मेकी छोट्टी (केटी) हो।
ऊ जन्मिनेबेला उसकी अामाको न स्वास्थ्य परीक्षण भो, न सुई, न दबाई। उसको चिना पनि बनेन। अाफ्नो जन्म दिन थाहा छैन। उसको छिमेकी ठूले जन्मेको पछिल्लो दिनै जन्मेकी हो रे! उसलाई अरू केही पनि थाहा छैन।
मजदुरी गर्ने र बिहान-साँझ के खाऊँ भन्ने गरिब किसानको घरमा उसको जन्म भयो। गाँउकै रहनसहनमा हुर्की-बढी। गुन्यू-चोली, ठेटुका (ठेटुवा, कर्णालीमा परम्परागत शैलीमा बन्ने एक प्रकारको कपडा), गामुन (गाउन), फ्रक लाउँथी। ऊ अनपढ तर ज्ञानी, सुशील र अाज्ञाकारी छोट्टी। उसमा अद्धभूत क्षमता छ। दुःखमा नि मुस्कुराउन सक्ने।
ऊ हाँस्दा कानचिरूवा (कान्जिरोवा) हिमाल हाँसे झैं हुन्छ। ऊ हिँड्दा तिला कर्नालीको छाल छल्के झैं हुन्छ। गोरु, भेडा, भैंसी चराउँदै, ढाल्ला (गट्टा) र आराम (रेखा कोरेर बनाएको कोठामा एक खुट्टाले उफ्रेर खेलिने खेल, कतै कोठाघर, राज्य, घर, वा तितिता लगायत नामले पनि चिनिन्छ) खेल्दै उसका दिन बितेको थाहै हुन्थेन।
ऊ अलि ठूली भई। भाइको रेखदेख गर्दै भेडा चराउँदै काम सिक्न थाली। जुम्ली मार्सी चामलको भात खान उसलाई वर्षौं कुर्नुपर्थ्यो। कि चाडपर्व अाउनु पर्थ्यो। मकै, जौ-गहुँको, कोदोको रोटा, ढिँडो, फापरको लगढ (एकप्रकारको पातलो गिलो रोटी), चिना (हिमाली भेकमा फल्ने मसिनो चिल्लो अन्न) को भात, सिमीको दाना, भट्ट (भटमास), अालु, कोल (सिमी र मकैको दाना पकाएको खाना), अोखर, स्याउ, कागुनो (हिमाली भेकमा फाल्ने कोदो जस्तै प्रजातिको अन्न) जस्ता अर्गानिक खानाले उसको पेट भर्थ्यो।
एक दिन उसको घर नजिकैको ठूलो दाजुको छोरा जन्म्यो। तीन दिनसम्म रात-दिन देउडा चल्यो।
पक्षले भने- कलम कोच्याका रैछौ, देख्दा हाकिम जसा
जुम्लामा बिजुली, गाडी पुर्यायौ के तम्ले विकास गर्यौ कसा
अर्को पक्षले भने- लेख्दैछु राज्यलाई पत्र, वर्षमै बाटो पुग्ने, हौक्या
स्याउ,अालु कुईने नाई अब, कर्णाली हसौला मिली पीर नगर्या धौक्या
देउडा गाएको उसले नि हेरी।
साउन महिना अायो। ऊ काकासँग ठाकुरज्यू मालिका (ठाउँ) जान पाई। पाटनको त्यो रमाइलो वातावरण देखी। काकाले चौधरी भिट्टाको माथितिरको ठूलो पाटन देखाउँदै भन्नुभएको थियो, 'याक्च्या, घुच्ची च्याउ, जीवन बुटी, भुतकेस च्याउ,डन्किनी च्याउ यहीँ नजिकै पाउँछ।'
उसले स्याउ, रोटा, टाटे (पुरी) खाई। विष्टटज्यू दह, शङ्खदह, र ठाकुरज्यू राम्रोसँग घुमी। जहाँ हराभरा भूमि र जुम्लाको ठूलो गिडी दह नजिकबाट हेरी। सफा अाकाश झैं निलो सुन्दर गिडी दहको दृश्य देखी। खुब घुमी।
भदौमा जुम्लाको जात्रा सुरू भयो। पाँच दिनसम्म अामासँग जुम्ला बजारको वर्षौंदेखि लागिरहेको जात्रा हेर्न गई। पुरानो धेरै सुनेकी चन्दननाथ मन्दिर पनि दर्शन गरी। उसको काका पढेका केटिएस (कर्णाली प्राविधिक शिक्षालय) देख्न र केही बुझ्न पाई। घुघुतीको सानो पोखरी छोई।
वरिपरि पहाडले घेरिएको, नजिकैबाट कानचिरूवा (कान्जिरोवा) हिमाल देखिने, सानो तर सुन्दर बजार घुम्न पाएर ऊ धेरै खुसी थिई। नभए त दिन भेडा चराउँदै बित्थ्यो। ठूले दाइ र काकीसँग उसले राराताल घुमी। पहिलो दिन उनीहरू चौथामा बसे।अर्को दिन मुगुको गमगढी हुँदै राराताल पुगे। उसले कहिले नदेखेको स्वच्छ रारा। घोडा चढेर राराको अाधा मुर्म जाने बाटोसम्म गई। सेनाहरूले चलाएको काठको डुंगा चढी। रारामा उसलाई स्वर्ग पुगेझैं अनुभूति भयो।
निकुञ्जभित्रका चराहरूको चिरबीरले उसको मन लोभ्यायो। गुइयालो (एक प्रकारको जंगली फल, गंयाल) खुवाइको अनुभव पनि भयो। रारा छेउको महादेव मन्दिरमा पूजा गरेर उनीहरू घर फर्किए। रमाइला दिनपछि फेरि दैनिकी चल्यो।
छोट्टी बढेर १२ वर्ष भई। घरमा बाजेले उसको कन्यादान गरेर बिहे गर्ने निधो गरे।
'छुई' भएपछि गरेको कन्यादानले पाप नष्ट हुँदैन। कन्यादान गरेर मर्न पाए स्वर्ग पुगिएला भने बाजेले। केटा खोजियो। केटाको बाजेसँग कुरा भयो। बिहे निधो भयो। मंसिर ९ गते। गाउँको परम्परा अनुसार कुम्मे (बाजागाजाबिनै थोरै जन्तीहरु बेहुला लिएर दुलहीको घर जाने) जन्ती अाए। उसलाई नुहाइयो। दुबो कोराउन (बिहेको निम्ति चाहिने दुबो खुर्किने बेहुलीलाई लैजाने गरिन्छ) लगियो। बेहुलीको भेसमा ऊ राजकुमारीभन्दा कम देखिएकी थिइन।
उसको सिउँदो भरियो। लाउँखाऊँ, खेलुँकुदूँ उमेरमा ऊ कसैकी स्वास्नी, कसैकी बुहारी भई। श्रीमान २३ वर्षका थिए। पाँच कक्षा पढेको। हाट जाने र भेडा हेर्ने काम गर्थे।
छोट्टीको कलिलो काँधमा थामिनसक्नु जिम्मेवारी थोपरियो। बिहानै उठेर घर लिप्थी। दाउरा, घाँस लिन जान्थी। पर्हो (खेतबारीमा हाल्ने मल, मलपर्सो) बोक्थी। भेडागोठमा सामल (गोठालाको रासन) पुर्याउँथी। ढाके अोक्ला (छाना भएको अर्थात ढाकिएको ओखल) मा धान कुट्थी। घट्ट पिस्न जान्थी। यस्तै काममा उसका दिन भुल्थे।
एक दिन ऊ 'छुई' भई। देउताका लागि ७ दिनसम्म छुई कुल्ला (छाउगोठ) बसी।
माघ लाग्यो। जुम्लाको चिसो, हिउँको वर्षा। खुब रमाइलो। दुई रात थानमा खरौती (देवताको मन्दिर (थान) मा जाग्राम बस्ने, खडारात्री) गरी। गाउँमा थान पूजाईको पैट (मन्दिरमा पूजाको जात्रा, मेला वा पैठ) चल्यो। टाढाका पाहुनालाई खान दिन ऊ व्यस्त भई।
वसन्त ऋतु सुरू भयो। हरियो जौ, गहुँ लहराउने र पालुवा पलाउने मौसम। चैते दसैं अायो। सबको मन रमायो। चैत १२ गते मार्सी धानको बिउ र चिउरा भिजाई। १६ गते बीउ झिकेर भुजपातले भान्साकोठाको मैरो (अँगेनोको छेउ, मैडो) मा राखी। ढाके अोक्लामा (ओखल) चिउरा कुटी। २० गते बीउ लिएर बेर्नामा छरियो। बिषुमा (चैत २० गते धानको बीउ छरेको उपलक्ष्यमा मनाइने पर्व, बिसुवां)को दिन भएर ऊ माईत जान पाई। माइतीका सबै साथी भेला भएर देउडा गाए। दुःख, सुख साटासाट गरे।
नयाँ साल। छोट्टीले बिहानै उठेर घर लिपी। खट्या (खट्टे) भुटी। गोप्टिलो (गुँइठा) बालेर बेर्ना पूजा गरी। अनि बिहे भएका महिलाहरू भेला भएर श्रीमानको नाममा ताघा (महिलाहरुले वैशाख संक्रान्तिमा पूजा गरी बाँध्ने डोरो, तागो- त्यसैले यसलाई तागे संक्रान्ति पनि भनिन्छ) पूजा लगाए। देउडा खेले।
जेठ १२ गते चन्दननाथको सेरा डाबमा रोपाँइ भयो। उसको घरमा पनि हुने भयो। उसको बिहे भएपछिको पहिलो रोपाँइ। घरमा चोपाइ (बिहे गर्ने घरको पहिलो रोपाँइमा दुलाहा दुलहीलाई मूलखेत घुमाउने उत्सव) को तयारी भयो। छोट्टी र उसका श्रीमान बिहेकै बेहुला-बेहुली झैं सिँगारिए। पुल्ती (रोपाईं गरेको खेतको मध्यबिन्दुमा बिउको मुठोले बनाएको आकृति) हालेको डाब (सबभन्दा ठूलो खेत) मा लगेर पूजा गरियो। खेतमा खसी काटियो। उच्या (हिलोमा कुस्ती लडेको) लागे, धारू नाच नाचियो।
ऊ गाउँमा रोपाँइ गर्न जान थाली। बीउ बोक्थी। असारमा गोड्न पनि भ्याई।
साउन १ गते अायो। थानमा राँका हालियो। भाले चुटाइ खेल खेलियो। प्रत्येक घरको अोटालो (आँगन) र थार (घरको छत) माथि राँका हालेर लुतोपुत्लो फालेर साउने संक्रान्ति मनाइयो।
ऊ १४ वर्षकी भई। उसको 'छुई' रोकियो। केटाकेटी उमेरकी छोट्टी अामा बन्ने भई।
भदौमा अालु कोरी (आलु खन्ने)। असोजमा लेकको गोठबाट गाईवस्तु घर ल्याइयो। घाँस काटी। खुवाई।
दसैं आयो। फूलपातीका दिन बजारमा हुने घोडा दौड हेर्न गई। अष्टमीका दिन घरमा खसी काटेर बलि दिइयो। तिहार नि देउसी भैलौ हेर्दै गयो।
कात्तिकमा धान काटेर, गोरू दाह (दाँइ) हालियो। मंसिरमा पानीमा ठाँडो (बरफ जमेको) पर्न थाल्यो। चिसोले दिनदिनै मुटु कमाउन थाल्यो।
पुस १५ मनाउन कद्दु (फर्सी) पकाएर खाइयो। रातभर बुढापाका भेला भएर साइतर (गाउँखाने कथा) भन्दै हाँसठट्टा गरे।
पौष २९ मा टाटे (पुरी) हालेर माघ १ मा छोरीहरूलाई भात खान बोलाएर गोडा धोइ फल्लर (फलाहार) दिइयो।
अब ऊ सुत्केरी हुने दिन नजिक अायो। सबै जना खुसी थिए। श्रीमान भने भेडागोठमै हुन्थे।
वैशाख ७ गते उसलाई व्याथाले च्याप्यो। छोट्टीकी आमाको मन पोल्न थाल्यो, कसरी जन्माउली बच्चा?
अस्पताल लैजाने चलन थिएन। गाउँकै सोरेनी (सुढेनी) जम्मा भए। उसलाई झन्-झन् गार्हो भयो। सोरेनीले उसको शरीरमा हात हालेर हेरिन्। ठीक छ, नअात्ती' भनिन्।
कसैले 'हाम्ले नि जन्माकी हुँ, पीर नले' भने।
उसलाई लगातार तीन दिनसम्म व्याथा लाग्यो। उसको व्याथा उसँग मात्र रह्यो। कसैले अस्पताल लगेन। न उपचार, न ओखती। उसलाई जन्माउँदा आमाले जस्तो भोगेकी थिइन्, त्यस्तै अहिले ऊ भोगिरहेकी थिई।
वैशाख ९ गते बल्लतल्ल उसको पीडा अलि थामियो। उसले छोरी जन्माई। छोरी कस्ती थिई भनेर उसले देख्न पाइन। कष्टको फल जन्मिन नपाउँदै, उसलाई ममताभरि आँखाले हेर्न नपाउँदै, आफ्ना मायालु हातले सुम्सुम्याउन नपाउँदै उसको सास बन्द भयो। एउटी छोट्टी यो संसारमा आइपुगी, अर्की छोट्टीले संसार छाडी।
एउटी कलिली केटीको सुत्केरी अवस्थामै मृत्यु भयो। सुत्केरी भएकाले धामीहरूले उसको शव छोएनन्।
उसको अन्तिम संस्कार गर्न सबै घाट पुगे। घाटमै उसको श्रीमानको अरू बिहे गरिदिने कुरा भयो।
छोट्टीले संसार छाडेको २१ दिनपछि उसको श्रीमानले बिहे गरे।