जापानी-भारतीय एनिमे फिल्म 'रामायण: द लिजेन्ड अफ प्रिन्स रामा' सिनेमा हलमा रिलिज हुने भएको छ।
यो फिल्म २४ जनावरीदेखि सिनेमा हलमा रिलिज हुनेछ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म ३२ वर्षपछि रिलिज हुन लागेको हो।
यो फिल्म अंग्रेजी, हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ। 'रामायण: द लिजेन्ड अफ प्रिन्स रामा' भारतमा सन् १९९३ मा २४ औं भारतीय अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो। तर सिनेमा हलमा रिलिज गरिएको थिएन।
सन् २००० मा यो टिभीमा रिलिज गरिएको थियो। जसलाई दर्शकले खुब रूचाएका थिए।
युगो साको, राम मोहन र कोइची सासाकीले निर्देशन गरेको फिल्मको पहिलो हिन्दी संस्करणमा रामायण अभिनेता अरूण गोविलले राम चरित्रको लागि आवाज दिएका थिए। नम्रता साहनीले सीता र अमरीश पुरीले रावण चरित्रका लागि आवाज दिएका थिए। शत्रुघ्न सिन्हाले कथावाचन गरेका थिए।