भारतीय सिनेमा इतिहासका प्रभावशाली अभिनेतामा एक हुन् प्रेम नजीर।
प्रेम नजीरको जन्म अब्दुल खादरको रूपमा भएको थियो। प्रेम नजीरले सन् १९५२ मा एस के चारीको 'मरूमकाल' बाट अभिनयमा डेब्यू गरेका थिए। उनको दोस्रो फिल्म 'विसाप्पिन्ते विल' को सेटमा कवि तथा नाटककार थिक्कुरसी सुकुमारन नायरले अब्दुलको नाम परिवर्तन गरेर प्रेम नजीर राख्ने निर्णय गरेका थिए। नजीरले त्यतिबेला फिल्म क्षेत्रमा प्रवेश गरेका जतिबेला नाटक सबैभन्दा लोकप्रिय दृश्य माध्यम थियो र फिल्म सुरूवात चरणमा थियो।
प्रेम छोटो समयमै एक शानदार अभिनेता बने। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार प्रेमले ४०० हिट फिल्ममा काम गरेका थिए। जसमध्ये ५० ब्लकबस्टर रह्यो। ७० को दशकमा उनी एक वर्षमा ३५ फिल्ममा काम गर्थे।
उनले शीला सेलिनसँग सबैभन्दा धेरै फिल्ममा काम गरेका थिए। एकै अभिनेत्रीसँग धेरै फिल्ममा काम गर्ने गिनीज वर्ल्ड रेकर्डमा उनको दर्ता छ। उनीहरूले १३० फिल्ममा एकसाथ काम गरेका थिए।
प्रेमले आफ्नो करियरमा ९०० फिल्ममा काम गरेका छन्। उनी धेरै फिल्ममा मुख्य भूमिकामा देखिन्थे।
