नेपाल मण्डल (काठमाडौ उपत्यका)का शक्तिशाली तान्त्रिक गुरुको कथामा आधारित नेपाल भाषाको चलचित्र ‘जा मनः गुभाजु’ले नेपाल आदिवासी चलचित्र अवार्ड पाएसँगै चलचित्रकर्मीहरू हौसिएका छन्।
अमेरिकाको न्यूयोर्कमा सम्पन्न महोत्सवमा प्रतिस्पर्धा गरेका विभिन्न भाषाका सात चलचित्र मध्ये नेपाल भाषाको ऐतिहासिक चलचित्र उत्कृष्ट भएको हो। यसले उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि जितेको छ।
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाले आयोजना गरेको महोत्सवमा उत्कृष्ट भएसँगै चलचित्रले १ हजार १ सय ११ डलर नगद पुरस्कार पाएको छ। जेस्सी पेन्नी इन्टरटेनमेन्ट एण्ड वाइल्ड बुल्स प्रोडक्सनले निर्माण गरेको यस चलचित्रका निर्देशक रवि सायमी हुन्।
‘फिल्म निर्माणमा सहभागी सबैको योगदानको प्रतिफलका रुपमा हामीले अवार्ड पाएका हौं’, सिनेमेटोग्राफर भवानी शिलाकारले सेतोपाटीसँग खुसी बाँडे, ‘आगामी दिनमा पनि हामी यस्तैयस्तै महत्वपूर्ण विषयमा फिल्म निर्माण गर्दै जानेछौं।’
जा मन ः गुभाजु मल्लकालीन समयका तन्त्र शक्तिका महापुरुष हुन्। आफ्नो तन्त्र शक्तिबाट कीर्तिपुरका प्रजाहरूको दुःख हरण गर्दै जनजीवन सुखमय बनाउने काम उनले गरेका थिए। उनको योगदानका विषयमा विशेषतः नेवार समुदायमा चर्चा हुने गरेको छ। ‘उहाँ जिवितै हुनुहुन्छ भन्ने जनविश्वास छ’, शिलाकारले भने।
यस चलचित्रमा सुशिल राजोपाध्याय, सरस्वती मानन्धर, उडेन न्यूहँ सायमी, सुलोचना श्रेष्ठ, अन्नपूर्णेश्वरी श्रेष्ठ, पुस्करभक्त माथेमा, ओमशंकर श्रेष्ठ, सँघरत्न शाक्य, सुरज व्यञ्जनकार, लक्ष्मीनाथ तिमल्सिना, साकार पन्त र अमिता जोशीलगायत कलाकारले अभिनय गरेका छन्।
यसको पटकथा सुशिल राजोपाध्यायले लेखेका हुन् भने संगीतकार बालकृष्ण बंशी हुन्। त्यस्तै क्यामेरामा भवानी शिलाकार, सम्पादनमा दिपान शाक्य, कलर ग्रेडिङमा श्याम कुँवर र भिएफएक्समा सचिनमान जोशीको समूहले काम गरेको छ।
न्यूर्योकमा भएको महोत्सवमा दश विधामा पुरस्कार वितरण गरिएको थियो जसमा मगर भाषाको चलचित्र ‘ट्याङचालक’की तिला मगर उत्कृष्ट नायिका घोषित भइन् भने लिम्बु जातिको ‘के’ चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको ‘मेटोक’ले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ। यस्तै तामाङ जातिको ‘प्रङ्ना’ चलचित्रलाई उत्कृष्ट भेषभुषा र गुरुङ जातिको चलचित्र ‘मि होर्वै ट’ले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशन पुरस्कार पाएका छन्।
यसपाली महोत्सवको तेस्रो संस्करण हो। कार्यक्रममा महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।