नाग अश्विनको फिल्म 'कल्की २८९८ एडी' बक्स अफिसमा हिट सावित भएको थियो।
यसले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो। तर 'पुष्पा २' ले यसको ट्याग खोसेको छ। अब प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनको फिल्म 'कल्की' को सिक्वेल बन्ने चर्चा छ।
यसको सिक्वेलमा दक्षिण भारतीय अभिनेता महेश बाबु श्रीकृष्णको भूमिकामा देखिने चर्चा छ। भारतीय सञ्चारमाध्यम आजतकसँग यस विषयमा निर्देशक नाग अश्विनले कुराकानी गरेका छन्।
'म कल्की युनिभर्समा भगवान श्रीकृष्णको अनुहार देखाउन चाहन्न। तर देखाउनै परेछ भने महेश बाबु यसमा फिट हुनेछन्,' उनले भने।
फिल्ममा प्रभासले 'कर्ण', दीपिका पादुकोणले 'सुमति' र अमिताभ बच्चनले 'अमर अश्वत्थामा' को भूमिका निर्वाह गरेका थिए। फिल्ममा कमल हासन र दिशा पाटनीको पनि अभिनय थियो। 'कल्की' ले ९९० करोड ९० लाख भारू कमाएको थियो।